अशोक सोकी
जे गर्छु भन्यो, त्यो गर्न नपर्ने हुन सक्छ, जे गर्दिनँ भन्यो त्यो गर्नुपर्ने हुन सक्छ । यो समयले गर्ने कुरा हो । आफ्नो हातमा समय छैन, हामी समयको हातमा भएकाले समयले के गर्छ, त्यो पनि थाहा छैन । त्यसो भएर समयअनुसार हामीले कार्यान्वयन गर्नुपर्ने (चल्नुपर्ने) हुन्छ । यो समयचक्रले खेलेको भवचक्र हो । यही भवचक्रले प्राणीको जन्म मृत्यु लिएर आउँछ, अरूको जन्म मृत्यु लिएर आउने समयको जन्ममृत्यु छैन । यो समयको न सिङ छ, न पुच्छर नै । सुरू र अन्त्य नभएको समयअनुसार प्रकृतिले रूप बदलिरहन्छ । मौसम परिवर्तन भइरहन्छ । यहीअनुसार आज मन पर्ने मान्छे भोलि मन नपर्ने, हिजो मन नपर्ने, मान्छे आज मन पर्ने हुन सक्छ । यही क्रियाकलापले पे्रम भएर पनि विछोड हुन सक्छ । यो समय अटल नभएका कारणले हो । यही समयको भवचक्रले गर्दा जो व्यक्तिको आत्म कमजोर छ, भवितव्यको चिन्ताले भवभय भइरहन्छ ।
अरूदेखि भय नहुने प्राणीहरू मृत्युदेखि भयभीत भएका छन् । हामीले यता राक्षसराजजस्तो मानिने रावण पनि मृत्युदेखि भयभीत भए । गरूड, नाग, यक्ष, दैत्य, दानव, देवताको हातबाट मृत्यु नहोस् भनी तपस्या गरेर ब्रह्मासँग वरदान मागेका थिए । वरदान माग्दा मनुष्य साधारण देखेर नाम लिएनन्, आखिर विष्णु भगवान् श्रीराम मनुष्य अवतार लिई रावणको वध दशमीको दिन गरे । असत्यलाई सत्यले विजय गरेको भनी संस्कृत भाषामा विजयादशमी भनेको हो । संस्कृतका छ अक्षरबाट यो बनेको छ ।
यो विजयादशमीमा महिषासुर, चण्ड–मुण्ड, शुम्भ–निशुम्भ, धूम्रलोचन, रक्तबीजजस्ता दैत्यहरूलाई दुर्गा भवानीले वध गरेको श्री दुर्गासप्तशतीमा उल्लेख छ । संस्कृतअनुसार वि = विनाश–शत्रुलाई विध्वंश पार्नु, ज= जगत् – जगत् कल्याणका लागि, य= यार्कृत समय (कालखण्ड), गरेको समय, द=दण्ड शत्रुलाई दमन गर्नु, श=शत्रुलाई, मी= मत्स्य अवतारी भगवान् विष्णु । यही तिथिलाई दसैँ भनिएको हो । अर्थात् विजयादशमी भनिएको हो । यो समय आउन पनि समयलाई पर्खनुपर्छ । समय निरन्तर एकनास बगिरहे पनि कसैका लागि उही समय कसैलाई घटी हुन्छ, कसैलाई बढी । मानिस बलवानको होस् या धनवान्, चाहे निर्बल होस् निर्धन, सबैका लागि सधैँ एक रूप हुन्छ समय । हुन त उही समयमा कसैको जन्म, कसैको मरण, कोही उही समयमा धनी कोही उही समयमा गरिब भइराखेको हुन्छ ।
समयले राजा हरिश्चन्द्रलाई मसानघाटको पहरेद्वार बनायो, समयले अहङ्कारले चुचुरामा पुगेको मानिसलाई कङ्गालमा ल्याई खसाल्छ भने कङ्गाल मानिसलाई शिखरमा पु¥याएको पनि छ । एउटा गरिब किसानको छोरो, एउटा पुस्तक किन्न नसकेर छिमेकीबाट ल्याए । दुर्भाग्यवश छानाबाट पानी चुहेर पुस्तक बिग्रियो । त्यो पुस्तकको पैसा चुक्ता गर्न नसकेर छिमेकीको खेतमा काम गर्न गए । उनै मानिस सन् १८६० मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बने । उनी थिए– अब्राहम लिङ्कन ।
यसैले यो संसारमा जे हुन्छ, समयले गर्छ । जे भएन, समयले गरेन । समयलाई हामीले कुप्रबन्ध गरी दुव्र्यवस्था ग¥यौँ भने समयले हामीलाई पनि दुर्दैव पार्न सक्छ । समय शक्तिवान् छ, समयसँग खेलवाड गर्न हुँदैन । समयको नापतौल केही छैन, न सिमाना नै । यसलाई न कसैले घटाउन सक्छ न बढाउन नै तर निरन्तर बगिरहन्छ । समयले कसैलाई पक्षपात गरी दयावान् र नकारात्मक रोष गरेको छैन । तर पनि उही समयमा कसैको दुर्गति कसैको प्रगति भइरहेको हुन्छ, यो आफसे–आफ स्वविवेकबाट परिवर्तनका कारणले भएको हो । समयसँग अवसरको भण्डार छ तर त्यसलाई सजग भएर प्रयोजनबाट उपयोग गर्न सक्नुपर्छ । समयले अवसर लिएर आउँछ, पर्खिदैन । गुमेको अवसर फर्किदैन ।
जीवन जति महŒवपूर्ण छ, त्यति नै अमूल्य समय छ । जसलाई अतुलनीय सम्पत्तिमा पनि तुलना गर्न सकिँदैन । मानिस साधारणतया अज्ञान र दुष्ट स्वभावले सम्पत्तिको अधिपति हुन खोज्छ, सुरक्षाका लागि जे पनि गर्न तयार भई गल्ती गर्छ । गल्तीलाई छोपेर सजाएर असलको नाटक गर्छ । आफ्नानिम्ति आफूले बनाएको भवचक्रमा परी दुःखको परिग्रहमा फस्न पुग्छ ।
मानिसको जीवनमा कुनै कुरा एकनास छैन भन्ने बुझेर चित्तलाई सम्हाल्नुपर्छ । यो समयको भवचक्रले विनाशकारी महाप्रकोप र महामारी रोग जे–जस्ता लिएर आए पनि विवश भएर सहनुपर्ने हुन्छ । गुरू गोरखनाथले शिष्य उग्रनाथलाई भने, ‘यो कलियुगमा सम्पत्ति, सन्तान नै दुःखका कारण हुन्छन् । मानिसको दुर्मन र गलत आचरण हुनाले मनुष्यबाट मनुष्य नै दुःखको कारण बन्छ । मानिस आफ्नै दोषपूर्ण सशङ्कित भएका हुन्छन् । त्यसैले परिवार नहुनु भाग्यमानी हो ।’ प्राणीहरूमध्ये मनुष्यमा ज्ञान र ध्यान हुन सक्ने भएर नै मनुष्यलाई सर्वश्रेष्ठ प्राणी मानिएको हो । देवता र पशुबीचको कडी मनुष्य हुनाले दुवैसँग सन्तुलन मिलाई चल्नुपर्छ । त्यसैले प्राणीमध्ये सबैभन्दा दुःख मानिसलाई हुन्छ भने सबैभन्दा सुख पनि मानिसलाई नै हुन्छ । समयचक्रअनुसारको भवचक्र पार गर्नु सर्वसाधारण मानवको सोचाइभन्दा पर छ । ज्ञानी, ध्यानी र बुद्धिमान यो समयचक्रअनुसारको भवचक्रलाई पार गर्न लागिपर्छन् ।
(लेखक धर्म–संस्कृति अध्येता हुनुहुन्छ ।)