logo
२०८१ बैशाख ७ शुक्रवार



उजिरसिंहको ऊर्जामय पुरुषार्थ

विचार/दृष्टिकोण |




प्रा.डा. दिनबहादुर थापा

बाघको छालामा स्यालको रजाइँ’ कसले, किन भनेको होला ? पृथ्वीनारायण शाहले ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको पूmलबारी हो, सबैलाई चेतना भया’ कुन प्रसङ्गमा किन भने होलान ? माधवप्रसाद घिमिरेले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ कविता किन लेखे ? नेपालको एकीकरण, संरक्षण र संवद्र्धनमा को कसले के कति योगदान पु-याए ? पूर्वजले त्याग नगरेको भए नेपालको अवस्था के हुन्थ्यो होला ? यी सबै प्रश्नको उत्तर इतिहासको अध्ययन गरेर मात्रै अनुमान गर्न सकिन्छ । आफूले सिन्को नभाँचे पनि हामी पुर्खाको पौरखमा निर्मित स्वतन्त्र तथा सार्वभौम देशमा रमाइरहेका छौँ । नेताहरू आफँै दाबी गर्छन् ‘मैले देशका लागि ठूलो बलिदानी गरेको छु ।’ दाबीले होइन इतिहासले उनीहरूको मूल्याङ्कन गर्नेछ, जसरी अहिले इतिहासका घटना, पात्र र प्रवृत्तिको मूल्याङ्कन गरिरहेका छौँ ।
पृथ्वीनारायण शाहदेखि रणबहादुर शाहको समयसम्म नेपाल एकीकरणको अभियान र राष्ट्र बचाउन अङ्ग्रेजसँगको युद्धमा हजारौँ नेपालीले बलिदानी गरे । सबैले राज्यका तर्फबाट शहीद र विभूतिको सम्मान पाएका छैनन् । विभिन्न प्रयोजनका लागि परदेशी र स्वदेशी भूमिमा लाखौँले रगत बगाए । कुन प्रयोजनका लागि अझै विषय स्पष्ट भएको छैन । देशका लागि त्याग गरेका तर देशले चिन्न नसकेका व्यक्तिहरू पनि यो मुलुकमा छन् । राष्ट्रसेवी व्यक्तित्वको खोजी गर्नु हामी सबैको कर्तव्य हो । नेपालको अस्तित्व रक्षामा उल्लेखनीय योगदान पु-याउने व्यक्तिमध्येका एक पुरुषार्थी हुन् कर्णेल उजिरसिंह थापा । उनको पुरुषार्थ र पौरखलले नेपाली समाजलाई प्रेरित गरेको छ र गरिरहनेछ ।
रणबहादुर शाहको समयमा बलपूर्वक नसकी छलपूर्ण तरिकाले भए पनि पाल्पा राज्य (१८६१) लाई नेपालमा विलय गराइयो तर पाल्पा राज्यअन्तर्गत पर्ने बुटवल र स्युराजलाई अङ्ग्रेजले पनि आफ्नो हो भनी दाबी ग-योे । यही विषयमा नेपाल र अङ्ग्रेजबीच युद्ध (विसं. १८७१–७२) भयो । अङ्ग्रेजको चाहना पाल्पालाई कब्जा गरी पश्चिम नेपाललाई राजधानीबाट विच्छेद गर्ने र तराईको कृषियोग्य भूमि कब्जामा लिने थियो । उसको भित्री मनसाय आफ्नो व्यापारिक मार्ग बुटवल–पाल्पा–काठमाडौँ हुँदै चीनसम्म कब्जा जमाउने लक्ष्य थियो ।
नेपाल एकीकरणको कार्य पूरा भइनसक्दै नेपालको बुटवल र स्युराज क्षेत्रलाई अङ्ग्रेजले आफ्नो हो भनी दाबी गर्न थालेपछि अङ्ग्रेजसँग युद्ध गर्नुपर्ने नै भयो । यो विवाद कूटनीतिक तवरले समाधान हुने सम्भावना नरहेपछि दुवै सरकारले युद्धको तयारी गर्न थाले । अङ्ग्रेजले अक्टर लोहनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा बुटवल हुँदै पाल्पा कब्जा गर्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर क्षेत्र कब्जा गर्ने योजना बनायो ।
आधुनिक हातहतियारले सुसज्जित अङ्ग्रेजको फौजसँग लड्न नेपालका तर्फबाट तराई प्रदेश वा विजयपुर क्षेत्रको सुरक्षार्थ काजी बख्तावरसिंह थापाको नेतृत्वमा दुई हजार सेना र मकवानपुर क्षेत्रको सुरक्षार्थ कर्णेल रणवीरसिंह थापाको नेतृत्वमा चार हजार फौज खटाइयो । पाल्पा क्षेत्रको सुरक्षार्थ कर्णेल उजिरसिंह थापाको नेतृत्वमा तीन हजार फौज खटाइयो । सुदूरपश्चिमको सुरक्षार्थ तीन हजार फौजसहित बडाकाजी अमरसिंह थापाको नेतृत्वमा बलभद्र कुँवर, बम शाह, रणजोर थापा र भक्ति थापालाई खटाइयो ।
उजिरसिंहको फौजसँग एउटा मात्र तोप, केही बन्दुक र स्थानीय हतियारहरू मात्र थिए । उता अङ्ग्रेजसँग करिब चार हजारको फौज आधुनिक हातहतियारले सुसजित थिए । नेपालका प्रमुख किल्ला वा गढीहरू नालापानी, मलाउँ, काँगडा, जैथक, मकवानपुर, विजयपुर, बुटवलको जितगढीलगायतका धेरै स्थानमा घमासान युद्ध भयो । दुःखको कुरा पूर्ण तयारीका साथ आएका अङ्ग्रेजसँग नेपाली फौजले वीरतापूर्वक लड्दालड्दै पनि पूर्वका केही किल्ला र पाल्पा–बुटवल क्षेत्रबाहेक पश्चिमका धेरै ठाउँमा पराजित हुनुप¥यो ।
अङ्ग्रेजले कब्जा जमाएको देउथल किल्लामा प्रत्याक्रमण गर्दै गर्दा सरदार भक्ति थापा (वि.सं. १८७२) ले वीरगति प्राप्त गरे । नालापानीमा उनै अमरसिंह थापाका नाति (छोरीका छोरा) बलभद्र कुँवर लडिरहेका थिए । बलभद्रले बलले जितेको क्षेत्र अङ्ग्रेजको छल (पानीको नाकाबन्दी) नीतिले गर्दा उनी पनि हार्नु प-यो । उता बम शाहले महाकाली शारदा नदी पश्चिम सतलजको भूभाग पनि अङ्ग्रेजलाई बुझाइ सन्धि गरे रे भन्ने हल्ला चल्यो । अमरसिंह थापा चारैतिरबाट शत्रुहरूको घेराबन्दीमा परिसकेका थिए । उनी अझै एक पटक अङ्ग्रेजसँग लडाइँ गरी बलिदानी गर्नुपरे पनि पछाडि हट्नु हुँदैन भन्ने सोचमै थिए ।
आन्तरिक किचलोका कारण केन्द्र सरकारबाट पनि राम्रो सहयोग हुनसकेन । पाल्पाबाहेक अन्य मोर्चामा नेपालले हार्दै जाँदा १५ मई १८१५ मा अमरसिंह थापा र अक्टर लोहनीबीच मलाऊँ सन्धि गरियो । पछि नेपालको प्रतिनिधित्व गर्दै गजराज मिश्र र अङ्ग्रेजका तर्फबाट ब्राडसाका बीच २८ नोभेम्बर १८१५ का दिन सुगौलीमा दुई पक्षीय सन्धि सम्पन्न गरियो । पहिलो सुगौली सन्धि नेपाल सरकारबाट अनुमोदन नहुँदै २ डिसेम्बर १८१५ मा ब्राडसाले एकपक्षीय संशोधन गरी सुगौलीमा हस्ताक्षर गरे भने ९ डिसेम्बरमा बङ्गालमा रहेका गभरनर जनरलले हस्ताक्षर गरे ।
बालचन्द्र शर्मा (२०३३) का अनुसार नेपालका तर्फबाट चन्द्रशेखर उपाध्यायले ४ मार्च १८१६ का दिन मकवानपुर भ्यालीमा उक्त सन्धिपत्र बुझी आफ्नै छोरा उमानाथ हस्ते नेपाल सरकारलाई बुझाएका थिए भनिन्छ । यही सन्धि नेपालको इतिहासमा सुगौली सन्धिका नामले चिनिन्छ । मलाऊँ सन्धि र पछि भएका सुगौली सन्धिका आधारमा नेपाललाई संयुक्त राष्ट्रसङ्घको सदस्यता पाउन सहज भएको थियो पनि भनिन्छ ।
नेपाल एकीकरणपछि पाल्पा ‘गौँडा’ सबैभन्दा संवेदनशील र सामरिक महìवको क्षेत्र मानिन्थ्यो । यही संवेदनशीलतालाई विचार गरी भीमसेन थापाले पहिले आफ्नै बाबु अमरसिंह थापा (१८६१) लाई जनरल बनाइ पाल्पा पठाए । उनको पाल्पामै मृत्यु (१८७१) भएपछि भीमसेनका विश्वास पात्र भतिज अर्थात् नयनसिंहका छोरा उजिरसिंह थापालाई उक्त क्षेत्रको जङ्गी र निजामती कामकाजको जिम्मेवारीसहित तैनाथवालका रूपमा पाल्पा पठाइयो ।
उजिरसिंह थापा १९ वर्षको उमेरमा कर्णेल भई पाल्पा आए । त्यहाँ आएपछि उनले थुप्रै रचनात्मक काम गरे । आन्तरिक र वैरीसँगको मुकाबिला गर्न सैनिक शक्तिको राम्रो प्रबन्ध मिलाउनु पर्ने थियो । ठाउँठाउँका गौँडा र गढीहरूमा सैनिक प्रबन्ध मिलाउनुका साथै चुस्त प्रशासनिक व्यवस्था र शान्ति सुरक्षा मिलाउनुपर्ने अवस्था थियो । पहिले उनले पाल्पा गौँडाबाट जङ्गी, निजामती र न्याय सम्पादन कार्यको राम्रो प्रबन्ध मिलाए । उजिरसिंहले पाल्पामा राजस्व सङ्कलन गर्न तहसिल अड्डा र जङ्गी बन्दोबस्तीका लागि सिलखान, बारुदखान, मेगजिन, तोपखाना, हात्तीसार, घोडा तबेला आदि अड्डाहरू स्थापना गरे । न्याय सम्पादन गर्न वि.सं. १८७९ मा छ परिच्छेदको ‘जङ्गी तथा निजामती स्थिति बन्देज’ नामको एकीकृत ऐनको संहिता मस्यौदा तयार गरे । यसैका आधारमा विसं. १९१० मा नेपालको पहिलो मुलुकी ऐन बनेको थियो भनिन्छ ।
अङ्ग्रेजसँगको युद्धमा सबैभन्दा महìवपूर्ण कठिन किल्ला पाल्पा गौँडाअन्तर्गत पर्ने बुटवल बजारको पश्चिमपट्टि बग्ने तिनाउ नदीको किनारमा अवस्थित जितगढी नै थियो । यो गढी तत्कालीन पहाडको टाकुरामा निर्माण गर्ने प्रचलन विपरीत होंचो र पहाडको खोंचमा थियो । यही गढीमा भएको दुवै युद्धमा अङ्ग्रेजको फौज नराम्रोसँग हार्नु वा हार खानु प-यो । यो युद्धमा दुवैतर्फ ठूलो क्षति भए पनि नेपालका लागि पाल्पा–बुटवल क्षेत्र जित्नु ठूलो उपलब्धि थियो । युद्धका केही मोर्चा हारे पनि नेपाल हार्नु परेन । नेपाली फौज अङ्ग्रेजसमक्ष आत्मसमर्पण गर्नु परेन ।
उजिरसिंह थापाको राष्ट्रका निम्ति सबैभन्दा ठूलो योगदान नै अङ्ग्रेजलाई युद्धमा हराउनु थियो । यदि उनले अङ्ग्रेजलाई हराउन नसकेको भए सायद नेपालको इतिहास कुन दिशामा मोडिने थियो कसैले परिकल्पना गर्न सक्दैन । तसर्थ नेपालको इतिहासमा जितगढीको युद्ध सबैभन्दा महìवपूर्ण र अविस्मरणीय मानिन्छ । कमजोर हातहतियार र कम सैन्य शक्ति हुँदाहुँदै पनि पाँच महिनासम्मको लामो युद्धमा नेपाली फौजले अङ्ग्रेजलाई पटक पटक नराम्रोसँग पराजित गर्नुमा यिनै उजिरसिंह थापाको बौद्धिक युद्धकला र साहसी नेतृत्व क्षमता नै थियो ।
अङ्ग्रेजसँग जितगढीमै भीषण युद्ध वि.सं. १८७१ र १८७२ मा दुई पटक भयो । दुवै युद्धमा दुवैतर्फ ठूलो जनधनको क्षति भए पनि अङ्ग्रेजहरू परास्त भए । यो युद्धको नेतृत्व नेपालका तर्फबाट कर्णेल उजिरसिंह र अङ्ग्रेजका तर्फबाट जोन सुलेभान उडले गरेका थिए । अङ्ग्रेजसँग हाक्काहाक्की लड्ने काम भक्ति थापा, बलभद्र कुँवर र अमरसिंह थापाहरूले गरे पनि युद्धकलाबाटै अङ्ग्रेजको होस् उडाउन र मातृभूमिको रक्षा गर्न यिनै उजिरसिंह थापा मात्र सफल भएका थिए ।
जितगढीदेखि करिब सात किलो मिटरमाथि डाँडामा नुवाकोट गढी र करिब आठ किलोमिटर टाढा अर्को काठे गढी थिए । जितगढी पहाड र मधेसलाई जोड्ने मुख्य नाका नै थियो । यी दुवै गढी उजिरसिंह थापाले निर्माण गर्न लगाएका थिए । यिनै गढीहरूमा उनले आफ्ना तीन हजार फौजलाई वितरण गरी बलले मात्र नभई छलको कुटनीतिसमेत प्रयोग गरी युद्ध जित्न सफल भए । उनको युद्धनीति अरूको भन्दा फरक थियो । उनले आफ्ना सेनाहरूलाई पहाडको खोंच र कन्दरामा राखी अग्लो ठाउँबाट होंचो ठाउँमा प्रकृतिको सहयोग लिई घरेलु हतियार प्रहार गर्ने रणनीति अपनाएका थिए । उनी युद्धलाई जसरी हुन्छ लम्ब्याएर दीर्घकालीन जनयुद्ध बनाउन चाहन्थे ।
उजिरसिंहको यो छापामार युद्धकौशलबाट हार खाएपछि अङ्ग्रेजहरू सन्धि गर्न बाध्य भएका हुन् । किनकि यो छापामार युद्धकला अन्य क्षेत्रमा पनि फैलिएको भए अङ्ग्रेजलाई यस्तै सकस अन्यत्र पनि पर्नेवाला थियो । यो रणनीति अमरसिंह थापाले पनि बनाइसकेका थिए । दुर्भाग्यवश नेपाल र इष्ट इन्डिया कम्पनी सरकारबीच वि.सं. १८७२ फागुन २३ मा सुगौली सन्धि भयो । यो सन्धिबाट नेपालले धेरै भूभाग गुमाउनु प-यो तर सौभाग्यको कुरा अङ्ग्रेजसँग आत्मसमर्पण गर्न र उसलाई नेपाल बुझाउन परेन । अङ्ग्रेजहरूले जुन क्षेत्र प्राप्तिका निम्ति ठूलो बलिदान गर्नुप¥यो उही बुटवल र स्युराज क्षेत्र नेपालले प्राप्त गर्न सफल भयो । यो उपलब्धि उजिरसिंह थापाको हो ।
उजिरसिंह थापामा धर्मप्रतिको आस्था, संस्कृतिप्रति मोह र राष्ट्रप्रति बफादारी भावना थियो । धर्मप्रतिको आस्थाका कारण अङ्ग्रेजसँगको युद्धमा जाँदा उनले तानसेनकी भगवतीका सामु शक्तिको बरदान माग्दै युद्धमा विजयी भएमा भगवती माताको कलात्मक मन्दिर बनाइ अष्टधातुको मूर्तिसमेत स्थापना गर्ने र प्रत्येक वर्ष भगवतीको सिन्दुर जात्रा गराउने भाकल गरेका थिए । यही भाकलअनुसार युद्ध जितेपछि पाल्पाको तानसेन बजारमा‘रणउजिरेश्वरी भगवती’ को भव्य मन्दिर निर्माण गर्न लगाइ नित्य पूजा र प्रत्येक वर्ष भाद्र कृष्ण जन्माष्ठमीका दिन भगवतीको सिन्दूर जात्रा गर्ने परम्पराको थालनी उनैले गरेका हुन् । यो प्रचलन अद्यापि कायमै छ ।
बडाकाजी अमरसिंह थापालाई बाघका डमरु भनेझै उजिरसिंह थापालाई पनि सिंहको बच्चाभन्दा अतिशयोक्ति हुँदैन । उनैका जिजु हजुरबा वीरभद्र थापा पृथ्वीनारायण शाहका सुयोग्य भारदार हुन् । बाजे काजी अमरसिंह थापा पनि बाकुम गढी युद्ध (पाल्पामा आक्रमण गर्दा) का नायक र पाल्पाका पहिलो प्रशासक (जनरल) हुन् । बुबा नयनसिंह थापाले नेपाल एकीकरणकै अभियानमा पञ्जावका राजा रणजीतसिंहका फौजसँग काँगडाको युद्धमा वीरगति प्राप्त गरेका थिए ।
उनै नयनसिंहका ज्येष्ठ सुपुत्र कर्णेल उजिरसिंह थापा, कान्छा छोरा नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापा, जेठी छोरी जङ्गबहादुर राणाकी आमा गणेशकुमारी र कान्छी छोरी रणबहादुर शाहकी महारानी ललितत्रिपुर सुन्दरी हुन् । उजिरसिंहका बाबु, बाजे, जिजुबाजे र सकल परिवार नै नेपाल एकीकरण अभियानमा समर्पित भए । उनीहरूको पनि राष्ट्रनिर्माणमा कम योगदान छैन ।
देशको अस्तित्व रक्षाका निम्ति जिउज्यानको बाजी लगाएर बल र बुद्धि दुवै उपयोग गरी वैरीसँग लड्ने नेपाल आमाका वीर सपूतहरू मध्येका वीरोत्तम योद्धा कर्णेल उजिरसिंह थापा हुन् । माता रणकुमारीको प्रेरणा, पिता नयनसिंहको सुमार्ग, बाजे अमरसिंह र काका भीमसेन थापाको सही मार्गदर्शनले गर्दा उजिरसिंह र माथवरसिंह दुवै भाइ कुशल प्रशासक, वीर योद्धा र सच्चा देशभक्त महापुरुष बन्ने उत्प्रेरणा प्राप्त गरेका थिए । बुटवल र स्युराज (कपिलवस्तु) उजिरसिंहको पुरुषार्थको पौरख हो भन्दा पनि अतिसयुक्ति हुँदैन । उजिरसिंह थापाको जन्म वि.सं. १८५२ चैत्र कृष्ण प्रतिपदाका दिन भएको थियो । पाल्पामै कामको धपडी र औलो रोगका कारण गम्भीर बिरामी हुँदा उनलाई उपचारका लागि काठमाडौँ लगियो तर दैवको लीला २९ वर्षको कलिलो उमेरमा वि.सं. १८८१ मार्ग १२ (कतै मार्ग २०) मा उनको निधन भयो । उनको मृत्युमा काठमाडौँ महाबौद्धको घर गुरु धनञ्जय आचार्यलाई दान दिइएको लालमोहर अद्यापि सुरक्षित छ (कर्णबहादुर बानिया, २०७०) ।
नेपालको एकीकरण, संरक्षण र संवद्र्धनमा आजसम्म हजारौँले रगत र पसिना बगाएका छन् । यिनीहरूमा उजिरसिंह थापाको बलिदानी अनुपमेय र अविस्मरणीय छ । उनैको पुरुषार्थ र पौरखले गर्दा हामी कसैका सामु शिर झुकाउनु परेको छैन । नेपालले (१८७२ वैशाख सात) अङ्ग्रेजलाई हराउन सफल भएको उपलक्ष्यमा बुटवल उपमहानगरपालिकाले जितगढीमा उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण गरी हरेक वर्ष उक्त स्थानमा विजय उत्सव मनाउन थालेको छ । पाल्पाको तानसेनमा उनैको सालिक बनाइएको छ र हरेक वर्ष सिन्दूर जात्रा गरिन्छ । पुरुषार्थी उजिरको कामको अनुसरण र नामको स्मरणले मात्र पनि नेपाल र नेपाली इतिहास अझै गौरवशाली बन्नेछ । पूर्खाको पौरखलाई संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो ।
जितगढीमा उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण गरेको छ । वर्ष उक्त स्थानमा विजय उत्सव मनाउन थालेको छ त्यसको फोटो पाउन सकिन्छ ।
जितगढीमा उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण गरेको छ । वर्ष उक्त स्थानमा विजय उत्सव मनाउन थालेको छ त्यसको फोटो पाउन सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?