logo
२०८१ माघ १० बिहीवार



रोग, भोग नै शोक हो

विचार/दृष्टिकोण |




अशोक सोकी

युग विकासको चरम सीमामा जति अगाडि बढे पनि मानिसको आत्मालाई सन्तुष्टि छैन । यो सबै मनभित्रबाट उब्जिने भावनाबाटै निस्कने स्रोत हो । मनभित्र जे छ त्यही बाहिर प्रकट हुने हुनाले मनलाई ठीक तरहबाट व्यवस्थित गर्न सक्यौँ भने मात्र पूरा आफ्नो शरीर व्यवस्थित हुनसक्छ ।
भावना, ऊर्जा, शक्ति, मनलाई निश्चित दिशातिर लगाउन सके सहज तरिकाले आफ्नो मौलिक जीवन सिद्ध हुन सक्छ । आफ्नो लक्ष्यलाई बदलेर पाइला चाल्दै गयो भने गन्तव्यमा पुग्न मुस्किल हुन्छ । लक्ष्य एकत्रित गरेर मात्र ‘अर्जुनले घुमेको माछाको आँखामा तीर हानी द्रौपदीलाई स्वयंवरमा जित्न सके ।’
आफ्नो लक्ष्यमा मात्र एकत्रित भएर अगाडि बढे लक्ष्यलाई पूर्णरूपमा सफलता पाउन सकिन्छ । लक्ष्यलाई सहज रूपमा सफल पार्न, शारीरिक क्रिया, मानसिक क्रिया, भावनात्मक क्रिया, ऊर्जा क्रिया ठीक हुनुपर्छ । यसको विपरीत भयो भने हाम्रो आत्मा विनाशकारी हुन जान्छ, यही हाम्रो समस्या हुन्छ । जुन हामी सुन्दर भविष्यका लागि सोचविचार गरी कल्पना गर्छौं त्यो सबै टुटेफुटेको सिसाझै चकनाचूर हुन्छ । मनको भाँडोमा विषाक्त पदार्थ राखी चित्तलाई प्रसन्न गर्न सकिँदैन ।
यो युगमा मानिसको सोच, विचार, चाहना धन अनि स्त्री, पुरुषमा लौकिक प्रेमबाट मनमा विलासीको खोजीले विषाक्त भर्न पुगेका छन् । विषाक्त चिन्ता गर्नाले त्यो विषाक्त मनको भाँडोबाट शरीरभरी पैmलिन पुग्छ । चिन्ताले भरिएको मुहार विमुग्ध भएर बिरामीजस्तो देखिन्छ । जसले गर्दा आफ्नो काममा स्पष्ट ढङ्गले तीव्रता दिन सकिँदैन, काममा बाधा अड्चन आउँछन् ।
हामीले सोचविचार गरी इच्छा गर्न सक्नुपर्छ । असम्भव इच्छा भयो भने त्यो इच्छामै मात्र सीमित हुन जान्छ । यो पनि दुःखको कारण बन्न जान्छ । यसले शरीर विरक्त हुन जान्छ । आत्मबलले असम्भवलाई सम्भव गर्न कडा परिश्रम गराउँछ तर सफल भएन भने नैराश्य भएर दिक्दारी हुन्छ । गीतामा भनेको छ– “काम गर फलको आशा नगर ।” आशा विफल भयो भने निराशा हुनजाने भएकोले यसो भनेको हो ।
सफलता केवल समय र परिस्थितिको अधीनमा छ । हाम्रो काम हो, मनमा लागेको काममा इच्छा गरी मिहिनेत गर्ने । हामी विगतका अनुभव बटुलेर विश्वासको आधारमा आफ्नो लक्ष्य तय गरी योजना बनाएर परिश्रम गर्छौं । लक्ष्य प्राप्त गर्नु मन खुसी शरीर सुखीका लागि मात्र होइन, सेवा सुविधाको लागि पनि हो । यो सबै आत्मा सन्तुष्ट गरेर आनन्द लिनको लागि नै हो । आनन्द लिन मनभित्र सुख बाहिर वातावरण शान्ति र समाजमा प्रेम आवश्यकता पर्छ ।
यसका लागि प्रभातकालीनमा मनस्थितिलाई कुशल बनाई शान्तिपूर्ण, प्रेमपूर्वक, आनन्दमय काम गर्छु भन्ने प्रतिबद्धता गरी लागिपरे काम असफल हुँदैन । मनको उपयुक्त प्रबन्धबाटै नै भावनाको प्रबन्ध हुन्छ । भावनाको प्रबन्धबाट विचारको प्रबन्ध हुन्छ । विचारको प्रबन्धबाट विचारले मानसिक शारीरिक ऊर्जा वृद्धि भएर इच्छाशक्ति पूर्ण हुन्छ । संसारमा जे जति साधन बनेका छन्, त्यो सबै बाहिर प्रकट हुनु अगाडि त्यो मनको इच्छाशक्तिले मनभित्र पहिले रचना भएको हुन्छ । कुशल चित्तले उत्कृष्ट, उदाहरणीय काम गर्ने अमर बन्छन् । यसको विपरीत भोगविलासाको अभिप्रायले तृष्णाको लालचमा लागेर कुकर्म गर्ने पामर बन्छ । दुष्कर्म सोचलाई मस्तिष्कको कुनाकन्दरामा भर्दा विकृत चित्तले विचार र प्रेरणालाई मनुष्यको वास्तविक जीवनबाट टाढा लैजान्छ । दुष्कर्मले चिन्ता बढाउँछ । चिन्ताले ग्रस्त भएपछि शरीर निष्क्रिय भएर रोगले समात्न पुग्छ । यही भोगले रोग, रोगले शोक, शोकले जीवन व्यर्थमा गुमाउन पुग्छ ।
यो अमूल्य जीवनलाई महìवपूर्ण कार्यमा लगानी गरेर त्यसको फल चाख्न चाहन्छौँ भने समयलाई उपयुक्त ठाउँमा लगानी गरेर, मोहलाई रोक लगाएर दुष्कृत्यबाट टाढै रहनुपर्छ । यसैबाट हामी उज्ज्वल भविष्यको निर्माण गर्न सक्छौँ । मस्तिष्कलाई सशक्त बनाएर उपयोगी काममा लागिपर्छु भनी अठोट गरेर अगाडि बढेमा विश्वको सुन्दर ढुकुटीमा रहेका सौन्दर्यहरूलाई देखेर चिन्न सक्छौँ । जब यो सुन्दर मनले सुन्दर भावनालाई जगेर्ना गरी सुन्दर जीवनमा पदार्पण गर्न सक्छौँ, भोग, रोग र शोकबाट मुक्त हुन सक्छौँ ।
(लेखक अध्येता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?