दीपक आचार्य
सधैँ अरूको दिवसका समाचार लेख्ने र वाचन गर्ने रेडियोकर्मीले फेबु्रअरी १३ तारिख अर्थात् फागुन १ गते आफ्नो मुख्य चाडका रूपमा विश्व रेडियो दिवस मनाउँदै छन् । स्थानीय रेडियो होस् वा राष्ट्रिय रेडियो नेपाल; दुवैमा नेपालले दक्षिण एसियामा नै रेडियो प्रसारणमा अद्वितीय नमुना प्रस्तुत गर्दै आएको छ । सेरकास्ट इनिसिएटिभ लगायतका संस्थाले गरेको अनुसन्धानमा अझै पनि सबैभन्दा बढी विश्वासिलो र धेरैको पहुँचमा पुगेको सञ्चारमाध्यम रेडियो नै हो भन्ने देखिएको छ । कोभिड–१९ को समयमा विश्वमा नै रेडियो सुन्ने र रेडियोलाई विश्वास गर्नेहरूको सङ्ख्या राम्रो नै रहेको भन्दै युनेस्कोले पनि यस वर्षको रेडियो दिवसको नारा रेडियो र विश्वास तय गरेको छ ।
नेपालका जिल्ला–जिल्लामा पुगेका रेडियो र स्थानीय रेडियोकर्मीले सत्यतथ्य विषय प्रस्तुत गर्दै गएमा मात्रै रेडियोप्रतिको विश्वास जोगाएर राख्न सकिन्छ तर पछिल्लो समय आफैँ समाचार सिर्जना गर्नेभन्दा अनलाइन र अन्य सञ्चारमाध्यममा आएका समाचार र विषयवस्तुलाई स्थानीय रेडियोले प्रस्तुत गर्दा रेडियोप्रति विश्वास र आकर्षण घट्न थालेको छ । अन्य सञ्चारमाध्यमका विकास, रेडियोको सङ्ख्या बढ्नु र रेडियोमा दक्ष जनशक्तिको अभाव हुँदा रेडियोले श्रोता गुमाउँदै जानुपर्ने अवस्था देखिएको छ । सामाजिक सञ्जालको विकास अनि पछिल्लो समय रेडियोको प्रसिद्धि घट्दै गएको र रेडियोको विज्ञापन बजार पनि कमजोर भएपछि रेडियोकर्मी चिन्तित हुन थालेका छन् । यो पेसा छोडेर अन्य पेसामा लाग्न थालेका छन् । २०६१ सालतिर रेडियोमा कार्यक्रम चलाउन, रेडियोमा बोल्नका लागि यति धेरै मानिस लालायित हुन्थे कि अन्य पेसा र क्षेत्र छोडेर आउँथे ।
डाक्टर, नर्स पनि रहरले रेडियोमा कार्यक्रम चलाउन आउँथे । कलाकार, शिक्षक, अनुसन्धानकर्ता, भाषाविज्ञ आदि धेरैजसो पेसा व्यवसायका व्यक्ति पनि रहरले रेडियोमा कार्यक्रम चलाउन आउँथे अर्थात् रेडियोकर्मीका रूपमा परिचय दिन गौरवान्वित महसुस गर्दथे । रेडियोमा बोल्ने व्यक्तिको समाजमा मान र इज्जत बेग्लै थियो तर आज त्यो घटेर गएको छ । हिजोको दिनमा भएको रेडियोकर्मीप्रतिको आम नागरिकको सम्मान र रेडियोप्रतिको क्रेज घट्दै जानु अन्य मिडियाको विकास मात्रै होइन, रेडियो प्रसारकको कमजोरी पनि हो । प्रविधिको विकाससँगै आफूलाई परिवर्तन गर्न नसक्नु, रेडियोलाई प्रविधिमा सम्पन्न बनाउन नसक्नु, श्रोता के सुन्न चाहन्छन् भनेर अनुसन्धान गरी त्यहीअनुसारको प्रसारण नगर्नु रेडियो प्रसारकका कमजोरी हुन् ।
त्यस्तै मानव संसाधनमा लगानी नगर्नु, राजनीतिक दलमा आबद्ध हुनु र पत्रकारिताका आचारसंहिता पालना नगर्नु ठूला कमजोरी हुन् । सरकारको मुखपत्रका रूपमा मात्रै अघि बढ्नु र रेडियोकर्मी नै राजनीतिक रूपमा विभाजित हुनु रेडियो नेपालको कमजोरी हो । अझै पनि रेडियोको विषयवस्तुमा सुधार गर्ने र श्रोताको चाहनाअनुसार प्रसारण गर्ने हो भने श्रोता बढाउन सकिन्छ । हिजोको दिनमा रेडियो सुन्नका लागि सरकारसँग लाइसेन्स लिएर घरमा रेडियो राख्नुपर्ने थियो, आज हातमा भएको मोबाइलबाटै रेडियो सुन्न सकिन्छ । हामीले इतिहास र वर्तमानलाई बुझ्नैपर्छ ।
नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थाले पनि वि.सं. २००४ पछि मात्रै पद्मशमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए । वि.सं. २००७ को जनक्रान्तिको बेला भारतको फर्बेसगञ्जबाट रेडियो ट्रन्समिटर झिकाई भोजपुर र पछि विराटनगर जुटमिलबाट क्रान्तिलाई सफल बनाउन रेडियो प्रसारण सुरु गरिएको थियो । जनक्रान्ति सफल भएपछि त्यही उपकरणलाई काठमाडौँको सिंहदरबारमा ल्याई रेडियो नेपालका रूपमा २००७ साल चैत २० गतेदेखि प्रसारण सुरु गरिएको हो । अहिले देशैभरि फैलिएका एफ.एम. रेडियोको सुरुवात भने वि.सं. २०५२ मा रेडियो नेपालको एफ.एम. ब्यान्डबाट भएको हो । त्यसपछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा २०५४ साल जेठ ९ गतेबाट रेडियो सगरमाथाले प्रसारण सुरु ग-यो । त्यसपछि निजी र सामुदायिक तवरबाट धेरै एफ.एम. खुल्न थाले ।
सरकारी तथ्याङ्कअनुसार हालसम्म ७५० भन्दा बढी रेडियो इजाजतपत्र जारी गरिएका छन् भने ५८५ वटा एफ.एम. रेडियोले नियमित प्रसारण गरिरहेका छन् । त्यसमा ३८५ वटा सामुदायिक एफ.एम. छन् । सूचना, मनोरञ्जन र शिक्षामा स्थानीयस्तरको स्वाद बोकेर एफ.एम. रेडियोले प्रसारण गरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्यम रेडियो नै हुन पुगेको छ, यसलाई जोगाउनु नै अहिलेको प्रमुख दायित्व हो तर सरकारले रेडियोसम्बन्धी स्पष्ट नीति नियमको व्यवस्था नगरेपछि रेडियोको दिगो विकासका लागि भने समस्या परेको छ । जिल्ला सदरमुकाममा धेरै रेडियो खुल्दा बजार बाँडिएको छ, श्रोता बाँडिएका छन् र रेडियोको आर्थिक अवस्था राम्रो छैन । रेडियोको आर्थिक अवस्था राम्रो नभएपछि दक्ष जनशक्ति यो क्षेत्रबाट अन्य क्षेत्रमा पलायन हुन थालेका छन् । अनलाइन मिडियाजस्ता नयाँ मिडियाको प्रसिद्धि बढ्न थालेपछि विज्ञापनदाताले पनि रेडियोमा दिने विज्ञापन कटौती गर्न थालेका छन् ।
श्रोता घटे पनि समाचार मात्रै होइन, जनचेतना जगाउन, लोकतन्त्रलाई संस्थागत गर्न, जनमत बनाउन र सामाजिक अभियान चलाउन अझै पनि एफ.एम. रेडियो लोकप्रिय छन् नै । नेपालजस्तो भूगोलमा छिटोभन्दा छिटो सूचना पाउनका लागि रेडियोको आवश्यकता सधैँ रहिरहनेछ । २०७२ सालको भूकम्पका बेलामा विद्युत् सेवा बन्द हुँदा, टेलिफोन सेवा बन्द हँुदा, पत्रपत्रिका ढुवानी गर्न समस्या हुँदा पनि रेडियोले नै ताजा सूचना र समाचार प्रस्तुत गरिरहेका थिए । त्यसैले नेपालजस्तो विपत्को उच्च जोखिम भएको देशमा रेडियोको आवश्यकता छ, यसलाई बलियो बनाउन तीनै तहका सरकार र आम नागरिकको साथ र सहयोग आवश्यक छ ।
राष्ट्रिय आमसञ्चार नीति–२०७३ ले अब रेडियो एफएमको व्यावसायिक विकासको बाटो खुलेको छ । नीतिले एफ.एम. रेडियो र टीभीका फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारण गरी तीन भागमा वर्गीकरण गरेको छ । नीतिले सामुदायिक रेडियोको छुट्टै ऐनका साथ पहिचान दिने बाटो खुलेको छ तर सामुदायिक रेडियोसम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्न ढिलो भएको छ, त्यसमा सरकारको ध्यान जानु आवश्यक छ । राजनीतिक परिवर्तनका लागि भएको दोस्रो जनआन्दोलनमा रेडियोले निर्वाह गरेको भूमिकाको सबैतर्फ प्रशंसा भएपछि रेडियोतर्फ धेरैको ध्यान तानिएको थियो ।
शाही शासनमा समाचारमा रोक लगाएको विरुद्धमा सडकमा बसेर समाचार भनेको, एकोहोरो शङ्ख बजाएर सरकारविरोधी आन्दोलन गरेको धेरै भएको छैन । २०६१ साल माघ १९ गतेको शाही ‘कु’सँगै रेडियोले समाचार भन्नसमेत पाएका थिएनन् । जे भए पनि नेपालमा अझै रेडियोमार्फत नयाँ नेपाल निर्माण, सामाजिक रूपान्तरण र विकास सञ्चारजस्ता धेरै काम गर्न बाँकी छ । अहिलेसम्म रेडियोले गरेको योगदानको स्मरण गर्दै अबका दिनमा पनि रेडियोले धेरै काम गर्न सक्ने भन्दै रेडियोलाई सबैले सहयोग गर्नुपर्छ । सरकारले पनि रेडियोलाई बलियो बनाउने नीति लिनुपर्छ । रेडियोकर्मीले पनि अझै सत्य, तथ्य, निष्पक्ष काम गरेर रेडियोप्रतिको विश्वास र आकर्षण बढाउने काम गर्नुपर्छ । विश्वमा नै रेडियोको विश्वास र साख जोगाउन सकस भइरहेको बेलामा नेपाली रेडियोकर्मीले अझै बढी मेहनत गर्नुपर्छ ।