logo
२०८१ बैशाख १४ शुक्रवार



विद्यालय सञ्चालनको काइदा

विचार/दृष्टिकोण |




रमाकान्त शर्मा

विगतमा यति लामो समय विद्यालय बन्द भएका थिएनन् । कोभिड १९ को महामरीले झन्डै छ महिना देशभरका बालबालिकाको औपचारिक शिक्षामा अवरोध पु¥यायो । सङ्घीय सरकारले विद्यालय खोली औपचारिक पठनपाठन सञ्चालन गर्ने अनुमति अझै नदिए पनि अभिभावक, समुदायको चाहना, स्थानीय सरकार तथा विद्यालय व्यवस्थापन समितिको निर्णयले विद्यालय खुल्न र नियमित पठनपाठन सञ्चालन हुन थालिसकेका छन् ।
विद्यालय नखोलौँ भने बालबालिकाको भविष्यको कुरा छ । सात÷आठ महिनासम्म विद्यालय सञ्चालन नहुँदा अभिभावक, विद्यार्थी र शिक्षक स्वयम् पनि विद्यालय नियमित सञ्चालन गर्न हतारिएको अवस्था छ । विद्यालय खोलेर सञ्चालन गरौँ भने विद्यालय कोरोना पैmलावटको स्थान बन्ने हो कि भन्ने डर र त्रास । के गरौँ ? द्विविधा सिर्जना भएको छ । विद्यालय खोल्न थालेकालाई पनि कसरी विद्यालयलाई सुरक्षित तरिकाले सञ्चालन गर्ने ? बालबालिकालाई नियमित सिकाइ कार्यमा फर्काउने र विद्यालयलाई सुरक्षित स्थान बनाउने कसरी ? अहिलेको चुनौती यस्तो छ ।
सङ्घीय सरकारको औपचारिक अनुमति नपर्खी केही स्थानीय निकाय र विद्यालयको पहलमा विद्यालयहरू नियमित सञ्चालन हुन थालिसकेका छन् । दसैँ, तिहारको अवधिपछि कोभिडको फैलावट अहिलेकै गतिमा सीमित रहेमा तथा केही घटेमा सङ्घीय सरकारको निर्देशन पर्खेर विद्यालय बन्द रहिरहने छैनन् । विभिन्न तरिकाले विद्यालय सञ्चालन गर्ने प्रयास हुनेछन् । यस्तो अवस्थामा विद्यालयमा जाने बालबालिकाबाट कोभिड फैलनबाट रोक्न स्वास्थ्य सचेतनादेखि मनोपरामर्शसम्मका कार्य गर्नुपर्ने आवश्यकता छ ।
विद्यालय नियमित सञ्चालन गर्नुभन्दा पहिला विद्यालय तथा शिक्षकहरूले कोभिड–१९ को बारेका वास्तविक तथ्य, फैलावटको विद्यमान अवस्था, यससम्बन्धमा विज्ञका भनाइ, सल्लाह र सुझाव, विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्डहरू, यससम्बन्धमा भएका अफवाह, झुठा तथा नक्कली हल्ला र मिथकहरूको जानकारी राख्नुपर्नेछ । विद्यालयहरूले सम्बन्धित प्रदेश तथा स्थानीय तहले विद्यालय सञ्चालन र सिकाइ सहजीकरणसम्बन्धमा जारी गरेका निर्देशन, निर्माण गरेका कार्ययोजना, रणनीति, विद्यालय सञ्चालन गर्दा अपनाउनुपर्ने न्यूनतम सर्त तथा प्रोटोकलका बारेमा पनि जानकारी राख्नुपर्नेछ । त्यस्तै, साबुनपानीले हात धुुनेदेखि मास्क, सेनिटाइजर, ज्वरो मापन उपकरणकोे उपयुक्त प्रयोगसम्मका ज्ञान र सीप प्राप्त गर्नुपर्नेछ । कोभिड–१९ लगायत विशेष स्वास्थ्य शिक्षासँग सम्बन्धित जानकारी, मनोसामाजिक परामर्श, विद्यार्थीलाई गर्नुपर्ने बालमैत्री व्यवहारमा पनि
जानकार हुनुपर्नेछ ।
विद्यालय खोल्नुभन्दा पहिला नै विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू र व्यवस्थापन समितिका पदाधिकारीको बैठक बसी कसरी विद्यालय सञ्चालन
गर्ने ? विद्यालयलाई कोभिड–१९ फैलने क्षेत्र हुन नदिने कसरी ? विद्यार्थी, शिक्षक, कर्मचारी कसरी कोभिडबाट बच्ने ? ज्वरो आएमा तथा कोभिडका लक्षण देखिएका विद्यार्थी, शिक्षक र अन्य कर्मचारी घर बस्ने, सुरक्षित साबुनपानीले नियमित रूपमा मिचिमिची हात धुने वा हातमा सेनिटाइजर वा क्लोरिनको घोल हातमा लगाउने, दैनिक रूपमा विद्यालयका सतहहरूको सरसफाइ र कीटाणुरहित गर्नेे, वातावरणीय सफाइ र प्रदूषणरहित प्रक्रियाहरूको अनुशरण गर्ने, तोकिएको भौतिक दूरीलाई कायम गर्ने, फेस मास्क उपयुक्त तरिकाले प्रयोग गर्नेजस्ता विषयमा छलफल गरी रणनीतिहरू बनाउनुपर्नेछ । रणनीतिहरूलाई पूर्ण कार्यान्वयन गर्न, विद्यार्थीलाई विद्यालयमा आउनुभन्दा पहिला नै कोभिडबाट जोगिन सचेत गराउने, कसरी पहिलो दिन नै सुरक्षित तरिकाले विद्यालयमा आउने ? आएपछि के–के सुरक्षात्मक उपायहरू अपनाउने ? भन्नेसम्बन्धमा अभिमुखीकरण गरिनुपर्छ । विद्यार्थीलाई सचेत गराउन सकेमा र उनीहरूको समेत राय–सल्लाहमा कोभिडबाट जोगिने उपायहरू तय गर्न सकेमा विद्यार्थी कोभिडको संवाहक हैन कि टोलहरूमा कोभिड फैलिनबाट रोक्ने स्वास्थ्य दूतसमेत हुन सक्छन् । बालबालिकाको विश्वास नगर्ने, बालबालिका काँचो बुद्धिका हुन्छन्, कमीकमजोरीमात्र गर्छन् भन्ने हल्ला फैलाउने हो भने उनीहरूमा नकारात्मक प्रभाव पर्छ । पहिलो पुस्ताभन्दा नयाँ पुस्ता बढी संवेदनशील र जिम्मेवार हुन्छन् भन्ने हेक्का राखिनुपर्छ ।
विद्यालय खोल्नुभन्दा पहिला नै बालबालिकालाई विद्यालयका विद्यार्थी सङ्ख्या र उपलब्ध कक्षाकोठा र फर्निचरको सङ्ख्या, कक्षाकोठा र फर्निचरको आकार, चौरको अवस्था आदिको लेखाजोखा गरी सबै कक्षाको विद्यार्थीलाई एकैपटक बोलाउने कि समय मिलाएर चरण–चरणमा विद्यालयमा बोलाउने ? भीडभाड हुनबाट कसरी
रोक्ने ? भीडभाड हुन सक्ने र भौतिक दूरी कायम हुन नसक्ने क्रियाकलापहरू कसरी रोक्ने ? कुन–कुन क्रियाकलाप कुन–कुन तरिकाले गर्ने ? ठूला कक्षाहरूलाई बारअनुसार फरक–फरक दिनमा बोलाउने वा फरक चरणमा कक्षामा उपस्थित गराउनेजस्ता कुराहरू यकिन गरिनुपर्छ । विद्यालयलाई सुरक्षित बनाउन अभिभावकहरूको राय–सल्लाह लिने हो भने विद्यालयलाई कोभिड फैलने स्थान हुन र बालबालिका माध्यम हुन नदिने विषयमा अभिभावकहरूको पनि सरसल्लाह र सहयोग मिल्छ । अभिभावकसँगको छफफल र अन्तरक्रियाबाट अभिभावकको भूमिका यकिन गरिनुपर्छ । साथै, सबै अभिभावकलाई टेलिफोन तथा अन्य कुनै माध्यमले सूचित गरिनुपर्दछ ।
विद्यालय खोल्नुभन्दा पहिला र खोलिएपछि गरिनुपर्ने कार्यहरूमध्ये के–के भए ? के–के भएनन् ? यकिन गर्न रुजुसूची नै बनाउनुपर्छ । धेरै विद्यालयमा भूकम्पको समयमा आपत्कालीन र आकस्मिक योजनाहरू बनेका थिए । ती योजनाहरूमा कोभिडजस्ता महामारीको परिकल्पना गरिएको थिएन । कतिपय विद्यालयमा आपतकालीन योजना बनेका थिएनन् भने बनाउन र बनेका भए योजनालाई अद्यावधिक गरिनुपर्छ । स्थानीय तहसँग सल्लाह गरेर विद्यालयमा ‘सेल्टर’,
‘क्वारेन्टाइन’ उपचार कक्षहरू, सामुदायिक भेला गर्ने स्थानका रूपमा प्रयोग भएको भए हटाउने, निर्मलीकरण गर्ने र अब त्यसरी विद्यालय भवनलाई प्रयोग नगरिने सुनिश्चित पनि गरिनुपर्छ ।
सुरक्षात्मक उपायका लागि पर्याप्तमात्रामा ठाउँ–ठाउँमा विभिन्न उमेरका बालबालिकाले प्रयोग गर्न सक्ने साबुनपानीसहितका हात धुने स्थानहरूको व्यवस्था, विद्यार्थी, शिक्षक, कर्मचारीका लागि मास्क, सेनिटाइजरको व्यवस्थामा कुनै लापरबाही गरिनुहुँदैन । प्रत्येक कक्षाकोठामा, प्रवेशद्वार र निस्किने द्वारमा र खाजाघर र शौचालयको नजिकमा हात धुने स्थान तथा सेनिटाइजरको व्यवस्था सहज हुनुपर्छ । दिनमा कम्तीमा एकपटक विद्यालय भवन, कक्षाकोठाहरू, भान्छा र खाने ठाउँ, धेरै व्यक्तिले छुने सतह, रेलिङहरू, खाजा टेबल, खेल उपकरण, ढोका र झ्यालको ‘ह्यान्डल’, खेलौना, शिक्षण र सिकाउने सामग्रीहरूको निर्मलीकरण गर्ने तथा सफा गर्ने, कीटाणुरहित पार्ने कार्य गरिनु पनि अति आवश्यक छ ।
लामो समयसम्म विद्यालय नआएको, साथीहरू र शिक्षकसँग भेट हुन नपाएका कारणले पनि केही बालबालिकामा फरकखालका व्यवहार देखिन सक्छन् । कतिपय विद्यार्थीले असामान्य व्यवहारसमेत प्रदर्शन गर्न सक्छन् । विद्यार्थीमा कोभिडको महामारीको डर–त्रास हुने, सिकाइप्रति इच्छुक नहुने, साथीहरूबीचमा झर्कने, रिसाउनेजस्ता व्यवहार पनि देखिन सक्छन् । एकातर्फ कोभिड–१९ सर्नबाट सतर्क हुने त छँदै छ, परिस्थितिलाई सामान्यीकरण गर्न, डर–त्रास हटाउन, सिकाइमा ध्यान केन्द्रित गर्न पनि मनोसामाजिक परामर्शको आवश्यकता पर्छ । सुरुका कक्षाहरूमा मनोसामाजिक परामर्श, कोभिड–१९ का बारेमा तथ्यगत कुराहरू, यसले सामाजिक, आर्थिक र अन्य पक्षमा पारेका प्रभावहरूका बारेमा उमेर र कक्षाअनुसार तथ्यहरूका बारेमा कक्षाहरू सञ्चालन, छलफल तथा अन्तक्र्रिया गर्ने अभ्यास गरिनुपर्छ । विद्यार्थीलाई बन्दाबन्दीको अवस्थामा भोगेका भोगाइका बारेमा लेख्न तथा अनुभव भन्न लगाउन सकिन्छ । यस अवधिमा समाजका विभिन्न पक्ष, नागरिक तथा विभिन्न पेशा अँगालेका व्यक्तिले खेलेका सकारात्मक भूमिकाहरूका बारेमा छलफल चलाउने, विद्यार्थीलाई आफ्ना विचार व्यक्त गर्न लगाउने जस्ता कार्य गर्न सकिन्छ । यसले विद्यार्थी कोभिडका बारेमा सचेत हुनेमात्र हैन, समुदायमा सचेतना फैलाउने कार्यमा समेत भूमिका खेल्न सक्छन् । बिस्तारै–बिस्तारै पाठ्यक्रममा तोकिएका विषयवस्तुमा प्रवेश गर्दा विद्यार्थीले सिकाइमा ध्यान पु¥याउन सक्छन् । योजनाबद्ध रूपमा विद्यालय खोल्न र सचेतता अपनाउन सकेमा विद्यालय सिकाइको केन्द्र बन्छ न कि कोभिड–१९
फैलने स्थान ।
(लेखक शिक्षा विकास तथा समन्वय एकाई कार्यालय तनहुँका प्रमुख हुनुहन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?