डा. कुन्दन अर्याल
बेला–बेला केही अवरोध देखिए पनि आम रूपमा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बहाली भएको पनि तीन दशकभन्दा बढी भइसक्यो । यसबीच नेपालको आमसञ्चार वृत्त निकै फराकिलो भएको छ । छापा मात्र होइन सबै प्रकारका मिडियाको सङ्ख्यात्मक र निकै हदसम्म गुणात्मक विकाससमेत भएको छ । यसबीच विश्वमा विकसित भइरहेका नयाँ–नयाँ प्रविधिलाई नेपाली आमसञ्चार माध्यमहरूले पनि आत्मसात् गरेका छन् तर विवेक र नैतिक सचेतनाविना प्रविधिको प्रयोगले मात्र पत्रकारितालाई भरोसायोग्य र स्तरीय बनाउन सक्दैन ।
स्तरीय पत्रकारिताको परिभाषा एउटै नहुन सक्छ । अवश्य पनि स्तरीयको श्रेणीमा पर्न पढ्न सजिलो, सुन्न सहज र हेर्दा सफा देखिन नयाँ–नयाँ प्रविधिको प्रयोग भएको मिडिया हुनुपर्छ । एउटा पत्रकार वा लेखकको सिर्जनशीलताका साथै समाज र मानिसप्रतिको जिम्मेवारीबोध नभएको अवस्थामा पत्रकारिता फोस्रो हुने खतरा हुन्छ । त्यसैले पत्रकारिताको मूल्य–मान्यता र नैतिक पक्ष सबैभन्दा महìवपूर्ण हुन्छ । नोबेल पुरस्कार बिजेता पत्रकार तथा विख्यात साहित्यकार मार्खेज नैतिक मूल्यमान्यतालाई तोडेर जोखिम मोल्ने प्रवृत्तिलाई आजको पत्रकारितामा मौलाएको घातक प्रवृत्ति ठान्नुहुन्छ । सिर्जनशीलता र विवेकका साथ प्रविधिलाई औजारका रूपमा प्रयोग गर्न सकेमा मात्र पत्रकारिता जनताका लागि भरोसायोग्य र उपयोगी ठहरिन सक्छ ।
नेपाली पत्रकारितामा पनि अहिलेको सबैभन्दा खट्किएको पक्ष भनेको यस पेसाका विश्वव्यापी व्यावसायिक मापदण्डको पालनामा देखिएको हेलचक्य्राइँ नै हो । लगभग दुई सय वर्षको अपरिष्कृत छापा पत्रकारिताको अनुभवका आधारमा बीसौँ शताब्दीका प्रारम्भिक दशकसम्म आइपुग्दा पत्रकारिता पेसाको धर्म, मर्यादा वा व्यावसायिकताका विषयमा सुस्पष्ट आधार र खाका तयार भइसकेको थियो । समयक्रममा माध्यम थपिँदै जाने क्रममा पत्रकारिता अझ विस्तारित हुँदै गयो । गएको शताब्दीको उत्तरार्ध वा यो सहस्राब्दीको सुरुवातसँगै सशक्त रूपमा देखिएको मिडिया सम्मिलनको चरणसम्म आइपुग्दा पत्रकारिताका माध्यम अति विस्तारित भएका छन् । आज पत्रकारिताको सेवा उपभोक्ताले अति सहज रूपमा ग्रहण गरिरहेका छन् । समाचारका लागि कागजमा छापिएर कतिबेला आउने हो भनेर आज कुर्नै पर्दैन, आफ्नै मोबाइल सेटमा पढ्न पाइन्छ । जो सहज र तुलनात्मक रूपमा मितव्ययी पनि छ ।
त्यसैले आजका मिडिया उपभोक्तालाई अरू परम्परागत माध्यमले भन्दा अनलाइन माध्यमले बढी सन्तुष्टि प्रदान गरिरहेको छ । त्यसैले परम्परागत अखबार, रेडियो वा टेलिभिजनका तुलनामा अनलाइन माध्यमको प्रयोग बढ्दै जानु स्वाभाविकै हो । आजका अनलाइन माध्यमले सम्मिलनका कारण एकै पटक अखबार, रेडियो वा टेलिभिजनको चरित्र ग्रहण गरिरहेका छन् तर प्रविधिको उपलब्धतासँगै नैतिक पक्षको भने बेवास्ता गरियो भने पत्रकारिताको विश्वसनीयता र समाजले यसप्रति गर्दै आएको भरोसामा आँच आउँछ ।
सन् १९४७ मा अमेरिकी प्राध्यापक हचिन्सले स्वतन्त्र र जिम्मेवार प्रेस शीर्षकको प्रतिवेदनमार्फत प्रेस स्वतन्त्रतालाई खतरामा पर्न नदिन सबैभन्दा पहिले पत्रकारकै अहं भूमिका हुने किटानी गर्नुभएको थियो । उहाँको ठहरसँगै सामाजिक उत्तरदायित्वको सिद्धान्तको प्रतिपादन भएको थियो । उहाँले विश्वयुद्धको अन्त्यपछिको त्यो समयमा अमेरिकी पत्रकारिताको स्वतन्त्रता तीनवटा कारणले खतरामा परेको निष्कर्ष निकाल्नु भएको थियो । छापा माध्यमको आमसञ्चार माध्यमका रूपमा भएको विकासले जनताका लागि माध्यमको महìव अझ बढ्न गएको ठहर गर्दै उहाँको प्रतिवेदनमा प्रष्टतः नकारात्मक अवस्थाको चित्रण गरिएको थियो । हचिन्सले प्रेस स्वतन्त्रता खतरामा पर्ने पहिलो कारण आमसञ्चार माध्यममा आममानिसको पहुँच घट्नुलाई ठह¥याउनु भएको थियो ।
कमिसन अन फ्रिडम अफ द प्रेसको उक्त प्रतिवेदनमा प्रेस स्वतन्त्रता खतरामा पर्नुको दोस्रो कारणका रूपमा आमसञ्चार माध्यम समाजका आवश्यकता पर्याप्त मात्रामा पूरा गर्न असफल भएको अवस्थालाई औँल्याइएको थियो । उल्लिखित दुई कारणबाट सिर्जित अवस्थालाई प्रेस स्वतन्त्रता खतरामा पर्नुको तेस्रो कारणका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको थियो । उक्त तेस्रो कारण के थियो भने आमसञ्चार माध्यम जसको हातमा छ, उहाँहरू समाजले भत्र्सना गर्ने काममा संलग्न हुनुहुछ, जथाभावी लेखिरहनु भएको छ । यसका साथै प्रतिवेदनको चेतावनी थियो, यही क्रम जारी रहने हो भने स्वाभाविक रूपमा प्रेसमाथि नियन्त्रण वा अङ्कुशको वातावरण सिर्जना हुँदै जानेछ ।
भर्खरै सुर्खेत जिल्ला अदालतले एक अनलाइन वा त्यसका प्रमुखलाई बलात्कृत एक युवतीको तस्बिर प्रसार गरेको अभियोगमा पाँच हजार रुपियाँ जरिबाना मात्र होइन, पाँच महिना कैदसमेतको सजाय सुनाएको छ । यो घटनालाई प्रेस स्वतन्त्रताको सबैभन्दा ठूला दुश्मन गैरजिम्मेवार र नैतिक मूल्यको अवहेलना गर्ने पत्रकारिता नै हो भन्ने निष्कर्षका आधारमा हेर्न जरुरी छ । सामान्यतः एक व्यावसायिक पत्रकारलाई समाचार, लेख, सम्पादकीयजस्ता कुनै मिडिया उत्पादनका कारण जेलसजाय तोकिनु लोकतान्त्रिक अभ्यास प्रतिकूल ठानिन्छ तर मानवताविरोधी अपराधको सिकार हुन पुगेकी एक महिलाको गरिमामा थप आँच आउने गरी गोपनीयताको हकसमेत हनन गर्नु पत्रकारिता नै होइन । एक पटक त्यस्तो जघन्य अपराधको सिकार भइसकेकी ती महिलाको तस्बिर प्रसार गरी दोस्रो पटक पनि उहाँमाथि प्रत्यक्ष हिंसातुल्य व्यवहार गर्नु पत्रकारिता त हुँदै होइन । यस्तो क्रियाकलापले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा निम्त्याउँछन् । नेपालका अदालतहरूले शृङ्खलाबद्ध रूपमा पत्रकारलाई सजाय सुनाउँदै गर्दा हचिन्सको आकलन नेपालमा पनि सत्य साबित भएको मान्नुपर्छ ।
अनलाइन वा अन्य अत्याधुनिक प्रविधिको प्रयोगलाई मात्र पत्रकारिता विकासको धोतक मान्न सकिँदैन । नेपालमा परम्परागत माध्यमका तुलनामा इन्टरनेटमा आधारित माध्यम बढी अव्यावसायिक देखिँदै गरेको परिप्रेक्ष्यमा यो कुरा अझ प्रष्ट हुँदैछ । प्रेस काउन्सिल नेपालमा दर्ता हुने उजुरीहरूको विश्लेषण गर्दा पनि यही देखिन्छ । अनलाइन सहज, द्रूत र व्यापक माध्यम हो तर यसको प्रयोग गलत मनसायबाट भएमा सम्पूर्ण पत्रकारिताको विश्वसनीयता गिर्दै नै जानेछ । किनकि आजको समयमा आमसञ्चारको मूलधार पनि इन्टरनेटमै आधारित छ । कागजमा छापिने सबै लोकप्रिय अखबारका अनलाइन संस्करण छन् । ती पत्रपत्रिकाका कुनै सामग्रीको प्रसार पनि सबैभन्दा बढी इन्टरनेटकै माध्यमबाटै भइरहेका छन् । रेडियो र टेलिभिजनका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ ।
यस पृष्ठभूमिमा बलात्कृत महिलाको गोपनीयताको हकको ठाडो उल्लङ्घन गरेका कारण पत्रकारलाई जेलसजाय सुनाएको घटना नेपालको समग्र पत्रकारिता जगत्का लागि जनाउको घन्टी पनि हो । सुर्खेत अदालतले नेपाल पत्रकार महासङ्घलाई समेत यस्ता समाचारका बारेमा ध्यानाकर्षण हुनु जरुरी भएको औँल्याएर यही भन्न खाजेजस्तो देखिन्छ । करणीजन्य अपराधका सामग्री गोप्य हुन्छन् भन्ने विषय प्रत्येक सचेत नागरिकलाई थाहा हुनैपर्ने विषय हो ।
पत्रकारिताको नाममा परिणामको गम्भीरताको ख्याल नगर्नु सर्वथा अनुचित हुँदाहुँदै पनि जेल सजाजबाट सहजै उन्मुक्ति हुने अवसर पनि फैसलामा प्रदान गरिएको छ ।
स्वतन्त्र पत्रकारिताको तीन दशकभन्दा लामो इतिहासमा नेपाली पत्रकारिताले हासिल बजार, अन्तर्वस्तु र आर्थिक, सामाजिक वा राजनीतिक प्रभाव उल्लेखनीय छ तर अब नेपाली पत्रकारिताको विकासको अभिन्न पक्ष भनेको यसको आर्थिक सबलता मात्र होइन, यसको नैतिक पक्ष मजबुत हुनसक्यो भने मात्र प्रभावमा अझ विस्तार हुनेछ । खासगरी पत्रकारिताका विश्वव्यापी मूल्य–मान्यता र व्यावसायिक मापदण्डहरूको कसीमा खारिएका सामग्रीको उत्पादन नेपाली पत्रकारको ध्यान बढी केन्द्रित हुन जरुरी छ । सरकार वा सत्ताका निकायहरूलाई नियन्त्रणमुखी कानुन बनाउन वा नियन्त्रणका कदम चाल्न आधार प्रदान गर्ने अन्तर्वस्तुको उत्पादनलाई पत्रकारले नै अग्रपङ्क्तिमा उभिएर निरुत्साहित गर्र्नुपर्छ ।