logo
२०८१ मंसिर ९ आईतवार



न भारत न चीन, केवल नेपालमुखी

विचार/दृष्टिकोण |




 

निर्मलकुमार आचार्य

नक्सा प्रकरणले अमिल्याएको नेपाल–भारत सम्बन्ध तत्कालै बिसेक हुने छाँट नदेखिए तापनि तारन्तारका भ्रमणले आशावादी हुन सघाएको छ ।
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तथा त्यसपूर्व भारतीय बाह्य गुप्तचर संस्था ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ)का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणपछि अहिले भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गला नेपाल आउने चर्चा छ ।
नक्सा प्रकरणले दुवैतिर सकस बढाएकामा शङ्का छैन । नेपाल–भारतबीचको सम्बन्ध राजनीतिकमात्र नभई धार्मिक, साँस्कृतिकलगायत विविध पक्षसँग सम्बद्ध रहेकाले पनि धेरै कालसम्म तीतो रहिरहन सक्दैन । त्यसमाथि नेपालको भूराजनीतिक अवस्थिति, रणनीतिक महŒव, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासो र सक्रियता अभिवृद्धिले गर्दा पनि यतिखेर सुसम्बन्धको अत्यावश्यकता टड्कारिएको भान हुन्छ ।
भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण वा यस भ्रमणको आधारशिला तय गर्न गरिएको ठानिने ‘रअ’ प्रमुख गोयलबाट भएको नेपाल भ्रमण अनि केही सातापछि भारतीय विदेश सचिवको सम्भावित नेपाल भ्रमणको सिलसिला हेर्दा घुमाउरो बाटोबाटै भए पनि सही दिशा अँगाल्न थालिएको हो कि भन्ने देखापर्छ । पोहोर कात्तिक महिनामा भारतको नयाँ नक्सा जारी भएदेखि थालिएको सम्बन्धको कटुतालाई भारतले कात्तिक महिनामै मधुरतामा परिणत गर्ने प्रयास थालेको देखिन्छ ।
यद्यपि, भारतीय खुफिया एजेन्सी ‘रअ’बारे नेपालमा मात्रै होइन, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का आदि छरछिमेकमा कतै सुनाम छैन । यस अर्थमा नेपालसित सम्बन्ध सुधार्ने उद्देश्यले नै किन नहोस्, ‘रअ’ प्रमुख गोयलको नेपाल भ्रमणको विषय धेरैका लागि सहज पाच्य नहुनु अनौठो होइन । तसर्थ, यस भ्रमणप्रति शङ्काको सुविधासहित आलोचना पनि तीव्र भएको विदितै छ ।
नेपाल–भारत सम्बन्ध सुधार्नुको विकल्प नरहेकामा कतै विमति छैन तर यसका लागि भारतद्वारा खुफिया निकाय तथा सेनालाई अगाडि बढाउनुका कारण उतै पनि गम्भीर खोजीको विषय बनेको छ । हुन पनि, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय गगनमा उडान भर्न चाहने भारतले छरछिमेकलाई विश्वासमा लिएर अघि बढ्न राजनीतिक अग्रसारिता देखाउनुपर्नेमा खुफिया तथा सैन्यकूटनीति किन अख्तियार ग¥यो ? धेरैको मगज रन्काइको पाटो बनेको छ । दुई देशबीचको सम्बन्ध सुधार्ने दिशामा यही नीति हुनुपर्छ भन्ने पनि छैन । आवश्यकताका हिसाबले जसले जुनसुकै नीति पनि अँगाल्न सक्छ । नेपालका तर्फबाट आवश्यकता केवल भ्रम वा झुक्यानमा नपर्नुमात्र हो । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई रत्ती असर नपर्नेगरी पारदर्शी ढङ्गबाट जोसुकैसित जहिल्यै वार्ता गर्दा पनि फरक पर्दैन नै ।
होसियार हुनु, सतर्क हुनु, सावधान हुनु र सजग हुनु बेग्लै कुरो अन्यथा सधैँभरि शङ्कामै रहनु पनि ठीक होइन । शङ्काले लङ्का (स्वर्णभूमि) डढाउने भएकाले पनि सधैँभरि आशङ्कित रहनुसट्टा गुरु गाम्भीर्यसाथ कूटनीतिक कौशल निर्वाह गर्न सक्नु आजको आवश्यकता बनेको छ । सरसर्ती हेर्दा पछिल्ला चरणमा सकारात्मक लक्षण पनि देखिएको छ । भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गलाको नेपाल भ्रमणको सुरसारलाई भारतीय स्थल सेनाप्रमुख नरवणे र ‘रअ’ प्रमुख गोयलको नेपाल भ्रमणपछिको सुखद सिलसिला मान्न सकिन्छ । खुफिया, सैन्य तथा प्रशासन संयन्त्रका नेतृत्वलाई पठाएर भारतले उच्चस्तरीय राजनीतिक वार्ताका लागि उपयुक्त वातावरण बनाउन खोजेको प्रतीत हुन्छ ।
विदेश सचिव शृङ्गलाको आसन्न नेपाल भ्रमणपछि दुई देशबीच परराष्ट्र मन्त्रीस्तरीय संवादको दैलो उघ्रने सम्भावना छ भने त्यसपछि ‘अन्त भला सो भला’ भनिएजस्तै पुनः राजनीतिक ट्र्याक कायम भई नेतृत्व तहबाटै सम्बन्धलाई पूर्वावस्थामा लैजाने मात्र होइन, अझ उचाइमा पु¥याउने अपूर्व कार्यसमेत हुन सक्छन् ।
नेपालको मामिलामा राजनीतिक तहलाई अगाडि बढाउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलेजस्तै दोस्रो कार्यकालमा पनि अग्रगति दिनु वाञ्छनीय छ । ब्रिटिसकालीन ‘फुटाऊ र राज गर’को सोचयुक्त भारतीय खुफिया तथा प्रशासनिक सङ्कीर्ण गतिविधिजन्य सूक्ष्म व्यवस्थापन (माइक्रोम्यानेजमेन्ट)का कारण नेपालमा भारतप्रति वितृष्णा बढेको यथार्थ बिर्सनु सुखद भविष्यका लागि समेत हितकर हुन सक्दैन । भारतको खुफिया र प्रशासनिक संयन्त्र ‘दकियानुसी’ भएका कारण छरछिमेकका देश रुष्ट बन्दै गएको भारतीय कूटनीतिज्ञका भनाइलाई समेत हृदयङ्गम गरी भारतले यथाशीघ्र उपयुक्त सक्रियता देखाउनु श्रेयष्कर हुनेछ । तसर्थ, दुई छिमेकी राष्ट्रबीच न केवल विश्वासको धरातल बनाउन अपितु एक–अर्काप्रतिको सम्मान र विकासको अट्टालिका ठड्याउन पनि प्रत्यक्ष राजनीतिक संवाद अनिवार्य भएको छ ।
यसो त भारतले सुसम्बन्धका निम्ति जुनसुकै अङ्गलाई अगाडि सार्दा पनि अन्यथा लिनु जरुरी छैन । चीनसितको त्यत्रो सीमाविवादमा त सेनाकै प्रतिनिधि वार्तामा सरिक रहेका छन् । पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी)मा गत ६ महिनादेखि जारी गतिरोध सम्भवतः एक महिनाभित्रै अन्त्य हुने छेकछन्द छ । त्यहाँ भारत र चीनका ५०÷५० हजार सैनिक तैनाथ छन् भने कतिपय ठाउँमा तीन सय मिटरको दूरीमै रहेका छन् । मे महिनामा भएको भिडन्तमा दुवैतिर हताहत पनि निकै भए । यही कारण फेरि भारत र चीनबीच ठूलै युद्ध हुन्छ कि भन्ने त्रास पनि फैलिएको थियो । यसबीच भएका वार्ता प्रयासले अहिले शान्तिको सङ्केत गरेको छ । दुवैतिरका सैन्य कमान्डरले सहमतिको प्रस्तावमा सही गर्नासाथ दुवैतिरका सेना त्यहाँबाट पछाडि हटी तीन चरणमा द्वन्द्व समाधान हुने तर्खर छ ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिसञ्चयमा सामरिक, आर्थिक वैशिष्ट्य राख्ने, महŒवाकाङ्क्षी दुई देश त यसरी सम्बन्ध सुधारमा संलग्न हुन सक्छन् भने जुगौँ अघिदेखि सम्बन्ध जोडिएको नेपाल भारतबीच सम्बन्ध सुध्रन नसक्ने कुरै हुँदैन । बिग्रिएको नेपाल भारत सम्बन्धलाई अनुकूल वातावरण जुटाउनेतिर भारतीय विदेश सचिव हर्षवद्र्धनको सम्भावित नेपाल भ्रमणले जोड लगाउने अपेक्षा गरिएको छ । तीन दशकभन्दा बढी अवधि भारतको विदेश सेवामा संलग्न हर्षवद्र्धनले २०७६ माघ १५ गते विदेश सचिवको जिम्मेवारी सम्हाल्नुभएको हो । संयुक्त राज्य अमेरिका, थाइल्यान्डमा राजदूत र बङ्गलादेशमा हाई कमिसनर बन्नुभएका हर्षवद्र्धनले सचिवको कार्यभार सह्माल्दाखेरि भारतले छरछिमेकलाई विशेष महŒव दिनुपर्ने धारणा राख्नुभएको स्मरणीय छ । ५८ वर्षीय हर्षवद्र्धनको नेपालसित पनि गहिरो नाता छ । उहाँकी आमाको नाम हो– हरिदेवी बस्नेत (क्षेत्री) । दार्जिलिङमा पढ्दा हरिदेवीको छेरिङ तेन्डुफ्लासित पे्रमविवाह भएको हो । भारतीय प्रथम महिला विदेश सचिव चोकिला अøयरका भतिजा हर्षवद्र्धनको नेपालप्रतिको प्रेमभाव नेपाल भारतबीचको सुसम्बन्धका निम्ति सहायकसिद्ध हुन सक्छ । नेपाली भाषा राम्रो बोल्न जान्ने विदेश सचिव हर्षवद्र्धनबाट अपेक्षित दिशामा के–कस्ता सकारात्मक लक्षण देखिँदै जाने हुन् ? त्योचाहिँ हेर्न बाँकी छ ।
अहिले भारतबाट भइरहेका भ्रमणका आधारमा मात्रै प्रसन्न भइहाल्ने स्थिति छैन । दुवैतिरबाट वार्ताको सिलसिला चल्दा पनि धेरै सतर्कता आवश्यक छ । एक–अर्का सार्वभौम मुलुकप्रति समान दृष्टि, उस्तै भाव र तदनुकूल व्यवहार नहोऊन्जेल, सबै समस्या अन्त्य हुने कल्पनासमेत गर्न सकिँदैन । विगतमा भएका तमाम वार्ता विवादग्रस्त रहेकाले पनि फुकीफुकी पाइला चाल्नु राष्ट्रिय आवश्यकता बनेको छ । सीमा अतिक्रमणजस्तो संवेदनशील विषय भएकाले उत्ति नै बुद्धिमत्ता पनि अपरिहार्य छ । सबै समस्याको समाधान गर्ने उद्देश्यले गठन गरिएको नेपाल– भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन पनि विडम्बनाको सिकार बनेको अवस्था छ ।
जुनसुकै अध्यायमा किन नहोस्, पराईसित वार्तामा उभिन राष्ट्रिय बल चाहिन्छ र बलका लागि एकता नभई नहुने कुरो हो तर एकताको कुरो निकाल्दा मुलुकमा जगहँसाइको स्थिति छ । यस्तो संवेदनशील विषम परिस्थितिमा सत्ताधारी दलभित्र ‘एक्सन’ र ‘महाएक्सन’को नौटङ्की मञ्चन भइरहनु उदेकलाग्दो छ । परिप्रेक्ष्यको गाम्भीर्यलाई मनन गरी मुलुकभित्रको राजनीतिक खिचातानी तत्काल अन्त्य गर्नु समयको माग हो । यसका लागि व्यक्तिगत, समूहगत तथा दलगत स्वार्थ त्याग नै अद्वितीय महामन्त्र बनेको छ ।
झन्डै दुईतिहाइको शक्ति बोकेको नेकपाले यतातिर उदाहरणीय भूमिका खेल्न सके यसको शुभ सन्देश सबैतिर फैलनेछ । आन्तरिक विवाद समाधान गरी सबै दललाई समेटेर लैजान सक्नुमै नेतृत्वको खुबी दर्शिनेछ । ‘एकले थुकी सुकी, सयले थुकी नदी’ यसै भनिएको होइन । नक्सा अद्यावधिक गरिँदाजस्तै वार्ताका हरेक प्रयासमा पनि राष्ट्रिय सहमति हुनुपर्छ । व्यवस्था, सरकार जे–जस्तो भए तापनि राष्ट्रिय नीति निर्विकल्प हुन सके कसैले चलखेल गर्ने सम्भावना रहँदैन । नेपालीले नेपालमुखीमात्रै हुँदा पुग्छ, भारतमुखी वा चीनमुखी हुनुपर्दैन । यस वास्तविकतालाई हृदयङ्गम गर्न सकिएमा पनि धेरैथोक अनुकूल हुँदै जानेछ । अतः भारतले बढाएको वार्ता प्रयासलाई सार्थक बनाउनेतिर चिन्तन बढाउनु सर्वथा सुखद ठहरिनेछ । 
(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?