logo
२०८१ मंसिर १० सोमवार



कोभिडमा मिडिया मनोविज्ञान

विचार/दृष्टिकोण |


कोभिडमा मिडिया मनोविज्ञान


डा. कुन्दन अर्याल
बहत्तर सालको विनाशकारी भूकम्पपश्चात्को अन्योलपूर्ण अवस्थाबीच काठमाडौँका कतिपय विद्यालयले अभिभावकहरूलाई अनुरोध गरेका थिए, ‘‘केटाकेटीलाई टेलिभिजन समाचार हेर्न नदिनु ।’’ आज पनि विश्वव्यापी महामारीले गरेको जीवनको क्षति मात्र होइन, निको भएका मानिसका कथाहरू पनि मिडियामा आउनु पर्दछ भन्ने गरिएको सुनिन्छ । दुवै प्रसङ्गमा मानिसमा मिडिया–मनोविज्ञानको नकारात्मक छायाँ नपरोस् भन्ने नै हो । अखबारका कम्तीमा मुख्य पृष्ठ असहज अनुभूत नहुने किसिमको हुनुपर्छ भन्नु कारण पनि उही हो । कोभिड–१९ महामारीसम्बन्धी समाचारका सम्बन्धमा यस्तै–यस्तै गुनासाहरू सुरुदेखि नै सुन्ने गरिएको छ, कतिपय मानिस त मिडियाको प्रयोगले डिप्रेसन बढाउँछ भन्न थालेका छन् । महामारीको प्रारम्भमा मानिसलाई भयग्रस्त तुल्याउने सामग्रीहरू प्रयोग गर्न हुँदैन भन्ने चर्चा निकै चल्ने गर्दथ्यो । आज पनि मिडिया यस मामिलामा सावधानी अपनाइरहेका छन । यी सबै गुनासा र चर्चा–परिचर्चाका कारण मिडिया–मनोविज्ञानसम्बन्धी चेतना नै हो । बृहत् रूपमा भन्ने हो भने मिडिया–मनोविज्ञानअन्तर्गत सिद्धान्त, अवधारणा र मनोविज्ञानका विधिको प्रयोग गरी व्यक्ति, समुदाय र संस्कृतिमा मिडियाको प्रभावको अध्ययन गर्ने गरिन्छ ।

मिडिया–मनोविज्ञान अन्तर–वैयक्तिक र वैयक्तिक मनोविज्ञानका आयामहरूमा अन्तरनिहित हुन्छन् तर अन्तरवैयक्तिक संवाद मिडियाबाट हरक्षण प्रवाहित भइरहने अन्र्तवस्तुबाट उत्प्रेरित भइरहेका हुन्छन् । मिडिया सामग्रीको प्रभाव दुई व्यक्तिबीच हुने संवादमा परिरहेको हुन्छ । त्यसैगरी मनोविज्ञानकै कारण दुई व्यक्तिबीच आमनेसामने भएर बोल्ने र सुन्ने प्रक्रियाबेगर पनि अन्तरवैयक्तिक सञ्चार सम्पन्न हुने गर्दछ । जहाँ मनोविज्ञानको भूमिका हुन्छ । जसलाई शब्दविहीन सञ्चार भन्ने गरिन्छ । मिडिया–मनोविज्ञान मानिसहरूबीच हुने सञ्चारका सामाजिक र मनोवैज्ञानिक मापदण्डहरूसँग सम्बन्धित हुन्छ । यो विषयले मानिस र अन्य प्राणीबीचको सञ्चारलाई समेत समेट्दछ ।
प्रत्यक्ष कुराकानी, अवलोकन वा कुनै प्रविधिको मध्यस्तता जेसुकै ढङ्गबाट सञ्चार भएको हुन सक्छ । जहाँ सञ्चार हुन्छ, त्यहाँ सञ्चारको मनोविज्ञान हुन्छ । यसरी मिडियाले मानिसको व्यवहारलाई प्रभावित गर्दछ र सामाजिक मनोविज्ञानको परिधिभित्र मिडिया–मनोविज्ञानअन्तर्गत यस्तै विषयमा अध्ययन गरिन्छ । मिडिया–मनोविज्ञान मानव–व्यवहारमा मिडिया र प्रविधिका कारण कसरी परिवर्तन आउँछ भन्ने विषयमा केन्द्रित हुन्छ । किनकी, प्रख्यात सञ्चारविद् मार्शल म्याक्लुहानको प्रविधि नै मूल कारक हो भन्ने सिद्धान्तअनुसार मिडिया वा मिडियाको अन्र्तवस्तुभन्दा पनि प्रविधिको प्रयोगले मानिसको व्यवहारमा परिवर्तन ल्याउँछ । प्रविधिले नै मानिसको व्यवहारमा आएको परिवर्तनलाई फिंँजाउँछ ।

मानिसमा विभिन्न समयमा निर्माण हुने धारणा, विकसित हुने संज्ञानात्मक सोच र वरिपरिको परिवेश र अनुभवका आधारमा हासिल हुने मानवीय व्यवहार र विचारका सम्बन्धमा विभिन्न सिद्धान्त छन् । जसै खासगरी उन्नाइसौंँ शताब्दीको मध्यपछि आमसञ्चार माध्यमका प्रभावहरू देखिन थाले । सामाजिक मनोविज्ञानको क्षेत्र अझ फराकिलो हुन पुग्यो । दोस्रो विश्वयुद्धको कालखण्डभन्दा पहिले व्यक्ति र समाजका लागि मिडियाको अस्तित्वको प्रकृति, भूमिका र प्रभावका सम्बन्धमा सुरुवातकालीन सैद्धान्तिक अध्ययनको पहल यही विधाका जानकारहरूले गरेका थिए । त्यसबेला मिडियाका अन्र्तवस्तुलाई चमत्कारिक ‘बुलेट’ मान्ने गरिएको थियो । मिडियाको मनोवैज्ञानिक प्रभावसम्बन्धी अवधारणाको निकै प्रभाव रहेको त्यो बेला मिडियाको बन्दुकको माध्यमले अन्र्तवस्तुको गोली आममानिसको मस्तिष्कमा प्रहार गर्दा अपेक्षित प्रभाव हासिल गर्न पक्कै सकिन्छ भन्ने मानिन्थ्यो ।

सय वर्षभन्दा अघि जर्मन–अमेरिकी सामाजिक मनोवैज्ञानिक ह्युगो मन्स्टरवर्गले फिल्मको मनोवैज्ञानिक प्रभावसम्बन्धी अध्ययन गरेका थिए । दर्शकको प्रतिक्रियाका बारेमा गरिएको त्यो पहिलो स्थलगत अध्ययनलाई मिडिया–मनोविज्ञानसम्बन्धी प्रारम्भिक अनुसन्धान मानिन्छ । समयान्तरमा मिडिया–अनुसन्धानको सुरुवातदेखि दोस्रो विश्वयुद्धसम्मको चरणमा रेडियोको मनोवैज्ञानिक असरसम्बन्धी अध्ययनले पनि उत्तिकै महत्त्व पाएको थियो । सन् १९३५ को साइकोलोजी अफ रेडियो पनि आमसञ्चारको मनोवैज्ञानिक असरसम्बन्धी अध्ययन नै थियो । सन् १९३८ मा एचजी वेल्सको विज्ञान–उपन्यास ‘वार अफ द वल्र्ड’मा आधारित रेडियो नाटकले ठूलो हल्लीखल्ली मच्याएपछि मानिसको मनोविज्ञानमा अन्र्तवस्तुको प्रभावसम्बन्धी अध्ययनको झन् विस्तार भयो । त्यस घटनाको दुई वर्षपछि रेडियोको मनोवैज्ञानिक असरका सम्बन्धमा अर्को अनुसन्धानात्मक कृति प्रकाशित भयो ।

ती अध्ययनहरूमा अभिव्यक्त चिन्ताको कारण भनेको मिडिया मनोविज्ञानको नकारात्मक आयाम नै थिए । खासगरी त्यसबेलाको अशान्त विश्व राजनीतिक परिवेशमा रेडियोको दुरुपयोग अतिरञ्जनाका औजारका रूपमा हुन सक्ने चिन्ता अध्येताहरूको थियो । त्यही परिवेशमा मिडियाको मनोवैज्ञानिक असरका सम्बन्धमा ‘हाइपोडर्मिक निडल’ भन्ने प्रतिकात्मक शब्दावली चलन चल्तीमा आएको हो । जहाँ अतिरञ्जनालाई विचारधाराको सुइका रुपमा बुझिएको थियो । त्यस्तो निडलले आममानिसलाई दिग्भ्रमित पार्छ भन्ने चिन्ता त्यस बेला पनि थियो । त्यसपछिका दिनमा, आजसम्म फिल्म, टेलिभिजन, अखबार र हिजोआज डिजिटल अन्र्तवस्तुका मनोवैज्ञानिक असरका सम्बन्धमा अध्ययनहरू भइरहेका छन् । इन्टरनेटमा आधारित माध्यमका मनोवैज्ञानिक प्रभावसम्बन्धी अध्ययनको क्षेत्र झन्झन् फराकिलो हुँदैछ । चिन्ता आज पनि निरन्तर छ । तर सकारात्मक पक्षका कारण आज मिडिया–मनोविज्ञान कैयौँ सामाजिक पहलका लागि उत्प्रेरणाको आधार बन्न पुगेको पनि छ ।
हरेक मानिस आफू वरिपरिको परिवेश र अनुभवका आधारमा हासिल हुने मानवीय आनीवानी वा व्यवहार र सोचबाट प्रभावित हुन्छ । वितेका सयौँ वर्षदेखि मानिसको परिवेश र अनुभवलाई नयाँ–नयाँ प्रविधिमा आधारित नयाँ–नयाँ मिडियाले आकार प्रदान गर्दै आएका छन् । मिडियाले घटना, प्रवृत्ति र व्यक्ति वा व्यक्तिको धारणाको प्रतिनिधिमूलक प्रस्तुति गर्ने आजको युगमा व्यक्ति र समाजको मनोविज्ञानमा मिडियाको प्रभाव झन्झन् बढ्दो छ ।

विभिन्न प्रकारका मिडियाले व्यक्तिलाई विविध किसिमको अनुभव दिलाउने भएकोले धारणा पनि फरक बनाइ दिन सक्दछन् । मिडियाले प्रस्तुत गर्ने द्वन्द्व, व्यक्तिको चरित्र वा प्रशंसालाई उपभोक्ताले कसरी अनुभूत गर्दछ, त्यही आधारमा संवेदना उत्पन्न भइरहेको हुन सक्छ वा धारणाको निर्माण हुन सक्दछ । अखबारमा कुनै कुरा पढ्नु र डिजिटल मिडियामा त्यही कुरा सचित्र देख्नु बीच अन्तर हुन्छ । इन्द्रियहरूको प्रयोगका आधाारमा संवेदना वा धारणा पनि पृथक हुन सक्दछन् । त्यसैगरी कुनै व्यक्ति कुनै विषय, घटना वा व्यक्तिको काल्पनिक चित्रको निर्माण गर्दा मानिसले बाह्य परिवेशमा उपलब्ध सूचनाको बेवास्ता गर्न सक्दैन । बरु उसले आफ्नो स्मृति वा सँंगालेको सूचनाको आधारमा कल्पनाको तस्वीरलाई परिमार्जन गर्दछ । त्यसैले व्यक्तिका लागि यहाँ सूचना प्रविधि चाहिँदैन, आन्तरिक प्रक्रियाबाटै कल्पनिक तस्वीर वा आफ्नो धारणा निर्माण गर्दछ ।

मिडिया मनोविज्ञानको अर्को आयाम भनेको आममानिसले उपलब्ध मिडियासँग रमाउने प्रवृत्ति नै हो । व्यक्ति उपलब्ध मिडियालाई समय कटाउने साधन वा कडाको साधन पनि मान्दछ र मिडियाको प्रयोगबाट सन्तुष्टि हासिल गर्दछ । यहीँ क्रमममा नजानिंँदो ढङ्गले मिडियाले व्यक्तिको जीवनमा परिवर्तन ल्याइरहेको हुन्छ । मिडियासँग निरन्तर खेल्ने गतिविधिबाट व्यक्तिले एकनासको परिणाम प्राप्त गरिरहेको हुन्छ, यही कारण व्यक्तिले आफ्नो धारणा परिवर्तन गर्न पनि सहयोग पाइरहेको हुन्छ, । समाज विकासको हरेक चरणमा एउटा–एउटा मिडियाले मानिसलाई बढी आकर्षित गरिरहेको हुन्छ, बढी सन्तुष्टि पनि उपलब्ध गराइरहेको हुन्छ । उदाहरणका लागि आजको युगमा मानिस इन्टरनेटमा आधारित मल्टिमिडिया वा सामाजिक सञ्जालको प्रयोग बढी गरिरहेका छन् र नयाँ मिडियाबाटै अत्यधिक सन्तुष्टि हासिल गरिरहेका छन् । यस क्रममा मानिसको क्षमता अभिवृद्धि भइरहेको हुन्छ ।

यसरी मिडिया–मनोविज्ञान मानिस, प्रविधि र मिडियाबीचको निरन्तरको अन्तक्र्रियाका सकारात्मक र नकारात्मक दुवै आयामहरूसँग सम्बन्धित हुन्छ । धेरैजसो मनोवैज्ञानिक र सञ्चार अध्ययन, पत्रकारिता वा समाजशास्त्रजस्ता अन्तरसम्बन्धित क्षेत्रका विद्वान्हरू लोकप्रिय सङ्गीत, फिल्म, टेलिभिजनजस्ता मिडियाले युवामा पार्ने नकारात्मक असरलाई सम्बोधन गर्नुपर्ने कुरामा बढी जोड दिन्छन् । उनीहरूको विचारमा ख्याल गर्नुपर्ने नकारात्मक असरहरूको सूची लामै हुन सक्दछ तर मिडियाका नकारात्मक असर मात्र भएका भए समाजमा मिडियाको महìव यति बढ्ने थिएन । निश्चय पनि समाजका विविध क्षेत्रमा मिडियाको मनोवैज्ञानिक असरको प्रयोग गरी अपेक्षित प्रभावको सिर्जना गर्न सकिन्छ । मिडिया–मनोविज्ञान समाजमा योजनाबद्ध प्रभाव सिर्जना गर्न पनि उत्तिकै प्रभावकारी हुन सक्दछ । किनकी, आजको समयमा मिडिया–मनोविज्ञानको गहिरो र व्यापक स्थान छ । त्यसैले आमरूपमा आजका मिडिया विश्वव्यापी महामारीलाई स्थान दिँदादिँदै पनि आवश्यक सजगता अपनाइरहेका छन् । कोभिड महामारीको नकारात्मक असर आम अडियन्समा न्यून होस् भन्ने चाहना सबैतिर पाइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?