डा. कुन्दन अर्याल
गएको साता केही अमेरिकी टेलिभिजनहरूले सत्ताबाट बिदा हुँदै गरेका आफ्ना राष्ट्रपति ट्रम्पको प्रत्यक्ष प्रसारण बोल्दाबोल्दै काटे । हुन पनि ट्रम्पको लगातारको अनियन्त्रित अभिव्यक्तिले उहाँको पदीय मर्यादा पटक्कै राख्न सकेको छैन र उहाँ संसारलाई नयाँ दृष्टान्त प्रस्तुत गर्दै हुनुहुन्छ । यही क्रममा उहाँले जनमत र निर्वाचन प्रक्रियाकै बेवास्ता र अपमान गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयोे– मैले चुनाव जितेँ । तर, ट्वीटरले नै उहाँको ट्वीटको मुनि नोट राखिदियो, विविध स्रोतहरूले यो चुनावलाई अर्कै ढङ्गले चित्रण गरेका छन् । अनि त्यही नोटमा क्लिक गर्दा बाइडेनले निर्वाचन जितेको समाचारमा पुगिने प्रबन्ध गरिदियो ।
राष्ट्रपति कार्यालयको बाहिर जाने ढोका अगाडि पुग्नुभएको ट्रम्पका अभिव्यक्तिहरूले राजनीतिमा शक्तिसँगै आधिकारिकता स्थापित हुने पत्रकारिताको सामान्य मान्यता लोकतन्त्र संस्थागत भएको मुलुकमा भने खण्डित पनि हुन सक्ने प्रस्ट देखाएको छ । अप्र्रिmकाका कैयन पिछडिएका मुलुकमा निर्वाचन हारेपछि शक्ति परिचालन गरेर सत्तामा टिकिरहने शासकहरू देखिएका थिए । त्यसैले कुनै कमजोर लोकतन्त्र भएको मुलुकमा भएको भए ट्रम्पको अवस्था अर्कै हुने थियो ।
ट्रम्पले सामाजिक सञ्जालमा एक–एक पङ्तिको अनियन्त्रित आक्रोश व्यक्त गरिरहेकै बेला पूर्वराष्ट्रपति बाराक ओबामाले भने उहाँप्रतिको सारा क्रोधलाई आफ्नो पुस्तकमा व्यवस्थित रूपमा उन्नुभएको छ । सामाजिक सञ्जालमा अन्धाधुन्ध लेखेरमात्र आफ्नो कुरा स्थापित हुँदैन भन्ने कुरा उहाँको पुस्तकले एक साताभन्दा कम समयमा पाएको वाहवाहीबाटै प्रस्ट भएको छ । एकातिर ट्रम्प, जो हारेको चुनावमा मैले जितेँसम्म लेख्नुहुन्छ । उहाँको लेखाइले ट्वीटरलाई नै लाज लाग्छ, ट्वीट हटायो भनेर रोइकराइ गर्लान् भनेर हुन सक्छ, उहाँलाई झनै नाङ्गो बनाउनेगरी टिप्पणी थपिदिन्छ । अर्कोतिर ओबामा, जो चार वर्षको मेहनतपछि सात सय पृष्ठको आफ्नो आत्मकथा लिएर आउनुहुन्छ । इतिहासलाई मूल्याङ्कनको दायित्व सुम्पेर जनताका सामु आफ्नो वृत्तान्त पस्कनुहुन्छ । टाइविना कोट लगाएको हँसिलो अनुहार आवरणमा समेटिएको छ । आवरणको अन्तरनिहित सन्देश प्रस्ट छ, उहाँ आफ्नो सरल र सामान्य छवि देखाउन चाहनुहुन्छ ।
धेरैलाई निकै पहिलेदेखि थाहा थियो, अमेरिकाका ४४सौँ राष्ट्रपति ओबामाले ह्वाइट हाउसबाट निस्किएपछिको समयलाई आफ्नो संस्मरण लेख्न उपयोग गरिरहनुभएको छ । झन्डै चार वर्ष कुरेर उहाँले राष्ट्रपति कार्यालयको अनुभवको पहिलो सँगालो सार्वजनिक गर्नुभएको छ, जसको नाम राखिएको छ– ए प्रोमिस्ड ल्यान्ड । संस्मरणले उहाँको बाल्यकालको विस्तारपूर्वक चर्चा गर्दै सन् २०११ मा गरिएको बिन लादेनको हत्यासम्म पु¥याउँछ । उहाँले पत्रकारिताको भूमिकासम्बन्धमा सङ्क्षिप्तमा उल्लेख गर्दै एउटा गम्भीर प्रश्न उठाउनुभएको छ ।
उहाँको आसय बुझ्न पत्रकारितासँग सम्बन्धित केही प्रश्नहरू उल्लेख गरौँ । पत्रकारहरू समाचारको सङ्कलन, प्रस्तुति वा विश्लेषण किन गर्छन् ? पाठक ती सामग्रीको अध्ययन किन गर्छन् ? अनि दर्शकहरू किन हेर्छन् ? यी तीनवटै प्रश्नहरू अन्योन्याश्रित छन् ? अति सतही ढङ्गले भन्ने हो भने पत्रकाहरूले नियमित काम गर्नेक्रममै राजनीतिक विषयमा पनि रिपोर्टिङ वा विवेचना गरेका हुन् । तर, उपभोक्ता किन कुनै खास समाचार वा टिप्पणीमा आकर्षित हुन्छन् वा उनीहरू कस्तो अन्तर्वस्तु चाहन्छन् ? अझ उनीहरूलाई भ्रमित तुल्याएर प्रकारान्तरले उनीहरूकै शक्ति क्षीण नतुल्याउने हो भने, लोकतन्त्रलाई कमजोर हुन नदिने हो भने अन्तर्वस्तुको चयन र प्रस्तुतिमा पत्रकारहरूले ध्यान पु¥याउनैपर्ने पक्षहरू के–कस्ता हुन्छन् ? यस्ता प्रश्नहरूको उत्तर खोज्ने हो भने राजनीतिक सामग्री प्रस्तुत गर्ने पत्रकारहरूलाई धेरै सजिलो हुन्छ ।
लामो समय पत्रकारितामा प्रत्यक्ष राजनीतिक झुकाव स्वाभाविक मानिन्थ्यो । अझै पनि सामग्री छनोट र प्रस्तुतिका क्रममा संसारभरि नै अप्रत्यक्ष झुकाव ठम्याउन सकिन्छ । तर, पत्रकारिता उद्योग र व्यापारमा रूपान्तरित भएको आजको युगमा सामान्यतः राजनीतिक विषयवस्तुको प्रस्तुतिका सन्दर्भमा सबै पक्षसँगको समदूरीको सिद्धान्तको उल्लेख गर्ने गरिन्छ । सबै पक्ष वा विवादका दुवै पक्षको धारणा समावेश गर्दै सन्तुलन कायम गर्नुपर्छ भन्ने मान्यता रहिआएको छ । तर, विवादमा कस्सिएका दुवै पक्षको आरोप र प्रत्यारोपलाई उत्तिकै महŒव दिएरमात्रै पत्रकारहरूको दायित्व पूरा हुँदैन । लोकप्रियताका साथ अमेरिकी राष्ट्रपति पदको दुई कार्यकाल बिताउनुभएका ओबामाले आफ्नो बहुचर्चित संस्मरणमा मिडियाका सम्बन्धमा उठाउन खोजको कुरा सायद यही हो । पुस्तकमा उहाँले आफ्नो बाल्यकालदेखि ओसामा बिन लादेनको हत्या गरेर उनीसँग अमेरिकाले लिएको बदलासम्मको घटनाक्रमलाई समेट्नुभएको छ । बाँकी घटनाक्रम उहाँको अर्को पुस्तकमा आउने भएको छ ।
अमेरिकाका अहिलेसम्मकै राष्ट्रपतिमध्ये सबैभन्दा धीर–गम्भीर मानिएका ओबामाले ट्रम्पको झुटोका पछि लागेकोमा आफ्नै देशको मिडियाप्रति दिक्दारी व्यक्त गर्नुभएको छ । ओबामा आफ्नो पुस्तकमा ट्रम्पले एनबीसीसँग ओबामाको जन्मदर्ता हेर्न अनुसन्धानकर्ताहरू पठाउँछुसमेत भनेको स्मरण गर्नुहुन्छ । त्यसबेला ट्रम्पले भन्नुभएकोथियो, मेरा मानिसहरूले अध्ययन गरिरहेका छन् । तिनीहरूलाई अचम्म लागिरहेको छ, जे–जस्तो तथ्य तिनीहरूले पत्ता लगाइरहेका छन् । ओबामाको विचारमा पत्रकारहरूले झुटो बोलेको वा षड्यन्त्रको सिद्धान्त अघि सारेर वर्णभेदलाई बढावा दिएकोमा ट्रम्पलाई पदबाट ठाडै फिर्ता बोलाउनुपथ्र्यो ।
ट्रम्पले ओबामाको जन्मका बारेमा विवाद चर्काउँदै निर्वाचन अभियानको सुरुवात गर्नुभएको थियो । उहाँको दुष्प्रचार थियो, राष्ट्रपति ओबामा अमेरिकामा जन्मिएका होइनन्, इस्लामिक उग्रपन्थीले घुसपैठ गराएका व्यक्ति हुन् । ओबामाले फक्स न्युज टेलिभिजनमा ट्रम्पको जुक्तिले ठाउँ पाएकोमा आफूलाई कुनै आश्चर्य नलागेको उल्लेख गर्नुभएको छ । तर उहाँले एबीसी, एनबीसी र सीएननमा पनि सत्ताधारीहरूले असीमित समय पाएकोमा अप्रसन्नता व्यक्त गर्नुभएको छ । उहाँको विचारमा अमेरिकाका सम्मानित प्रेसले वर्णभेदी अपमानप्रति विनम्र अविश्वास व्यक्त गरे । तर, उहाँ मिडियाले ट्रम्पलाई मिथ्या फैलाएकोमा पदबाट फिर्ता आऊ भन्न नसकेकोमा अप्रसन्नता व्यक्त गर्नुहुन्छ ।
सन् १९६० र ७० का दशकमात्र होइनन्, भियतनाम युद्ध, निक्सन र वाटरगेट काण्डलाई समेत सम्झिएर नयाँ पुस्ताका अमेरिकी पत्रकारहरूले राजनीतिक विषयवस्तुका दृष्टिमा ती दिन पो सुनौला थिए भनेर थक्थकाउनै परेन । यसपटकको राष्ट्रपतीय चुनावअघि र पछि समेत अमेरिकी पत्रकारहरूले मात्र होइन, संसारभरका राजनीतिक विषयवस्तुको रिपोर्टिङ गर्ने वा समसामयिक राजनीतिको विवेचना गर्ने सञ्चारकर्मीहरूले रोमाञ्चक समय अनुभूत गर्न पाएका छन् । आजको संसारमा सूचना महामार्गले आममानिस वा मिडियाका उपभोक्तालाई यति सशक्त र सुसूचित बनाएको छ, सञ्चारकर्मीहरूका चुनौती थपिएका छन् । अबका पत्रकारहरूले राजनीतिक घटनाक्रमको सपाट रिपोर्टिङ गरेरमात्र पुग्दैन । यसो भन्नुभयो वा यसो गर्नुभयो भनेर समाचार बनाउनुमात्र पनि राजनीतिक तटस्थता होइन । ट्रम्पको आधारहीन आरोपले मिडियामा ठाउँ पएकोमा ओबामा किन अप्रसन्न हुनुभयो ? वस्तुतः उहाँले भन्न खोजेको कुरा पनि यही हो ।
आजका जागरुक उपभोक्तामा मिडियामा कुनै पनि विषयवस्तु, अझ खासगरी राजनीतिक घटनाक्रम वा सवालसम्बन्धी अन्तर्वस्तु कसरी चयन गरिन्छन् वा कसरी उत्पादन गरिन्छन् भन्ने कौतूहल हुनैपर्दछ । वस्तुनिष्ठ ढङ्गले सामग्रीको प्रस्तुति हुन नसकेको अवस्थामा मिडियाले सम्बन्धित पक्षहरूलाई राजनीतिक उत्तरदायित्व वहन गराउने वा नीतिगत परिमार्जन गर्न लगाउने भूमिका निर्वाह गर्न सक्दैन । मिडियाको प्रस्तुति र त्यसबाट राजनीतिक उत्तरदायित्वसम्बन्धी विषयमा पर्ने प्रभाव महŒवपूर्ण हुन्छ । आमरूपमा मिडियाको प्रस्तुतिबाट “सर्व जन हिताय”को परिणाम खोजिन्छ । तर, ट्रम्पको तथ्यहीन आरोपलाई ठाउँ दिएर विश्वको सबैभन्दा स्वतन्त्र मिडियाले वर्णभेदी सोचलाई किन ठाउँ दियो ? त्यही सोचले कसरी एउटा पूर्ण अवधि ह्वाइट हाउसमा आधिपत्य जमाउन पायो ? ओबामाले केही वर्ष कुरेर उपयुक्त मौकामा आफ्नो पुस्तकमार्फत यही प्रश्न उठाउन खोजेका हुन् । त्यसैले राजनीति विषयवस्तुका सन्दर्भमा मिडियालाई डो¥याउने तŒवहरू के–के देखिएका छन् ? भन्ने प्रश्न संसारभरि नै सान्दर्भिक हुन पुगेको छ । तर, राजनीतिक अन्तर्वस्तुको उत्पादन र प्रसारमा मिडियालाई कुन–कुन तŒव वा सन्दर्भले अभिप्रेरित गर्नुपर्दछ भन्ने प्रश्नमा गहिरो विमर्श गर्न पनि उत्तिकै जरुरी छ । अगाडि जे सुनिन्छ वा जे देखिन्छ, त्यही प्रसार गर्नु यान्त्रिक ‘ट्रान्समिसन मोडेल’लाई पछ्याउनु हुन पुग्छ ।
यान्त्रिक ढङ्गले मात्र सञ्चालित हुन थालियो भने जनता र जनताका लागि समर्पित व्यवस्थाप्रति अन्याय हुन पुग्छ । यही सोचकै कारण हुन सक्छ, यसपटक कतिपय अमेरिकी टेलिभिजनहरूले राष्ट्रपति ट्रम्पको भाषण प्रसार गर्दागर्दै बीचमै रोके । बरु ती संस्थाहरूले उहाँको बोलीमा इमानदारी नभएको जनतालाई बताए र सत्यापन गर्दै तथ्य प्रस्तुत गरे । जुनसुकै मुलुकको राजनीतिक रिपोर्टिङमा कार्यकारीहरूको भनाइले सर्वाधिक महŒव पाउने गर्दै आएको छ । राजनीतिक विषयवस्तुमा रिपोर्टिङ वा विवेचना गर्नेहरूका लागि यो आधारभूत नियम नै हो । सामान्यतः कार्यकारी प्रमुख वा अमेरिकी सन्दर्भमा राष्ट्रपतिले जे बोल्छन्, जे गर्छन् त्यो समाचार हुने गर्दथ्यो । राजनीतिक रिपोर्टिङ वा विवेचनाको केन्द्रमा राष्ट्रपति नै हुने गर्दथे । तर, राष्ट्रपतिको प्रत्यक्ष प्रसारणलाई रोकेर उनी झुटो बोलिरहेका छन्, साँचो कुरा यो हो भन्नु नयाँ प्रयोग हो । यस्ता प्रयोगहरूले पत्रकारितामा वस्तुनिष्ठता र तटस्थताको नयाँ भाष्य प्रस्तुत गरेका छन् । अमेरिकाको यस्तो प्रयोगको प्रभाव ढिलो–चाँडो संसारका अन्य भू–भागहरूमा पर्दै जानेछ । á
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा आबद्ध हुनुहुन्छ ।)