नवराज पोखरेल
यो वर्षको मनसुन सुरु भएको पहिलो महिनामै जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेजस्तै अत्यधिक वर्षाले वितण्डा मच्चाउँदै करोडौँको क्षतिसँगै दर्जनौँको ज्यान लिइसकेको छ । मेलम्ची र गण्डकी बेसिन मनसुनको पहिलो हप्तामा क्षतविक्षत बनाएको छ । तत्पश्चात् पनि देशैभरि मनसुनजन्य विपत्ति औसतभन्दा धेरै भइरहेका छन् । अझै बाँकी समय मनसुनभरि कति क्षति हुने हो, आँकलन गर्न गाह्रो छ । अघिल्लो वर्ष मनसुनको समयमा भएका जलवायुजन्य विपद्का कारणमात्रै ३०१ जनाभन्दा धेरै मानिसको ज्यान गयो । त्योभन्दा अघिल्लो वर्ष मनसुनको समयमा ४८३ जनाको मृत्यु पहिरोलगायतका मनसुनी विपद्का कारणबाट भएको थियो । योक्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
यो वर्षाको मनसुन अवस्था
विभागको पूर्वानुमान महाशाखाका अनुसार नेपालको क्षेत्रगत रूपमा हेर्ने हो भने आगामी मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानमा तथा प्रदेश नं. १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । जसअनुसार ३५–६५% (हिमाली भू–भागमा ५५–६५%, उच्च पहाडी भू–भागमा ४५–५५% र चुरे तथा महाभारत क्षेत्रमा ३५–४५%) बढी वर्षा को आँकलन गरिएको छ । महाशाखाले भनेको छ– त्यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नं. २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५–४५%, र प्रदेश नं. १ को तराई र प्रदेश नं. २ का पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५–४५% आँकलन छ ।
वर्षाको मापन २४ घण्टामा १०० मिलिलिटरभन्दा धेरै वर्षा भएको खण्डमा हाम्रो भूगोल तथा भूगर्भ विपद्को कारक बन्न सक्छ । त्योबाहेक जलवायु परिवर्तनको एउटा असरका रूपमा वर्षाको प्रकृति पनि हो । वर्षा हुने मौसममा अधिक वर्षा हुने तथा छोटो समयमा धेरै मात्रामा हुने वर्षा याने कि अतिवृष्टिको क्रम बढेको कुरा जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले बताउँछ ।
अरू औसत मनसुनभन्दा अहिलेको मनसुनमा सावधानी अपनाउनुपर्ने कारण छन् । पहिलो त यो पटक अधिक वर्षा हुनेछ । यो नै मुख्य चुनौती हो । दोस्रो तथ्य के हो भने पछिल्लो गर्मी समय हाम्रो देशका लागि वन डढेलोका कारण धेरै क्षति भएको थियो । नासाको नक्साजन्य तथ्याङ्कलाई हेर्ने हो भने यो वर्षाको जनवरी १ देखि अप्रिलको अन्त्यसम्ममा कुल ४१ हजार स्थानमा आगलागीका कारण ठूलो वनक्षेत्रमा क्षति भएको थियो । यो वनक्षेत्रमा भएको क्षतिका कारण तत्तत् क्षेत्रको घाँसेमैदान तथा झाडीयुक्त क्षेत्र वन डढेलोले सुक्खा बनाएको छ । वनका रूखलाई पनि असर पारेको छ । यसको पहिलो असर उक्त क्षेत्र पहिरो तथा अन्य मौसमजन्य विपद्का लागि संवेदनशील हुन सक्छ । तेस्रो कुरा के हो भने हाल पनि समग्र विश्व कोभिड–१९ को महामारीसँग घरभित्र बसेर जुधिरहेको छ । यो महामारीको अवस्थामा यदि कहीँ कतै पहिरो, बाढीलगायत विपद् आइहालेको खण्डमा त्यसलाई उचित रूपमा प्रतिकार्य तथा उद्धारका लागि जनशक्ति सजिलै उपलब्ध नहुन सक्छ । त्यसकारण पनि क्षतिको मात्रा बढ्न सक्ने देखिन्छ ।
यी सबै कारणले यो वर्षको मनसुनले तुलनात्मक रूपमा अघिल्लोभन्दा बढी क्षति हुन सक्ने सम्भावना देखाएको छ ।
पूर्वतयारी
यसअन्तर्गत सम्भावित विपद्का कारण हुन सक्ने क्षतिलाई कम गर्न गरिएका पूर्वतयारीका कार्य पर्छन् । विपद् भइहालेको खण्डमा गर्न सकिने उद्धारका लागि पूर्वअभ्यास तथा आवश्यक पर्ने सामग्री तथा भौगोलिक अवस्थाअनुरूप यातायातका साधानको उपलब्धता तथा तिनीहरूको उचित अवस्थासहित तयारी अवस्थामा राखिरहनुपर्छ । जोखिम सम्भावित स्थानमा जल तथा मौसम विज्ञान विभागको समन्वयमा जलीय तथा मौसमी अवस्थाको विश्लेषण गरी पूर्वसूचना प्रणालीलाई चुस्त–दुरुस्त राख्नुपर्छ । माथिल्लो तटीय क्षेत्रमा भएको जलीय अवस्थामा जोखिम देखिएको अवस्थामा तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने जनमानसलाई तुरुन्तातुरुन्ती खबर गरी उद्धार गर्न सक्ने गरी तयारी हुनुपर्छ । त्यसबाहेक उद्धारका लागि एउटा छुट्टै अवधारणा लागू गर्न आवश्यक देखिन्छ ।
तीन तहबीच समन्वय
कोभिड व्यवस्थापन तथा अन्य अनुभवले बताउँछ कि स्थानीय सरकार र सरोकारवाला नै विपद् उद्धारको पहिलो उद्धारकर्ता हो । उद्धारको मूल मर्मलाई हेरेर विपद्सम्बन्धी सबै सरोकारवालाले बुझ्नुपर्ने कुरा के हो भने स्थानीय सरकारलाई उद्धारको प्राथमिक प्रविधि उपकरण र अन्य व्यवस्थापनका कुराबाट सुविधासम्पन्न बनाउनुपर्छ । त्यसकारण यो पूर्वतयारीको पहिलो खाका स्थानीय सरकारसँगबाट सुरु हुनुपर्छ । स्थानीय सरकारले आफ्नो सम्पूर्ण क्षेत्रको जोखिम पहिचान गरी तत्तत् स्थानमा हुन सक्ने सम्भावित खतरा तथा त्यसको क्षतिको आँकलन गर्दै सुरक्षा दस्ता, प्रविधि, उपकरण तथा दक्षता प्राप्त जनशक्ति तयार पार्नुपर्छ । स्थानीय सरकारले प्राथमिक रूपमा उद्धार गर्न सकेमा मात्रै पनि धेरै मानिसको जीवन तथा धनको क्षतिलाई रोक्न सकिनेछ । अलिक जटिल तथा थप प्राविधिक सहयोगका लागि प्रदेश तथा सङ्घसँग समन्वय आवश्यक छ ।
विपद् आउनुभन्दा पहिले त्यसको व्यवस्थापनमा तयारी गरियो भने क्षति कम हुन्छ । पछिल्लो अनुभवले के पनि देखाएको छ भने कतिपय विकासे आयोजना जहाँ धेरै कामदार काम गरिरहेका हुन्छन्, त्यस्ता स्थानमा पनि ठूलो क्षति एकैपटक हुने गरेको देखिएको छ । जलविद्युत् निर्माण, सडक निर्माण तथा पुल निर्माण स्थालबाट थुप्रै क्षति भएको तथ्याङ्क भेटिएको छ । तत्तत् स्थानको पूर्वसूचना कसरी पाउन सकिन्छ र त्यसको जानकारी काम गरिरहेका कर्मचारीसम्म पु¥याउन सकिन्छ, त्यसको कार्ययोजना हुनुपर्छ ।
(लेखक वातावरणविद् हुनुहुन्छ ।)