logo
२०८१ जेष्ठ ७ सोमवार



सुची कि सुकी ?

विचार/दृष्टिकोण |




निर्मलकुमार आचार्य

म्यानमार अहिले सबैको चासो र चिन्ताको विषय बनेको छ । गएको सोमबार सेनाले नेताहरूलाई नियन्त्रणमा लिई सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान यता सोहोरिएको हो ।
सैन्य शासन (सन् १९६२–२०११) विरुद्ध लामो सङ्घर्षपश्चात् निर्वाचन भई बढेको राजनीतिक घटनाक्रम एक दशक नबित्दै अहिले फेरि सैन्य ‘कू’को सिकार भएको छ । यसबीच नेपाललगायत विभिन्न मुुलुकले म्यानमारमा लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया शीघ्र पुनःस्थापना हुने आशा प्रकट गरेका छन् ।
यतिखेर म्यानमारको ‘सैन्य कू’ लेखनको अभीष्ट होइन । म्यानमारमा भएको ‘सैन्य कू’लाई हरेकले आ–आफ्नै ढङ्गबाट व्याख्या, विश्लेषण पनि गरेका छन् । गत माघ १९ गते भएको म्यानमारको ‘सैन्य कू’सित नेपालको राजनीतिक घटनाक्रमलाई जोडेर हेर्नेको पनि कमी छैन । तत्कालीन राजा ज्ञानेन्द्रबाट १६ वर्षपूर्व २०६१ माघ १९ गते शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डल विघटन गरी राज्यको राजकीय तथा शासकीय सत्ता लिइएको घटना र म्यानमारको घटना उही ‘माघ १९ गते’ हुनु संयोग नै मान्नुपर्छ । तर, गएको माघ १९ गते राति नेपाली सेनाको बख्तरबन्द गाडी चक्रपथमा गुड्नुलाई चाहिँ केवल संयोग नमान्ने पनि रहेका छन् । हुन त सेनाले पहिल्यै सूचना जारी गरी नियमित अभ्यासअन्तर्गत त्यसरी बख्तरबन्द गाडी गुडाएको जानकारी नदिएको होइन तर ‘माघ १९’ र म्यानमारको ‘सैन्य कू’को संयोगका कारण कतिपयका मनमा चिसो पस्नुलाई अनौठो पनि मान्न सकिँदैन । केही समययता नेपालमा बढ्दो तनाव, आपसी फुट, राजनीतिक अन्योल र हुर्किंदो अराजक स्थितिले अज्ञात शङ्काको बादल मडारिनु स्वाभाविक हो तर अहिले यो सन्दर्भ पनि लेखनको अभिप्राय होइन ।
सञ्चारमाध्यममा उही व्यक्तिको उही नामसमेत फरक–फरक रहनु अहिलेको विवेच्य पाटो हो । उदाहरण ‘म्यानमारमा सैन्य कू’ रहेको छ । विगत केही दिनयताका अखबार तथा अनलाइन समाचार माध्यममा म्यानमारकी राज्य सल्लाहकार नेतृ आङ सान सुचीको नाम थरीथरीका रहेका छन् । आङ सान सुकी, आङ सान सुची, आङ सान सूची, आङ सान सू ची, आङ सान सू की, आङ सान सूकी फरक–फरक अखबारमा रहेकामात्र होइनन्, उही अखबारमै पनि पाना अथवा अनुच्छेदपिच्छे फरक वर्णविन्यास छन् । दृष्टान्तका लागि केही प्रतिनिधिमूलक अखबार÷अनलाइन माध्यमका नमुना यस्ता छन् ः गोरखापत्र– आङ सान सुची÷आङ्साङ् सुकी÷आङ सान सूची । अन्नपूर्ण पोस्ट– आङ सान सू की÷आङ सान सूकी÷आन सान सूकी । नयाँ पत्रिका– आङ सान सुकी÷आङ सान सूची । कान्तिपुर– आङ सान सुची÷आङ सान सू ची । नेपाल समाचारपत्र– आङ सान सुकी । हिमालखबर– आङ सान सुकी÷समाचारभित्र दिइएको म्यानमारमा बस्ने नेपाली पत्रकार दीपक भट्टराईको ‘ट्वीट’मा चाहिँ आङ सान सू ची । रातोपाटी– आङ सान सूकी । लोकान्तर– आङ सान सुची । नेपालखबर– आङ सान सूची । अनलाइनखबर– आङ सान सुकी । बाह्रखरी– आङ सान सुची । हिमालय टाइम्स– आङसाङ सु की (सम्पादकीय)÷आङ सान सुकी (समाचार) । नेपाल समाचारपत्र तथा हिमालय टाइम्समा रहेको समाचार शीर्षक पनि रोचक तथा घोचक रहेकाले मननीय छन् ः म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा, विपक्षी नेताहरूको नजरबन्द (नेपाल समाचारपत्र)÷म्यानमारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरू नजरबन्दमा (हिमालय टाइम्स) ।
म्यानमारका पनि रूप अलग–अलग छन् ः कतै म्यानमार त कतै म्यान्मार, कहीँ म्यानमा, अझ म्यानम्यारसमेत । चिनियाँ राष्ट्रपतिकै नाममा पनि एउटै रूप देखिँदैन, सी जिनपिङ, सी जिनपिंग, सि जिनफिङ, सी चिनफिङ प्रचलनमा छन् । नवनिर्वाचित अमेरिकी राष्ट्रपतिकै नाम पनि जो बिडेन, जो बाइडनमात्रै होइन, जोय बाइडनसमेत छन् । ह्रस्व, दीर्घले देश बन्दैन भन्नेहरू नाममा एकाध अक्षर यताउता पर्दा वा उच्चारण भेद हुँदा के फरक पर्छ र ! भन्न सक्छन् । केही वर्षअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भन्दा जगहँसाइ भएको इतिहास यतिबेला सम्झन सकिन्छ ।
उहिलेजस्तो स्थानीय वा देशीय एक नाम, पाश्चात्य÷अङ्गे्रजी अर्को नाम, अरबी फरक नाम र पूर्वीय अलग नाम विरलै पाइन्छन् । ग्रीसेली दार्शनिक, विचारक सुकरात, प्लेटो र अरस्तु यतिखेर स्मरणीय बनेका छन् । सोक्रेटस सुकरात, एरिस्तोतलेस÷अरिस्टोटल हुँदै अरस्तु वा अरस्तू नाम रहेका छन् । सुकरातका चेला तथा अरस्तुका गुरु प्लातोको प्लेटो हुँदै अफलातूनसम्म बनेको नामकथा निकै रोचक छ । भनिन्छ– सानो छँदा प्लेटो (एरिस्तोकलिज)लाई जिउडालका हिसाबमा कसरत गुरुले ‘प्लेटोन’ नाम राखिदिए । ल्याटिन भाषाको सो शब्द अङ्गे्रजीमा रूपान्तरित हुनेक्रममा ‘न’ बिलाई प्लेटोमात्र बाँकी रहन पुग्यो ।
अरबी भाषामा चाहिँ ‘प’ नभई ‘फ’ मात्रै हुने भएकाले ‘प्लाटोन’बाट ‘फ्लाटोन’ कहलाएको र आधा अक्षर (फ्) को पूरा (फ) उच्चारण हुने अरबी÷उर्दूमा फ्लाटोनको अगाडिपट्टि ‘अ’ जोडिई ‘अफलाटोन’ बनेको र कालान्तरमा ‘अफलातून’ बनेको
उल्लेख पाइन्छ ।
यिनै प्लेटोका शिष्य ‘अरस्तु’को चेला अलेक्जेन्डरको यता दिइएको नाम सिकन्दर हो । ‘अलेक्जेन्डर द गे्रट’लाई ‘सिकन्दर महान्’ भनिएको छ । शूरवीरका रूपमा ख्यातिप्राप्त ऐतिहासिक पुरुष अलेक्जेन्डरलाई अलक्ष्येन्द्र नाम पनि
दिइएको भेटिन्छ ।
त्यो त्यतिबेलाको कुरा, अहिले नामलाई भरिसक्ये नचलाउनु भनिन्छ । उच्चारणमा अन्तर रहे पनि लेख्यमा फरक पार्न नहुने मान्यतासमेत छ । तैपनि के गर्ने ? त्यसको भरपर्दो टुङ्गो लाग्न, लगाउन नसकिएकाले हो
कि ? नेपाली सञ्चारमाध्यम व्यक्ति तथा स्थानविशेषका नाममा समेत एकरूपता कायम गर्न सक्षम
ठहरिएको छैन । छिमेकी भारतका समाचार माध्यम औँल्याएर त्यहाँ पनि यस्तै छ नि भन्न सकिन्छ ।
म्यानमारकी नेतृकै नामलाई लिँदा हुन्छ, यहाँजस्तै दोष त्यहाँ पनि बग्रेल्ती छन् । आंग सान सू की
(हिन्दुस्तान टाइम्स), आंग सांग सू की (नवभारत टाइम्स), आंग सान सू की (अमर उजाला), आंग सान सू ची÷आंग सान सु की (पंजाब केसरी), आंग सान सू की (दैनिक भाष्कर), आंग सांग सू की (दैनिक जागरण), आंग सान सू की (आजतक) आदि । कुनै बेला नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको थर बटाराई छापिन्थे, हाल पुष्पकमल ‘प्रचण्ड’को थर उता दाहाल होइन, ‘दहल’ कायम गरिएको छ । अन्यत्रका सञ्चारमाध्यममा पनि यो दोष न्यूनाधिक रहेका छन् तर यसो भनेर अथवा अरूका मैला देखाएर सुधारका बाटोमा नलाग्नुचाहिँ बुद्धिमानी नहोला कि ! त्रुटि सच्याउनेतिर नलाग्ने प्रवृत्तिले गर्दा नै आज पनि हामी हरेक क्षेत्रमा उही गल्ती बारम्बार दोहो¥याइरहेका छौँ । यस्तैखालका विविध अन्योल मेट्न, भाषा, व्याकरणमा एकरूपता कायम गर्न र आकर्षक प्रस्तुति दिन शैली पुस्तिकाले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छ तर यसप्रति चाहिँदो चासो लिइएको देखिँदैन । अखबार वा सञ्चारमाध्यमपिच्छे शैली पुस्तिका हुन सक्छन् । विगतमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्रले यस दिशामा प्रयास गरेका पनि हुन् । तर, सबैतिर भताभुङ्ग भएको अवस्थामा सबै सञ्चारमाध्यमलाई समेट्नेगरी एउटै शैली पुस्तिका ल्याउन सके सुकी कि सुची कि सूची ? जस्ता अलमल रही प्रस्तुतिमा गोलमाल भइरहने थिएन ।
शैली पुस्तिका बनाई, त्यसलाई निरन्तर अद्यावधिकसमेत गर्ने परिपाटी मिलाउन सकिएमा यसले नेपाली सञ्चारमाध्यमलाई त माथि उठाउनेछ नै साथै नेपाली भाषाको एकरूपता र उन्नयनमा पनि बल लगाउने निश्चित छ । सञ्चारमाध्यमले भाषा बिगारेको आरोप लगाउनेलाई पनि यसले व्यावहारिक तबरबाटै जवाफ दिनेछ । तसर्थ छापा, दृश्य, श्रव्य, अनलाइनलगायत सम्पूर्ण सञ्चारमाध्यमलाई भाषा, व्याकरण, अनुवादलगायत तमाम दिशामा समुचित गति दिन सरोकारी सम्पूर्ण निकाय तथा संस्था जाग्नुपर्ने देखिएको छ । भाषा, पत्रकारिता, अन्तर्राष्ट्रिय क्षेत्रलगायत सबै पक्षका विद्वत् वर्गको सहयोग लिई समन्वयात्मक रूपमा नेपाली सञ्चारमाध्यमको शैली पुस्तिका वा निर्देशिका निकाल्ने र त्यसलाई अक्षरशः पालन गर्ने, गराउनेतर्फ गाम्भीर्य रहने हो भने नेपाली सञ्चारमाध्यमले छिट्टै फड्को
मारेको अनुभूति हुनेछ ।
(लेखक गोरखापत्रकापूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?