logo
२०८१ मंसिर १२ बुधवार



बाढी, पहिरो र डुबानको व्यथा

विचार/दृष्टिकोण |




निर्मलकुमार आचार्य

बर्खामा बाढी, पहिरो, डुबान र कटानको समस्या कुनै नौलो होइन । पहाडलाई बाढी, पहिरो र तराईलाई डुबान तथा कटानले बर्सेनि बढाइरहेको व्यथा न्यूनीकरण गर्नेतर्फ चाहिँदो सक्रियता नदेखिनुचाहिँ थप पीडादायी विषय बनेको छ । यसपालि बर्खाको थालनीमै मेलम्ची तथा इन्द्रावती नदीमा उर्लिएको बाढीले मेलम्ची, हेलम्बु आदि क्षेत्रमा मच्चाएको विनाशको कहर अझै साम्य हुने लक्षण छैन भने मस्र्याङ्दी, नारायणी, सप्तकोसी, राप्ती, महाकालीलगायत मुलुकका अधिकांश नदीमा देखिएको रौद्ररूप पुनः के–कस्तो रूपमा प्रकट हुने हो ? भन्न सकिँदैन ।
बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपमाथि नियन्त्रण सम्भव छैन तर यसबाट सकेसम्म जन, धनको क्षति कम गर्न सकिन्छ । पूर्वसूचनामात्रै प्रवाह गरिँदा पनि नदीकिनारका बासिन्दालाई बचाउन सकिएका उदाहरण धेरै छन् । बाढी, पहिरोको प्रकोप पर्दा तत्काल उद्धार तथा राहत जुट्न सक्दाको परिणामै बेग्लै हुन्छ तर बाढी, पहिरोको चपेटामा परेकाले आश्वासनबाहेक केही नपाएको अवस्था पनि छ । बाढी, पहिरोको बढी जोखिमका क्षेत्रबाट जनधन जोगाउन बस्ती स्थानान्तरणको काममात्रै भएका खण्डमा पनि शोकको सुर्तामा आमनागरिकले पिरोलिरहनुपर्ने थिएन । सकेसम्म स्थानीय क्षेत्रमै अन्यथा वरपर उपयुक्त स्थानमा बस्ती स्थानान्तरणको प्रक्रिया अगाडि नबढे सिन्धुपाल्चोकको नियति धेरैतिर देखिन सक्छ ।
प्रकृतिमाथि ज्यादै खेलबाड गरिएकाले नै आज सबैतिर प्रकोप बर्सिरहेको सत्य छ । औद्योगिकीकरणका नाममा मनपरी ढङ्गबाट अन्धाधुन्ध गति बढाइएकाले पर्यावरणीय सन्तुलन खजमजिएको छ । ठूला औद्योगिक राष्ट्रको मनपरीतन्त्रका कारण नेपालजस्तो मुलुकले समेत ठूलो मूल्य चुकाउनुपरिरहेको छ । नदीको प्रवहण क्षेत्रमाथि अतिक्रमण गर्ने प्रवृत्तिले पनि धेरैतिर विनाश बढाएको छ । तटवर्ती नगर, गाउँ बाढीको चपेटामा पर्न विवश भएका छन् ।
नेपाली संस्कृति र सभ्यताको परिचायक भन्ने गरिए पनि नदीको मूल्य, मान्यता र मर्यादा कायम राख्नेतर्फ काम भएको पाइँदैन । काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, रुद्रमती (धोबीखोला)कै अवस्था सन्तोषजनक छैन भने अन्य सहायक नदीको कथा त झनै दारुण छ । मणिमती (मनोहरा), हनुमती (हनुमन्ते), कर्मनाशा, सालीनदी, भद्रमती (मचाखुसी), प्रभावती (नख्खुखोला), बल्खुखोला, महादेवखोला, गोदावरी, चाखण्डे, रत्नावली, चारुमती (भाजङ्गाल), चन्द्रमती, सूर्यमती, नागमती, स्यालमती आदि जलसम्पदाको दुरावस्था कसैबाट लुकेको छैन । काठमाडौँको मुटु भई बग्ने इक्षुमती (टुकुचा) होस् वा यज्ञमती (चखुँचा)को कहालीलाग्दो वस्तुस्थिति जगजाहेर छ । नारामा नदीको रक्षक भट्याउने निकायहरू नै जहाँ नदीको भक्षक हुन थाल्छन्, त्यहाँ नदी लोप हुने अवस्थामा पुग्नु अनौठो होइन । राजनीतिक दबाब, जग्गा माफियाका प्रभाव र स्वार्थी प्रवृत्तिका कारण अधिकांश नगर तथा नगरोन्मुख स्थानमा परम्परागत नदीप्रवहण क्षेत्र नासिने, मासिने रोग बढ्दो छ ।
मुलुकभरिकै ७५३ वटा स्थानीय तह जाग्ने हो भने नदीको संरक्षणमात्रै होइन, डुबान र कटानको समस्या पनि न्यून गर्दै जान सकिनेछ । तसर्थ नदी÷खोला, खहरेमात्र होइन, राजकुलोसमेत जगेर्ना गर्नेतर्फ राज्यले तय गरेको विधिविधान÷मापदण्डको अक्षरशः पालना गर्नेतिर समस्त नेतृत्व इमानदार तथा सक्रिय हुनु युगीन दायित्व बनेको छ । दायित्वबाट विमुख हुने कथित नेता, कार्यकर्तालाई दण्ड, सजायको भागिदार बनाउन पनि ढिलाइ गरिनुहुँदैन । यही दण्डको अभावले नै आज सबैतिर बेथिति बढेको कटु यथार्थ छ । बाढीको सन्दर्भमा सबैभन्दा बढी पीडित तराईवासी छन् । यहाँ पहाडी भेगको तुलनामा स्थिति फरक छ । कतिपय नगरमा आफ्नै कमजोरी तथा मनपरीतन्त्रले पनि समस्या नबढाएको होइन, जस्तै चुरेको जथाभावी दोहन, कमजोर तटबन्ध, कच्चा कल्भर्टजस्ता पाटा पनि छन् तर मूलतः तराईमा डुबानको समस्या ‘छिमेकी मित्र’का कारण भइरहेको छ । भारतले अन्तर्राष्ट्रिय कानुन र अभिसन्धिविरुद्ध सीमावर्ती क्षेत्रमा बनाएका बाँध, तटबन्ध एवम् अग्ला सडक समस्याका मूल कारक तŒव हुन् । बेलाबखत नेपालले गुनासा नगरेको होइन, वार्ताबाट समस्या सुल्झाइने कुरो पनि चलेकै हो तैपनि निकै अघिदेखि बल्झँदै आएको डुबानको पीडा झन्झन् थपिँदो पो छ । जानकारका अनुसार नेपालबाट ६० वटा जति सानाठूला नदी भारततर्फ बग्छन् । भारतले यी नदीको प्रवाह रोक्न सीमावर्ती क्षेत्रमा बनाएका बाँध आदिका कारण नदीको प्रवाह नेपालतिरै मोडिई डुबान हुने गरेको हो । यसरी नेपालको दक्षिणी भेगमा पूर्वदेखि पश्चिमसम्मै भारतले २८ वटा अनधिकृत संरचना बनाएको छ ।
भारतद्वारा रूपन्देहीको दक्षिणमा बनाइएको खुर्दलोटन बाँध, कपिलवस्तुको सिमानामा बनाइएको महलीसागर बाँध, होलिया नदी बाँध, गण्डक बाँध, बैरगनिया रिङड्याम, लक्ष्मणपुर बाँध, कलकलवा मर्जिनल तटबन्ध, कैलाली जिल्लाको दक्षिणतर्फ पर्ने गिरिजापुरी बाँध, बजाहा बाँध आदि आमनेपालीको दुःखका कारक बनेका छन् । भारतले आफूलाई पानी आवश्यक पर्दा खोल्ने र बाढीका बेलामा बन्द गर्ने भएकाले नेपालका क्षेत्र डुबानमा पर्नु स्वाभाविक हो । भारतीय पक्षद्वारा ढोका नखोलिएका कारण पानी निकास हुन नसकी डुबानमा पर्ने जिल्ला रौतहटमात्र होइन । भारतीय विषम दृष्टिकै कारण तटबन्ध व्यवस्थित हुन नसक्नाको परिणाम सिरहा, धनुषाका क्षेत्र कमला नदीको कटानमा पर्ने गरेका छन् । भारतीय बाँधकै कारण सप्तरीको तिलाठीमा बर्सेनि कोलाहल मच्चिँदै आएको छ । बाढीका बखत भारतले गण्डक नहरको हेड रेगुलेटरको ढोका बन्द गर्नाले बारा, पर्सा प्रभावित हुने गरेका छन् । होलिया र सप्तरी नदीको प्राकृतिक प्रवाह अवरुद्ध हुँदा बाँके डुबानमा पर्ने गरेको छ । रसियावाल खुर्दलोटन लिङ्क बन्डको काम पूरा भएमा यसले विश्व सम्पदा क्षेत्रको अमूल्य निधि लुम्बिनीस्थित अशोक स्तम्भसमेतलाई डुबानमा पार्ने डर छ । त्रिवेणीको बाँधमा भारतले ‘साइफन’ सफा नगरेकै कारण कैयन् जिल्ला असरमा पर्ने गरेका छन् । कोसी ब्यारेजदेखि कुनौली नाकासम्म बनाइएको पाइलट च्यानलले चर्काएका समस्या पनि कम छैनन् ।
सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले डुबान क्षेत्रको स्थलगत अनुगमन गरी दिएको प्रतिवेदनमा पनि भारतीय बाँध, तटबन्ध तथा अग्ला सडक नै तराई डुबानका प्रमुख कारक देखिएका छन् । नेपाल–भारतबीच सुल्झाउनैपर्ने पक्षमा सिमानासँगै डुबानको समस्या पनि एक भएकामा विमति छैन । तैपनि अहिलेसम्म यसबारे सार्थक वार्ता वा कदम चालिएको अनुभूति जनसाधारणले गर्न पाएका छैनन् । राजनीतिक दल चाहे सत्ता पक्ष होस् वा प्रतिपक्ष, अथवा आफूलाई तराई, मधेसकेन्द्रित भन्ने दल नै किन नहोऊन्, डुबानको समस्याप्रति जनअपेक्षित गाम्भीर्य देखिएको छैन । विनाबर्दीधारी सीमारक्षकका जिउ, जमिन जोगाउन जति अभ्यास देखिनुपथ्र्यो, देखिन नसकेको रिक्तताबोध गर्दै यसतर्पm अभूतपूर्व राजनीतिक सक्रियता जगाउनु आवश्यक छ । दुई देशको साझा सीमारेखाबाट आठ किलोमिटर तल्लो र आठ किलोमिटर माथ्लो तटीय क्षेत्रमा एकले अर्का देशलाई असर पार्नेगरी कुनै संरचना बनाउन नहुने अन्तर्राष्ट्रिय प्रावधान रहेको विज्ञजन बताउँछन् । यस आधारमा नेपालले अन्तर्राष्ट्रिय समुदाय गुहारेर पनि समाधान खोज्नुपर्ने धारणासमेत व्यक्त हुँदै आएको छ । जहाँसम्म, नेपाल–भारतबीच परम्परागत शताब्दीऔँ अघिदेखिको सम्बन्धको प्रश्न छ, यस्ता गलत क्रियाकलापले कहिले पनि सम्बन्ध सुध्रन दिँदैन । संवादका माध्यमबाट कसैलाई असर नपर्नेगरी अन्तर्राष्ट्रिय प्रचलन तथा अभ्यासअनुरूप संरचना निर्माण गर्ने सोच पलाउनु बुद्धिमानी हुनेछ । भारतीय गलत संरचनाका कारण नेपालका भूमि डुबान तथा कटानमा पर्दा के–कति नोक्सानी भएको छ ? त्यसको क्षतिपूर्ति दिने, दिलाउने काममा समेत क्रियाशीलता बढ्न सके सुनमा सुगन्ध हुनेछ ।
बर्खाभरि बाढी, पहिरो तथा डुबानको गीत गाउने र अन्य समय कुम्भकर्णे निद्रामा मस्त रहने परिपाटीले कसैको भलो गर्ने छैन । मूल कुरो सानो, ठूलो जुनसुकैखालको नदी किन नहोस्, त्यसलाई छेकेर, थुनेर वा छोपेर सफलता पाइएको ठान्नु मुुख्र्याइँबाहेक केही होइन । नदीको प्राकृतिक बहावलाई अवरुद्ध गर्न खोज्ने देशी, विदेशी हरेक तŒवविरुद्ध जागरण अहिलेको माग हो । नदीनालाको जगेर्नाका लागि नारा, भाषण वा प्रतिवेदन होइन, अब काम जरुरी छ । तराईलाई डुबानबाट जोगाउन भारतसित अविलम्ब वार्ता हुनैपर्छ । भारतले पनि नेपाली भू–भागलाई डुबानमा पार्ने गलत संरचना भत्काई असल मित्रको चिनारी दिन विलम्ब गर्नुहुँदैन ।
(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?