logo
२०८१ बैशाख १२ बुधवार



विकास निर्माणमा बागमती

विचार/दृष्टिकोण |




सरोज ढुङ्गेल

बागमती प्रदेश स्थापनाको चौथो वर्षमा प्रवेश गरेको छ । तेस्रो वर्ष पार गरिसक्दा बागमती प्रदेशमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, भौतिक पूर्वाधार, सडक निर्माणलगायतका क्षेत्रमा उपलब्धिमुलक काम भएका छन् । यो प्रदेशले कृषिमा यान्त्रीकरण, आधुनिक प्रविधिको प्रयोगमा पनि जोड दिएको छ । बागमती प्रदेशअन्तर्गत रहेका १३ जिल्ला विकासको गतिमा अग्रसर छन् ।
२० हजार तीन सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको बागमती प्रदेशमा तीनवटा महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका तथा ७४ गाउँपालिका छन् । विकासको दृष्टिकोणबाट पनि बागमती प्रदेशले फड्को मारेको छ । देशकै राजधानी काठमाडौँ बागमती प्रदेशमा रहेकाले पनि विकासमा तीव्र छलाङ मारेको हो । बागमती प्रदेशमा जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा पनि छिटो–छरितो र प्रभावकारी ढङ्गबाट काम भएका छन् ।
अन्य केही प्रदेशको नाम र राजधानीसमेत टुङ्गो लाग्न बाँकी रहेको अवस्थामा साबिक ३ नम्बर प्रदेश रहेकोमा प्रदेशको नाम बागमती र प्रदेश राजधानी हेटौँडाको टुङ्गो लगाइसकिएको छ । प्रदेश सुशासनको काम गरेर प्रदेश र स्थानीय तहको क्षमता विकासको काम पनि भइरहेको छ । प्रदेश लोकसेवा आयोग गठन गरी विभिन्न पदपूर्ति हुनेक्रम पनि बागमती प्रदेशमा जारी छ । यसबाहेक प्रदेश खेलकुद परिषद्, सञ्चार रजिष्ट्रार, दुग्ध विकास बोर्डलगायतका निकाय स्थापना भई त्यसअनुसारको काम भइरहेको छ ।
बागमती प्रदेशले नीतिगत उपलब्धि पनि हासिल गरेको छ । प्रदेशमा ११२ प्रदेश कानुन, ५८ वटा ऐन, तीनवटा अध्यादेश, २० वटा नियमावली, १८ कार्यविधि, तीनवटा निर्देशिका र आठवटा आदेश जारी भइसकेको छ । प्रदेशले यसबाहेक स्थानीय निकायसँग सम्बन्धित प्रदेश कानुन पनि ल्याएको छ ।
बागमती प्रदेशले भौतिक निर्माणतर्फ तीव्र रूपमा काम अघि बढाएको छ । सङ्घीय सरकारको सहकार्य र समन्वयमा पुष्पलाल चक्रपथ निर्माण गर्ने योजना अघि बढिसकेको छ । यस्तै रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली र काभ्रे जिल्लालाई एउटै पथबाट जोडिएर यात्रा गर्न मिल्नेगरी प्रदेश चक्रपथको काम पनि अघि बढेको छ । यसका लागि दुई करोड रुपियाँको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइरहेको छ भने प्रदेश चक्रपथको लम्बाइ पाँच सय किलोमिटर रहेको छ । यस्तै प्रदेशमा एक हजार ८४९ किलोमिटर कच्ची, ४३५ किमि ग्राभेल सडक, २१९ किमि कालोपत्रे र ८० किमि ढलान सडक निर्माण भइसकेका छन् ।
प्रदेश सरकारले सुरु गरेको एक घर एक धारा कार्यक्रम पनि सम्पन्न भइसकेको छ । जसअन्तर्गत ३३ वटा आयोजना सम्पन्न भइसकेका छन् । यस्तै प्रदेशस्तरमा कृषि, सहकारी तथा भूमिसुधारसम्बन्धी नीति, तर्जुमा तथा कार्यान्वयन गरी भूमि व्यवस्थापन, भूमि प्रशासन, जग्गा नापजाँच, भूमिसुधार, भुउपयोग तथा चक्लाबन्दीसम्बन्धी काम पनि अघि बढाएको छ । कृषि विकासअन्तर्गत प्रदेशको नौ जिल्लाका १२ स्थानमा कोल्डस्टोर
(शीत भण्डार) निर्माण गर्ने काम भइरहेको छ । कृषिअन्तर्गत स्थानीय तहको साझेदारीमा नुवाकोट, चितवन, काभ्रे, मकवानपुर र धादिङमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालनमा आइसकेको छ । बागमती प्रदेशमा ५० प्रतिशत अनुदानमा आधुनिक फलफूल नर्सरी विकास तथा विस्तार कार्यक्रम पनि सञ्चालन भएको छ ।
बागमती प्रदेशमा अर्को महŒवपूर्ण काम विद्यालय नर्स कार्यक्रम हो । देशमै सबैभन्दा पहिलोपटक बागमती प्रदेशले विद्यालय नर्स कार्यक्रम सुरु गरेर स्वास्थ्य शिक्षामा अर्को फड्को मारेको छ । बागमतीपछि प्रदेश १ मा पनि विद्यालय नर्स कार्यक्रम सुरु भएको थियो । अहिले देशभर विद्यालय नर्स कार्यक्रम विस्तार हुँदै गइरहेको छ । विद्यालय नर्स कार्यक्रमअन्तर्गत ११९ वटा स्थानीय तहका सरकारी माध्यमिक विद्यालयमा नर्स कार्यक्रम लागू गरेको छ । जहाँ ३५१ नर्सले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने हजारौँ विद्यार्थीले स्वास्थ्यका आधारभूत ज्ञान त्यहीँबाट सिक्ने मौका पाएका छन् । सामुदायिक विद्यालयमा स्वास्थ्य सेवा, बाल स्वास्थ्य प्रवद्र्धन, प्रजनन तथा परामर्श सेवा प्रवाह गर्न विद्यालय नर्स कार्यक्रम अत्यन्तै प्रभावकारी बनेको छ । स्वास्थ्य सेवाको पहुँच बढाउन सीमान्तकृत र लोपोन्मुख जातिको उच्च बसोवास रहेका १० वटा स्थानीय तहमा अनमी कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । बागमती प्रदेश सरकारले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्न स्थानीय तहमार्फत सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत मासिक दुई हजार रुपियाँ ती बालबालिकालाई उपलब्ध गराउँदै आएको छ । यस्तै ३३ सामुदायिक विद्यालयमा विषयगत प्रयोगशाला स्थापना गरेको छ । १२० सामुदायिक विद्यालयमा इ–लाइब्रेरी तथा स्मार्ट बोर्डसहितको आईसीटी ल्याब स्थापना गरेको छ । शून्य दरबन्दी भएका दुई सय ६२ सामुदायिक विद्यालयमा अङ्ग्रेजी, गणित, विज्ञानमध्ये कुनै एक विषयमा शिक्षक अनुदान दिएको छ ।
साथै ‘बागमती प्रदेशको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ कार्यक्रमअन्तर्गत ३९८ छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गरेको छ । क्यान्सरपीडितलाई सङ्घीय सरकारबाट प्रदान गरिने सुविधामा प्रदेश सरकारबाट थप ५० हजार उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भई अध्ययन र अनुसन्धानका लागि पूर्वाधार निर्माण कार्य प्रारम्भ भएको छ । यस्तै, हरेक स्थानीय तहमा अस्पताल भवन निर्माणकार्य सुरु भइसकेको छ । कोरोना कोष स्थापना र कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारले निरन्तर काम गरिरहेको छ ।
बागमती प्रदेशको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नुवाकोट र सिन्धुलीमा हालसम्म छवटा प्रहरी चौकी भवन निर्माण गरिएको छ भने थप ४० वटा निर्माणाधीन छन् । यस्तै प्रदेश सरकारले द्वन्द्वपीडित तथा विस्थापित परिवारका लागि सहायता कार्यक्रमअन्तर्गत राहत वितरण, प्रदेशका पत्रकारको एक लाखका दरले कोरोना बीमा, पत्रकार कल्याण कोपमा सहयोग गर्नेलगायतका कामसमेत गरेको छ । यसका साथै सरकारले यो तीन वर्षमा आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक, पर्यटन, महिला, बालबालिका, असाहाय, अनाथ, घरबारविहीन, गरिब, बेरोजगारलगायत खेलकुद, स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार, उद्योग, कृषि, सिँचाइ, वातावरणका क्षेत्रमा उल्लेख्य काम गरेको छ । जसबाट प्रदेशका नागरिकले प्रत्यक्ष रूपमा लाभ प्राप्त गरेका छन् र सङ्घीयताको अनुभूतिसमेत गरेका छन् । प्रदेश सरकारले तीन वर्षमा ऐन कानुन निर्माण, कर्मचारी व्यवस्थापन, पूर्वाधार व्यवस्थापन, प्रदेश गौरवको आयोजना निर्माण, कृषि आधुनिकीकरण, कृषक प्रोत्साहन तथा अनुदान कार्यक्रम, पर्यटन क्षेत्रको विकास, औद्योगिक विकास एवम् रोजगारी सिर्जना गर्नुका साथै शिक्षा क्षेत्रमा विद्यार्थीको स्वास्थ्य सुरक्षा, भौतिक पूर्वाधार एवम् शैक्षिक गुणस्तर सुधार, खेलकुदको क्षेत्रमा प्रतिभा पहिचान, प्रोत्साहन, खेल पूर्वाधारको विकासलगायत अनेकौँ कार्यक्रम कार्यान्वयनमा ल्याएर त्यसबाट परिणामसमेत देखिन थालेका छन् ।
प्रदेश बिल्कुलै नयाँ संरचनामा आधारित थियो । बागमती प्रदेश सरकारले समग्रमा प्रदेशको अवस्थालाई बुझेर समानुपातिक विकासमा जोड दिएको पाइन्छ । जनतामा सङ्घीयताको अनुभूति दिलाउने र सन्तुलित विकासको अवधारणालाई ध्यानमा राख्दै प्रदेश सरकारले काम गरिरहेको छ । प्रदेश सरकारले तीन वर्षमा प्रदेश कानुन तर्जुमा, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि वन पर्यटन, उद्योगलगायतका क्षेत्रमा काम गरेको छ । बागमती प्रदेश सरकारले जनताको भावनाअनुसार पुराना कामलाई निरन्तरता दिएको छ भने केही नयाँ र गौरवका योजना सुरु गरेको छ ।
(लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?