इन्द्रकुमार श्रेष्ठ
संसारमा अरू देश गरिब हुनु र नेपाल गरिब हुनुमा धेरै फरक छ । शिक्षा र चेतनामा पछाडि परेका संसारका कतिपय गरिब देश द्वन्द्वको चपेटामा छन् । तिनीहरूको उब्जाउशील जमिन छैन । पानीको समस्या छ । हामी भने न त शिक्षा र चेतनामा नै पछि परेका छौँ, न त लामो समय द्वन्द्वको भुमरीमा नै फसेका छौँ । सानो भएर पनि, संसारमा हुने हरेक प्रकारको भौगोलिक बनावट छ । जलस्रोतमा हामी विश्वको धनी देश भनेर कहलिएकै छौँ । वनसम्पदा र जडीबुटीमा संसारकै धनी छँदैछौँ । तर पनि हामी गरिब छौँ । हरेक कुरा आयातमा निर्भर छौँ । तर पनि गरिब छौँ किन ? जानकारहरू भन्छन्, नेपाल देश गरिब होइन, गरिब बनाइएको हो ।
हामी गरिब हुनुको एउटा कारण चाहिँ हामीले लगाउन, खान नजानेर नै होकि ! भनाइ पनि छ ः मानिस खान नपाएर होइन, खान नजानेर मर्छ । भूमिको बनावटले ठगेपछि त्यस्तो ठाउँमा बस्ने मानिस गरिब हुनसक्छ भन्ने पनि ठानिन्छ । तर जस्तोसुकै उपेक्षित जमिन भए पनि, त्यसमा पनि केही न केही विशेषता र शक्ति अवश्य हुन्छ । त्यसैले कतिपय देशले भू–बनावटको त्यस्तो अवस्थालाई पनि सदुपयोग गर्दै आफ्नो उन्नतिको पक्षमा ढालेर फाइदा लिएका छन् । समुद्रमा पुल लगाएका र मरुभूमिमा सहर बसाएका उदाहरणहरू त्यस्तै त हुन् ।
अर्थशास्त्र भन्छ, मानिसका आवश्यकताहरू तीनथरी छन् । पहिलो अनिवार्य आवश्यकता, दोस्रो आरामदायी आवश्यकता र तेस्रो विलासिताको आवश्यकता । अनिवार्य आवश्यकता त्यो हो, जोबिना मानिसको जीवन रहँदैन । यसलाई पनि जीवन रक्षासम्बन्धी आवश्यकता, कार्यक्षमता बढाउने आवश्यकता र सामाजिक मान प्रतिष्ठासम्बन्धी आवश्यकता गरी तीन भागमा बाँडिएको छ । जीवन रक्षासम्बन्धी आवश्यकतामा गाँस, बास, कपास र औषधि पर्छन् भने कार्यक्षमता बढाउने आवश्यकतामा अप्ठ्यारोलाई सहज बनाउने कुराहरू पर्छन् । जस्तो कि घाँस काट्नका लागि भुत्ते नै भए पनि कचिया नभई नहुने (अनिवार्य आवश्यकता) हो । तर भुत्तेको सट्टा भर्खरै अर्जापिएको लाग्ने कचिया भयो भने घाँस काट्न धेरै सजिलो, छिटो र कम बल लाग्ने हुन्छ । त्यस्तो अर्जापिएको कचिया कार्यक्षमता बढाउने आवश्यकता हो । सामाजिक मानप्रतिष्ठा बढाउने आवश्यकताहरूमा चाहिँ सामाजिक संस्कारका कुराहरू पर्छन् । समाजमा बसेपछि आफूलाई मन नपरे पनि र अनावश्यक नै लागे पनि जीवन र मृत्युसँग सम्बन्धित सामाजिक संस्कारका कामहरू गर्नैपर्छ, चाहे त्यो आडम्बरयुक्त, विकृतिजन्य र कुसंस्कारमय नै किन नहोस् !
अनिवार्य आवश्यकता पूरा भएपछि मानिस आरामदायी आवश्यकताहरूको महसुस गर्न थाल्छ । भुइँमै ओछ्यान लगाएर सुुतिरहेको मान्छेलाई खाट–पलङ चाहिन्छ । आरामदायी आवश्यकता पूरा गर्दा जीवन अलि सहज हुने र मानिसको कार्यक्षमता पनि बढ्ने भएकोेले यस्तो आवश्यकताको चाहना राख्नु मानवीय स्वभाव नै पनि हो ।
आरामदायी आवश्यकता पनि पूरा भइसकेपछि मानिसको मन विलासी आवश्यकता पूरा गर्नपट्टि लाग्छ । विलासी आवश्यकता भनेको मानिसका लागि नभई नहुने पनि होइन र यसले कार्यक्षमतामा वृद्धि गर्ने पनि होइन । यसले त मानिसलाई आडम्बरी र फजुलखर्ची मात्र बनाउँछ । यस्तो खाले आवश्यकताको पूर्ति प्रायः असीमित धन भएकाहरूले मात्र गर्छन् । त्यस्तो मानिस जो उच्च सरकारी पदको होस् अथवा अवैध धन्दा गर्ने होस् । अथाह सम्पत्तिलाई सदुपयोग गर्नका लागि अब ऊ तोलाका तोला सुन किन्न थाल्छ, महँगा महँगा सामानहरू प्रयोग गर्न थाल्छ ।
यी तीनैथरी आवश्यकताहरू मानिसको आर्थिक हैसियत, पेसा, भौगोलिक अवस्थितिअनुसार पनि निर्धारित हुने गर्छन् । एक जना व्यस्त डाक्टरका लागि मोटरसाइकल अनिवार्य आवश्यकता हो भने घरनजिकैको विद्यालयमा पढ्ने विद्यार्थीका लागि त्यो विलासिताको आवश्यकता हुनसक्छ । नेटमा विभिन्न सामग्री खोजेर पढ्नका लागि एक जना विज्ञानको विद्यार्थीलाई ल्यापटप अनिवार्य आवश्यकता हुनसक्छ भने त्यही चीज हजुरबाले फिल्म हेर्न प्रयोग गर्नुहुन्छ भने आरामदायी आवश्यकताको हुनसक्छ ।
अर्थशास्त्रले बताएको आवश्यकताहरूको उपर्युक्त वर्गीकरणका आधार स्पष्ट भएपछि, औसत नेपालीहरूका वास्तविक आवश्यकता तथा हामीले खाने, लाउने र प्रयोग गर्ने वस्तुहरूलाई कसरी लिने भन्ने कुरातर्फ एकैछिन सोचौँ ।
हाम्रो देश कृषिप्रधान हो भन्ने कुरा सुनेको, बुझेको धेरै पुस्ता भइसक्यो । कृषिप्रधान भनेको त खान लगाउन मात्रै होइन, कृषि पेसाबाटै सबै आवश्यकताहरू पूरा गर्न सक्षम हुनु, देशैभरिका धेरैजसो मानिस कृषि पेसामै लागेको हुनु, कृषिजन्य वस्तुहरू निर्यात गरेर देशकै अर्थतन्त्रलाई बलियो पार्न ठूलो हिस्सा ओगट्नु भन्ने अर्थ लाग्नुपर्ने हो । व्यवहारमा भने एकरति पनि यस्तो अवस्था देखिएको छैन ।
कृषि पेसाप्रतिको बढ्दो उपेक्षा त छँदैछ, यो पेसामा लागेको हाम्रो जनशक्तिलाई पनि टिकाउन सकिएको छैन । २०४५ सालमा भारतले नाकाबन्दी गरेपछि राजमार्ग छेउँछाउका क्षेत्रमा व्यावसायिक तरकारी खेतीको जग बसेको थियो । यस हिसाबले भारतले फेरि २०७२ सालमा लगाएको अति नै कठोर र कष्टप्रद नाकाबन्दीले त कमसेकम कृषि उपजमै आत्मनिर्भर बन्ने अत्यन्त बलियो प्रेरणा जगाउनुपर्ने हो । तर कृषिप्रधान देश भइकन पनि हाम्रो देशले बर्सेनि ज्यादै ठूलो परिमाणमा कृषि उपज आयात गर्ने गरेको छ । कृषि उत्पादन बढाउन र यसको स्तरोन्नति गर्नका लागि बनाइएका र गरिएका ठूलाठूला कार्यक्रम र उल्लेखनीय लगानीहरूले आसलाग्दो प्रतिफल दिन सकेकै छैनन् । यता तराईमा फलेको धान पनि यतै खपत नभई सस्तोमा भारतलाई बेची उसैसँग महँगोमा चामल किन्ने प्रवृत्तिका कारण पनि कतिपय जिल्लामा भोकमरी भएको र अनिकाल लागेको समाचार बर्सेनि सुन्नुपरिहेको छ । यो दुःखलाग्दो स्थितिमा, आफ्नो खेतबारीमा उत्पादित अन्नबाली र फलफूल बेचेर जीवनयापन गर्ने नेपाली परिवार कति नै होलान् र ! भइआएको खेतीपातीका लागि पनि चाहिने मल, बीउ, मेसिन र कीटनाशक औषधि पनि भारतबाटै झिकाउनुपर्छ । एउटा जाबो प्याजका लागि पनि, भारतले निर्यात खुला गरेको कुराबाट खुसी हुनुपरेको छ । अनि हाम्रो कमाइ भने मुख्यतः भारतबाटै ल्याएको किनेर खानलाई नै खर्च भइरहेको छ । यो अवस्थामा, कृषिले हाम्रो अर्थतन्त्रलाई कति सहयोग गरेको होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।
यसरी गरिब देशका मानिस हामी, आफ्ना खेतबारी बाँझो राखेर अर्काको देशमा फलेको अन्न तरकारी खाएर कुन खालको आवश्यकताको परिपूर्ति गरिरहेका छौँ ? के हाम्रो माटोमा आलु फल्दैन र हामीले बाहिरबाट किनेर ल्याएको खानुपर्ने ? के हामीले यतै फलेको ताजा आँप, बेलौती खानु हुँदैन र कहाँकहाँ फलेर कहाँकहाँदेखि आएको स्याउ, अङ्गुर र अनार नै खानुपर्ने ? बूढाबूढी, केटाकेटी र कमजोरका लागि हर्लिक्स, सेरेलेक्स र ग्लुकोज नै अमृत हो त ? हामीकहाँ बाख्रापालनका लागि उपयुक्त वन जङ्गल चरन कतै छैन र दसैँ मान्नलाई भारतबाट खसीबाख्रा र चीनबाट च्याङ्ग्रा ल्याउनुपर्ने ? जाँड रक्सीको सेवनमा बन्देज लगाउनु त कता हो कता, ती चिजहरू यतै पनि बनाउन सकिने हुँदाहुँदै महँगा रक्सीहरू आयात गरेर भए नभएको मुद्रा विदेशतिरै पठाउनुपर्ने ? यस्तो हदैसम्मको आत्मघाती नीति कुनचाहिँ नेपाली राष्ट्रवादी अर्थशास्त्रीको होला ? यस्ता धेरै प्रश्न छन्, जसलाई जत्ति पनि बढाउन सकिन्छ ।
जोकोहीलाई पनि थाहा छ, गान्धीले भारतमा चर्खा प्रचार अभियान चलाएका थिए–आफैँले चर्खामा धागो कातेर कपडा बुनेर लाउने अभियान । त्यो कुरा सम्झने हो भने हामीले पनि जाडोका बेला लगाउने छालाज्याकेटका साटो जुटका ज्याकेट बनाएर लगाउने अभियान चलाउनुपर्ने हो । हामीकहाँ भने ‘छिटको सारी चौबन्दी चोलीमा’ भन्ने गीतसम्म त कसैकसैले सम्झेको होला नत्र अब त कतै कतै कुनै घरमा फ्याँकिएर सड्न बाँकी रहेका केही चर्खाहरू मात्रै बाँकी होलान् । यहाँ स्थापना भएका केही कपडा उद्योग पनि बन्द भए किनभने हामी विकसित देशमा बनेका महँगा, रङ्गीचङ्गी र चिल्ला कपडा लगाउन बानी परेछौँ ! नेपाली हातले बुनेका खस्रा कपडा लगायौँ भने त हाम्रो इज्जत सबै माटामै मिल्ने रहेछ ! हामीले आफ्नै उत्पादनमा आधारित आर्थिक जीवन निर्वाह गर्ने कहिले होला ?
(लेखक साहित्यकार हुनुहुन्छ ।)