logo
२०८१ बैशाख ४ मंगलवार



एकता पहल अनिवार्य

विचार/दृष्टिकोण |




विकास गिरी

मुलुक यतिबेला अस्थिरता, अन्योल, अराजकता तथा राजनीतिक सङ्कटबाट गुज्रिन बाध्य छ । मुलतः नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वको व्यक्तिगत र गुटगत शक्ति सङ्घर्ष र स्वार्थको चक्रमा मुलुक रुमलिएको छ । यही सिलसिलामा प्रतिनिधिसभा विघटन भएको छ, तीन वर्ष अघि दुई कम्युनिस्ट पार्टी मिलेर बनेको विशाल नेपाल कम्युनिस्ट पार्टी निर्माणको आकाङ्क्षा भने धराशयी हुँदै गएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको सात दशक लामो ऐतिहासिक विकासक्रममा यसले प्राप्त गरेको सर्वाधिक उचाइ गल्र्यामगुर्लुम हुने अवस्था सिर्जना भएको छ ।
राजनीतिक लक्ष्य एउटै भए पनि कार्यशैली, कार्यदिशा, सैद्धान्तिक बुझाइ, राजनीतिक कार्यक्रमका अतिरिक्त नेताहरूको व्यक्तिगत स्वार्थ र अहङ्कारले कम्युनिस्ट पार्टीले टुट र फुटको अनेक शृङ्खला गुजारेको छ । नेपाली जनसमर्थन र सम्मान रहँदारहँदै पनि कम्युनिस्ट पार्टीभित्रका अन्तरविरोधले गर्दा त्यो जनसमर्थन र अभिमत विभक्त हुँदा थोरै जनमत भएका अन्य राजनीतिक दलले बहुमत प्राप्त गर्ने र सत्ताको बागडोर सम्हाल्ने परिस्थितिमा देश फेरि पनि रुमलिन बाध्य हुँदै छ । यो अवस्था परिवर्तनकामी जनताका कारणले होइन, नेकपाका नेताहरूले वस्तुस्थितिको सामयिक र ऐतिहासिक मूल्याङ्कन गर्न नसक्दा उत्पन्न भएको अस्वाभाविक विषम परिस्थिति हो ।
नेपालको राजनीतिक, प्रजातान्त्रिक, लोकतान्त्रिक एवम् गणतान्त्रिक आन्दोलनमा कम्युनिस्ट पार्टीहरूले महŒवपूर्ण भूमिका खेल्दै पछिल्लो गणतान्त्रिक आन्दोलनमा नेतृत्वदायी र निर्णायक भूमिका निर्वाह गरे, जसका कारण करिब २४० वर्षे राजतन्त्र अन्त्य भयो र जनताका छोराछोरी राष्ट्रप्रमुख हुने गणतान्त्रिक व्यवस्था निर्माण भयो । तर, यो व्यवस्था कत्तिको जनताको तहमा पुग्यो प्रश्न उठ्न थालेको छ । यस व्यवस्थालाई अझ उन्नत, समृद्ध र सशक्त बनाउनका लागि बलियो कम्युनिस्ट पार्टीको आवश्यकता थियो, छ । तर, एकता भएको तीन वर्ष नपुग्दै नेकपा फुटको सङ्घारमा छ ।
मुलतः प्रतिनिधिसभा विघटनपछि देशका सम्पूर्ण बौद्धिक वर्गले दुईपक्षीय धारणा राखेको पाइन्छ । सामाजिक सञ्जालदेखि पत्रपत्रिका र रेडियो, टेलिभिजनमा जताततै कसैले ओली ठीक प्रचण्ड खराब र कसैले प्रचण्ड ठीक र ओली खराब भनेको पाइन्छ । ओलीमा पनि केही गुण होलान्, प्रचण्डमा पनि केही गुण होलान् तर यी दुवैलाई उभ्याउने त आमनेपाली मतदाता नै हुन् अर्थात् नेताको माटो जनता नै हुन् । त्यसैले उहाँहरूको जीवनमा उज्यालोपन ल्याउन दुवैले केही त्यागेर मिलनबिन्दुमा जान सक्नु नै वास्तवमा राजनीतिक गतिशीलता हो । कुनै ठाउँमा जोडले बग्ने जलप्रवाहले विद्युत् निकाल्छ, कुनै ठाउँमा त्यस्तै जलप्रवाहले हजारौँ हेक्टर जमिन स्वाहा पार्नुको साथै बस्ती सखाप पार्छ । आखिर दुवै ठाउँमा प्रयोग हुने भनेको हाइड्रो (पानी)को ‘काइनेटिक’ शक्ति नै हो । नेकपा विभाजन उन्मुख भएपछि पनि हाम्रो बौद्धिक जगत्ले कुनै पनि ठाउँमा अझै यो दुवै पक्ष मिल्नुपर्छ भनेको पाइएको छैन । कम्तीमा आजको मितिमा दुईमध्ये एकजनाले अलिकति समय पदत्याग गर्ने र अलिकति अहम् त्याग गर्ने हो भने केवल चुनावको खर्चमात्र होइन, देशले अङ्गीकार गर्न चाहेको स्थिरता पनि बाँच्नेछ ।
चुनावकै कुरा गर्दा, यसअघि एकढिक्का भएर ओली प्लस प्रचण्डले पाएको भोट विभाजन हुँदा कुनै अर्को पार्टीले जित्नेछ । दुवै पक्षले आउँदो चुनावमा हुने घाटालाई आत्मसात् गर्नुभन्दा अहिले दुवैले नरमकरम मिलाएरै भाग शान्तिमै भए पनि मिलजुल गर्ने हो भने देश, जनताका लागि उक्त कदम राम्रो हुन्थ्यो । अहिले नेकपा विभाजित हुनु भनेको देश अर्को शताब्दीसम्म अस्थिरताको भुमरीमा पर्नु हो । चुनाव गणतन्त्र तथा प्रजातन्त्रको गहना हो तर समयभन्दा अगाडि गरिने चुनाव आर्थिक विचलनको सुरुङमार्ग हुन् भन्ने कुरा दुवै नेताहरूले सम्झन र सम्झाउन आवश्यक छ ।
अहिले आ–आफ्नो क्षेत्रबाट प्रधानमन्त्री ओली तथा अर्का नेता प्रचण्डले आफ्नो काइनेटिक शक्ति देखाइरहनुभएको छ, जसले राष्ट्र विकासको विद्युत् उत्पादन गरिरहेको छैन । बरु डिलहरू काटेर बस्ती र खेतीमा बाढी प्रवेश भइरहेको छ र दिनानुदिन अर्थहीन बर्बादीमात्र निम्त्याएको छ । दुवै शीर्षनेताले यो बाढीरूपी काइनेटिक शक्तिलाई रोकेर देश विकासका लागि आवश्यक पर्ने सम्‍भावित अर्थात् पोटेन्सियल शक्तिमा रूपान्तरण गर्नुपर्छ । नेताहरू जुन उचाइमा हुनुहुन्छ, एक–अर्काप्रति हिलो छ्याप्नु उपयुक्त हुँदैन ।
वास्तवमा शीर्षनेताहरूको आ–आफ्नो निजी राजनीतिक तथा आर्थिक स्वार्थले कृत्रिम विरोधाभास सिर्जना गरायो र त्यही अन्तरविरोधको व्यवस्थापन गर्न नसक्दा एक अर्कोमाथि अनेक टीका–टिप्पणी र लाञ्छना लगाउँदै गर्दा प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने र प्रधानमन्त्रीले सोही आवेगमा प्रतिनिधिसभा विघटन गर्ने तिक्ततापूर्ण अवस्था निर्माण भयो । गत निर्वाचनमा करिब दुईतिहाइ मतसहित नेकपा एकताको प्रस्ताव अनुमोदित भएको हो । यो एकता अमूक–अमूक नेताले मात्र गरेको हो भन्ने बुझाइ गलत हो । एकताको चाहना प्रत्यक्ष वा परोक्ष रूपमा आमजनताको राजनीतिक स्थिरता प्राप्त गर्ने चाहना र नेकपाका इमानदार कार्यकर्ताको लगावले पनि सम्भव भएको थियो । तसर्थ, पार्टी पूर्ण रूपले जनताप्रति प्रतिबद्ध र जवाफदेही बन्नुपर्नेमा पार्टी विभाजनको रेखा कोरिने दुर्भाग्यपूर्ण अवस्था निर्माण भएको छ । केही कानुनी र संवैधानिक प्रावधान र अन्तिम अवस्थामा जनतासामु जाँदा के बनेर जाने भन्ने विषयले मात्र दुवै पक्ष पार्टी विघटनको घोषणा गर्न हिच्किचाइरहेका छन् । तर, यो परिस्थिति कुनै सैद्धान्तिक र गम्भीर राजनीतिक मतभेद र विरोधाभासले उत्पन्न भएको होइन भन्ने सबैले बुझेका छन् । पार्टीका शीर्षनेताहरूको स्वार्थ, आपसी असमझदारी, अन्तरविरोध र अहम्ले मात्र यो अवस्था सिर्जना भएको हो । पार्टी र सरकारबीचको असमझदारीले यो अवस्था आएको छ । ‘जोगी देख्दा भैँसी डराउने र भैँसी देख्दा जोगी डराउने’ अवस्था पार्टी र सरकारबीचमा देखाप¥यो र अहिले अझ झाँगिएर त्यो अवस्था झन्झन् जटिल बनिरहेको छ ।
यतिबेला नेकपाका दुई खेमाबीचमा कुनै हार्दिकता बाँकी देखिन्न । सामाजिक सञ्जालदेखि चियापसलसम्म एक–अर्काको छाला कोराकोर छ । हुन त पार्टी विभाजनको पीडा सबैलाई होला तर लाग्दै छ सायद पार्टी विभाजनपछिको अनुभूति कसैलाई छैन । पार्टी विभाजन हुँदा पनि आफू एक्लै विजयी हुन्छु र अरू सबै समाप्त हुन्छन् भन्ने भ्रमपूर्ण होहल्ला र भीडभाड अनेकप्रकारले सिर्जना गरिएका छन् । यो भ्रममा दुवै पक्ष रमाइरहेका छन् । यदि यो पार्टी एकता जोगाउन सकिएन भने वस्तुस्थिति र परिणाम भने नितान्त फरक आउनेवाला छ, त्यो यथार्थ निर्वाचनको परिणामपछि निश्चित रूपमा देखिने नै छ ।
यतिबेला सबैले आ–आफ्ना दम्भ र सङ्कीर्णता त्यागेर पार्टी एकताका निम्ति अन्तिम तर निर्णायक कदम चाल्नुपर्ने आवश्यकता छ । ऐतिहासिक कार्यभार र जनमतलाई सम्मान गर्दै फुटेर कहीँ पनि पुगिँदैन भन्ने सच्चाइ बुझ्न अत्यावश्यक छ । पार्टी एकता कायम गर्न सकिएन भने लाखौँ मतदाता, कार्यकर्ता र शुभचिन्तकलाई के जवाफ दिने, के गर्छु भनेर मतदाताको आँगनमा मुख देखाउने ? यतिबेलै सबैले गम्भीर भएर सोच्न अति आवश्यक छ । अगाडि जति अवसर र सम्भावना छन्, त्यसका अगाडि चुनौती पक्कै पनि नगन्य छन् । समयमै विवेक र संयम अपनाउने हो भने यी समस्या सहज समाधान पनि हुन्छन् ।
एउटा आक्रोश, आवेग र हचुवा निर्णयले एउटा युग र अनेक पुस्ताले पश्चाताप गर्नुबाहेक अरू केही प्राप्ति हुने छैन । तर, यस विषयमा शीर्षनेतृत्व न हिजो गम्भीर बन्यो, न आज बन्दै छ । कार्यकर्ता पङ्ति पनि यो वा त्यो समूहमा अन्धभक्त भएर सीमा र मर्यादा नाघेर कसैप्रति जाइलाग्नुले मात्रै पार्टी विभाजनको औचित्य पुष्टि हुने छैन । अतः आक्रोश, आवेग र कुण्ठामा रुमल्लिएर पक्ष र विपक्षमा उभिएर सहयोद्धा साथीलाई अनर्गल गालीगलौज, आरोप–प्रत्यारोप नगरी, टुटफुटलाई प्रश्रय दिने वा अवाञ्छित गतिविधि नगरी हरेक विवेकशील कार्यकर्ता विभाजन निरुत्साही बनाउन लाग्नुपर्छ । एकता, एकता र पुनः एकताको पक्षमा लाग्ने जनदबाब सिर्जना गरी शीर्षनेतृत्वलाई खबरदारी गर्न सके नेता, कार्यकर्ता र शुभेच्छाको तीव्र दबाबका अगाडि पक्कै पनि सबै शीर्ष झुक्न बाध्य हुनैपर्छ ।
समाजवादको लामो यात्रामा हिँडेको नेकपारूपी विशाल जहाज आज कुहिराको कागजस्तै भएको छ । यो जहाज र यात्रा पाइलटको मात्र होइन, सबै यात्रुको समान अस्तित्वको भविष्यसँग र सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनसँग गाँसिएको छ । यो लामो र कठिन यात्रालाई पर्गेलौँ र पुनः एकता कायम गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक योगदान गरौँ र गराऔँ ।

(लेखक कानुन व्यवसायी हुनुहुन्छ ।) 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?