logo
२०७९ मंसिर ११ आईतवार



महामारी नियन्त्रणमा समन्वय अभाव

विचार/दृष्टिकोण |




नेपालले कोरोना भाइरससँग जुधेको २१ महिना भइसकेको छ । २०७७ माघमा पहिलो पटक चीनबाट नेपाल आएका विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गत वर्ष माघमा पहिलो पटक देखिएको कोरोनाको दोस्रो, तेस्रो र चौथो सङ्क्रमित पनि विदेशबाट आएका नेपाली नै भएका थिए । बिस्तारै सङ्क्रमणले नेपालीलाई गाँज्दै लग्यो । पहिलो लहरको कोरोना सङ्क्रमणमा सरकारले झन्डै तीन महिना बन्दाबन्दी गरेर सङ्क्रमण नियन्त्रण गर्न पहल ग¥यो । त्यो बेला कैयौँ मानिसले आफ्नो रोजिरोटी गुमाए भने कैयौँ उद्योग, कलकारखाना बन्द भए ।
स्वास्थ्य क्षेत्रमा मात्र नभएर पर्यटन, शिक्षालगायतका क्षेत्रमा पनि कोरोनाले ठूलो असर ग¥यो । आर्थिक रूपमा देशलाई धेरै ठूलो नोक्सानी पुग्न गयो । विश्वमै नयाँ किसिमको भाइरस भएकोले स्वास्थ्य क्षेत्रका विज्ञहरू पनि कोरोनाप्रति अनभिज्ञ नै थिए । सामान्य मानिस मात्र होइन, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीका लागि पनि त्रासदीपूर्ण अवस्थामा उपचारमा खट्नुपर्ने बाध्यता सिर्जना भयो ।
नेपालमा कोरोना सङ्क्रमण नियन्त्रण जुन गतिमा हुनुपर्ने हो, त्यसरी भएको पाइएन । केन्द्र, प्रदेश र स्थानीय तहमा समन्वयात्मक ढङ्गबाट काम हुनुपर्नेमा तीनवटै निकायको आ–आफ्नो कार्यशैलीमा कोरोना नियन्त्रणका प्रयासहरू भएको देखिन्छ । स्वास्थ्य क्षेत्रलाई समेत तीन तहमा वर्गीकरण गर्नु गलत भएको सम्बन्धित क्षेत्रका विज्ञहरूले बताउने गरेका छन् । सङ्घीयतासँगै स्वास्थ्य क्षेत्र पनि सङ्घीयतामा गएकोले महामारी नियन्त्रणमा समन्वयको अभाव भएको देखिन्छ । स्वास्थ्य क्षेत्रकै विज्ञहरूले पनि स्वास्थ्य क्षेत्र हरेक वडास्तरसम्म पुगेकोले सङ्घीयतामा पर्नु गलत भएको भन्दै आएका छन् ।

सङ्घले एउटा निर्णय गर्ने, त्यसलाई प्रदेशले कार्यान्वयन नगर्ने र प्रदेशको निर्णय स्थानीय निकायले कार्यान्वयन नगर्दा पनि कोरोना महामारीमा समन्वयको अभाव रहेको भन्न सकिन्छ । हरेक वडामा स्वास्थ्य चौकी यसअघि नै रहेकोले त्यसलाई स्थानीय वा प्रदेश मातहत राख्दा एकले अर्कोलाई नमानेको पनि देखियो । स्वास्थ्यमा मात्र होइन, स्वास्थ्यदेखि अन्य क्षेत्र वा मन्त्रालयबीचमा पनि आवश्यक समन्वयको अभावमा महामारी नियन्त्रण गर्न कठिन हुने गर्छ । स्वास्थ्य र शिक्षा, स्वास्थ्य र सङ्घीयता, स्वास्थ्य र पूर्वाधार, स्वास्थ्य र सञ्चारजस्ता क्षेत्रमा पनि आवश्यक समन्वयको खाँचो हुँदा महामारी नियन्त्रणमा पछाडि परेको देखिन्छ । स्वास्थ्य क्षेत्रको सम्पूर्ण अधिकार प्रदेश वा स्थानीय तहलाई नदिई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मात्र आफ्नो मातहतमा राख्नुपर्ने आवाज पनि उठिरहेको छ । तीन तहमा स्वास्थ्य क्षेत्रलाई विभाजन गरेपछि समन्वय गर्न गाह्रो भइरहेको स्पष्ट देखियो ।

तीन तहमा स्वास्थ्यलाई बाडिँदा महामारी नियन्त्रणमा समस्या भइरहेको छ । स्वास्थ्यलाई ‘वान डोर कमान्ड’मा राख्नुपर्छ । यसलाई चाँडो नीतिगत निर्णयमा राख्नु आवश्यक छ । सरकारले नीतिगत निर्णय गरेर तीनै तहको स्वास्थ्यलाई स्वास्थ्य मन्त्रालयअन्तर्गत नै राख्नु उपयुक्त हुन्छ । जनशक्तिदेखि सामग्री थप्नेसम्मको काम केन्द्र सरकारले नै गर्नुपर्छ । भोलिका दिनमा अन्य महामारी पनि आउन सक्छन् । त्यो बेला पनि अहिलेको जस्तै समन्वयको अभाव हुने हो भने महामारी नियन्त्रण गर्न कठिन पर्छ । स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने, सङ्क्रमितको उपचार गर्दा बिरामी भए विशेष उपचार गर्ने, ज्यानै गए परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गर्नेलगायतका काम सरकारले गर्नुपर्छ । समन्वयकै अभावमा अहिलेसम्म कतिपय स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन् ।
महामारी नियन्त्रण गर्नका लागि सरकारजत्तिकै चिकित्सकसँग सम्बन्धित सङ्घ–संस्थाहरूको पनि जिम्मेवारी हुन्छ । नेपालका सम्पूर्ण चिकित्सकको छाता संस्था ‘नेपाल चिकित्सक सङ्घ’ले पनि महामारी नियन्त्रणमा ठूलो भूमिका निर्वाह गर्न सक्छ । उसले चिकित्सकलाई परिचालन गर्नेदेखि सङ्क्रमित र आवश्यक व्यक्तिलाई काउन्सिलिङ गर्ने तथा औषधि उपचारमा समेत चिकित्सक परिचालन गर्न सक्छ ।

नेपाल चिकित्सक सङ्घले यही विषयलाई मनन गर्दै प्रधानमन्त्रीको उपस्थितिमा बृहत् सम्मेलनसमेत गर्ने भएको छ । स्वास्थ्यकर्मीले ग्रामीण क्षेत्रमा काम गरिरहेका छन् । उनीहरूको मनोबल बढाउनुपर्छ । कोरोना सङ्क्रमितको उपचारमा खटिएका कति स्वास्थ्यकर्मी सरकारले तोकेको भत्ता नपाउँदा निराश भएका छन् । काममा निराशा उत्पन्न भएपछि स्वास्थ्यकर्मी विदेश पलायन हुने खतरा पनि उत्तिकै रहन्छ । स्वास्थ्यकर्मीलाई सङ्क्रमितको उपचार गर्दा बिरामी भए विशेष उपचार गर्ने तथा ज्यानै गएमा परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नेलगायतका काम सरकारले गर्नुपर्ने हुन्छ । कोभिड–१९ जस्तो महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजित हुँदा पनि समस्या सिर्जना भएको अनुभव विज्ञहरूले नै गरेका छन् । तीन तहबीच समन्वयभन्दा पनि टकराव देखिनु महामारी नियन्त्रणका लागि राम्रो होइन ।

हामीकहाँ सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान गर्ने संयन्त्र प्रभावकारी हुन सकेको छैन । एकै पटक आएका यस्ता समस्या समाधानमा प्रत्येक तहका सरकार आफूमा सक्षम छैनन् । महामारी नियन्त्रणमा एकले अर्काेमाथि आरोप लगाएर पन्छिने क्रम जारी नै छ । महामारी बढ्दै जाँदा पनि सङ्घ, प्रदेश र स्थानीय तह मुख ताकाताकमा देखिए । संविधानले तीन तहका सरकारबीच समन्वय र सहकार्यको परिकल्पना गरेको त छ तर व्यवहारमा देखिएन । महामारीजस्तो विकराल समस्यामा पनि सबै आ–आफ्नो तरिकाबाट अघि बढ्दा समस्या हुनसक्छ । संविधानको धारा २३२ ले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ ।
विद्यमान कोरोना महामारीको उपचार, रोकथाम र नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले मात्रै सक्दैन । त्यससँग जोडिएका विषय अन्य मन्त्रालयको समन्वय गर्नुपर्ने हुन्छ । सबै सरकारी निकायको सकारात्मक सहयोग र समन्वय भए मात्रै कोरोनाको उपचार, रोकथाम र नियन्त्रण सम्भव हुन्छ । अहिलेको परिस्थितिलाई हेर्दा भने अरू सबै सरकारी निकाय यो त स्वास्थ्य मन्त्रालयको मात्रै जिम्मेवारी हो भनेर पन्छिएजस्तो देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले दिनहुँ कोरोनाविरुद्ध सजगता अपनाउन अपिल गरिरहँदा पनि अरूले बेवास्ता गर्दै मान्छेको भीड गर्ने, जुलुस लगाउने, आन्दोलन गर्ने गरेको पाइन्छ । दोस्रो लहरको सङ्क्रमणमा कतिपय सङ्क्रमितको अक्सिजन र भेन्टिलेटर नपाएरै मृत्यु भयो । काठमाडौँका ठूला अस्पतालमा समेत अक्सिजनको अभाव देखियो । ट्रमा सेन्टरका तत्कालीन निर्देशक डा. सन्तोष पौडेलले त अक्सिजन नभएरै धेरै बिरामीलाई बचाउन सकिएन भन्दै सहयोगको याचना गर्नुपरेको थियो । यता स्वास्थ्य मन्त्रालयले अक्सिजनको जिम्मा उद्योगअन्तर्गत भएकोले अक्सिजन अपर्याप्त नहुनु स्वास्थ्यको कुनै दोष होइन भन्ने गरेको छ ।
अत्यावश्यक औषधि, अक्सिजन र खोप खरिद गरी आपूर्ति गर्न नसक्दा भएको ठूलो मानवीय क्षतिका साथै पीडित र पीडितका परिवारले भोग्नुपरेको समस्या पनि ठूलो छ । अस्पतालमा शøया पाउन मुस्किल थियो । शøयाका लागि ठूलो भनसुन गर्नुपर्ने अवस्था थियो । यस्ता महामारीमा जनताले सहज ढङ्गबाट उपचार सेवा पाउनुपर्छ । उपचारमा सहज पहुँच स्थापित गर्न सरकारले कुनै किसिमको ढिलासुस्ती गर्न हुँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?