logo
२०८१ मंसिर १३ बिहीवार



महामारीमा उच्च मनोबल

विचार/दृष्टिकोण |




डा. रामहरि ढकाल

रोग कसैको चाहनाको विषय हुँदैन, त्यसमा पनि महामारीको नाम सुन्नासाथ मानिस त्रसित हुन्छ । मानव समाजले बेलाबखत महामारी भोग्दै आइरहेको छ । मानिसले बेलाबेलामा आफ्नो अस्तित्वमा नै सङ्कट परेको महसुस गरेका छन् । महामारीले गर्दा अनगिन्ती मानव जीवन तहसनहस हुनेगरी रोग विस्तार भइदिँदा एउटा युग परिवर्तन हुन्छ, मूल्य–मान्यता संस्कृति, चालचलन सबै बदलिन्छ । कहिलेकाहीँ कुनै सभ्यता नै समाप्त हुन्छ । कुनै महामारी यति भयावह हिसाबले आउँछ कि समग्र मानव जगत्लाई नै सिध्याउने हो कि भन्ने डर पनि हुन्छ । विश्वमा हालसम्म यस्ता कहालीलाग्दा महामारीले एक चौथाइदेखि एकतिहाइसम्म मानिसलाई एकैपटक तहसनहस पारेको इतिहाससमेत छ ।
मानव समाजले प्राग्ऐतिहासिककालदेखि नै यस्ता दुःखद महामारी भोग्दै आएको छ । अवशेषको अध्ययन गर्दा करिब पाँच हजार वर्षपहिले चीनमा आएको महामारीले घरभित्रै सबै उमेर समूहका आदिम मानिसको मृत्यु भएको अवशेष पुरातŒव शास्त्रीहरूले भेट्टाएका छन् । शव व्यवस्थापन गर्नसमेत नसकेर घरभित्रै रहने अवस्थाले यसको दुरावस्थालाई आँकलन गर्न सकिन्छ । सन् १६५ देखि १८० को बीचमा रोमन साम्राज्यमा ‘एन्टोनियो प्लेग’का कारण करिब ५० लाख मानिसको मृत्यु भएको थियो, त्यसबेला यो सङ्ख्या निकै धेरै हो । सन् २५० देखि २७१ को बीचमा ‘साइप्रियन प्लेग’ले एकैदिनमा रोममा पाँच हजार मानिसको मृत्यु भएको थियो, जसलाई सेन्ट साइप्रियनले ‘विश्वको अन्त्य’को संज्ञा दिएका थिए ।
सन् ५४१–४२ को ‘जस्टिनियन प्लेग’ इजिप्टबाट सुरु भएर प्यालेस्टाइन र बाइजान्टिन साम्राज्यमा फैलिएको थियो । जसबाट ५० करोड मानिसको मृत्यु भयो, जुन तत्कालीन विश्वको २६ प्रतिशत थियो भनिन्छ । यो करिब दुई सय वर्षसम्म रहिरह्यो । सन् १३४६ देखि १३५३ को समयलाई कालो मृत्यु ‘द ब्लाक डेथ’ भनिन्छ । यसले एसिया र युरोपका देशमा विस्तार भई युरोपको आधा र विश्वको एकतिहाइ जनसङ्ख्यालाई मृत्युको मुखमा पु¥यायो ।
त्यस्तै सन् १४९२ पछि युरोपियन अमेरिका बसाइँ सर्नेक्रममा विस्तार भएको ‘अमेरिकन प्लेग’ सन् १६६५/६६ को ‘लन्डन प्लेग’, सन् १८१७ को हैजा महामारी, सन् १८७५ को फिजी दादुरा महामारी, सन् १८९९ को रसियन फ्लु, १९१८ को स्पेनिस फ्लु, १८५७ को एसियन फ्लु, १९८१ को एचआईभी/एड्स, १९९७ ताकाको बर्डफ्लु, २००३ को सार्स, २००९/१० को स्वाइनफ्लु, २०१४ र १६ को इबोला महामारी, २०१५ कोजिका भाइरस आदि महामारीले विश्वलाई पटक–पटक अत्याएकै हो, मानव जीवनलाई
तहसनहस पारेकै हो ।
आधुनिकतासँगै यातायात र सञ्चारको विकास भयो, मानिस बढी भ्रमण गर्न थाले । विभिन्न सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा जान थाले, दुनियाँका मानिससँग भेटघाटका अवसर मिल्यो, जसका कारण विश्वको एउटा कुनामा सुरु भएको सरुवा रोग केही महिनाभित्रै विश्वका अन्य कुनामा प्रवेश गर्ने अवस्था भयो । सहरीकरण र जनसङ्ख्या वृद्धिले यसलाई अझ टेवा पु¥याएको छ । कोरोनाको अवस्था पनि त्यस्तै देखियो ।
हाल चीनको वुहानबाट सन् २०१९ मा सुरु भएको कोभिड–१९ ले सम्पूर्ण विश्वलाई नै खतराको सङ्केत दिइरहेको छ । हाल यो रोग मानव बस्ती भएका छवटै महादेशका प्रायः सबै देश र गाउँसम्म फैलिइसकेको छ ।
अहिले बेलायतबाट उत्परिवर्तित युके भेरियन्टको असर संसारभर पर्दैछ र सबैभन्दा बढी भारतमा परिरहेको देखिन्छ । यहाँ दैनिक लाखौँ जनालाई रोग सर्छ र हजारौँको मृत्यु हुने कहालीलाग्दो अवस्था छ । शव जलाउने स्थान अभावका कारण सामूहिक दाहसंस्कारदेखि आफ्नै खेतबारीमा शव व्यवस्थापन गर्नसमेत स्थानीय प्रशासनले भनेको अवस्था छ । अस्पतालमा अक्सिजनको अभाव छ, अस्पताल र डाक्टरसमेत स्वयम् बिरामी परेका छन् । अहिले भारतीयको रोदन र गुहार वास्तवमै कारुणिक छ ।
नेपाल भारतसँग एक हजार ८२५ किलोमिटर खुला सिमाना भएको मुलुक हो । अतः त्यसको प्रभाव नेपालमा नहुने प्रश्न नै रहेन । फेरि भारतीयसँग काम, धर्म, व्यापार र रोटीबेटीको नाता भएकाले पनि नेपाल–भारत आवतजावत गर्ने दैनिक नै दसौँ हजार हुने गर्छन् । यस्तो परिस्थितिमा नेपाल अत्यन्त असुरक्षित अवस्थामा छ । चिकित्सकले समेत यसको विस्तार तुलनात्मक रूपमा भारतमा भन्दा नेपालमा बढी छ भन्ने दाबी गरिसकेका छन् । सीमित जनशक्ति र अर्थ अभावका कारण नेपालले अहिले यो रोग सम्हाल्न हम्मे पर्ने अवस्थामा पुगिसकेको छ ।
कोरोना हल्का सामान्य हुँदा हामीले विगत दसैँबाट अत्यन्तै लापरबाहीपूर्ण व्यवहार ग¥यौँ । पिकनिक (वनभोज), पार्टी, भोजभतेर, तीर्थयात्रा, विवाह, पर्व जात्रा, सभा–समारोह, सडक ¥याली, जनप्रदर्शन सबैमा थुप्रै भेला भयौँ । स्वास्थ्य सुरक्षाको मापदण्ड कुनै पालना गरेनौँ । मानौँ नेपालमा कोरोना भन्ने नै छैन, आउँदैन पनि । राजनीतिक दल र नेताले नै सडकमा गरेको जनप्रदर्शनको होडबाजी र भारतको धार्मिक कुम्भमेला आदि त अझ विसर्जन नसक्ने जमघट थियो । फलतः गत चैत अन्त्यतिरबाट पुनः व्यापक फैलिएको यो रोग सम्हालिन सक्ने अवस्थामा पुग्यो । खोप उत्पादन र बिक्री गर्ने भारतको चाल ‘आफैँ त ताप्केमा तँलाई कोपरा’ भनेजस्तो भएको छ ।
विभिन्न देशले परीक्षणका लागि खोपको आविष्कार गरे । खोपहरू पूर्ण प्रभावकारी छैनन् र यो परीक्षणकै क्रममा छ । प्रभावकारी खोप वा औषधि बन्न वर्षांै, दशकौँ लाग्न पनि सक्छ । मतलब कोरोना पनि वर्षौं वा शताब्दीयौँ जान सक्छ । अतः बन्दाबन्दी वा निषेधाज्ञा यसको समाधान हुन सक्दैन । बन्द कतिन्जेल गर्ने ? के बन्दमात्र यसको उपाय हो ? सुरुमै बन्द गरेर ‘कन्ट्र्याक ट्रेसिङ’ गरेर रोग छिर्नै नदिँदा केही हदसम्म बन्द पनि यसको उपाय हुन सक्थ्यो । अहिले टोलटोलमा, घर–घरमा रोग छ्यापछ्याप्ती भइसकेपछि बन्दमात्रै गरेर नियन्त्रण हुन सक्दैन ।
हामी आफ्नै लापरबाहीका कारण समस्याग्रस्त भएका छौँ । हामीलाई दसैँदेखि चैतसम्म सामाजिक दूरी कायम गर्नुपरेन, हात धुनुपरेन, समूहमा बस्न असहज लागेन, अनि सबैथोक खुलेआम ग¥यौँ, कोरोनाको रत्तिभर डर लागेन । अझ खोप भित्रिएपछि त सबैजना दङ्ग ! खोप लगाएको एउटा तस्बिर सामाजिक सञ्जालमा सगौरव हाल्यो, बस, रोग आफैँ भाग्छ, अब भन्ने सोच्यौँ । तर, खोप लगाएकालाई समेत कोरोना भएको तथ्य आइसकेको छ, पहिला लागेर निको भएकालाई पनि दोहोरिएको तथ्यसमेत सार्वजनिक भइसकेको छ ।
मानव जीवन र जगत्मा यस्ता चुनौती आउँछन्, कुनै शताब्दीयौँ रहन्छन्, कुनै केही वर्षपछि जान्छन् । हो, कोरोनालाई पनि तत्काल हटाउन सकिँदैन, नियन्त्रणमात्र गर्ने हो । सर्वप्रथम मनोबल उच्च बनाउनुपर्छ हामीले, मृत्युदर एक प्रतिशतभन्दा कम रहेको यो रोग उति भयावह छैन, यसको शक्तिशाली पक्ष भनेको छिटो सर्ने हो । त्यसैले रोग सर्न र सार्नबाट जोगिनु नै उत्तम उपाय हो । जब रोग युगौँसम्म रहन्छ कतिन्जेल बन्द गर्ने ? यहाँ रोगबाट भन्दा भोकबाट मर्नेको सङ्ख्या बढी हुन्छ बिस्तारै । विकसित मुलुकले यस्तोबेला जनतालाई पूर्ण राहत दिन्छ, हाम्रो मुलुक यस्तो अवस्थामा छैन । दैनिक कमाएर गुजारा गर्ने ठूलो वर्ग छ, उनीहरूलाई रोगभन्दा भोकको चिन्ता धेरै छ ।
अतः लामो बन्दाबन्दी लगाउनु वा निषेधाज्ञाले यसको समाधान हुन सक्दैन । हामीले अब कोरोनासँगै जिउने कला सिक्नुपर्छ, व्यवहार परिवर्तन गरेर । दूरी कायम गर्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, पटक–पटक हात धुने, रोग प्रतिरोधात्मक खाना खाने, घरेलु जडीबुटी मात्रा मिलाएर निरन्तर सेवन गर्ने र मनोबल उच्च राख्ने गर्नाले कोरोनामात्र होइन, अन्य रोगबाट समेत बच्न सकिन्छ ।
वास्तवमा दुःखमा आत्तिन हुँदैन, धैर्य गर्न सिक्नुपर्छ, सकेको मद्दत अरूलाई पनि गर्ने, मानवीयता प्रकट गर्ने, सद्भाव र भाइचाराको व्यवहार गर्ने, व्यक्तिगत रूपमा सकारात्मक सोच राख्ने, ध्यान गर्ने, यो विश्वव्यापी समस्या हो भनेर मन बुझाउने गर्नाले मन हलुका हुन्छ । प्रत्येक कालो बादलमा चाँदीको घेरा हुन्छ भन्छन्, यसको पनि नियन्त्रणको कुनै उपाय होला, आशा गराँै भोलि सुनौलो घाम लाग्नेछ ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?