डा. कुन्दन अर्याल
बेलायतका विश्व विख्यात इतिहासकार तथा ‘म्यामोथ बुक’ को शृङ्खलाबद्ध शीर्षकमा अनेक रोचक विषयमा पुस्तक लेख्ने जोन इ लेविसले आफ्नो ‘द म्यामोथ बुक अफ जर्नालिज्म’मा समेटेको नेपालसम्बन्धी ऐतिहासिक समाचार के होला ? सही उत्तर खोज्न अलमलिनै पर्दैन । उनको पुस्तकमा नेपालबाट समेटिएको समाचारको विषय उही सगरमाथा नै हो । लेविसले उन्नाइसौँ शताब्दीको मध्यदेखि नयाँ सहश्राब्दीको सङ्घारसम्मका अखबारका इतिहासको पहिलो खेस्राको श्रेणीमा पर्ने उत्कृष्ट समाचारहरूको सङ्कलन गरेका छन् । त्यही क्रममा १९५३ को २९ मेका दिन सर्वोच्च चुचुरामा पहिलोपटक मानव पाइलो परेको समाचारले ठाउँ पाएको छ ।
एभरेस्टमाथि विजय शीर्षकमा बेलायतको ‘द टाइम्स’ मा ८ जून १९५३ मा छापिएको समाचार सम्प्रेषण गरेका विशेष संवाददाता जेम्स मोरिस चौंथो आधार शिविरसम्म आरोहण दलसँगसँगै थिए । इतिहास रचेर सगरमाथा आधार शिविरमा फर्किएका नेपाली तेञ्जिङ र न्युजिल्याण्डका हिलारीको आत्मसन्तुष्टिको उत्कर्ष झल्किने मुस्कान, उत्साह र सफलताका लागि दुवैले गरेको कठिनतम सङ्घर्षगाथालाई समाचारमा समेटिएको छ । त्यहाँको प्रतिकूलता र कष्टका बारेमा पनि उनले शब्दकै माध्यमबाट चित्रमय वर्णन गरेका छन् । ३१ मेका दिन चौंथो शिविरको उत्सवमय वातावरणको झलक प्रस्तुत गर्दै समाचारको आरम्भमा उनी लेख्दछन् ः एभरेष्टका स्वामीहरू, हिलारी र तेञ्जिङ, हिजो दिउँसो सूर्य किरणको चमक र विजय भावका साथ आफ्नो समाचार आफैँसँग ल्याउँदै दक्षिण मोहडाबाट यस शिविर (२२,००० फिट) मा फर्किए ।
संसारले सर्वोच्च शिखरका रूपमा चिन्न थालेको एक सय वर्षपछिको त्यस ऐतिहासिक घटनायता सगरमाथाको आकर्षण झन्झन् बढ्दै गएको छ । हरेक वर्ष २९ मे का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै आएको छ । तञ्जिङ शेर्पा र हिलारी चुचुरामा पुग्न सफल भएको घटना मानव जातिको सहास, कौशल र उत्सुकताको उपलब्धि थियो । बेलायती पर्वतारोही दलले त्यसअघि जर्ज म्यालोरीको नेतृत्वमा सन् १९२४ मै गरेको प्रयास असफल भएको थियो । त्यसबेला हिउँमा पुरिएका म्यालोरीको शव ७५ वर्षपछि फेला परेको थियो । त्यसैले तेञ्जिङ र हिलारीले पाएको सफलतासँगै बेलायती आरोहण दलले सन् २४ को असफलतालाई बिर्साएको थियो ।
गत साता २०७७ साल मङ्सिर २३ गते नेपाल र चीनले संयुक्त रूपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ अझ बढेर आठ हजार ८४८ दशमलव ८६ मिटर पुगेको घोषणा गरे । वर्षौंदेखि विश्वभरका आमसञ्चार माध्यमका लागि कौतूहल र मानव चासोको समाचारको विशाल भण्डार रहिआएको सगरमाथाको बढेकोे उचाइ अहिले महामारीको त्रास र अनेक नकारात्मक समाचारका बीचमा आएको रुचिकर समाचार बन्न पुगेको छ । सगरमाथा सजीव प्राणी होइन, यसको उचाइको रहस्य भूगर्भ विज्ञानको विषय हो । सगरमाथा अग्लो हुनु रुख, विरुवा वा सागसब्जीको विकास गरेजस्तो मानव जातिको वैज्ञानिक उपलब्धिको परिणाम होइन, कुनै एउटा देशको राजनीतिक उपलब्धि पनि होइन । तर पत्रकारिताको दृष्टिले यो कोभिड–१९ ले आक्रान्त पारेको सन् २०२० को वर्षमा अन्तिमतिर आएको मानवरुचिको ठूलो समाचार अवश्य हो । संसारभरका मिडियाले तुरुन्तातुरुन्तै समाचार फैलाए । जमर्नीको प्रभावशाली अन्तर्राष्ट्रिय प्रसारण संस्था डचे वेलेले सगरमाथाको आधिकारिक उचाइ अझै एक मिटर बढेको जनाउँदै ‘चीन, नेपालले सगरमाथाको परिमार्जित उचाइ घोषणा गरे’ शीर्षकमा संसारलाई यो कुरा बतायो । अमेरिकाको वासिङ्टन पोस्टले तुरुन्तै समाचार बनायो – यो आधिकारिक हो ः एभरेस्ट केही अग्लो भयो । चीनका मिडियामा त निकै विस्तारपूर्वक समाचार छापिने नै भए । भारतीय अनलाइन न्यूज पोर्टल, छापा, टेलिभिजन र रेडियोमा पनि यो समाचारले प्रमुखता पायो । संसारका कुनै पनि प्रभावशाली सञ्चार माध्यमबाट सगरमाथा अग्लिएको समाचार प्रसार भएको वा नछापिएको देखाउन सकिंँदैन ।
उन्नाइसांै शताब्दीको मध्यतिरदेखि यसको उचाइ पत्ता लगाउने प्रयत्न सुरु भएको थियो । उन्नाइसौं शताब्दीको मध्यपछि सुरुमा हिमालय शृङ्खलामा पन्ध्रौँ चुचुरो नाम दिएर ब्रिटिस इण्डियाको सर्भेक्षणमा यसको उचाइको आँकलन गरिएको थियो । त्यसबेला विश्वको सर्वोच्च शिखर यही हो भन्ने ठहर गरियो । केही वर्षपछि बेलायत अधिनस्थ भारतका प्रथम सर्भेयर जनरल जर्ज एभरेष्टको सम्मानमा यसको नामाकरण गरियो । सर्वोच्च शिखरका रूपमा मान्यता पाएको करिब एक सय वर्षपछि मात्र यो चुचुरोमा मानव पाइलो परेको थियो ।
कूटनीति र अन्तर्राष्ट्रिय राजनीतिको क्षेत्रमा सगरमाथा नेपालको परिचायक मात्र होइन टेवा, भरोसा र एक प्रकारको तागत पनि हो । अन्तर्राष्ट्रिय सञ्चारको दुनियाँमा यो विश्वभरका मानिसको ध्यान तान्ने समाचारहरूको अजस्र स्रोत हो । जहाँ पाइलो टेक्नु संसारभरका पर्वतारोहीहरूको सबैभन्दा ठूलो महìवाकाङ्क्षा हुन्छ । जहाँ यो महामारीले रोकिएको अवस्था अघिसम्म चार हजारभन्दा बढी मानिसले सफल आरोहण गरी सकेका छन् तर आरोहण पूरा गर्न नसकेर जीवन उत्सर्ग गर्नेहरूको पनि ठूलो सङ्ख्या छ । त्यो चुचुरो संसारकै ठूलो समाचार खानी हो ।
देशभित्र, सगरमाथा गौरव, शान र उत्साहको प्रतीकका रूपमा स्थापित छ । हाम्रा स्वदेश गानहरूमा सबैभन्दा बढी प्रयोग हुँदै आएको प्रतीक सगरमाथा नै हुनु पर्दछ । तेञ्जिङ शेर्पादेखि आजसम्म हरेक नेपाली वा नेपाली शेर्पाको सफल आरोहणको समाचारले ठूलो महìव पाउँदै आएको छ । किनकि, सम्पूर्ण नेपालीको जीवन र कल्पनामा सगरमाथाले बास गरेको छ । २७ वर्ष अघि पासाङ ल्हामु शेर्पाको सफल आरोहणले नेपाली जनमानसलाई तरङ्गित तुल्याएको थियो । जापानकी जुन्को तावेईको पहिलो महिला सफल आरोहीको रेकर्ड र त्यसपछि पनि अनेकौँ विदेशी महिलाको रेकर्ड सुन्दै आएका नेपालीको सुषुप्त मनोभाव त्यसबेला जागेको थियो । सगरमाथाको पहिलो सफल आरोही बन्ने अवसर पाएकी नेपाली छोरीलाई स्वागत गर्न आमनेपाली प्रतीक्षारत थिए । तर उनको आरोहण सफल भए पनि अवतरण दुर्घटनाग्रस्त हुन पुग्यो । काठमाडौँमा उनको स्वागत यात्रा चल्न सकेन, मानिसले शवयात्रामा सामेल हुनुप¥यो । त्यस यता पनि हरेक नेपालीको सफल आरोहणले टाढैबाट सगरमाथा हेरेर रमाउने आमनेपालीलाई गौरवानुभूति हुँदै आएको छ ।
करिब छ वर्षअघि, ०७२ सालमा ठूलो भूकम्प आउनु अगाडिसम्म सगारमाथा चढ्नेहरूको सङ्ख्या बढ्दै नै थियो । भूकम्पका कारण त्यो वर्ष आरोहण रोकियो । तर दुई वर्ष अघि त आठ सय पर्वतारोहीले सफल आरोहण मात्र गरेनन्, बाटो नै अवरुद्ध हुने गरी भीड बढेको तस्वीर संसारभर फिंजियो । त्यो एकै वर्षमा त्यतिको ठूलो सङ्ख्यामा सफल आरोहण भएको रेकर्ड थियो । सगरमाथाको माया गर्ने संसारभरका मानिसले पर्यावरणको चिन्ता गरे । त्यो चिन्ताको समाचार थियो । गएको वर्ष मात्र पनि आरोहणको मौसममा उपयुक्त मौका छोपेर अघि बढ्ने क्रममा धेरै जनाको ज्यान गएको थियो । त्यो पनि दुःखद समाचार थियो । गएको साता भने संसारभरका प्रमुख समाचार माध्यमहरूले सगरमाथाको कद बढेको रमाइलो समाचार प्रसार गर्न पाए । विश्वका ठूला–ठूला अखवारका यससम्बन्धी शीर्षकहरू रमाइला र थरिथरिका थिए ।
समाजका विविध क्षेत्रमा नयाँ–नयाँ रेकर्ड राख्ने होड चल्ने गरेको आजको युगमा अब नयाँ उचाइ कायम भएपछि पहिलोपटक चुचुरामा पुग्ने व्यक्तिको रेकर्ड पनि समाचारको तìव बन्नेअनुमान गर्न सकिन्छ । समाचारको वजन बढाउने क्रममा सगरमाथाका समाचारसँग जोडेर नयाँ–नयाँ रेकर्डहरू समावेश गरिंदै आएका छन् । सय वर्षअघि वाल्टर लिपम्यानले समाजको कुनै पनि घटना वा प्रवृत्ति समाचार बन्ने वा नबन्ने कुराको निक्र्योल कसरी हुन्छ भन्ने विषयमा व्यवस्थित र गहन विमर्श सुरु गर्दै पहिलोपटक ‘न्यूज भ्यालु’ भन्ने शब्दावलीको प्रयोग गरेका थिए । हरेक घटना वा अवस्था समाचार बन्न सक्दैन भन्ने उनको ठहर थियो । साँचो अर्थमा समाचार ठहरिने समाचार त जवर्जस्त रूपमा आफ्नो ठाउँ लिन आउँछ भन्ने आशय उनको थियो । उनी समाचार प्रष्ट देखिने मानव रुचिको घटना र प्रवृत्ति हो जसलाई सञ्चारकर्मीले कर्तव्यनिष्ठ भएको खण्डमा वेवास्ता गर्नै सक्दैनन् भन्ने मत राख्दथे । सगरमाथाले पनि कम्तीमा डेढ सय वर्षदेखि सञ्चार जगतका लागि विश्वभरका मानिससँग संवाद गर्ने प्रभावकारी अवसर उपलब्ध गराउँदै आएको छ ।
सगरमाथाका कथा, सगरमाथाको प्रतिकूलतासँग साक्षात्कार गर्ने वा यसको कठिन अँगालोमा बाँधिनेहरूको भोगाइका कथा, सहश्र छन् । सगरमाथा नेपाली समाजको मात्र होइन, विश्व समुदायको समेत संवाद र सञ्चारको साझा माध्यम हो । सगरमाथा आफैँमा सन्देश हो । त्यसैले यसको सञ्चार महìव असीमित छ ।
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा आबद्ध हुनुहुन्छ ।)