इन्द्रकुमार श्रेष्ठ
शिक्षण सिकाइ प्रक्रियामा पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण विधिजस्ता कुराको महŒवपूर्ण भूमिका रहेको हुन्छ । त्यसमा पनि, यी सबैको अर्थपूर्ण प्रयोगका साथ उपयुक्त शैक्षिक वातावरण निर्माण गरी शिक्षण सिकाइ क्रियाकलापलाई सफल पार्ने गुरुत्तर जिम्मेवारी शिक्षकको हुन्छ । विद्यार्थीलाई पढाउने÷सिकाउनेभन्दा पनि उनीहरूमा अध्ययनप्रतिको जिज्ञासा उत्पन्न गराउने, जीवनको उद्देश्यप्रति सचेत गराई असल बानीको विकास गराउने तथा जीवनोपयोगी नयाँ–नयाँ ज्ञान, सीप र धारणा सिकाउने काम पनि शिक्षककै हो । शिक्षकमाथि सबैको भविष्य अडिएको छ; असीम विश्वास रहेको छ र सम्पूर्ण आशाभरोसा राखिएको छ । आजका बालबालिका नै भोलिका परिवार, समाज र देशकै सञ्चालक हुन् । दैनिक छ घण्टा भेट हुने एकजना शिक्षकको बानी, व्यहोरा, आचरण तथा जीवनशैलीको प्रभाव तिनीहरूमा पर्छ नै । अनि त्यो बिस्तारै समाज, समुदाय र राष्ट्रमा समेत सर्छ । त्यसैले, शिक्षकलाई इतिहास र युगका निर्माता पनि मान्ने गरिएको छ । अतः त्यस्तो सर्वतोमुखी आदर्श व्यक्तित्व ठानिएको शिक्षक निश्चय नै असल हुनुपर्छ । र, शिक्षक असल हुनका लागि असल गुणको आवश्यकता पर्छ । असल शिक्षकमा हुनुपर्ने गुणका सन्दर्भमा कुरा गर्दा चार्टस् र वापल्स्को नाम लिइन्छ । ती दुईजना अमेरिकी व्यक्तित्वहरूको अनुसन्धानबाट निकालिएको निष्कर्षअनुसार असल शिक्षकमा निम्नअनुसारको गुण हुनुपर्छ :
(क) राम्रो स्वास्थ्य (ख) आकर्षक चेहरा (ग) अनुकूलता (घ) सहयोगी (ङ) विनम्रता (च) नैतिकता (छ) प्रततिशीलता (ज) इमानदारी (झ) सावधान (ञ) मौलिकता (ट) व्यवहारमा एकरूपता (ठ) सहानुभूति इत्यादि । यसबाहेक शिक्षकका गुणका सम्बन्धमा अरू पनि अनुसन्धान भएका छन् । त्यसअनुसार शिक्षकका गुणहरूलाई वैयक्तिक, सामाजिक र शैक्षिक गरी तीन शीर्षकमा बाँडेर पनि उल्लेख गर्ने गरिएको छ ।
वैयक्तिक गुणअन्तर्गत धैर्य, नम्रता, सहनशीलता, असल चरित्रलाई मुख्य ठानिएको छ भने सामाजिक गुणअन्तर्गत निष्पक्षता, सहयोगी, सामाजिक भावना, विनोदप्रियता, नेतृत्व लिन सक्ने क्षमता, समुदायको ज्ञान पर्छन् । अनि शैक्षिकअन्तर्गतचाहिँ विषयवस्तुको ज्ञान, शिक्षण सीपको ज्ञान, बालमनोविज्ञानको ज्ञान, पेशागत निष्ठा, शैक्षणिक योजना, विधि र सामग्रीको ज्ञान, अध्यययनशीलताजस्ता गुणहरूको उल्लेख गर्न सकिन्छ । उल्लिखित गुणहरू पर्याप्त हुँदाहुँदै पनि, असल शिक्षकप्रतिको धारणा समयसापेक्ष र बदलिँदो हुन्छ भन्ने कुरा पनि बिर्सन सकिँदैन । यस सन्दर्भमा, नेपाली परिवेशमा असल शिक्षकका गुणलाई यसप्रकार उल्लेख गर्न सकिन्छ :
राजनीतिक तटस्थता हुन त बेलाबखत शिक्षकलाई राजनीतिबाट टाढा राख्ने कुरा पनि गरिन्छ । तर, हाम्रो देशका राजनीतिक दलहरूले शिक्षकहरूलाई नै आ–आफ्ना ‘सक्रिय कार्यकर्ता’ बनाउने गरेका छन् । यसैले पनि होला, ‘माओवादी जनयुद्धकाल’देखि लिएर ‘विप्लवकाल’सम्म पनि पहिलो निशानामा पर्ने शिक्षक नै भए । राजधानी सहरदेखि दुर्गम गाउँबस्तीसम्मै शिक्षकको उपस्थिति हुने भएकाले दलको राजनीति मूलतः शिक्षकहरूले नै धानिदिने गरेको देखिन्छ । पेशागत हकहितका लागि शिक्षकहरू एकत्रित हुनु, नेतृत्वलाई दबाब दिनु नराम्रो नभए पनि दलगत फाइदाका लागि मरिहत्ते गर्नु किमार्थ राम्रो होइन । यसमा स्वयम् हौसिएर राजनीतिक दलको झोले बन्ने शिक्षकहरू नै दोषी देखिन्छन् । यस्तो भएपछि उनीहरूप्रतिको सामाजिक दृष्टिकोण पनि राम्रो बन्न सकेको छैन । त्यसैले शिक्षकहरू स्वयम् सचेत, कर्तव्यनिष्ठ र बुझ्झकी भएर कुनै पनि राजनीतिक दलप्रति नलागी तटस्थ रहन सक्नु असल नेपाली शिक्षकको गुण हो ।
श्रमप्रतिको सम्मान भाव निरन्तर श्रमकै कारण संसारका देशहरू विकसित कहलिएका हुन् । यो कुरा शिक्षकले विद्यार्थीलाई बुझाउन सकेकै छैनन् । त्यसैले पनि होला, सम्पन्न परिवारमा विद्यार्थी हुनासाथ कामै गर्नुहुँदैन, पढेर÷लेखेरमात्रै बस्नुपर्छ भन्ने धारणा पनि पाइन्छ । नेपाली शिक्षकले यो कुरालाई चिरेर नमुना बन्न सक्नुपर्छ । शिक्षकद्वारा आफैँ नमुना बनेर श्रमको महŒव व्यावहारिक रूपमा बुझाउन सकियो भने मात्र विद्यार्थी वर्गमा पनि श्रमप्रति श्रद्धाभाव जगाउन सकिन्छ । शिक्षकमा रहेको यस्तो क्षमतालाई असल शिक्षकको अर्को गुण
मान्न सकिन्छ ।
मितव्ययिता
नेपाली समाजका अगुवामा सैद्धान्तिक रूपमा अनेक आदर्शका कुरा गर्ने तर व्यावहारिक रूपमा भने स्वघोषित आदर्शको पूरै खिल्ली उडाउने प्रवृत्ति पाइन्छ । यसकारण पनि हाम्रा संस्कार झन्झन् ढोङी, तडकभडक र फजुलखर्ची बन्न थालेका छन् । यसबाट केही टाठाबाठालाई फाइदा र बाँकी सबैलाई बेफाइदा हुने गरेको छ । त्यसैले, यस्ता कुराको शालीन र तर्कपूर्ण विरोध गरेर सामाजिक न्यायपूर्ण संस्कारको नवस्थापनातर्फ मन लगाउनुलाई असल शिक्षकको गुण मानिनुपर्छ ।
अध्यययनशीलता
अन्य जातिमा धेरै अगाडिको पुस्तादेखि पठन संस्कृतिको विकास भएको पाइन्छ । तर, नेपाली समाजमा धेर–थोर पठन संस्कृतिको विकास भएको धेरै भएकै छैन । त्यसैले यहाँ भनिन्छ, पढेकाहरू जताततै भेटिन्छन् तर पढ्ने पाइन गाह्रो छ । यद्यपि, अध्ययनशीलता हरेक शिक्षकमा हुनुपर्ने गुण हो । तर, अधिकांश शिक्षकमा यस्तो प्रवृत्ति ज्यादै कम पाइन्छ । स्वतः शैक्षिक योग्यता हासिल गर्ने र स्वतः स्थायी हुन पाएका शिक्षकले कहिल्यै पढ्नै परेन । आफूले पढ्दा परीक्षामा पास हुन र पछि आयोगको परीक्षामा स्थायी हुन पढेबाहेक नपढ्ने शिक्षक पनि छन् । ‘विद्यार्थीलाई आज म यस्तो कुरा बताएर खुसी बनाउँछु’ भन्ने हिसाबले विभिन्न सान्दर्भिक पुस्तक नपढ्ने शिक्षककै कारण तिनीहरूको कक्षा निरस र सुगारटाइमा सीमित हुन पुग्छ । पाठ्यपुस्तक एउटा साधनमात्र भएको हुँदा विद्यार्थीलाई प्रभावकारी ढङ्गले सिकाउनका लागि एकजना असल शिक्षक ‘विषयवस्तुको उच्च ज्ञान’सहित सदैव ‘अपडेट’ भइरहनुपर्छ । यसबाहेक नेपाली समाजमा पठन संस्कृतिको विकास गर्न पनि प्रथमतः प्रत्येक शिक्षकमा अध्ययनशीलता हुनैपर्छ ।
स्थानीय मौलिकताको संरक्षण
हाम्रो देशलाई विभिन्न जातजाति, भाषाभाषी, भेषभूषाको संगमस्थल मानिन्छ । तर, पछिल्लो समयमा आएर यस्ता कुराको मौलिकता हराउँदै गएको छ । तिनको संरक्षणका लागि सरकारले धेरै लगानीका साथ जनशक्ति परिचालन गर्दा पनि गाह्रो भइरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठान र भाषा आयोगले समेत गर्नुपर्नेजति काम गर्न सकिरहेका छैनन् । यो बेलामा यदि स्थानीय शिक्षक जागरुक र सक्रिय हुने हो भने केही काम गर्न सक्छन् । यसबाहेक स्थानीयस्तरमा रहेका वनस्पति, बीउ, जडीबुटीको संरक्षण तथा सम्बद्र्धन गर्ने कुरामा पनि शिक्षकले योगदान गर्न सक्छन् । यस्ता कामलाई पनि शिक्षकको गुण मानिनुपर्छ ।
शिक्षण आफैँमा सेवामूलक पेशा हो र शिक्षकका लागि निश्चित गुण तोकिएका छन् । तर, नेपाली शिक्षकले यो पेशाका लागि खर्चिने दिमाग, आँखा र हातलाई अझ विद्यालय हाताभन्दा बाहिरको वातावरणसम्म पनि पु¥याउन सके थप राष्ट्रसेवा पनि हुने थियो ।
(लेखक शिक्षक हुनुहुन्छ ।)