कुमार अभिनव
नेपाल सरकारले देशलाई डिजिटल युगमा फड्को मार्ने कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमले देशभरि डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहित गरेको छ । नेपाल पनि विश्वसँगै डिजिटल युगतर्फ बढिरहेको छ । नेपालमा नयाँ सरकारको गठन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा डिजिटल नेपाल फ्रेमवर्कको शुभारम्भ गरिएको थियो । डिजिटल नेपाल फ्रेमवर्कको मुख्य उद्देश्य नेपाललाई डिजिटल सशक्त समाज र ज्ञान अर्थ व्यवस्थामा रूपान्तरण गर्नु हो । प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘हामी सूचना प्रविधिको विकासमा असफल भयौँ भने हामी
पछाडि रहनेछौँ ।’
डिजिटल नेपाल फ्रेमवर्क एउटा खाका हो, जसले डिजिटल पहलहरू कसरी गर्न सकिन्छ भन्ने मार्गचित्र देखाउँछ । डिजिटल नेपाल कार्यान्वयन गर्नका लागि हालै सरकारले सञ्चालन गरेको एपको भूमिका महŒवपूर्ण हुन्छ । यो डिजिटल नेपाल फ्रेमवर्कको एक हिस्सा हो । डिजिटल नेपाल फ्रेमवर्क परियोजनाअन्तर्गत यो नागरिक एप सार्वजनिक गरिएको हो ।
नागरिक एपको आवश्यकता
जनतालाई एउटै अनलाइन प्लेटफर्मको माध्यमबाट सबै सरकारी सम्बन्धित सेवाहरू प्रदान गर्ने उद्देश्यसाथ यो एप सुरुवात गरिएको हो । यो एपले सबै किसिमका सरकारी सेवाहरू प्राप्त गर्न सहयोग पु¥याउनेछ– जस्तै प्यान रेजिष्ट्रेसनका लागि आवेदन दिन, पेस गरिएका करहरूको विवरण हेर्न सकिन्छ । यसले नागरिकता दर्ता, प्यान रजिष्ट्रेसन र राहदानी दर्ता संयन्त्रबाट सबै विवरण सङ्कलन गरेको छ । यस एपमा सबै नागरिकको डाटा कायम राख्न गृह मन्त्रालयमा दर्ता भएका नागरिकको विवरण र निर्वाचन आयोगको सर्भरमा नागरिकको फोटोसहितको औँठाछाप र फोटोसहितको जानकारीबाट एपका लागि नागरिकको डिजिटल परिचय सिर्जना गरिएको छ । यो एपको प्रयोगबाट पेपरलेस (कागजरहित) र समयको बचत हुने तथा सार्वजनिक बिदाका दिन पनि सेवा लिन सकिनेछ ।
कसरी प्रयोग गर्ने ?
नागरिक एपको फाइदा लिनका लागि तपाईंले पहिले नागरिक एप प्लेस्टोरबाट डाउनलोड गर्नुपर्छ, जुन धेरै सरल छ । त्यसपछि ‘तपाईंको मोबाइल नम्बर दर्ता गर्नुहोस् र अगाडि बढ्नुहोस्’ मा क्लिक गर्नुहोस् । र, त्यसपछि तपाईंको मोबाइल नम्बरमा एसएमएसमार्फत ६ अङ्कको कोड आउँछ (जसलाई वान टाइम पासवर्ड अर्थात ओटीपी भनिन्छ) । एकचोटि तपाईंले ओटीपी हाल्नुभयो र ‘अगाडि बढ्नुहोस्’मा क्लिक गर्नुहोस् । लगत्तै तपाईंले आफ्नो मतदाता परिचयपत्र, नागरिकता र पासपोर्टको विवरण पेस गर्नुपर्ने हुन्छ र ‘अगाडि बढ्नुहोस्’मा क्लिक गर्नुहोस् । त्यसका लागि नागरिकता, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एउटा विकल्प छनोट गर्नुहोस् र त्यसको विवरण भर्नुहोस् । उदाहरणका लागि नागरिकता छान्नुभयो भने त्यसको नम्बर, जारी भएको जिल्ला, जन्ममिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस् । यदि तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ । त्यससँगै एउटा फाराम खुल्छ । त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा तपाईंको दर्ता प्रक्रिया पूरा हुन्छ । अब यसमा पिनकोड राखेर तपाईं एपमा उपलब्ध सेवा प्रयोग गर्न सक्नुहुन्छ ।
नागरिक एपको चुनौती
डिजिटल नेपालतर्फ अघि बढ्दा उपभोक्ता र नागरिक डाटाको बढ्दो सङ्ख्यालाई डिजिटल रूपमा भण्डार गरिनेछ र कम्पनी, व्यक्ति र सरकारी विभागले ठूलो सङ्ख्यामा लेनदेन अनलाइनबाट गर्नेछन् । यसैले साइबर अपराधी र ह्याकरले नेपाललाई ठूलो लक्ष्य बनाउँछन् । अर्थात् नेपालमा साइबर चुनौती पनि बढेको देखिन्छ । उदाहरणका रूपमा केही महिनाअगाडि भएको एटीएम ह्याकले हाम्रो साइबर सुरक्षामा प्रश्न उब्जाएको छ । विगत पाँच वर्षको तथ्याङ्क हेर्दा पनि नेपालमा साइबर अपराध अत्यधिक रूपमा बढेको देखिन्छ । हामीले डिजिटल नेपालको कल्पना गरिरहेका छौँ तर यसको सुरक्षामा केही ध्यान दिएको देखिन्न । यस क्षेत्रमा करिब दुई प्रतिशतभन्दा कम बजेट खर्च गर्नुले सूचना प्रविधिमा हाम्रो ध्यान नगएको देखिन्छ ।
डिजिटल नेपाल फ्रेमवर्कले “समृद्ध नेपाल सुखी नेपाली’’ कार्यान्वयन गर्न मुख्य भूमिका खेल्नेछ । यसले समाजमा आर्थिक वृद्धि गर्न योगदान, समाजले सामना गरिरहेका ठूला चुनौती समाधान गर्न र नेपाललाई वैश्विक अर्थतन्त्रमा भाग लिनका लागि अवसर पहिचान गर्न मौका प्रदान गर्छ । डिजिटल नेपाल रूपरेखाअन्तर्गत, मुख्यतः आठ क्षेत्रहरू कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त, र कनेक्टिभिटी समावेश गरिएको छ । डिजिटल नेपाल कदमले आर्थिक क्षेत्रको नयाँ लहरलाई सघाउँछ, अधिक लगानी आकर्षित गर्छ र नयाँ क्षेत्रको सिर्जना गर्छ ।
(लेखक इन्जिनियर तथा साइबर सुरक्षा विश्लेषक हुनुहुन्छ ।)