राजन रावत
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारिको गाउँ लिमी प्राकृतिक रूपमा ‘लकडाउन’ मा छ अहिले । गत पुस १९ गते परेको हिमपातपछि लिमी आउजाउ बन्द भएको छ । यहाँ प्रवेश गर्ने दुईवटा नाकामध्ये चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकबाट जाने बाटो हिमपात पछि बन्द छन् । लिमीका तीन वटा गाउँ तील, हल्जी र जाङ गाउँ चारहजारदेखि चारहजार दुईसय मिटर उचाइमा छन् । अब लिमी भ्याली (उपत्यका) जाने आगामी जेठ महिनापछि मात्र हो । त्यसयता लिमीका मानिस बाहिर आउन नसक्ने र बाहिरका मानिस लिमी जान नसक्ने अबस्था छ । त्यसैले त भन्ने गरिन्छ – हिमालपारिको गाउँ लिमी छ महिनाका लागि प्राकृतिक रूपमा लकडाउनमा पर्छ ।
तर लिमीभित्र भने सबै काम कुरा चल्छ ।
लिमीबाट हिउँदमा बाहिर निस्कने स्थानीय पनि छ महिनाका लागि निस्कनुपर्ने बाध्यता छ । किनभने मङ्सिरपछि हिमपात हुने भएको हुँदा लिमी छोडेका मानिस फिर्ता जाने सम्भावना हुँदैन । लिमीका गाउँमै चारदेखि पाँच फिट हिउँ जम्ने गर्छ । अझ लिमी प्रवेशका अग्ला नाकामा त्याभन्दा बढी हिउँ जम्छ । । विगतको तुलनामा यस वर्ष हालसम्म हिमपात कम भएको छ । तर लिमी प्रवेश गर्ने नाका भने बन्द भइसकेका छन् । बर्सेनि लिमीवासीले यो समस्या भोग्नु पर्छ नै । प्रकृतिले सिर्जना गर्ने परम्परा नै हो यो ।
आफ्नै चलन, परम्परा, रीतिरिवाज र संस्कृति भएको लिमी फरक परिवेशमा अगाडि बढ्दैछ । तीनै गाउँमा गरी १४७ घरधुरीका एकहजार दुईसय जनसङ्ख्याको ३५ देखि ४० प्रतिशत जनसङ्ख्या अहिले पनि लिमी बाहिर (विशेषगरी काठमाडौँ, भारत र अमेरिका ) बस्दै आएका छन् । आफ्नो छुट्टै संस्कृति पहिचान भएका लिमीका बारेमा जानकारी बिरलै आउने गथ्र्यो । तर पछिल्ला वर्षमा मिडियाकर्मीको लिमी आवतजावत बढेपछि यसका धेरै कुरा आउन
थालेका छन् ।
प्राकृतिक लकडाउनका बेला के गर्छन् लिमीवासी
करिब छ महिना हिउँदको समयमा हिमपातपछि लिमी प्रवेश गर्ने नाका बन्द हुँदा स्थानीयको दैनिकी पशुवस्तुलाई घाँसपात दिनु, पानी ओसार्नु, बालबालिका र वृद्धवृद्धाको स्याहार सुसार गर्नुमै समय बित्ने लिमी हल्जी गाउँका पेम्वा तामाङले बताउनुहुन्छ । अन्य कतै जान सक्ने अवस्था नहुने र गाउँमै नुन चिया, थुक्पा र उवाको छ्याङ खाएर दैनिकी बित्ने उहाँले बताउनुभयो । अर्को, दाउराको जोहो पनि गर्नुपर्छ । गोबर सोहर्नु पनि पर्छ । महिलाहरूले लिउ, फेरुवा, पाखीका लागि तान (चान) बुन्ने काम पनि गर्छन् ।
यसअघि लिमीका तीन गाउँका लागि चीनको ताक्लाकोट नाकाबाट लाप्चा हँुदै आवश्यकताअनुसारको दैनिक उपभोग्य सामानदेखि लत्तकपडा आउने गथ्र्यो । कोरोना सङ्क्रमणको कारणले गर्दा यसवर्ष चीनबाट कुनै सामान आउन सकेको छैन । लिमीका तीनै गाउँ सम्पूर्ण रूपमा चीनप्रति निर्भर रहने भएको कारण यसवर्ष केही समस्यामा परेका छन् । गतवर्ष ल्याइएको केही सामान बचेको र त्यसैले यसपालि चलाउनु परेको लिमी तीन गाउँका राङडोल तामाङले बताउनुभयो । चीनबाट सामान आउने छाँटकाँट नदेखिएपछि गत कात्तिक महिनामा २४ जनाको महिला–पुरुषको टोलीले खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको थियो । टोलीको मागलाई जायज भन्दै लिमिडेटले एकहजार क्वीन्टल खाद्यान्न लिमीका गाउँलाई उपलब्ध गराएको थियो । खाद्यान्न लिमी पुगेपछि केही राहत भएको तामाङले बताउनुभयो । केही वर्षयता लिमीमा लिमिटेडका खाद्यान्न केही मात्रामा जाने गरेकोमा यसवर्ष अलि बढी नै पुगेको छ ।
आवतजावत गर्ने माध्यम
लिमी प्रवेशका नाका बन्द भएपछि लिमीमा कुनै अत्यावश्यक, विशेषगरी बिरामी परे मात्र हेलिकोप्टर मगाउनुको विकल्प नै छैन । हिउँ छिचोलेर आउन सकिन्न । वडा अध्यक्ष पाल्जोर तामाङले गत वर्ष मात्र तीन जना गर्भवती महिलाका लागि दश लाख रुपियाँ तिरेर हेलिकोप्टर रिजर्भ गरी उद्धार गरिएको, त्यो पनि व्यक्तिगत रूपमा लगानी गरिएको बताउनुभयो । यस वर्ष अहिलेसम्म त्यो गर्नु
परेको छैन ।
खानपिन
यो प्राकृतिक लकडाउनका बेला लिमीवासीले विशेष गरी थुक्पा खाने गर्छन् । दिनको एकपटक थुक्पा खानैपर्ने हुन्छ । चलन र थुक्पा खाना न्यानो हुने भएको कारण यो बढी प्रयोग गरिन्छ । त्यसका साथै पत्ता चियामा नुुन राखेर घिउमा झानेको उवाको सातु पनि खाने गरिन्छ । भात भने कहिलेकाहीँ खाने गरिन्छ । यस पटक खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट चामल गएको कारण भात खान केही सजिलो भएको छ । चिनियाँ चामल आएको छैन । लिमीमा धान फल्दैन ।
चाड मनाउँदै बित्छ समय
लिमीमा चाड पर्व मनाउने चलन पनि फरक छ । घरघरमा चाड मनाउने काम त हुन्छ नै । त्यसका अलावा सामूहिक रूपमा मनाउने पनि गरिन्छ । नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार माघ महिनाभरि चाड मनाएर बित्न लागेको छ । यसमा विशेषगरी पूजाआजा गर्ने, गाउँवासी जमघट हुने, नयाँ र मिठा मिठा परिकार पकाएर खाने पनि गरिन्छ । त्योसँगै उवाका छ्याङ र रक्सी पनि सेवन गरिन्छ । परम्परागत पहिरनमा महिला, पुरुष सजिएर स्थानीय नाच, आधुनिक तिब्बतीयन नाच पनि नाचिन्छ । राति एक दुई बजेसम्म गीत गाउने र नाच्ने गरिन्छ । यसरी चाड पर्व मनाउन पनि गाउँवासीको सामूहिक निर्णय हुने अध्यक्ष तामाङले बताउनुभयो । यस्तो चाड तीन वटै गाउँले आआफ्नै किसिमले मनाउने गर्छन् । लिमीमा खाने र रमाइलो गरेरै समय बित्ने गर्छ ।
रोगव्याधी हटाउने काइदा
गाउँमा धार्मिक मान्यताको कारण गुम्बामा माघ महिनाभरि रिन्छ्यात मनाउने गरिन्छ । पहिलेबाटै लिमीमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी नहुने भएको कारण उपचार हुने कुरै भएन । पछिल्ला वर्षमा स्वास्थ्य चौकी र कर्मी गाउँपालिकाले खटाएको भए पनि हिउँदमा कोही बस्दैनन् । यस्तो हुने भए पनि रोगव्याधी हटाउन वा गाउँलेलाई नलागोस् भनेर रिन्छ्यात मनाउने गरिन्छ । यो पर्व मनाउँदा रोग लाग्दैन भन्ने मान्यता लिमीवासीमा छ । अध्यक्ष तामाङ भन्नुहुन्छ, यो पूजा गर्दा मानिस बिरामी पनि कम हुने गरेका छन् । बिरामीलाई पनि रिन्छ्यात मनाउने क्रममा लामाकोमा लगिन्छ । तर वर्षयाममा स्वास्थ्य चौकी पनि खुल्ने भएको कारण यो पुजा गरिँदैन ।
कोही छैन अन्य मानिस
यतिबेला लिमीका तीन वटै गाउँमा लिमीका स्थानीयभन्दा अन्य कुनै पनि मानिस छैनन् । त्यसमा पनि केही स्थानीय भने बाहिरै छन् । लिमीमा स्वास्थ्यकर्मी र शिक्षक केही समयका लागि हुने भए पनि अहिले कोही बस्दैनन् । अघिल्लो वर्ष भने एक जना विदेशी नागरिक अनुसन्धानका लागि लिमीमै हिउँदको समयमा बसेका थिए ।
विद्यालय भने सञ्चालनमा
लिमी गाउँ प्राकृतिक रूपमा लकडाउनमा परे पनि विद्यालय भने सञ्चालनमा छन् । कोरोना कहरले देशभरिका विद्यालय बन्द रहे पनि लिमीका दुई वटा विद्यालय भने सञ्चालनमै आए । यो पनि सरकारी शिक्षकको कारण नभएर एक जना अमेरिकी नागरिकले निजी स्रोतबाट व्यवस्था गरेका शिक्षकबाट विद्यालय सञ्चालन गर्न सम्भव भएको हो । कक्षा ६ सम्म पठनपाठन हुने लिमी विद्यालयमा बिहानीको एक छाक खाना भने विद्यालयमै खुवाउने गरिन्छ ।
(लेखक गोरखापत्रका हुम्ला समाचारदाता हुनुहुन्छ ।)