राजन रावत
देशकै ठूलो भूभाग ओगटेको कर्णाली प्रदेशको कर्णाली क्षेत्रको विकास र त्यहाँको गरिबी न्यूनीकरण गर्न राज्यद्वारा सञ्चालन हुने विकास योजना समयमा सम्पन्न हुन नसक्नु नै मूल समस्या हो । त्यसो त योजना तर्जुमा गर्न भूगोलको विज्ञता आवश्यक हुन्छ । स्थानीय सेवाग्राहीसंगको अन्तरसंवादबाट बनाएको योजना बढी प्रभावकारी हुन्छ । सही नीति र त्यसलाई कार्यान्वयन गर्ने योजना निर्माण गर्ने हो भने कर्णालीलाई छोटै समयमा पनि कायापलट गर्न सकिन्छ भन्ने धेरैको भनाइ छ तर अहिलेको जस्तो प्रक्रियाबाट विकास गर्ने हो भने कर्णालीको विकास बालुवामा पानी हुन्छ । साधन र स्रोत खेर जान्छ तर कर्णालीको विकास जस्ताको जस्तै हुन्छ ।
काठमाडाँबाट निकै टाढा रहेको कर्णालीलाई राज्यको नीति निर्माण गर्ने तहका मानिससँग कुरा हुँदा बेग्लै भनाइ आउँछ । भोकमरी, स्वास्थ्य सेवाबाट वञ्चित, फोहोर, कम पढेलेखेका मानिस मात्र बस्ने ठाँउका रूपमा चिन्छन् उनीहरू । कतिपयले दुर्गम र भौगोलिक रूपमा विकट ठाँउका रूपमा सोच्ने गरेको पाइन्छ । यसमा केही कुरामा मात्र सत्य होला तर कर्णालीमा चुनौती मात्र होइन, सम्भवनासमेत छन् ।
कर्णालीका बारेमा अधिकांश कुरा बनावटी वा सुनेका भरमा बोलिएका छन् । यद्यपि जो व्यक्ति कर्णालीमा पुग्छ, उसले नसोचेको कुरा रहेछ भन्दै जिब्रो टोक्न थाल्छ । देशकै ठूलो भूभाग ओगटेको यो क्षेत्रमा जनसङ्ख्या पनि भूगोलअनुसार कम छ । यसकारण पनि कर्णाली नदेखेका व्यक्तिले तय गरेका रणनीति र त्यसलाई कार्यान्वयन गर्ने योजना तर्जुमा प्रक्रियाले कर्णालीको गरिबी न्यूनीकरण गर्न कसरी सफलता पाउँछ ? किनभने अहिले भइरहेको कर्णालीको विकासले वास्तवमै समुन्नत कर्णाली बनाउने न त उद्देश्य लिएको देखिन्छ, न त रणनीति नै । त्यो छ भने केवल झारो टार्ने मानसिकताबाट प्रेरित छ । कर्णालीसँग आफ्नो मात्र होइन, देशलाई समृद्ध बनाउने प्राकृतिक स्रोत र साधन छन् । राज्यले उपयोग गर्ने खालका कार्यक्रम नल्याउँदासम्म केही हुने देखिँदैन ।
पहिलेको कर्णाली र अहिलेको कर्णालीमा निकै भिन्नता छ । दुनियाँमा समयअनुसार परिवर्तन हुदै गएको छ तर कर्णालीमा विकास त्यसअनुसार भएको पाइँदैन । उन्नत खेती प्रणालीका लागि दक्ष र मेहनती जनशक्तिको आवश्यकता पर्छ । जनशक्ति विस्थापित हुँदै जाँदा यहाँका खेतीयोग्य जमिनबाट उत्पादन कम हुदै गएको छ । कतिपयले खेती गरे पनि पुरानै तरिकाबाट खेतीपाती हुदै आएको छ । अझ भनौँ, खेतीप्रति मानिसको एक प्रकारले वितृष्णा जागेको देखिन्छ ।
यता खानेकुरामा बानी परिवर्तन हुनु पनि पछिल्लो समय अति आवश्यक देखिएको छ । खानेबानीले गर्दा कर्णालीवासीलाई परनिर्भर तुल्याउँदै गरिबीतिर धकेल्दै छ । स्थानीय अन्नपात प्रतिस्थापन हुने अवस्था छ । यहाँ सबल पक्ष के थियो भन्दा उत्पादनका हिसाबले पनि कर्णालीको खेतीयोग्य जमिनबाट पौष्टिक तìवले युक्त चिनो, मार्सी धान, फापर, कोदो, जौ, उवा, गहु कागुनो, सिमी, आलुको उत्पादन राम्रो हुन्छ ? तर यसको प्रयोग गर्ने मानिस कम छन् । सबै सरकारको ढुवानी अनुदानको चामलप्रति निर्भर हँदै आएका छन् । जसमा पौष्टिक तìव कम हुन्छ र यसको प्रयोग बढी गर्नाले मानिस त्यतिकै रोगी हुँदै जान्छ ।
कर्णालीका लागि विनियोजित बजेटको ६० प्रतिशत रकम ढुवानीमा खर्च हुन्छ । यो पनि अर्को ठूलो समस्या छ । यसले पनि कर्णालीमा गरिबी बढाउन मद्दत पु-याएको छ । बजेट धेरै विनियोजन हुने तर वास्तविक बजेट पुग्नुपर्ने ठाँउमा धेरै कम मात्रामा पुग्ने गर्छ । अझ यसलाई कर्णालीको बजेट सबै विमान सेवालाई भन्दा अतियुक्ति नहोला । अर्को कर्णालीका स्थानीयवासी हवाई यातायातमा निर्भर रहँदा दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा तथा विकास निर्माणका सामग्रीको पनि आकाशिँदो मूल्य छ । यो समस्या माथिल्लो हुम्ला, मुगुको चरन क्षेत्र र डोल्पाको उपल्लो डोल्पामा
पनि उस्तै छ ।
अबका विकासका लागि व्यावसायिकता आवश्यक हुन्छ । कुनै व्यवसायको व्यावसायिकता नै सुरु भएको छैन । सडक यातायात जोडिएपछि जुम्लामा केही कुरामा व्यावसायिक रूप लिन थालिएको भए पनि अन्य चार जिल्लामा यसको सुरुवात भएको छैन । सम्भावना प्रशस्त भए पनि मानिसमा व्यवसाय सञ्चालन गर्दा के हुन्छ भन्ने चेतनाको विकास भएको छैन ।
अहिलेको कर्णालीको समस्या समाधान गर्न राज्यले कतिपय मूलभूत कुरामा मात्र ध्यान दिए पनि कर्णाली अगाडि बढ्ने मार्ग प्रशस्त हुन्छ । यति मात्र होइन, हुम्लामा भएका अथाह प्राकृतिक साधनको उपयोग गर्न सके कर्णालीले विकासको गति लिन्छ । कर्णालीको विकास भए केन्द्र सरकारले समेत लाभ लिन सक्ने अवस्था छ ।
कर्णालीसँग साधन र स्रोत छ । जलस्रोत, जडीबुटी, फलफूल, पर्यटनको विकासबाट हुने फाइदा त सबैले बताउँदै आएको विषय हो । यसभन्दा पनि बाहिर प्रचारमा नआएको तर सम्भावना बढी भएका उत्पादन पनि धेरै छन् । कर्णाली क्षेत्रभरि हुने ढँटेलो फलको खासै उपयोग गरिएको पाइँदैन । यस फलको विशुद्ध अर्गानिक तेल निकाल्न सकिन्छ । केही मात्रामा यसलाई प्रयोगमा ल्याएर स्थानीय जनताले तेल प्रयोग गर्ने गरेको भए पनि जति मात्रामा यो फल उत्पादन हुन्छ, त्यसको प्रयोग गरिएको पाइँदैन ।
कर्णालीभरि ठूलो मात्रामा यसबाट तेल उत्पादन गर्न सकिन्छ । यसको पाललाई डाँले घाँसका रूपमा प्रयोग हुने गरेको छ तर त्यसै खेर गइरहेको छ । यो राष्ट्रिय वन, कबुलियती वन तथा खेतबारीमा पनि फल्ने गरेको छ । यसको तेलबाट सौन्दर्यका सामान बनाउन सकिनेछ । यसलाई व्यावसायिक रूपमा खेती गरेमा स्वरोजगारी सिर्जना गर्न सकिन्छ । भर्खर केही मात्रामा भए पनि यसको बाहिर निकासी हुन थालेको छ ।
त्यस्तै अर्को चुली हो । यो एक प्रकारको फल हो– असार महिनामा पाक्ने, यो फल पनि कर्णालीमा मात्र पाइन्छ । यो पनि ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ । केहीबाहेक अन्य सबै खेर गइरहेको छ । यसको बाहिरको फल खाने तथा भित्रको गुदीबाट तेल निस्कन्छ । यसलाई डाँले घाँस तथा दाउराका रूपमा पनि प्रयोग गर्न सकिन्छ । हाल त्यो तेललाई स्थानीयले केही मात्रामा दैनिक खाने तेलका रूपमा प्रयोगमा ल्याउन गरेको भए पनि यसबाट पनि सौन्दर्यका सामान निर्माण सुरु भएको छ । यसको तेल प्रयोग गरी बनेका क्रिमबाट अनुहार निकै उज्वल बनाउने गरेको पाइन्छ । यसबाट मुख धुने साबुन पनि बन्ने गरेको छ । जसलाई विदेशमा समेत निर्यात गर्न सकिन्छ । कर्णालीभरि उत्पादन हुने भएकाले यसलाई व्यावसायिक खेती गरेर स्वरोजगारी सिर्जना गर्न सकिन्छ ।
फल फल्ने त अनुपम भूमि हो– कर्णाली । आरू प्रजातिको फल चुली हो तर यसको फल आरू जत्रो ठूलो नभएर सानो हुन्छ । स्वाद पनि अमिलो हुन्छ । यो पनि कर्णाली क्षेत्रमा मात्र फल्ने फल हो । जुन बहुउपयोगी रहेको छ । अहिले कर्णालीमा यसको तेललाई दैनिक खाने तेल तथा शरीरको मालिसका रूपमा प्रयोग गर्ने गरिन्छ । उच्च हिमाली क्षेत्रमा पाइने यो फल पनि हुम्ला, मुगुतथा डोल्पा जिल्लामा धेरै हुने गरेको छ । यो पनि हाल यसको तेल पनि केही मात्रामा जिल्लाबाहिर निकासी हुन थालेको छ । यसको सम्भावना पनि धेरै छ ।
कर्णाली क्षेत्रमा उत्पादनको सम्भावना भएको अर्को ओखर हो । हाल जति फलेको छ, त्यसलाई स्थानीयले रहरले मात्र फलाउने गरेका छन् । यसको व्यावसायिक रूपमा खेती गर्न सके भविष्य राम्रो देखिएको छ । माथिका यी फलफूल हुन् भने अर्को अन्नपात पनि निकै छन् । जो स्वास्थ्यका लागि निकै पौष्टिक महìव राख्ने गर्छन् । जसमा फापर, चिनो, कागुुनो, कोदो, जौ, उवा छन् । यसको उत्पादन पनि निकै हुन्छ । यसबाट पनि निकै फाइदा लिन सक्ने सम्भावना छ । त्यस्तै सिमी, मह पनि कर्णालीमा राम्रो उत्पादन हुने गर्छ । यसलाई व्यावसायिक रूपमा उत्पादन गर्न सके कर्णालीको गरिबी घटाउन निकै सहयोगी
हुने देखिन्छ ।
व्यापक पूर्वाधारका लागि केन्द्र सरकारले कर्णालीमा ठूलो लगानी गर्नु जरुरी छ । केन्द्र सरकारले गर्ने लगानी एक पटकका लागि हो । कम्तीमा दस वर्षका लागि केन्द्र सरकारले सडक पूर्वाधार, जलविद्युत्, स्वास्थ्य र शिक्षा आदिमा व्यापक लगानी गर्नु आवश्यक हुन्छ । त्यस्तो लगानीले कर्णालीमा रोजगारी सिर्जना गर्न सहयोग पुग्छ । गरिबी निवारणमा सहयोग पुग्छ । त्यो लगानीपछि कर्णालीले आफ्नो प्रदेशका लागि राजस्व सङ्कलन गर्न सक्छ । कर्णाली स्वनिर्भर हुनसक्छ ।