logo
२०८१ बैशाख १४ शुक्रवार



स्वास्थ्य क्षेत्रमा महिला नेतृत्व

विचार/दृष्टिकोण |




सरोज ढुङ्गेल
स्वास्थ्य संवेदनशील क्षेत्र हो । यो क्षेत्र जटिल पनि छ । स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी संवेदनशील हुनुपर्छ । उपचारका क्रममा सानो त्रुटि भयो भने बिरामीको ज्यान तलमाथि हुनसक्छ । त्यसैले पनि स्वास्थ्य क्षेत्रलाई संवेदनशील मानिन्छ । स्वास्थ्य क्षेत्र अँगाल्ने मानिसमा सेवाको भावना हुनु जरुरी हुन्छ । समाजको सेवा गर्छु भनेरै स्वास्थ्य क्षेत्रमा लाग्ने हो । नेपालमा पछिल्लो समय कमाउनकै लागि स्वास्थ्य क्षेत्र रोज्ने बढी छन् । वैदेशिक रोजगारीको होस् वा शिक्षा क्षेत्रमा लागेको मानिस, उसको मुख्य उद्देश्य कमाउनु नै हो । पर्यटन क्षेत्रमा क्रियाशील मानिस होस् या वैदेशिक रोजगारीमा गएर आएका मानिस हुन्, यी सबैको लगानी स्वास्थ्य क्षेत्रमा भएको पाइन्छ । स्वास्थ्य विषय अध्ययन गरेर नभई नाफा कमाउन सकिन्छ भनेरै मानिसले यो क्षेत्र रोजेको छ ।

स्वास्थ्य क्षेत्रलाई जबसम्म कमाइ खाने भाँडोका रूपमा लिइन्छ तबसम्म परिवर्तन सम्भव छैन । सेवाभावको दृष्टिकोणले हेरे मात्र स्वास्थ्य क्षेत्रको विकास गर्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा लाग्ने मान्छे धेरै कमाउन सकिन्छ भनेरै लागेको पाइन्छ । पछिल्लो समय टोलैपिच्छे अस्पताल बनेका छन् । घरैपिच्छे स्वास्थ्य पोलिक्लिनिक खोलिएका छन् । औषधि पसल र सामान्य क्लिनिकको त कुरै नगरौँ । यी सबै नाफा कमाउनका लागि खोलिएका हुन् । बिरामीबाटै पैसा लिएर अस्पताल, क्लिनिक, पोलिक्लिनिक, औषधि पसलले नाफा कमाउने हुन् । बिरामीबाट पैसा लिएर नाफा कमाउनु सेवा होइन । स्वास्थ्य क्षेत्रमा धेरै विकृति हुँदाहुँदै पनि धेरै सुधारका काम पनि भएका छन् ।

स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नु कठिन छ । स्वास्थ्यका जुनसुकै विधामा अध्ययन गर्न चाहनेलाई त्यसलाई सामान्य रूपमा लिए पार पाउन कठिन हुन्छ । लाखौँ खर्च गरेर अध्ययन गर्नुपर्ने हुन्छ । नेपालमा ऋण गरेर भए पनि नर्सिङ अध्ययन गर्नेको सङ्ख्या धेरै छ । अहिले नर्सिङ अध्ययन गर्नुको पछाडि विदेश गएर सेवा गर्नु हो । नेपालमा रोजगारी पाउन मुस्किल छ । विदेशमा गए दुईदेखि सात–आठ लाख कमाउन सकिन्छ । त्यसैले पनि नर्स विदेशिएका हुन् ।पछिल्ला केही वर्षमा स्वास्थ्य क्षेत्रमा महिला नेतृत्वको पहुँच बढ्दै गइरहेको छ । अन्य क्षेत्रभन्दा महिलाको सहभागिता र नेतृत्व स्वास्थ्य क्षेत्रमा उल्लेख्य छ । स्वास्थ्यमन्त्रीदेखि लिएर, स्वास्थ्य सचिव, स्वास्थ्यअन्तर्गत विभिन्न महाशाखामा पनि महिला नेतृत्व छ । धेरै महिला स्वास्थ्य मन्त्रालयको सचिव बनिसकेका छन् । धेरै अस्पतालका निर्देशक महिला नै रहेका छन् । स्वास्थ्य क्षेत्रमा महिलाको नेतृत्व उल्लेख्य छ । पहिले–पहिले पुरुष चिकित्सकको बाहुल्यता हुन्थ्यो अहिले विस्तारै–विस्तारै महिला चिकित्सकको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।

पहिला–पहिला महिला तथा स्त्रीरोग विशेषज्ञ पनि महिला पाउन मुस्किल हुन्थ्यो । अहिले स्त्रीरोग विशेषज्ञ मात्र होइन सर्जरी, अर्थोपेडिक, रेडियोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, फिजिसियन, युरोलोजिस्टलगायत हरेक विधामा महिला चिकित्सकको बाहुल्यता छ । यसले अब महिला पनि चिकित्सा विधादेखि लिएर स्वास्थ्य क्षेत्रको माथिल्लो तहमा पनि पुग्न सक्छन् भन्ने पुष्टि भइसकेको छ । स्थानीय तहको निर्वाचनमा पनि झन्डै ९४ प्रतिशत महिला प्रमुख तथा उपप्रमुख तहमा निर्वाचित भएर नेतृत्व गरिरहेका छन् ।
यति हुँदाहुँदै पनि नेपाली समाजमा महिलामाथि अझै पनि शारीरिक, मानसिक तथा यौनजन्य हिंसाका घटना पनि त्यत्तिकै मात्रामा बाहिर आइरहेका छन् । यसको मुख्य कारण अशिक्षा, अभाव, अन्धविश्वास र पछौटेपन हो । महिलाविरुद्ध हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसा दिनप्रतिदिन बढ्दै जानु दुखद पक्ष हो ।

यति हुँदाहुँदै पनि महिला मूल नेतृत्वमा पुगेका छन् । अघिल्लो सरकारको स्वास्थ्यमन्त्रीमा पद्मा अर्याल हुनुहुन्थ्यो । महिला चिकित्सकमा डा.किरण रेग्मी, डा.सुधा शर्मा, डा.पुष्पा चौधरीलगायतका महिला चिकित्सक स्वास्थ्य सचिवसम्मको पदमा पुगिसक्नुभएको छ । अहिले पनि देवकुमारी गुरागाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा कार्यरत हुनुहुन्छ ।स्वास्थ्य मन्त्रालयको सचिव पदमा मात्र होइन विभिन्न विभाग तथा महाशाखासमेत महिलाले हाँकिरहेका छन् । तीमध्ये हालसम्मकै पहिलो पटक चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डिन पदमा कार्यरत डा. दिव्यासिंह शाह एक हुनुहुन्छ । उहाँ नै आईओएमको पहिलो डिन हुनुहुन्छ । डा.शाह यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुनुहुन्थ्यो ।यस्तै डा.सङ्गीता मिश्राले यसअघि थापाथालीस्थित परोपकार तथा स्त्रीरोग अस्पतालमा निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । अहिले डा.मिश्रा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । कोरोना महामारीका बेला डा.मिश्राले कोसी अस्पतालको निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकमा पनि महिला नेतृत्व रहेको छ । डा. रुना झा प्रयोगशालाकी प्रमुख हुनुहुन्छ । कोरोना महामारीमा प्रयोगशालाको नेतृत्व सम्हाल्न धेरै मुस्किल थियो । दैनिक हजारौँ पीसीआर परीक्षण प्रयोगशालामा हुने गर्दथ्यो । अहिले पनि पीसीआर परीक्षण भइरहेको छ ।दुई वर्षअघि माघमा नेपालमा कोरोना भाइरस पुष्टि भएदेखि प्रयोगशालामा धेरै कष्टकर दिन आए । डा.रुना आफैँ नमुना परीक्षणको फ्रन्टलाइनमा समेत खटिनुभयो ।केही दिनअघिसम्म डा.सुमित्रा गौतम भक्तपुर अस्पतालको प्रमुख हुनुहुन्थ्यो । उहाँले अस्पतालको नेतृत्व सम्हालेपछि अस्पतालले मुहार फेरेको छ । उहाँ नेतृत्वमा आउँदा स्वास्थ्य मन्त्रालयको मूल्याङ्कनमा भक्तपुर अस्पतालले ३८ अङ्क प्राप्त गर्न सफल भएको थियो । जुन अस्पतालको न्यूनतम सेवा मापदण्डभन्दा एकदमै कमजोर हो । उहाँले नेतृत्व सम्हालेपछि भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी बागमती प्रदेशकै उत्कृष्ट अस्पतालको रूपमा स्थापित भयो ।

डा.शिला बर्मा आठ वर्षअघि सेवानिवृत्त हुनुभयो । उहाँले पनि दुई पटक प्रसूति अस्पतालको निर्देशकको जिम्मेवारी सम्हाल्नुभयो । १२औँ तहमा बढुवा भएपछि उहाँले स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञका रूपमा काम गर्नुभएको थियो । यतिबेला टेकु अस्पतालको प्रमुखमा डा.मनिष रावल हुनुहुन्छ भने नर्सिङ महाशाखाको निर्देशकमा गोमा निरौला । स्वास्थ्य क्षेत्रमा महिला नेतृत्व तहमा पुग्न सफल भएका यी प्रतिनिधि उदाहरण मात्र हुन् ।नेपालमा महिलालाई संविधानले नै हक, अधिकार प्रदान गरेको छ । हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने मान्यता छ । महिलालाई छुट्टै कोटाको व्यवस्था गरिएको छ तर पनि अझै पनि पितृसत्तात्मक सोच र व्यवहार कायम छ । संविधानमै महिलाको हकअधिकारसम्बन्धी विशिष्टीकृत ऐन, नियम तथा कानुन छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताले महिला र पुरुषको समान सहभागिताको व्यवस्था गरेको छ । अझै पनि गाउँघरमा छोरीलाई पढाउन आनाकानी गर्नेहरू धेरै भेटिन्छन् ।

महिलाको न्यून शैक्षिक स्तर भएकाले पनि पुरुषसरह समान सहभागितामा चुनौती बनेको छ । महिलाले पुरुषसरह सबै क्षेत्रमा कार्यसम्पादन गर्न सकेका उदाहरण प्रशस्तै छन् । त्यसो त नेपालमा राष्ट्रपति पनि महिला नै हुनुहुन्छ । कतिपय मन्त्रालयमा मन्त्री, सचिव, निर्देशक, महानिर्देशकजस्ता माथिल्लो तहमा महिला पुग्न सफल भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?