logo
२०८१ मंसिर ९ आईतवार



राजनीतिक उचाइ मापन

विचार/दृष्टिकोण |





निर्मलकुमार आचार्य

यसपालि फेरि नेपालको चर्चा दुनियाभरि भएको छ । संसारकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको विषय अधिकांश सञ्चारमाध्यमका प्राथमिकतामा परे । समुद्री सतहबाट आठ हजार ८४८ मिटर अग्लो मानिँदै आएको सगरमाथाको कुल उचाइ अब झन्डै एक मिटर थपिई आठ हजार ८४८ दशमलव ८६ सेन्टिमिटर बनेको छ । नेपाल तथा चीनले गत मङ्गलबार संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेपछि विगतका अविश्वास तथा अड्कल पनि मेटिएका छन् ।
सगरमाथाको उचाइ मापनको कार्य विभिन्न देशबाट हुँदै आएको परिप्रेक्ष्यमा पछिल्लो मापन नेपालकै साधन, जनशक्ति र व्यवस्थापनमा हुनु सुखद पाटो बनेको छ । सर्वप्रथम ‘ब्रिटिस सर्भे अफ इन्डिया’ले १६८ वर्षअघि सन् १८५२ मा सर्भे गरेको थियो । प्रारम्भिक मापनमा सगरमाथाको उचाइ आठ हजार ८४० मिटर (८८४०.०६) रहेको उल्लेख पाइन्छ । बेलायतका सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको सम्मानमा सन् १८६५ मा सर्वोच्च शिखरको नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । सगरमाथाको उचाइ र अवस्थिति दर्शाएकाले उनको नाममा सर्वोच्च शिखरको संज्ञा माउन्ट एभरेस्ट राखिएको थियो । पहिले सगरमाथालाई चिनाउन ‘पिक बी’ त्यसपछि ‘पिक एक्स वी’ (पिक १५) भन्ने गरिएको थियो । भनिन्छ, सगरमाथाको उचाइ पत्ता लाग्नुपूर्व इक्वेडरको चिम्बोराजो (६३९० मि.)लाई सर्वोच्च शिखर मानिन्थ्यो । उचाइ पहिल्याउने क्रममा चिम्बोराजापछि धवलागिरि अनि कञ्चनजङ्घा हुँदै सगरमाथा सर्वोच्च शिखर स्थापित हुनपुगेको हो ।
भारतको सर्भे विभागले सन् १९५२ मा गरेको मापनअनुसार सगरमाथाको उचाइ आठ हजार ८४८ मानिएको हो । अहिलेसम्म चीन (सन् १९७५ र २००५), इटाली (सन् १९८७, १९९२ र २००४), संयुक्त राज्य अमेरिका (सन् १९९९) र डेनमार्क (सन् २०१०) बाट सगरमाथा मापनको काम भए तापनि मापनाङ्क चाहिँ उही रहेन । अमेरिकी मापनमा आठ हजार ८५० मिटर उचाइ देखिएको थियो भने चिनियाँ मापनमा आठ हजार ८४४ मात्रै रह्यो । चीनले हिउँबेगर केवल चट्टानसम्म नाप्दाको मापन हो यो । नेपालको धारणाअनुरूप पछिल्लोपटक हिउँसमेत साझा रूपमा मापन गरिँदा नेपाल र चीन दुवैको तथ्याङ्क एउटै रह्यो । सीमा मापनका सम्बन्धमा द्विदेशीय सकारात्मक पक्ष मान्दै यसलाई नेपाल–चीन मित्रताको कोसेढुङ्गा भनिएको छ । २०७२ सालको भूकम्पले सर्वोच्च शिखरको उचाइमा असर पारेको हुनसक्ने आकलनपछि नापी विभागले २०७५ फागुनमा सगरमाथा मापनको काम थालेको थियो । सगरमाथा मापनको कार्य नेपालको आफ्नै बलबुताले हुनुलाई ऐतिहासिक फड्को मान्नैपर्छ ।
तिब्बती भाषामा ‘चोमोलुङ्मा’ (पवित्र आमा) र स्थानीय जनबोलीमा ‘चोमोलुङ’ तथा ‘झ्यामोलोङ्मो’ भनिने सर्वोच्च हिमाल ‘देवढुङ्गा’ नामले पनि चिनिन्छ । यसको पौराणिक नाम ‘देवगिरि’ भएको उल्लेख पनि पाइन्छ । इतिहास शिरोमणि बाबुराम आचार्यले ‘सगरमाथा’ नामकरण (वि. सं. २०१२) गर्नुभएको हो ।
संसारकै सबैभन्दा अग्लो शिखरमा सर्वप्रथम पाइला राख्ने व्यक्ति हुन्, तेन्जिङ नोर्गे शेर्पा (सन् १९४४ मे २९–०९ मे १९८६) र एडमन्ड हिलारी (सन् १९१९–२००८) । आरोहणको नेतृत्व गर्ने तेन्जिङ नोर्गे शेर्पासँगै हिलारीले २०१० जेठ १६ गते बिहान ११ः१५ बजे सगरमाथाको सफल आरोहण गरेका थिए ।
सगरमाथा आरोहण गर्ने प्रथम महिला हुन्, जुन्को तावेइ । उनले श्रीमती एइको हुनका नेतृत्वमा रहेको जापानी पर्वतारोही समूहबाट सन् १९७५ मे १६ का दिन ऐतिहासिक स्थान हासिल गरेकी हुन् । यसपछि सगरमाथाको चुचुरामा पुग्ने विश्वका महिलामा चिनियाँ फाङचोङ, पोल्यान्डकी वान्डा, जर्मनेली हन्नेलोर, भारतीय बछेन्द्री पाल (सन् १९८४ मा), क्यानाडाली सारोन उड, अमेरिकी स्ट्यासी एम. एलिसन, पेग्गी जोन जुसी, क्याथरिन जे. गिब्सन, युगोस्लाभियाली मेरिया स्ट्रेप्फिज, भारतीय सन्तोष यादव, न्युजिल्यान्डकी इनग्रिड एम. बेइनस, लिडिया बे्रडीको नाम आउँछ । त्यसयता कैयौँ पुरुष तथा महिलाले सगरमाथा आरोहणमा नयाँनयाँ कीर्ति बनाइरहेका छन् । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिलाको नाम हो, पासाङ ल्हामु शेर्पा । पासाङ ल्हामुबाट २०५० वैशाख १० गते दिउँसो २ः१५ बजे सगरमाथाको सफल आरोहण भएको हो ।
उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुने श्रेय पेम्बा डोमा शेर्पालाई प्राप्त छ । पेम्बाबाट २०५७ जेठ ६ गते (सन् २००० मे १९) शुक्रबार सगरमाथा आरोहणमा विजय हासिल भएको हो । नेपाली महिलाले अनेकपटक सगरमाथा आरोहण गरेको स्वर्णिम इतिहास पनि छ । नौपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान लाक्पा शेर्पालाई प्राप्त छ । लाक्पा शेर्पाबाट पहिलोपल्ट २०५७ जेठ ५ गते सगरमाथा आरोहण गरिएको हो ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नो मुलुकमा हुनु नेपाल र नेपालीका लागि गौरवको पक्ष हो । यति मात्र होइन, विश्वका ठूला १० हिमालमध्ये अधिकतम नेपालमा हुनुले पनि गरिमा बढाएको छ । कञ्चनजङ्घा (८५८६ मि.), ल्होत्से (८५१६ मि.), मकालु (८४८१ मि.), चोयु (८२०१ मि.), धवलागिरि (८१६७ मि.), मनास्लु (८१६३ मि.), अन्नपूर्ण (८०९१ मि.) बाहेक नुप्से, लाङटाङ, माछापुच्छे«, दोर्जे लाक्पा, आमादब्लम, गौरीशङ्कर आदि हिमाल पनि उल्लेखनीय छन् ।
हिमालको उचाइ थपघट हुनु अप्राकृतिक विषय होइन । झन्डै छ करोड वर्षपूर्व युरेसियन प्लेट र भारतीय प्लेटको घर्षणबाट हिमशिखर बनेका हुन् भने घर्षण प्रक्रिया जारी रहेकाले सगरमाथाको उचाइ बर्सेनि शून्य दशमलव २५ सेन्टिमिटरका क्रमले बढोत्तरी भइरहेको भूगर्भविद्को भनाइ छ । वि. सं. २०३९ (सन् १९८३) मा नेपाली सर्वेक्षणले मुलुकका ७० वटाभन्दा बढी हिमचुचुराको उचाइ घटबढ भएको जनाएको पनि यतिखेर स्मरणीय छ ।
सगरमाथाको उचाइ केही मिटर घट्दा वा बढ्दा यसको गौरवमय अस्तित्वमा चाहिँ खासै असर पर्ने देखिँदैन । संसारको दोस्रो हिमशिखर ‘के २’ (काराकोरम÷कृष्णगिरि)को उचाइ आठ हजार ६११ मि. मात्रै छ । तैपनि करिब एक मिटर थपिनुले सगरमाथाको ओज बढेको छ । नेपाल र नेपालीको परिचायकका रूपमा रहेको सगरमाथाको कद बढ्नु राष्ट्रप्रेमी जो कोहीका लागि हर्षकै विषय हो । सगरमाथाझैँ नेपाली राजनीतिले पनि उचाइ बढाएदेखिन् गौरव झन् चुलिने थियो । सगरमाथाको उचाइमा प्रकृतिको लीला रहेजस्तै राजनीतिक उचाइमा प्रवृत्तिको हात हुनु स्वाभाविक हो । इतिहास साक्षी छ, नेपालको राजनीतिक उचाइ सधैँभरि एकनासको रहेको छैन तथापि यसको मापनका सम्बन्धमा कसैले चासो लिएको देखिँदैन । २००७ सालयताको मात्रै इतिहास पल्टाउँदा पनि नेपाली राजनीति बिनामापन कुदिरहेको प्रतीत हुन्छ । राजनीतिक साख खस्काइमा तिनै प्रवृत्ति (कु) हाबी रहेको पाइनुले पनि यसको पुष्टि हुन्छ ।
राजनीतिक दलबीचको बेमेल र अन्तरदलीय अनमेलले २००७ सालदेखि नै नपछ्याएको होइन । प्रवृत्तिगत दोष खुट्याउने र सच्याउने काम नहुँदा प्रजातान्त्रिक प्रक्रियासमेत दुर्घटित हुन पुगेको कटु इतिहास छ । पञ्चायत कालपछिको राजनीतिक यात्रामा पनि दलीय मतभेद र अन्तरदलीय विभिन्डिँदो प्रवृत्ति हाबी रह्यो । यसले गर्दा पाँच वर्ष नबित्दै विद्रोहका अपूर्व प्रवृत्ति देखापर्न थाले । पछिल्लो राजनीतिक गठजोड पनि हठतोडमा परिणत हुनथालेको आभास भइरहेको छ । स्वप्निल वाचाबन्धन गरी सत्तासीन हुने र सत्तारुढ हुनासाथ जनमत लत्याई पुनः गुटपरस्ती, फुट र हानथापको प्रवृत्तिमा रमाउने रोग रत्ती कम भएको छैन । जनदृष्टिमा राजनीतिक कद दिनानुदिन घट्दै गइरहेको छर्लङ्ङ हुँदा पनि कुनै दलले यसको उचाइ मापन गर्ने बिँडो उठाएको देखिँदैन ।
व्यक्तिगत, समूहगत स्वार्थ र स्वार्थपूर्तिका निम्ति हरहत्कन्डा अँगाल्ने प्रवृत्तिका कारण लोकतान्त्रिक सौरभसमेत ओझेलमा पर्ने डर बढेको छ । प्रवृत्तिगत खोट केवल सत्ताधारी दलमा नरहनु अर्को उदेकलाग्दो पाटो हो । प्रमुख प्रतिपक्षी दललगायत समस्त राजनीतिक दल उही प्रवृत्तिजन्य दलदलमा भासिँदै गइरहेको खुलस्त छ । उचाइ जतिसुकै घटे तापनि बेखबर रहनु यहाँको राजनीतिक विशेषता बनेको छ । राजनीतिक उचाइ घटेसँगै बढ्दो जनवितृष्णालाई पनि कसैले चासो लिएको पाइँदैन ।
क्षुद्र राजनीतिको ‘एक्सिलेटर’लाई अझै पनि नेतृत्व वर्गले ‘बे्रक’ नलगाउने हो भने सुघटनाको परिकल्पना गर्न सकिँदैन । आफ्ना बोली, व्यवहार, लवाइखवाइ, चालचलन आदि के कस्ता कार्यले के कति उचाइ घटाइरहेको छ कि बढाइरहेको छ ? भन्ने हेर्न सामयिक राजनीतिको समुचित मापन अनिवार्य छ । केही गरे पनि, नगरे पनि प्रकृतिले नै सगरमाथाको उचाइ घटबढ गरेजस्तो यहाँ हुँदैन । तसर्थ बेलैमा राजनीतिक उचाइको मापन गरी जनाकाङ्क्षा अनुरूप क्रियाशीलता बढाउनु सामयिक आवश्यकता टड्कारिएको छ ।

(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)
 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?