डा. कुन्दन अर्याल
संसारमा दिनहुँ हुने हरेक घटना वा गतिविधि समाचार बन्दैनन् । छानिएका केही विषयमा वा घटनाले मिडियामा ठाउँ पाउँछन् । यस सम्बन्धमा मिडियाका आफ्नै तर्कहरू हुन्छ, जसअनुसार न्यूज भ्यालु वा समाचारीय मूल्य तय गरिन्छन् । तर वितेको एक वर्षको अनुभवका आधारमा नेपाली मिडियामा कोभिड–१९ सम्बन्धी सामग्रीका छनोटका मापदण्डसम्बन्धी छलफल गर्न जरुरी देखिएको छ । कागज, स्क्रीन वा आवाज र छविमा आइरहेका पठन सामग्री वा श्रव्य दृश्य सामग्री सारभूत रूपमा कोभिड–१९ विरुद्धको लडाइँमा कतिसम्म प्रभावकारी भइरहेका छन् ? यो विषयमा सर्वप्रथम मिडियासँग सम्बन्धित सङ्घ–संस्था वा पत्रकारहरूले नै समीक्षा गर्नु पर्छ ।
पहिलो, कोभिड–१९ का विरुद्ध जनतादेखि सरकारसम्मलाई मिडियाले कति सजग बनाउँदै आएका छन् ? दोस्रो, खासगरी सामाजिक सञ्जाल वा अव्यावसायिकद्वारा सञ्चालित अफवाहहरू चिरेर सुसूचनाको प्रवाह गर्ने मामिलामा व्यावसायिक मिडिया कतिसम्म प्रभावकारी ठहरिएका छन् ? तेस्रो, विश्वभरका मानव समुदायका सामु अकल्पनीय चुनौतीका रूपमा आएको महामारीको समाचार मूल्यको निर्धारण नीति सरदरभन्दा माथि किन उठ्न सकेको देखिंँदैन ? आम रूपमा आएका मिडियाका सामग्रीहरूका आधारमा यस्ता केही प्रश्नहरूमा विमर्श अघि बढाउनु पर्ने देखिन्छ । यस वर्षको लोकतन्त्र दिवसका दिनसम्म नेपालगञ्जमा महामारी निकै फैलिइसकेको थियो । अस्पतालको क्षमताभन्दा बढी सङ्क्रमित उपचारको आशामा थिए । तर त्यसताका वा त्यसपछिको मिडियाका विषयवस्तुलाई मात्र सर्सर्ति हेर्ने हो भने पनि सारभूत रूपमा गम्भीरता उजागर हुन बाँकी नै रहेको देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनको ०७६ साल पुस १८ गतेदेखि विश्वव्यापी महामारी कोभिड–१९ ले मानव स्वास्थ्यमा पु¥याएको क्षतिका सम्बन्धमा समग्र अभिलेख तयार गरेको छ । जसअनुसार यस महामारीले नेपालमा साढे सात हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । नेपालमा यसको असर केही ढिलो देखा परेको थियो । त्यसैले यसका कारण नेपालमा ०७७ साल वैशाख २९ गते मात्र पहिलो मृत्यु भएको थियो । तर त्यसबेलासम्म हाम्रो छिमेकी चीनलगायत संसारका कैयौँ देशले यस महामारीको कठोर रूप देखिसकेका थिए । त्यसरी हेर्ने हो भने, नेपालले विश्वका अन्य देशबाट पाठ सिक्न सक्ने त्यो पहिलो अवसर थियो । त्यसपछि नेपालमा पनि महामारी फैलंँदै गयो । गएको वर्ष कात्तिक सुरुमै जतिबेला नेपालमा दशैँ मनाइँदै थियो, त्यो बेला सन्त्रास फैलिएको थियो । जुन दिन टीका परेको थियो, त्यो साता मात्रै ९५ जनाको जीवन कोरोना भाइरसले हरण गरेको थियो । पोहोर धेरै मानिसले दशैँ अत्यन्त खुम्चिएर मनाएका थिए । तर त्यसपछिको समयमा क्रमशः महामारी ओरालो लाग्न थाल्यो । त्यसबेलासम्मको अनुभवहरूबाट सिक्दै आउने दिनका सम्भावित सङ्कटको समाना गर्नका लागि तयारी गर्ने त्यो दोस्रो अवसर थियो ।
समय बित्दैै गयो, ०७७ सालको उत्तराद्र्धसम्म पुग्दा नपुग्दै फेरि कोरोनाको लहर सुरु भयो । त्यो वर्ष फागुन १० गतेको एउटा उदाहरण लिउँ, कोभिड–१९ ले एक सातामा ७०५ जनाको ज्यान लिएको तथ्याङ्क प्रकाशित भइरहेको थियो । त्यसपछि महामारी फेरि अलि ओरालो लागेजस्तो देखियो र फागुन २४ गते सातामा चार जनाको ज्यान गएको तथ्याङ्क प्रकाशित भयो । तर क्रमशः कम हुँदै गएको महामारीलाई सारा देशले नै भुलेजस्तो भयो । हो, त्यही बेला पनि सरकार, जनता वा सम्बन्धित निकाय वा अनुसन्धान केन्द्रहरूलाई नेपाली मिडियाले कति झक्झक्याइरहे ? मिडियाले अहिले आत्मसमीक्षा गर्नुपर्ने विषय यो हो । एकै वर्षको अवधिमा पनि कोरोनाको स्मृति जनमानसमा कामय राख्दै सम्भावित खतराबाट बच्न र बचाउन मिडियाले आफ्नै पहल कति ग¥यो ? नेपाली मिडिया समुदायले आफैंँ समीक्षा गर्नुपर्ने विषय यो पनि हो ।
एउटा मान्यता छ, जसले मिडियालाई ‘कन्वेयर’ र ‘प्रोसेस बेल्ट’ जस्तो मात्र देख्छ । जसरी एयरपोर्टमा घुमिरहने बेल्टमा यात्रुले आफ्ना सामान सङ्कलन गर्छन्, त्यसरी नै मिडियामा आउने म्यासेजलाई प्रयोगकर्ताले प्राप्त गर्छन् । गन्तव्यमा पुगेको जहाजबाट ओरालिएको समान जहाजबाटै ओर्लिएर सामानको प्रतीक्षा गरिरहेका यात्रुसम्म पु¥याउने यान्त्रिक कर्तव्यबाहेक त्यो बेल्टको कुनै भूमिका हुँदैन । कोभिड–१९ का सन्दर्भमा मिडियाको भूमिका यस दृष्टिले मात्र मूल्याङ्कन गर्ने हो भने स्वास्थ्य मन्त्रालयका पत्रकार सम्मेलनसम्बन्धी समाचार आएकै छन्, सङ्क्रमित, जटिल अवस्थामा रहेको सङ्क्रमित वा मृतकसम्बन्धी तथ्याङ्क पनि आएकै छन् । विश्व स्वास्थ्य सङ्गठनले जोखिम–सञ्चार अन्तर्गत तयार पारेका सामग्री वा प्रेस विज्ञप्ति पनि आएकै छन् । तर नेपाली मिडियाले महामारी विरुद्धको लडाइँंका रोकथाम, उपचार वा सम्बन्धित निकाय र हरेक नागरिकलाई दायित्व सम्झाउँदै सजग गराउने सामग्री कति पस्किएका छन् ? सबैभन्दा पहिले पत्रकारहरूले नै आत्मसमीक्षा गर्न जरुरी छ ।
०७७ साल चैत ३१ गते अखबारहरूले नै छापे, जोखिम फेरि बढ्यो । तर नयाँ वर्षको अवसरमा भएका विशाल जमघटका तस्वीर सामान्य बेलामा छापेजस्तै गरी कुनै टिप्पणी वा चेतावनी विना नै छापिए । त्यति मात्र होइन, त्यही सेरोफेरोमा रिसोर्ट र होम सेल्टरहरूमा चहल पहल बढे भन्ने शीर्षक र भीडभाडका तस्बीर पनि छापिए । असर कम गर्न महामारीको समयमा वा यसबाट बच्न कहाँ–कहाँबाट अपेक्षित प्रयास भएनन् ? कोरोना भाइरसले पु¥याएको अकल्पनीय क्षति केही न केही कम गर्ने वा यसको नियन्त्रण गर्ने कुरा कसैको पनि बुताभन्दा बाहिर थियो ? यस्ता प्रश्नहरूमा अब धेरै अल्मलिइरहनु पर्ने देखिंँदैन । किनकि, एक वर्षको अवधिमा विश्वव्यापी अनुभवले प्रष्ट पारिसकेको छ, जतिसुकै अकल्पनीय भए पनि कोभिड–१९ विरुद्धको लडाइँं व्यवस्थित भएको खण्डमा क्षति कम गर्न सकिने रहेछ । यो कुराको सबैभन्दा टड्कारो दृष्टान्त चीन वा यो महामारीको उद्गमस्थल वुहानले नै प्रस्तुत गरिरहेको छ । त्यसैले व्यक्ति, समाजका विभिन्न क्षेत्र वा सरकार जहाँ–जहाँबाट कमजोरी भएका छन्, त्यसको लाभ कोरोना भाइरसलाई भएको छ ।
महामारीको समयमा मानिसको जीवन जोगाउन सामाजिक जीवनका विभिन्न क्षेत्रबाट आवश्यक भूमिकाको अपेक्षा गरिन्छ । झट्ट हेर्दा वा सहजै भन्न सकिने सबैभन्दा महŒवपूर्ण भूमिका त चिकित्साकर्मी, औषधि र उपचार केन्द्र वा अस्पताहरूकै हुन्छन् । तर महामारीसँगको लडाइँं केवल चिकित्सा शास्त्रको विषय होइन, त्यसैले सामाजिक परिचालनका अनेक क्षेत्र पनि उत्तिकै क्रियाशील हुनै पर्छ । त्यसैले महामारीविरुद्धको विश्वव्यापी लडाइँंमा सामाजिक जागरण र पहलको दृष्टिकोणका आधारमा आमसञ्चार माध्यम वा सार्वजनिक सञ्चारको क्षेत्रबाट ठूलो अपेक्षा गर्नै पर्छ ।
सुरुदेखि अहिलेसम्मको परिस्थिति हेर्दाहेर्दै भयानक हुँदै गएको हो । यो वर्ष वैशाख २७ गते एकै साता ८९० जनाको मृत्यु कोरोना भाइरसका कारणले भएको गणना गरिएपछि पनि झन् झन् डरलाग्दो अवस्था बन्दै गयो । तर यो दोस्रो लहर अगाडि सबैले के–कसरी आ–आफ्नो कर्तव्य निर्वाह गरेको भए केही न केही परिमाणमा यसको असर कम हुन सक्थ्यो होला ? यस सन्दर्भमा नेपाली मिडियाको भूमिका कतिसम्म प्रभावकारी हुन सक्थ्यो होला ? यस्ता प्रश्नहरूमा घोत्लिँदा नै आउँदा दिनमा कोरोना भाइरसका नयाँ नयाँ भेरियन्टसँगको लडाइँमा मानव समुदायको जीत हुन सक्नेछ । विश्व स्वास्थ्य सङ्गठनले जनाऊ दिँदै नै आएको छ, अझ पछिका सम्भावित महामारीबाट बच्न पनि हामीले यसबीच आर्जन गरेका अनुभवका आधारमा अघि बढ्नुपर्छ । अनुभवको आदान प्रदान गराउने मामिलामा आमसञ्चार सबैभन्दा प्रभावकारी हुन सक्दछ । महामारीको द्रूत पहिचान र प्रतिकारको कदम चाल्ने मामिलामा सरकारहरू के गरिरहेका छन् भन्ने निगरानी गरेर मात्र पुग्दैन । जनताको तहमा सजगता बढाउन पनि आमसञ्चार माध्यमहरू नै प्रभावकारी ठहरिनुपर्छ ।
पहिलो लहरपछि र दोस्रो लहर अघि महामारीविरुद्धको लडाइँमा उपचारभन्दा पहिले सङ्क्रमणलाई रोक्ने वा सङ्क्रमणको शृङ्खलालाई तोड्ने रणनीति नै प्रभावकारी हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि हेलचक््रयाइँंका प्रशस्त उदाहरण देखिए । यसविरुद्धको लडाइँंमा सुरुदेखि नै सामाजिक दूरी र प्रत्यक्ष स्पर्शलाई सबैभन्दा बढी प्रचार गरिएकै थियो । अब त अहिलेसम्मको अनुभवले पनि सिद्ध गरिसकेको छ, यिनै उपायहरूबाट यसलाई पराजित गर्न सकिने रहेछ । पहिलो लहर त सबैलाई झुक्याएर आयो भन्न सकिन्छ । तर दोस्रो लहर आउन सक्ने पूर्वानुमान हुँदाहुँदै बच्ने प्रमुख उपाय सामाजिक दूरीको उपायप्रति सम्पूर्ण समाज र सम्बन्धित निकायहरूको निस्क्रियता र निस्पृहता किन देखियो ? अनि सङ्क्रमणको उपचारका लागि आवश्यक पर्ने व्यवस्थाका सम्बन्धमा पनि किन लापरबाही देखियो ? दुवै तहको सतर्कता, पहिलो, सङ्क्रमण रोक्न र दोस्रो सङ्क्रमितको जीवन जोगाउन किन पूर्व तयारी पर्याप्त हुन सकेन ? यस सन्दर्भमा नेपाली आमसञ्चार माध्यमको समाजलाई झक्झक्याउन सक्ने पूर्ण क्षमता प्रदर्शन गर्न बाँकी नै छ ।
विज्ञान, अझ लोकप्रिय विज्ञान, कृषि वा कुनै पनि प्राविधिक विषयमा अध्ययन–अनुसन्धानदेखि आमजनतालाई सुसूचित तुल्याउने चरणसम्म मूलतः दुई तहको सार्वजनिक संवाद हुन्छ । वैज्ञानिक, प्राविधिक वा विज्ञहरूले तयार गर्ने अध्ययन प्रतिवेदन वा प्रकाशन गर्ने निष्कर्ष पहिलो चरणको संवाद हो । तर त्यसमा निहित विषयवस्तु वा निष्कर्ष सर्वसाधारणको बोधगम्यताभन्दा पर हुन सक्छ । यहीँनेर मिडियाको महŒवपूर्ण भूमिका हुने गर्छ । वैज्ञानिक जानकारी, सूचना र निष्कर्ष आम रूपमा दोस्रो तहको संवादबाटै फैलिन्छ । यो अपेक्षित भूमिका नेपाली मिडियाले कतिसम्म पूरा गरेका छन् ? अतः नेपालका आमसञ्चार माध्यमहरूले बितेको एक वर्षको वस्तुनिष्ठ समीक्षा गर्न ढिलो हुन लागिसकेको छ । किनकि, महामारीविरुद्धको साझा लडाइँं अगाडि बढाउन आउँदा दिनका अन्तरवस्तुमा महामारी र यसका आर्थिक, सामाजिक र राजनीतिक असरहरूबाट आम जनतालाई बचाउने ध्येय सारभूत रूपमै समेटिनु पर्नेछ । सङ्कटका समयमा आम सञ्चारको नैतिक दायित्व पनि यही हो ।
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)