logo
२०८१ बैशाख १७ सोमवार



दिगो विकास लक्ष्यमा कोभिडको प्रभाव

विचार/दृष्टिकोण |




डा. योगेन्द्रराज रिजाल
कोभिड–१९ को सङ्क्रमणको दरलाई महादेशअनुसार विश्लेषण गर्दा धेरै जनसङ्ख्या भएको एसिया महादेश महामारीलाई नियन्त्रणमा राख्न तुलनात्मक रूपमा केही सक्षम देखिएको छ । तर, एसिया पनि दक्षिण एसियाली मुलुकहरूमा भने अवस्था उल्टो छ । दक्षिण एसियाली मुलुकहरूमा सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर हुनु, ‘कन्ट्याक ट्रेसिङ’ र ‘क्वारेन्टिन’ सुविधा अपर्याप्त हुनु, नागरिकद्वारा स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको निगरानी गर्ने सरकारी अनुगमन फितलो हुनु, स्वास्थ्य मापदण्ड पालन गर्न नजान्ने÷नसक्नेभन्दा पनि अटेर गर्ने नागरिकको सङ्ख्या बढी देखिनुजस्ता कारणहरू मुख्य जिम्मेवार मानिन्छन् । फलस्वरूप कोभिड–१९ को महामारीले दिगो विकास लक्ष्य प्राप्तिमा समेत असर पार्ने भएकाले यसका परिमाणात्मक लक्ष्य तथा सूचकहरूमा समेत परिवर्तनको बहस हुन थालेको छ ।
दिगो विकास लक्ष्य कार्यान्वयनको विगतका पाँच वर्षमा विश्वस्तरमा तीनवटा लक्ष्यहरू– गरिबीको अन्त्य–लक्ष्य–१), उद्योग नवीन खोज र पूर्वाधार (लक्ष्य–९) र दिगो सहर र समुदायहरू (लक्ष्य–११) मा उल्लेख्य प्रगति भएको र शून्य भोकमरी –लक्ष्य–२) मा सबैभन्दा कम उपलब्धि भएको बताइन्छ । दुर्भाग्यवश, विद्यमान महामारीका कारण प्रायः सबै लक्ष्यहरूको प्रगतिमा ठेस पुगेको छ । संयुक्त राष्ट्रसङ्घको दिगो विकास प्रतिवेदन–२०२० ले दिगो विकास लक्ष्य प्राप्तिमा कोभिड–१९ ले पारेको प्रभावलाई तीन तहमा विश्लेषण गरेको छ । सोहीअनुरूप सबै लक्ष्यहरूमा परेको प्रभाव यहाँ चर्चा गरिएको छ ः

उच्च नकारात्मक असर
दिगो विकास प्रतिवेदनका अनुसार : (क) गरिबीको अन्त्य (लक्ष्य–१), (ख) शून्य भोकमरी (लक्ष्य–२), (ग) आरोग्यता तथा कल्याण (लक्ष्य–३), (घ) मर्यादित काम तथा आर्थिक वृद्धि –लक्ष्य–८) र (ङ) न्यून असमानता –लक्ष्य–१०) समेत पाँचवटा लक्ष्यमा उच्च तहको नकारात्मक असर देखिन थालेको बताएको छ । रोजगारी गुम्नुका साथै आर्थिक गतिविधिमा भएको न्यून्नताले गरिब र उच्च जोखिममा रहेका वर्गका नागरिक (वृद्ध, बालबालिका, न्यून आय भएका, घरविहीन, आप्रवासी आदि) महामारीको प्रत्यक्ष मारमा परेका छन् । यसले गरिबी निवारणको लक्ष्यमा धक्का पुगेको छ ।
यसै त दिगो विकास लक्ष्यहरूमध्ये सबैभन्दा कम प्रगति देखिएको लक्ष्य शून्य भोकमरी हो । त्यसैमा पनि पछिल्लो समयमा महामारीका कारण निर्यातकर्ता राष्ट्रहरूले निर्यात बन्द गर्दा विश्वव्यापारमा गिरावट आई खाद्यान्न आपूर्तिमा परेको नकारात्मक असर परेको छ । बन्दाबन्दीका कारण देशभित्रै खाद्यान्न ओसारपसारमा समेत भएको असुविधाले भोकाहरूको सङ्ख्यामा वृद्धि हुन सक्ने खतरा जताततै बढ्दो छ । श्रमिकहरूको उपलब्धतामा कमी भएको छ । कहीँ खाद्यान्न तथा फलफूल बिक्रीका लागि यातायातको असहजताले उत्पादन स्थलमै खेर गएको छ । कतै तिनै वस्तुकोे अभाव भएको छ । जस्तै ः कतिपय पशुपालक किसानहरूले पशु आहार नपाएर एकातिर पशुलाई बचाउनसमेत हम्मेहम्मे भएको समचार आएको छ भने अर्कातिर उत्पादित दूध तथा मासु बजारमा पु¥याउनसमेत कठिनाइ हुन गयो । त्यसैगरी, कहिलेकाहीँ बजारमा आइसकेको फलफूल पनि सङ्क्रमणको डरले खरिदकर्ता हिच्किचाउनुपर्ने अवस्था रह्यो । नेपालमा भेटघाटको प्रयोजनका लागि फलफूल खरिद गर्ने प्रचलन भएको बताउने व्यापारी निराश छन् । उनीहरूलाई आर्थिक हानिमात्र नभई, कुपोषितहरूको सङ्ख्यामा पनि वृद्धि हुनेछ, यो अवस्थाले ।
कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै छ । नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा अन्य प्रकारका समस्या भएका दीर्घरोगीहरू झन् जोखिममा परेका छन् । महामारीको त्रास अनि लामो समयको बन्दाबन्दीले दैनिकीमा पारेको नकारात्मक प्रभाव अनि आम्दानीमा आएको गिरावटका कारण बढ्न सक्ने ‘डिप्रेसन’ एवम् तनावले आरोग्यता तथा कल्याणको लक्ष्य पनि उच्च जोखिममा छ ।
अहिले विश्वभर आर्थिक मन्दीको अवस्था छ । विश्वका सबल अर्थतन्त्रहरू पनि धर्मराएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको छ । ठूलो सङ्ख्यामा मानिसले रोजगारी गुमाइरहेका छन् । सार्वजनिक वित्त घाटामा छ । व्यवसायहरू धराशयी भएका छन् । खासगरी पर्यटन व्यवसाय चौपट भएकोे छ । यी कारणहरूले गर्दा मर्यादित काम तथा आर्थिक विकासको लक्ष्य पनि उच्च जोखिममा छ । त्यस्तैगरी, अति गरिब र जोखिमपूर्ण अवस्थामा रहेका नागरिक
(खासगरी सामाजिक सुरक्षाको राम्रो प्रबन्ध नभएका मुलुकका नागरिक) मा पर्न गएको स्वास्थ्य एवम् आर्थिक अवस्थामा पर्न गएको असरका साथै रोजगारीमा भएको कटौतीले गर्दा ‘न्यून असमानता’को लक्ष्य पनि जोखिममा छ ।

मिश्रित अथवा मध्यमखालको
नकारात्मक असर
मिश्रित अथवा मध्यमस्तरको नकारात्मक असर देखिएका लक्ष्यहरूमा गुणस्तरीय शिक्षा (लक्ष्य–४), लैङ्गिक समानता (लक्ष्य–५), सफा पानी तथा सरसफाइ (लक्ष्य–६), खर्चले धान्न सक्ने स्वच्छ ऊर्जा (लक्ष्य–७), उद्योग, नवीन खोज र पूर्वाधार (लक्ष्य–९), दिगो सहर र समुदायहरू (लक्ष्य–११), शान्ति, न्याय र सशक्त संस्थाहरू (लक्ष्य–१६), र लक्ष्य प्राप्तिका लागि साझेदारी (लक्ष्य–१७) समेत आठवटा लक्ष्य छन् । दिवा स्याहार केन्द्र र विद्यालय लामो समयदेखि बन्द छन् । सूचना प्रविधिको राम्रो पूर्वाधार विकास भएका मुलुक र सहरहरूमा मात्र सामान्य रूपमा भए पनि अनलाइन कक्षाहरू चलेका छन् । यसप्रकार मानवीय पुँजी विकासका क्रियाकलापहरू प्रभावित हुनुले गुणस्तरीय शिक्षाको लक्ष्यमा पनि नकारात्मक असर परेको छ ।
रोजगारीमा कटौती र गरिबीलगायतका नकारात्मक आर्थिक प्रभाव, घरेलु हिंसालगायतका नकारात्मक सामाजिक प्रभाव तथा कोभिड महामारीका कारणले पुरुषहरूको उच्च मृत्यु दर (महिलाको तुलनामा पुरुषहरूमा धूमपान र मद्यपानको समस्या धेरै हुने हुँदा मृत्यु हुनेको सङ्ख्या पनि पुरुषकै बढी हुन गएको बताइन्छ)समेतका कारण महिला प्रभावित हँुदा लैङ्गिक समानताको लक्ष्य नकारात्मक रूपमा प्रभावित भएको छ । पिछडिएका वर्गमा स्वच्छ पानीको उपलब्धतामा कमी र स्वास्थ्यका मापदण्ड परिपालनामा भएको असावधानीले सफा पानी तथा सरसफाइको लक्ष्य पनि प्रभावित भएको छ । गिर्दो आर्थिक वृद्धिले ऊर्जाको मूल्यमा गिरावट आई ऊर्जाको माग र पहुँचमा त वृद्धि होला तर नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा लगानी अभावले खर्चले धान्न सकिने स्वच्छ ऊर्जाको लक्ष्य पनि प्रभावित हुँदै छ ।
त्यस्तैगरी, औद्योगिक उत्पादनमा भएको र आगामी दिनमा अझै हुन सक्ने ह्रास, उद्योग प्रतिष्ठानहरू धराशयी एवम् राष्ट्रियकरणसमेत हुन सक्ने जोखिमले उद्योग, नवीन खोज र पूर्वाधारको लक्ष्य प्रभावित हुन पुगेको छ । वर्तमान महामारीले सहरी गरिबको सङ्ख्या वृद्धि गराएको छ । अझै हुन सक्ने सहरी गरिबीको वृद्धि, सार्वजनिक यातायातमा परेको बन्दाबन्दीको प्रभाव आदिका कारणले दिगो सहर र समुदायको लक्ष्य प्रभावित छ । महामारीका कारण स्वास्थ्य र आर्थिक क्षेत्रमा परेको नकारात्मक प्रभाव कम गर्न सरकारहरूलाई अत्यधिक दबाब पर्नु, संसद् प्रभावित भई अत्यावश्यक कानुन निर्माणमा कठिनाइ हुनुका साथै प्रदेश र स्थानीय तहको क्षमता विकासका कार्यक्रमहरू पनि प्रभावित हुनुले सुशासन अर्थात् शान्ति, न्याय र सशक्त संस्थाहरूको लक्ष्य प्रभावित भएको छ । अति कम विकसित र विकासोन्मुख देशहरूलाई विकसित देशहरूले प्रदान गर्र्दै आएको आर्थिक सहयोग र अनुदानमा गिरावट हुनु, रेमिट्यान्स (विप्रेषण)मा भएको कमी तथा अन्तर्राष्ट्रिय व्यापार र पारवहनमा भएको गडबडीले दिगो विकास लक्ष्य प्राप्तिका लागि साझेदारी गर्ने लक्ष्य पनि प्रभावित भएको छ ।

असर प्रस्ट नभएको
चारवटा दिगो विकास लक्ष्यहरू जस्तै : जिम्मेवारपूर्ण उपभोग तथा उत्पादन (लक्ष्य–१२), जलवायुसम्बन्धी कारबाही (लक्ष्य–१३), जलमुनिको जीवन (लक्ष्य–१४) र जमिनमाथिको जीवन (लक्ष्य–१५) मा वर्तमान महामारीको प्रभाव प्रस्ट देखिँदै छ । आर्थिक गतिविधि नभएका कारण प्राकृतिक स्रोतहरूको कम प्रयोग हुँदा जिम्मेवारपूर्ण उपभोग तथा उत्पादनको लक्ष्यमा तत्कालका लागि कुनै प्रभाव छैन । त्यस्तैगरी, ग्रीन हाउस (हरित् गृह) ग्यासको उत्सर्जनमा पनि कमी आएको छ । वातावरणीय अवयवहरूमा दबाब कम परेको छ । तथापि, वातावरणीय क्षेत्रमा अहिलेको अवस्थामा लगानी अनिश्चित छ । यी अवस्थाले गर्दा जलवायुसम्बन्धी कार्यमा वर्तमान महामारीको प्रभाव प्रस्ट छैन । दिगो विकास लक्ष्य १४ नेपालको सन्दर्भमा लागू नभए पनि अन्तर्राष्ट्रिय व्यापारमा भएको ह्रासले यतिबेला समुद्रभित्रको जैविक विविधतामा पनि कुनै प्रभाव नपरेको बताइन्छ । त्यस्तै, जमिनमाथिको जीवन पनि जैविक विविधतासँग सम्बन्धित छ । आर्थिक गतिविधि सुस्ताएकाले यो लक्ष्यमा पनि तत्काल कुनै प्रभाव परेको छैन ।
विद्यमान महामारीको समयमा विकास लक्ष्यहरूको असरबारेमा विश्लेषण गर्दा सामान्यतः नकारात्मक प्रभाव नै बढी देखिन्छ तथापि केही सकारात्मक प्रभाव पनि छन् । यातायातका साधनहरू बन्द हुँदा वा आंशिक रूपमा मात्र चलेको अवस्थामा वायु प्रदूषणमा कमी अनुभव गरिएको छ । आर्थिक गतिविधि मानिसको जीवनपद्धतिसँग प्रत्यक्ष सम्बन्धित भएकाले त्यसमा गिरावट आउनु राम्रो होइन तथापि आर्थिक गतिविधिमा भएको गिरावटका कारण ग्रीन हाउस ग्यासको उत्सर्जनमा विगतको तुलनामा कमी आउनुलाई सकारात्मक मानिन्छ । सडक दुर्घटना कम हुनु, भ्याक्सिन निर्माण तथा त्यसको वैज्ञानिक अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्यमा वृद्धि हुनु, स्वास्थ्य, शिक्षा, शासन पद्धति तथा भुक्तानीमा डिजिटल प्रविधिको प्रयोगमा बढोत्तरी हुनुलाई सकारात्मक मान्न सकिन्छ ।
(लेखक दिगो विकास, सङ्घीयता, अनुगमन तथा मूल्याङ्कन विषयविज्ञ हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?