logo
२०७९ श्रावण २५ बुधवार



आसुरी शक्तिमाथि विजयको प्रतीक

विचार/दृष्टिकोण |




शिरीषवल्लभ प्रधान

विजयादशमी हिन्दुहरूको महान् चाड हो । यो चाड खासगरी नेपाल र भारतमा हर्षोल्लाससाथ मनाइन्छ । तराईतिर दसैँलाई दशहरा भनिन्छ भने काठमाडौँ उपत्यकाका नेवारहरू यसलाई मोहनी भन्ने गर्छन् । यसरी ठाउँअनुसार नाउँ भिन्न भए पनि यो चाडमा सबै हिन्दुहरूको एकैप्रकारको आस्था रहेको छ ।
विजयादशमी आसुरी शक्तिमाथि दैवी शक्तिको विजय, असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ । १० दिनसम्म मनाइने यो चाड आश्विन शुक्ल प्रतिपदाका दिन आ–आफ्नो पूजाकोठामा घटस्थापना गरेर सुरु हुन्छ भने दशमीका दिन ठूलाबडाबाट निधारमा रातो टीका र कपालमा पहेँलो जमरा लगाएर समाप्त हुन्छ । टीका थाप्ने र भोज खानेक्रम लम्बिँदै यो चाड कोजाग्रत पूर्णिमासम्म मनाउने गरिएको छ । यो चाडमा देवीको पूजाआजा गर्नुका साथै परिवारसँगै बसेर अनेक परिकार बनाएर खाइन्छ ।
दसैँ केवल मीठो खाने, राम्रो लगाउने, ठूलाबडासँग टीका थापेर आशीर्वाद लिनुमा मात्र सीमित नभई, यसका साँस्कृतिक तथा आध्यात्मिक पक्षहरू पनि छन् । यसबारे पनि सामान्य जानकारी राख्नु उचित नै होला । पौराणिक कथाअनुसार परापूर्वकालमा महिषासुर नामक दैत्यले देवताहरूलाई पराजित गरी तीनवटै लोकमाथि आधिपत्य जमाएपछि देवताहरू सबै मिली शक्ति सञ्चय गरी एक देवी उत्पन्न गराई ती दैत्यको वध गरेको स्मरणमा विजयादशमी मनाउन थालिएको हो । मार्कण्डेय पुराणमा आधारित दुर्गा सप्तशती नामक सात सय श्लोकको ग्रन्थमा उल्लिखित कथा प्रसङ्गले विजयादशमीको महŒवलाई उजागर गर्ने हुनाले विजयादशमीको महŒव र महिमा बुझ्न सोे कथा यहाँ सङ्क्षेपमा चर्चा गरिन्छ । तेह्र अध्यायमा विभाजित यो कथाको पहिलो अध्याय निम्नश्लोकबाट सुरु हुन्छ ः

सावर्णिः सूर्यतनयोे यो मनुः कथ्यतेऽष्टमः
निशामय तदुत्पत्तिं विस्तराद् गदतो मम ।। १ ।।
महामायानुभावेन यथा मन्वन्तराधिपः
स बभूव महाभागः सावर्णिस्तनयो रवेः ।। २ ।।
स्वारोचिषेऽन्तरे पूर्वं चैत्रवंशसमुद्भवः
सुरथो नाम राजाभूत्समस्ते क्षितिमण्डले ।। ३ ।।

कुनै कालखण्डमा चैत्रवंशमा सुरथ नामका राजा थिए, जसको पूरै पृथ्वीमा आधिपत्य थियो । तर, पछि उनलाई शत्रुहरूले परास्त गरी सानो राज्यमा सीमित गर्छन् र त्यहाँ पनि उनका आफ्नै मन्त्री, भाइभारदारहरूले धोका दिई त्यस सानो राज्य पनि कब्जा गरी सबै सम्पत्ति लुटेपछि दिक्क मानी राजा सिकार खेल्ने बहानामा एक्लै जङ्गलमा पस्छन्, जहाँ मेधा ऋषिको आश्रम हुन्छ । त्यहाँ उनको समाधि नामक एक वैश्यसँग भेट हुन्छ । ती वैश्यको पनि आफ्नी पत्नी र पुत्रहरूले उनको सबै सम्पत्ति खोसेर घरबाट निकालिदिएपछि त्यही जङ्गलमा आइपुगेका हुन्छन् । वैश्यले भन्छन्, मैले कमाएको सबै सम्पत्ति कब्जा गरी घरबाट निकालिदिने दुष्ट पत्नी तथा पुत्रहरूप्रति मेरो मन अझै किन मोहित भइरहेको होला ? तिनीहरूले के खाए, कसरी बसिरहेका होलान् मेरो घर, सम्पत्ति के–कस्तो अवस्थामा होला भन्ने चिन्ताले मलाई अझै सताइरहेछ ।
त्यस्तै राजालाई पनि आफ्नो राज्यमा के भइरहेको होला, प्रजाहरूको के हाल होला र भाइभारदारहरू के गर्दै होलान् भन्ने चिन्ताले सताइरहेको हुन्छ । दुवैजना ऋषिको आश्रममा पुग्छन् । राजाले ऋषिसँग प्रश्न गर्छन्, जुन राज्य मेरो हातबाट गइसक्यो, त्यसप्रति ममा कसरी मोह हुन गयो ? जससँग मेरो अब कुनै सम्बन्ध छैन, त्यसबारे किन मलाई चिन्ता लागिरहेछ ? त्यस्तै यस वैश्यलाई उसकी पत्नीसहित परिवारले छोडिसकेर पनि किन तिनीहरूको मोहले सताइरहेछ ?
राजाको कुरा सुनेर मेधा ऋषि भन्छन्– हेर पक्षीहरू आफू भोको रहेर पनि आफ्ना बच्चालाई चुच्चोले खाना खुवाइरहेका हुन्छन् । त्यसैगरी मानिस पनि आफ्ना पुत्र, पत्नी आदिको मोहमा फसिरहेका हुन्छन् । तिनै देवी महामायाका कारणले मानिसलगायत अन्य प्राणी पनि जन्म, मुत्युरूपी चक्करको महाभुमरीमा फसिरहेका छन् । भगवान् विष्णुका योगनिद्रारूपी तिनै महामाया भगवतीले बुद्धिमान मानिसको मनलाई पनि खिचेर मोहमा पारिदिन्छिन् र तिनैले यो चराचर जगत्को सृष्टि गर्छिन् । अनि प्रसन्न भएपछि तिनै देवीले मानिसलाई जीवन, मरणको चक्रबाट मुक्त गरिदिन्छिन् । मानिसको संसार बन्धन र मोक्ष दुवैका कारण ती प्रकृतिरूपी देवी नै हुन् ।
राजाले प्रश्न गर्छन्, ती महामायारूपी देवी को हुन् ? तिनको उत्पत्ति कसरी भयो, ती देवीको स्वभाव कस्तो छ ?
राजाको प्रश्नमा ऋषिले भन्छन्– ती देवी नित्यस्वरूपा र अजन्मा छिन् । वास्तवमा यो सम्पूर्ण जगत् उनकै स्वरूप हो, उनैले समस्त जगत्लाई व्याप्त गरेकी छन् । पूर्वकालमा विष्णु भगवान् शेषनागमा पल्टेर योगनिद्रामा आराम गरिरहँदा विष्णुका कानबाट मधु र कैटभ नामका दुई दैत्यहरू उत्पन्न भई विष्णुको नाभीस्थित कमलको फूलमा बसेका ब्रह्माको प्राण लिन उद्यत भएपछि ब्रह्माले तिनै देवी भगवतीको उपासना गरी विष्णु भगवान्लाई जगाउँछन् । यसरी विष्णु जागेपछि उनको ती दैत्यहरूसँग लामो सङ्घर्ष हुन्छ र अन्त्यमा विष्णुले दैत्यहरूको वध गरी ब्रह्माको रक्षा गर्छन् ।
त्यसैगरी एक समय महिषासुरले देवताहरूमाथि विजय हासिल गरी इन्द्रलाई स्वर्गबाट अपदस्थ गरी तीनवटै लोकमाथि कब्जा गरेपछि देवताहरू भगवान् विष्णुको सहायता माग्न जान्छन् । अनि ब्रह्मा, विष्णु, शिव त्रिदेवका शक्तिले भगवती उत्पन्न भई तिनले महिषासुर वध गर्छिन् । त्यसैगरी ती देवीसँग विभिन्न दैत्यहरूको घमासान युद्ध हुन्छ, जसमा चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र धूम्रलोचन आदिको मृत्यु हुन्छ । यसरी देवीको सहायताले देवताहरूलाई पुनः स्वर्गमा स्थापित गराई तीनै लोकमा शान्ति सुव्यवस्था कायम हुन्छ । देवीद्वारा महिषासुरलगायतका दैत्यको वध भएको स्मृतिमा विजयादशमी पर्व मनाइन्छ ।
दुर्गा सप्तशतीको कथा वास्तवमा वेद र उपनिषदका रहस्यमय ज्ञानकै रोचक प्रस्तुति हो । कथामा वैश्य र राजा सुरथको प्रसङ्ग हामीमा वैराग्यभावना उत्पन्न गराउने उद्देश्यले उल्लेख गरिएको देखिन्छ । मानिसले धन–सम्पत्ति, राज्य आदि जतिसुकै हासिल गरे पनि ती सब क्षणिक हुन् । तिनबाट स्थायी सुख छैन भन्ने ज्ञान यो कथाबाट मिल्छ । त्यसैले ती दुवै सांसारिक सुखभोग त्यागी जङ्गलमा गई मेधा ऋषिको शरणमा परी आत्मज्ञान निम्ति प्रयत्न गर्छन् ।
यहाँ उल्लिखित देवी त्रिगुणयुक्त अव्यक्तस्वरूपा प्रकृति वा माया हुन्, जो भगवान्को शक्ति मानिन्छ । विवेक चूडामणिमा आदि शङ्कराचार्य लेख्छन्– जो अव्यक्त नाम भएका त्रिगुणात्मिका अनादि अविद्या परमेश्वरका पराशक्ति हुन्, तिनै माया हो, जसबाट यो सारा जगत् उत्पन्न हुन्छ । उपत्यकाका नेवार समुदाय दसैँलाई मोहनी भन्नुले संसारलाई आफ्नो सम्मोहन शक्तिद्वारा मोहित बनाएर राखेकी देवीको महामायालाई नै जनाउँछ ।
सप्तशतिको अर्गलास्तुतिमा मार्कण्डेय ऋषि देवीको स्तुति गाउँदै भन्छन्–
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
रुपं देहि जयं देहि यशो देहि द्विषं जहिः
महिषासुरनिर्णाशि भक्तानां सुखदे नमः ।। इत्यादि
अर्थात् जयन्ती, मङ्गला, काली, कपालिनी आदि नामले जानिने भगवतीलाई मेरो नमस्कार छ । हे देवी, तिमी मलाई आत्मस्वरूपको ज्ञान देऊ, मोहमाथि विजय देऊ, यश प्रदान गर, काम, क्रोध आदि शत्रुहरू नाश गरिदेऊ । महिषासुर वध गरी भक्तहरूलाई सुख दिने देवी तिमीलाई नमस्कार छ ।
त्यसैगरी देवीकवचमा देवीका नौप्रकारका मूर्तिलाई स्तुति गर्दै ब्रह्माजी भन्छन्–

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी
तृतीयं चन्द्रघण्टा च कुष्माण्डा च चतुर्थकम् ।।
पन्चमं स्कन्दमातेति षष्ठं कात्यायिनीति च
सप्तमं कालरात्री च महागौरीति चाष्टमम्
नवमं सिध्दिदात्रीति नवदुर्गाः प्रकीर्तिनाः ।।

हिन्दु धर्मको मुख्य उद्देश्य अन्य कतिपय धर्मको भन्दा भिन्नै छ । अरू धर्मले जस्तो यसले स्वर्गको लोभ र नर्कको त्रासमा बाँच्न सिकाउँदैन । बरु स्वर्ग र नर्कभन्दा परको मोक्ष अर्थात् जन्म, मरणको चक्रबाट सदाका लागि मुक्ति प्राप्त गर्नु नै यसको लक्ष्य छ । त्यसैले धर्म, अर्थ, काम, मोक्ष चार पुरुषार्थमध्ये मोक्षलाई मात्र परम् पुरुषार्थ र अन्य तीनवटालाई सामान्य पुरुषार्थ मानिएको हो । पृथ्वीदेखि स्वर्गपर्यन्तका सुख, सुविधा नाशवान वा क्षणिक छन्, केवल आत्मज्ञानद्वारा प्राप्त मोक्षमात्र कहिल्यै नाश नहुने प्रकृतिको हुन्छ । यो कुरालाई पुष्टि गर्न छान्देग्योपनिषद्को कथन यहाँ मननीय छ, जसमा आत्मज्ञानद्वारा प्राप्त ब्रह्मलोकको कहिल्यै क्षय हँुंदैन भनिएको छ । (न च पुनरावर्तते, छान्दोग्य ८.१५.१) ।

प्रथा आवश्यक ?
दसैँमा प्राणी हिंसा गरिनुपर्छ भन्ने शास्त्रमा कतै लेखिएको छैन । प्राणीको बलि दिने भन्ने कुरा वास्तवमा भ्रममा आधारित र अज्ञानमूलक छ । महिषासुर वास्तवमा कुनै बाहिरी वस्तु नभई हामीभित्रैको नकारात्मक प्रवृत्ति हो, जसको त्याग वा बलि आवश्यक छ । देव र असुर खोज्न बाहिर जान पर्दैन, हामीभित्रै दुईप्रकारका प्रवृत्ति पाइन्छन् । स्वाभाविक कर्ममा प्रवृत्त भएकाहरू असुर हुन् भने शास्त्रजनित कर्म गर्नेहरू देव हुन् भनेर आदि शङ्कराचार्य वृहदारण्यकोपनिषद्को भाष्यमा लेख्छन् । मानिसमा कहिलेकाहीँ दैवी प्रवृत्ति उठ्छन् र आसुरी प्रवृत्ति दब्छन् त कहिले त्यसको विपरीत आसुरीको उदय हुन्छ । यसैलाई देवासुर सङ्ग्राम भनिएको हो, शङ्कराचार्य भन्छन् । यसरी शास्त्रविहित कर्मप्रवृत्तिको उत्थान र स्वाभाविक कर्मप्रवृत्तिको पतन नै देवताहरूको विजय र असुरहरूको पराजय कहिन्छ । मधु, कैटभ दैत्य पनि विष्णुको कानबाट उत्पन्न हुनाले ती हाम्रै इन्द्रियहरूको विषयवासनासँगको सन्निकर्षणले सिर्जना भएका कुप्रवृत्ति हुन् ।
तसर्थ, बलि भनेको मानिसमा रहेको आसुरी वा पाशविक प्रवृत्तिलाई दिने हो, पशुलाई हैन । हामीमा रहेका काम, क्रोध, लोभ, मोह, अहङ्कार पाँचप्रकारका दुर्गुणको बलि वा त्याग नै पञ्चबलि हो । निर्दोष जनावरको बलि दिएर कसैको कल्याण हुँदैन । कोरोनाले गर्दा यसपालिको दसैँ पहिलेभन्दा अलि भिन्न हुनु स्वाभाविक छ । हनुमानढोकामा दिइने बलि पनि यसपालि रोकिने भएको छ, जुन राम्रो सङ्केत पनि हो । यसरी दसैँलाई हिंसामुक्त गरी मनाउन सकिएमा यसको महŒव अझ बढ्ने निश्चित छ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?