दीपक आचार्य
नेपालमा जहिल्यै पनि राष्ट्रियता र राष्ट्रवादको नारा लाग्छ र राष्ट्रवादको धेरै कुरा भइरहन्छ । पछिल्लो समय राष्ट्रियताको मुद्दालाई अझ बढी सत्ताबाहिरका नेताले उठाउने गरेका छन् । सत्तासँग गाँसिएको विषय र सरकारले गरेका निर्णयलाई राष्ट्रियतासँग जोडेर प्रतिपक्षले उठाउनु संस्कृतिजस्तै बनेको छ । पञ्चायतकालमा राष्ट्रियता र राष्ट्रिय एकताको विषय पञ्च र राजावादीको प्यारो शब्दजस्तो थियो । राष्ट्रियता र राष्ट्रिय एकता त राजसंस्थाको नारा नै थियो ।
पूर्वराजसंस्थाले राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकताजस्ता अवधारणामा आधारित भएर राष्ट्रियताको परिभाषा गरेको थियो । दोस्रो जनआन्दोलनको सफलतापछि जसरी राजसंस्थाप्रति वितृष्णा भयो र त्यसको अन्त्य भयो, त्यसैगरी राजसंस्थाले बनाएको राष्ट्रियताको परिभाषाले काम गरेन । त्यसपछि राष्ट्रियता जोगाउनुपर्ने बहससँगै राष्ट्रियताका बारेमा पनि फरक–फरक परिभाषा तथा विचार आइरहेका छन् तर एउटाले गरेको परिभाषालाई अर्काेले स्वीकार गर्न सकेका छैनन् ।
राष्ट्रवाद र देशभक्तवादलाई मात्रै राष्ट्रियता बुझ्नुहुँदैन । मधेसी र जनजाति नेता तथा अगुवाले दिने अभिव्यक्तिपछि बेलाबेलामा विवाद आउनु भनेको यस्ता कुरा नबुझेर हो वा यस्ता विवादित कुरा गरेर आफू क्रान्तिकारी बन्न खोज्ने नेताको बानीले हो । नेपालको संविधान २०७२ को उपधारा ३ मा राष्ट्रअन्तर्गत बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका एकता आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेर प्रस्ट भनिएको छ– यसलाई बुझ्ने हो भने कसैले पनि विवाद गर्नुपर्दैन । नेपालमा भएका १२५ जाति, १२६ भाषा, सम्पूर्ण संस्कृति र भूगोललाई एकताको सूत्रमा आबद्ध गर्दै राष्ट्रिय पहिचान र सहअस्तित्वलाई स्वीकार गर्न सकेमात्रै समष्टिमा राष्ट्रियता मजबुत देखिन्छ । राष्ट्रियतामा देश तथा जनता त्यो पनि विभिन्न पहिचान बोकेका मानव जाति, वर्ग चिनाउने र प्रतिनिधित्व गर्ने भावना तथा भावनात्मक प्रतीक हुनुपर्छ । तबमात्रै राष्ट्रियता बलियो हुन्छ र राष्ट्रिय एकतालाई मजबुत बनाउँछ । सरल भाषामा भन्नुपर्दा वास्तवमा साँस्कृतिक, भौगोलिक र राजनीतिक रूपमा विभाजित नागरिकलाई भावनात्मक र वस्तुगत रूपमा, हामी नेपाली एक हौँ भनेर एकताबद्ध गर्ने माध्यय र प्रक्रिया नै राष्ट्रियता हो । हाम्रो देशमा रहेका सम्पूर्ण जाति, भाषा, धर्म, वर्ग, समुदाय, संस्कृति र विभिन्न भू–भागका जनताका बीचको अक्षुण्ण एकता र भौगोलिक अखण्डता नै राष्ट्रियता हो ।
राष्ट्रियता र राष्ट्रिय एकताका बारेमा खासै राम्रो बहस गर्ने जाँगर कसैले पनि नदेखाएता पनि अब बिस्तारै–बिस्तारै नागरिकमा यसप्रति चासो बढ्न थालेको कुरा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाबाट प्रस्ट हुन्छ । कहिलेकाहीँ सीमा मिचिएको कुरा र नेपालको राजनीतिमा विदेशीले हस्तक्षेप गरेको कुरालाई मात्रै राष्ट्रियतासँग जोडेर हेर्ने गरिन्छ । भारतले सीमा मिचेको र मधेसका नेताले तराई टुक्रन सक्ने भन्ने अभिव्यक्ति दिन थालेपछि मात्रै राष्ट्रियता र राष्ट्रिय एकताको बहस उत्पन्न हुने गरेको छ । अधिनायकवाद, साम्यवाद जस्तै कोटिमा आफ्नो राष्ट्रियता र राष्ट्रवादलाई राखेर कार्ल माक्र्सको वादसँग मिसाउन खोज्नेले नेपालको राष्ट्रियतालाई सङ्कटमा पारेको भन्ने गरेको पाइन्छ । राष्ट्रियताको भावलाई सामाजिक ऐक्यबद्धताका रूपमा स्थापित गर्न सकिएन भने राष्ट्रिय एकता बलियो हँुदैन भन्ने कुरालाई भने यस्तो वाद लाद्न खोज्नेले बुझ्नुपर्ने हुन्छ । २०४७ सालदेखि सुरु भएको भारतीय निर्भरता अहिले चुलीमा पुगेको अवस्थामा झन् भारतसँग जोडेर राष्ट्रियताको बहस हुने गरेको छ ।
दसैँजस्तो ठूलो चाड, दौरासुरुवाल, सैनिक तथा सुरक्षाकर्मीको बर्दी फुली, ढाका टोपीमा अनि चलनचल्तीको नेपाली भाषामा मात्रै राष्ट्रियता देख्ने गल्ती अब गर्नुहँुदैन । राष्ट्रियताको परिभाषा अब पुर्खाको गाथामा नभएर नागरिकको चाहनामा खोज्नुपर्छ । राष्ट्रियता भनेको निकै गम्भीर विषय हो । राष्ट्रियताविरोधी अभिव्यक्तिले कुर्सी नै डगमागाउने गरेको घटना पनि हामीसँग ताजै छ । नेपाल बहुल राष्ट्रिय देशमा जानुपर्ने भनेर नेता राजेन्द्र महतोले भनेपछि हङ्गामा भयो, उहाँले आफ्नो भनाइ सच्याउनु प¥यो । मधेसका सवालमा खासगरी पहिचान, प्रदेशको सङ्ख्या, समान जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण वा प्रतिनिधित्वको सुनिश्चितता, राष्ट्रका हरेक निकायमा समावेशीकरण, मधेसी भाषाको औपचारिक मान्यताको विषयमा आवाज उठाउनु मधेसी नेताको कर्तव्य हो । तर, उनीहरूले राष्ट्रियताजस्तो महŒवपूर्ण विषयलाई राजनीति गर्ने हतियार बनाइरहेको प्रस्ट देखिन्छ ।
राजनीतिक दलहरू राष्ट्रियताका लागि गम्भीर भए भनेमात्रै कर्मचारी प्रशासन, सुरक्षा निकायलगायत राज्यका सबै संयन्त्र राष्ट्रियताप्रति वफादार हुन्छन् । अहिले राष्ट्रियतामा हानि पु¥याएको भनेर अन्य दलको आलोचना गर्नेबाहेक राजनीतिक दलले राष्ट्रियताको प्रवद्र्धन गर्न कुनै काम गर्न सकेका छैनन् ।
राज्य संयन्त्र राष्ट्रियताप्रति वफादार भयो भनेमात्रै राज्यलाई दिगो बनाउन सामाजिक ऐक्यबद्धता प्राप्त गर्न सकिन्छ । पूर्वराजसंस्था नै राष्ट्रिय एकताको प्रतीक हो भनेर त्यही राजाले थोपरेको भाषा, संस्कृति, पहिरन र धर्मलाई राष्ट्रियता भन्नु गलत हो भन्ने कुरालाई हाम्रो इतिहासले प्रमाणित गरिसकेको छ । अब कुनै पूर्वराजालाई नेपालीले राष्ट्रिय एकताको प्रतीक भन्न सक्ने अवस्था नभएकाले भारतका महात्मा गान्धी र दक्षिण अफ्रिकाका नेल्सन मन्डेलालाई राष्ट्रिय एकताको प्रतीक भनेजस्तै राजनेताको आवश्यकता नेपालमा छ । समावेशी लोकतन्त्रको विकास र सबै नागरिकको अधिकार सुनिश्चित नभई राष्ट्रिय एकता मजबुत हँुदैन र नागरिकमा राष्ट्रिय प्रेम बढाउन सकिँदैन भन्ने कुरा पनि प्रस्ट भइसकेको छ । यो मुलुक मेरो हो भनेर सबै नागरिकले अपनत्वको महसुस गर्न सक्नुपर्छ । भाषासाहित्यले पनि राष्ट्रियतालाई प्रवद्र्धन गर्ने काम गर्छ ।
भाषा र साहित्यको दृष्टिले भानुभक्त आचार्य, मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा आदि–आदि धेरै कवि तथा सहित्यकारले नेपाली राष्ट्रियताको विकास गर्ने काममा मुख्य भूमिका निर्वाह गरेको देखिन्छ । राज्यको भूगोल मिचिने र अन्य मुलुकमा हराउने गरे पनि भाषासाहित्य र संस्कृतिले निर्माण गरेको राष्ट्रियता कहिले पनि हराउन सक्दैन । सुगौली सन्धिअघिको विशाल नेपाल र त्यसपछि गुमाउनुपरेको भू–भागका नेपाली भाषीमा आज पनि नेपाली राष्ट्रियताको भावना लिएर बसिरहेका छन् । त्यसैले सबै भाषिक समूहलाई राज्यले सम्मान गर्नुपर्छ । गीतकार तथा संगीतकार राजेन्द्र थापाको यो कविताले राष्ट्रियता बलियो बनाउन के गर्नुपर्छ भन्ने प्रस्ट पार्छ ।
यसले उसलाई पढ्नु, उसले यसलाई पढ्नु,
धोती पढ्नेले टोपी पढ्नु, टोपी पढ्नेले धोती पढ्नु
जति पढे नि ऐनामा त आफैँलाई मात्र पढ्ने हो,
रातको अँध्यारो मेट्न बिहानीको ज्योति पढ्नु ।।
हामीले ऐनामा सामूहिक अनुहार पढ्ने प्रयत्न नगर्ने र धोती पढ्नेले टोपी नपढ्ने हो भने हाम्रो राष्ट्रियता बलियो हुन सक्दैन । अब यी सबै कुरालाई सम्बोधन गर्ने गरेर संविधानको कार्यान्वयन गर्नुपर्छ र स्थानीय तहले पनि त्यसैअनुसार काम गर्नुपर्छ । देशभित्र सबै वर्ग समुदायको सम्मान हुने वातावरण बनाई समानताको हक स्थापित गर्नुपर्छ । त्यस्तै, भारतसँग लम्पसार पर्ने प्रवृत्ति नेताले छोड्नुपर्छ अनि विदेशप्रतिको परनिर्भरता पनि हटाउन सकियो भनेमात्रै हाम्रो राष्ट्रियता बलियो हुन्छ ।
(लेखक सामुदायिक रेडियोहरूको नेटवर्क(सीआईएन)का प्रमुख हुनुहुन्छ ।)