logo
२०८१ मंसिर ९ आईतवार



अविश्वासले बढाएको तरङ्ग

जसको भूमि उसैलाई सुम्पिँदा भारतको अपयश होइन, दुनियाभरि यशोगान हुनेछ

विचार/दृष्टिकोण |




निर्मलकुमार आचार्य

नेपालको राजनीतिक आकाशमा फेरि पृथक् तरङ्ग देखिएको छ । आपसी अविश्वास, शङ्का र अनमेलले अन्योल बढाइरहेको बेलामा तरङ्गिएको लहरले अज्ञात अनिश्चय उब्जाएको छ । मन, मुटु, मस्तिष्क र गति एउटै हुनुपर्ने उही दलकै नेता, कार्यकर्तामा समेत समदृष्टिको खडेरी लाग्दा जनमानस झन् उद्वेलित बनेको छ ।
भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ) का प्रमुख सामन्तकुमार गोयलबाट यही कात्तिक पहिलो साता भएको नेपाल भ्रमण र अर्को साता (कात्तिक १९) भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबाट हुन लागेको नेपाल भ्रमणको सन्दर्भलाई लिएर विभिन्न कोण, प्रतिकोणबाट व्याख्या, विश्लेषण तथा टीका–टिप्पणी गरिँदै छ ।
नेपाल–भारतमाझ सम्बन्ध चिसिएका बखत नभएको भए भारतीय सुरक्षाचक्रका प्रमुखको नेपाल भ्रमण सन्दर्भ उस्तो चासो र टिप्पणीको विषय हुने थिएन नै । विगतमा ‘रअ’का पदाधिकारीको आउजाउ र नेताहरूसितको भेटघाट कुनै नौलो कुरो थिएन तर प्रधानमन्त्री केपी शर्मा ओलीसित ‘रअ’ प्रमुख गोयलको भेटवार्ता अहिले धेरैका लागि टाउको दुखाइको बिन्दु बनेको छ । भेट्नै हुन्नथ्यो भन्ने र भेट्दा आफ्नो कुरा प्रस्ट राख्न पाइएको अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । दुई देशबीच सम्बन्ध सुधारका दिशामा सकारात्मक पहल बढेकाले यसमा अन्यथा मान्न नहुने धारणा पनि रहेको छ ।
भारतीय सेनाध्यक्षको नेपाल भ्रमण पनि अपरम्परागत होइन नै । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा आउन लाग्नुभएको भारतीय सेनाध्यक्ष नरवणे, भारतको २८औँ सेनाध्यक्ष हुनुहुन्छ । सार्वजनिक जानकारीमा आएअनुसार मन्त्रिपरिषद्बाट २०७६ माघ २० गते नै भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण स्वीकृत भएको थियो । नेपालका सेनाप्रमुखलाई भारतमा र भारतका सेनाप्रमुखलाई नेपालमा मानार्थ महारथी दर्जा दिने परम्पराअनुसार आगामी २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त दज्र्यानी चिह्न प्रदान हुने कार्यक्रम तय गरिएको छ ।
भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणप्रति आलोचनात्मक टिप्पणी रहनु अस्वाभाविकचाहिँ होइन । नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक आदि आफ्नो भूमि समेटी नक्सा अद्यावधिक गरेपछि उहाँबाट जे–जस्ता भावना सम्प्रेषण भए, तिनले सार्वभौम नेपाल र नेपालीलाई गहिरो चोटमात्रै दिएन, भारतीय सेनाको व्यावसायिक मर्यादामाथि पनि मर्माघात ग¥यो । नेपालको स्वाभाविक कदमलाई चीनको उक्साहटको संज्ञा दिनुभएका सेनाध्यक्ष नरवणेले केही दिनपछि आफ्नो त्रुटि सच्याउनुभएको पाटो पनि यतिखेर स्मरणीय बनेको छ । बिहान हराई बेलुकी फर्किएकालाई हराएको भन्न नहुने हिन्दी कहावतझैँ भारतीय सेनाध्यक्ष नरवणेको परिवर्तित धारणालाई सकारात्मक रूपमा लिइएको छ ।
पहिले ‘रअ’का प्रमुखको भ्रमण त्यसलगत्तै हुन लागेको भारतीय सेनाध्यक्षको भ्रमणले भारत नेपालका मामिलामा खुफिया निकाय तथा सैन्य कूटनीतिलाई अगाडि बढाउन लागिरहेकामा शङ्का छैन । राजनीतिक वा कूटनीतिक सहज मार्ग अवलम्बन गर्नुसाटो किन खुफिया तथा सैन्य कूटनीति अँगाल्न थालिएको होला ? प्रश्न उठ्ने नै भयो । नेपालले बारम्बार आग्रह गर्दा पनि कोरोना (कोभिड–१९) को महामारी नसकिएसम्म वार्ता असम्भव रहेको जनाउँदै आएको भारतले यसबीच भिडन्तरत चीनसित मात्रै होइन, छरछिमेक तथा परैका विभिन्न देशसित पनि संवाद गरेकै हो । नेपालका लागि राजनीतिक, कूटनीतिक वार्ताको साइत कहिले जुर्ने ठेगान अस्पष्ट रहेको घडीमा अहिलेका चर्चित दुर्ई भ्रमण परिदृश्यमा आएका छन् ।
भारतका लागि नेपाल र नेपालका लागि भारत अभिन्न छिमेकीमात्र होइनन्, जुगौँ अघिदेखिका मित्रराष्ट्र पनि हुन् । भौगोलिक, राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिकलगायत विविध दृष्टिले अन्योन्याश्रित देश हुन् यी । भारतलाई दासताको पञ्जाबाट मुक्त गर्न र प्रगतिको फाँटमा उकास्न नेपालीले खेल्दै आएको भूमिका र नेपालका राजनीतिक आन्दोलनमा भारतले पु¥याएको सहयोग कम छैनन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् हुँदै विश्व मानचित्रमा चम्किन खोजेको भारतका लागि नेपालजस्तो परम्परागत मित्रराष्ट्र रुष्ट रहनु कुनै पनि अर्थमा ओजबद्र्धक छैन । इतिहास, सन्धिपत्र, प्रशासनिक कागजात, नाप–नक्सा, जनबोली आदिले नेपाली भूमि भएको गुहार लगाइरहेका लिम्पियाधुरा, कालापानी, लिपुलेक, सुस्तालगायत तमाम क्षेत्रलाई सरक्क छाडी साँच्चै ठूलो लोकतान्त्रिक छवि देखाउने युगान्तकारी अवसर अहिले भारतलाई जुरेको छ । जसको भूमि उसैलाई सुम्पिँदा भारतको अपयश होइन, दुनियाभरि यशोगान हुनेछ । कुरो भूमिको मात्र होइन, क्षेत्रफलका हिसाबमा मिचिएको भनिएका भूमि भारतका लागि केही होइनन्, भूमि फिर्ता दिनुका साथै नेपालको आर्थिक विस्तार एवम् सहज सामुद्रिक पहुँचलगायत समस्त समस्या समाधान गर्ने महाबुटीको खोजी सामयिक आवश्यकता बनेको छ ।
सम्बन्ध सुधारका लागि अन्य प्रयास नबढिरहेको अवस्थामा खुफिया÷सैन्य कूटनीतिकै आधारमा भए पनि भारतीय पहल बढ्नु नकारात्मक नरहेको धारणा एकातिर रहेको छ भने त्यहीँ संशयका बीउ व्याप्त रहेको जनाउने पनि छन् । चीनसँग निरन्तर कटुता बढिरहेको परिपे्रक्ष्यमा भारतले छरछिमेकका देशलाई स्वानुकूल तुल्याउन सम्बन्धका आयाम बढाउन खोज्नु अनौठो होइन । हरेक देशले आफ्नो स्वार्थलाई सर्वाेपरि राख्न विभिन्न प्रयास गर्छ नै । अन्य देशलाई धक्का दिएर स्वार्थ परिपूर्ति गर्न खोज्नुचाहिँ सरासर गलत हो । गल्ती स्वीकार्ने र सुधार्ने काम सितिमिति हुने गर्दैन । समस्याको जरो यहीँ घुसेको छ । भारत सरकारले जसलाई ‘विशेषदूत’ बनाएर पठाए तापनि समस्याको जरो देखाउने काम यहाँबाट खुलस्त रूपमा सकौशल हुनु अनिवार्य छ । अगुल्टोको चोट परेकालाई बिजुली चम्कँदा पनि सकस हुनु अनौठो होइन । यस अर्थमा ‘रअ’ प्रमुख गोयलको भ्रमणलाई लिन सकिन्छ । विगतका राजनीतिक घटनावलीमा नाम मुछिँदै आएको ‘रअ’प्रति नेपाली जनमानस सकारात्मक नरहेको नजान्ने कोही छैनन् । राजनीतिक मैदानमा कसैलाई ‘रअ’को मान्छेमात्रै भनिँदा पनि ठूलो कोकोहोलो मच्चिने गरेकै छ । विगतमा अनेक नेताले पटक–पटक विभिन्न अवसरमा ‘रअ’का पदाधिकारीसँग भेटेका खबर कुनै नौला होइनन् । नेपाल भ्रमणमा रहेका बखत ‘रअ’ प्रमुख गोयलले विभिन्न राजनीतिक दलका नेतासित पनि भेटेका खबर भारतीय सञ्चारमाध्यममा आएको भए तापनि सम्बद्ध नेताहरूले त्यसको खण्डन गरेका छन् । भेट्दै नभेटेकालाई भारतीय सञ्चारमाध्यमले कसलाई स्रोत मानी भेटेको लेख्यो ?
प्रश्नसँगै भेटेको भए भेट नभएको किन भन्नु ! जिज्ञासा रहेकै छ । भेटेको भन्दा जनतामा नराम्रो सन्देश जाने अर्थमा लिने हो भने गोप्य रूपमा भेट्नु झनै अनुचित हो । राष्ट्र र राष्ट्रियताप्रति दुराशय नराख्ने हो भने जसले जहाँ जोसुकैलाई भेट्दा पनि फरक पर्दैन । लुकेर भेट्ने तर देखिँदा अञ्जान बन्ने पाराले कसैको हित गर्ने छैन । कसले, कसलाई, कहिले र किन भेट्ने वा नभेट्ने नीतिकै पनि खाँचो टड्कारिएको छ । अन्यथा जसले, जसलाई, जहिल्यै, जहाँ रहेर वा गएर भेट्ने प्रवृत्ति खतरनाक साबित हुन सक्छ ।
नेपालको राजनीति यतिखेर ज्यादै तरल रहेकामा दुईमत छैन । सत्ताधारी दल नेकपा गणितीय हिसाबमा अत्यन्त बलियो भए तापनि गुटबन्दीले गर्दा ‘किन चाउरिस् मरिच ...’ को हविगतमा छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँगे्रस पनि गुटबन्दी र निष्क्रियताका कारण दिनानुदिन दुर्बल हुँदै गइरहेको छ । अन्य राजनीतिक दलसमेत कहीँ कतै सुप्रभाव पार्न सफल देखिएका छैनन् । राष्ट्रियताका सवालमा एकमुख भएका नेताहरू अहिले दसतिर फर्किई एक–अर्काको उछित्तो काढ्ने काममा प्रवृत्त छन् । यही ताल रहने हो भने ‘भाइ फुट गँवार लुटे’को दृष्टान्त हेर्न अन्यत्र धाउनुपर्ने छैन ।
नेपाल र भारतबीच सधैँभरि तिक्त सम्बन्ध रहनु ठीक होइन । यतिखेर वार्ता मोदी सरकारलाई मात्र होइन, नेपाललाई पनि चाहिएको छ । मोदी सरकारले जुनसुकै माध्यमबाट भए पनि बढाएको र बढाउने वार्ताको अग्रसारितालाई बुद्धिमत्तापूर्ण ढङ्गबाट स्वीकार गरी अघि बढ्ने काममा सरकार, प्रतिपक्षलगायत तमाम दल एक हुनुपर्छ । एकताको बलबाट नै सबैखाले समस्या अन्त्य हुँदै जाने भएकाले यसमा कसैमाथि कसैले शङ्का नगरी आपसमा मिलेर अघि बढ्नु सर्वथा श्रेयष्कर हुनेछ ।
राष्ट्र र राष्ट्रिय हितको परिपूर्तिका निम्ति राजनीतिक दलमात्रै होइन, मुलुकमा भएका तमाम शक्ति ऐक्यबद्ध हुनु सामयिक आवाज हो । एकताको बल नै सबै समस्याको महौषधि हुने भएकाले यसमा कसैको नाइँनास्ती नहुनु सुखद पक्ष ठहरिनेछ । हिलेपानीमा माछा मार्न पल्केकाहरू जहिलेसुकै दाउको पर्खाइमा रहेका हुन्छन्, तिनको मनसुबालाई फेल ख्वाउन पनि अनावश्यक तरङ्ग फैलन नदिई राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको मूलबिन्दुमा सबैको एकदृष्टि अपरिहार्य छ । 
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?