डा. पदमराज कलौनी
देवतासँग विवाह गरी मन्दिर वा अन्य धार्मिक प्रतिष्ठानमा चढाइएकी कन्या कुमारीलाई देउकी वा देउचेली भनिन्छ । देवतासँग विवाह सम्पन्न भएपछि उनीहरू मन्दिरको रेखदेख गर्ने कार्यमा खटाइन्थे । उनीहरूले अनिवार्य रूपमा धार्मिक नृत्य तथा सङ्गीत सिक्नैपथ्र्यो । प्रारम्भिक सामाजिक जीवनमा यस्ता देवदासीलाई उच्च स्थान प्राप्त थियो । देवदासीहरू परम्परागत ब्रह्मचारी हुन्थे ।
देउकी प्रथाको ऐतिहासिक तथ्यलाई केलाउँदा भारतीय राजाहरूबाट चलिआएको देखिन्छ । भारतीय मुगलकालीन राजाहरूले ऐयासी जीवन बिताउन देवदासी राख्ने गरेका थिए । देउकीको सङ्ख्या बढ्दै गएपछि पालन–पोषण गर्न राजाहरूको वशभन्दा बाहिर भएपछि देवदासीलाई सार्वजनिक सम्पत्तिको रूपमा घोषणा गरिएको थियो । कालान्तरमा उनीहरूलाई सम्भोगको अधिकार प्रदान गरियो । त्यसपछि यौनजन्य विकृतिले अनुचित र गलत सामाजिक प्रथालाई जन्म दिएको देखिन्छ । उनीहरूबाट जन्मेका सन्तान आफ्नो जीवन निर्वाह गर्न यौन पेसा अवलम्बन गरेको प्रचलन दक्षिण भारतबाट चलेको अनुमान गरिन्छ । बीसौँ शताब्दीमा देवदासी प्रथामा परिवर्तनका लक्षणहरू देखिए । अङ्ग्रेज र मुसलमानहरूले देउकी प्रथा समाप्त गर्ने कोसिस गरेका थिए ।
प्रख्यात लेखक दुबैइसले ‘हिन्दु मैनर्स, कस्टम्स एन्ड सेरेमनीज’ (ज्ष्लमगक ःबललभचक ऋगकतयmक बलम ऋभचझयलष्भक) पुस्तकमा देवदासीले देवालयमा नाचगान गर्नु पर्दथ्यो भनेर उल्लेख गरेका छन् । विस्तारै उनीहरूले मन्दिरमा आउने विशेष पाहुनासँग शयनकक्षमा मनोरञ्जनको साधन बन्नुपर्ने अवस्था आयो । देवदासीलाई पारिश्रमिक प्रदान गरिन्थ्यो । देवदासी प्रथा भारतको कर्नाटक, आन्द्र प्रदेश, तमिलनाडु, महाराष्ट्र र उडिसामा विद्यमान थियो । देउकी प्रथा भारतमा हजारौँ वर्षदेखि चलिआएको थियो ।
देउकी प्रथाको प्रारम्भ छैटौँ शताब्दीमा भएको मानिन्छ । कुमारी केटीलाई धर्मको नामले ईश्वरसँग विवाह गरी मन्दिरमा दान गरिन्थ्यो । मनोकाङ्क्षा पूरा गराउन भाकल गरी बाबुआमाले नै कुमारी छोरीलाई मन्दिर चढाउने गर्दथे । उनीहरूले जीवनभर देवतालाई लोग्ने स्वीकार गरी बस्नु पर्दथ्यो । मत्स्य पुराण, विष्णु पुराण र कौटिल्यको अर्थशास्त्रमा पनि देवदासी प्रथाको उल्लेख पाइन्छ । देवदासी (क्भचखबलत या न्यम) मन्दिरको रेखदेख, पूजापाठको तयारी, मन्दिरमा नृत्य गर्ने आदि कार्यमा खटिन्थे । महाकवि कालिदासको ‘मेघदूतम्’ मा पनि मन्दिरमा नृत्य गर्ने महिला आजीवन कुमारी हुनुपथ्र्यो भनेर उल्लेख गरेका छन् ।
नेपालमा देउकी प्रथा कहिलेदेखि प्रारम्भ भएको थियो भन्ने सन्दर्भमा जुम्लाका मल्ल वंशज नागी मल्लले कत्युरी राज्यलाई आफ्नो राज्यमा गाभेपछि देउकी प्रथा चलेको अनुमान गरिन्छ । प्राडा. सूर्यमणि अधिकारीले बाइसे राज्यको इतिहासमा राजा नाग मल्लले डोटीमा देवदासी चढाएपछि देउकी प्रथा चलेको भनेका छन् । स्थानीय जनविश्वासअनुसार भागेश्वर देवता र नागी मल्लका बीचमा भएको विवादपश्चात् नागी मल्ललाई भागेश्वरले शक्ति देखाएर देउकी चढाउनु परेको प्रसङ्ग छ । भागेश्वरले शक्ति देखाएर नागी मल्ललाई आजित एवं परास्त गरेपछि उनले भागेश्वरलाई शक्तिशाली मान्न बाध्य भएका थिए । भागेश्वरले चमत्कारिक वर्षा गराएको, नागी मल्लको लगाएको कोट हावाको माध्यमले उडाउन खोजेको, उनकी रानीहरू मुर्छा पारेको घटना घटेपछि उनले पराजय स्वीकार गरेका थिए । स्थानीय जनताले नागी मल्ललाई भागेश्वरको प्रभावबाट मुक्त हुन भागेश्वर देवतालाई देउकी चढाउने भाकल गराएको जनश्रुति छ ।
देवदासी प्रथालाई प्राचीन हिन्दु वैदिक शास्त्रअनुसार सात वर्गमा विभाजित गरिएको पाइन्छ :
१. दत्ता (म्गततब)ः जसले आफूलाई मन्दिरमा स्वतः भक्तिपूर्वक अर्पित गर्दथे । त्यस्ता दासीलाई दत्ता भनिन्थ्यो । उनीहरूलाई देवीको दर्जा दिइन्थ्यो । उनीहरूले मन्दिरका मुख्य काम गर्न अनुमति दिइएको हुन्थ्यो ।
२. बिक्रेता (त्जभ क्भििभच)ः जसले आफूलाई सेवाका लागि मन्दिर प्रशासनलाई बेचिदिन्थे । बिक्रेताले मन्दिरमा सेवाको कार्य गर्दथे । मन्दिरको सरसफाइ गर्नु पर्दथ्यो । उनीहरू मन्दिरका श्रमिकको रूपमा कार्य गर्दथे ।
३. भृत्या (क्भचखबलतक)ः जसले परिवारको भरणपोषणका लागि आफुलाई मन्दिरमा दासी बनाउँथे । भृत्याको कार्य मन्दिरमा नृत्य गरेर पालनपोषण गर्नु पर्दथ्यो ।
४. भक्ता (म्भखयतभभ)ः जसले सेवा भावले पारिवारिक जिम्मेवारी बहन गर्ने सिलसिलामा मन्दिरमा देवदासीको रूपमा स्वविवेकले सुम्पन्थे, तिनीहरूलाई भक्ता भनिन्थ्यो । उनीहरूलाई मन्दिरका सबैजसो कामकाज गर्न अधिकार दिइएको थियो ।
५. हृता (ज्भबचत)ः दोस्रो राज्यबाट हरण गरिएका महिलालाई मन्दिरमा दान दिइने प्रचलन थियो । मन्दिरको प्रशासनले आफ्नो सुविधाअनुसार काममा लगाउँथे । यिनीहरू देवदासीभन्दा पनि दासको हैसियतमा थिए ।
६. अलङ्कारा (ब्बिलपबच)ः राजा र समाजमा प्रभावशाली मानिसले योग्य कन्यालाई मन्दिरमा देवदासी बनाउथे । अलङ्काराहरू राजा र प्रभावशाली व्यक्तिले मन्दिरमा चढाएको उपहारको रूपमा मानिन्थे ।
७. नागरी (ऋष्खष्)िः यिनीहरू मुख्यतः विधवा, वेश्या र चारित्रिक रूपमा दोषी भएका हुन्थे । अन्यत्र गुजारा गर्न नसकेर मन्दिरको शरणमा आउँथे । यस किसिमका महिलालाई मन्दिरमा भोजन र आश्रयको व्यवस्था गरिएको हुन्थ्यो । मन्दिर प्रशासनले भोजन र आश्रय दिएको बदलामा काम गराउँथे ।
प्रायः दत्ता, भक्ता र अलङ्कारा मन्दिरका देवदासी थिए । नागरी, हृता, विक्रेता र भृत्या आफ्नो स्वार्थका लागि मन्दिरसँग जोडिएका महिला हुन्थे । देवदासीलाई श्रद्धा र भक्तिपूर्वक सम्मान गरिन्थ्यो । मुख्य देवदासी (दत्ता, भक्ता, अलङ्कारा) लाई खान लगाउन कमी हँुदैनथ्यो । उनीहरूले गलत कर्म गर्नुपर्ने अवस्था थिएन । तर अन्य देवदासीले जीवनयापन गर्न अन्य कर्म पनि गर्नु बाध्यता थियो । विस्तारै देवतालाई चढाइएकी देवदासी वेश्यावृत्तिका लागि प्रयोग गरिन थालिए । कालान्तरमा सबै देवदासी यौन शोषणका सिकार हुँदै गए । मन्दिर व्यवस्थापनमा रहेका शक्तिशाली मानिसले देवचेलीको यौनशोषण गर्न थालेका थिए । मन्दिर व्यवस्थापनले तोकेको पारिश्रमिकबाट गुजारा नभएपछि कैयौँ देवदासी यौन पेसामा संलग्न भएका देखिन्छन् । कौटिल्यको अर्थशास्त्रमा उल्लेख भएअनुसार हृता देवदासीको प्रयोग राजाहरूले अर्को राज्यका राजाको हत्याका लागि प्रयोग गरेका थिए । यस्ता कन्याहरू ‘विषकन्या’ पनि भनिन्थे । मुगलकालमा अधिकांश मानिसले आफ्नी कन्यालाई मन्दिरमा दान गर्न थालेका थिए । विस्तारै यिनीहरूको सङ्ख्या बढ्दा पालन–पोषणमा समस्या उत्पन्न भएपछि सार्वजनिक सम्पत्ति बनाइयो (प्रमुख ३ लाई छोडेर) र उनीहरूलाई आफ्नो पालन–पोषण गर्न बाध्यतावश वेश्यावृत्ति गर्नु परेका दृष्टान्तहरू पाइन्छन् ।
पश्चिम नेपालका भीमदत्त पन्तले देउकी प्रथा उन्मूलन गर्न देउकीलाई नै सङ्गठित गरेका थिए । देउकी प्रथालाई हिन्दु धर्मसँग जोडेर सामन्तहरूले देवीलाई प्रशन्न गर्ने बहाना धर्म र आस्थाको नामले महिलाको जीवनमाथि खेलवाड गरिएका थिए । सामाजिक–पारिवारिक दबाबका कारण महिलालाई धार्मिक कुरीतिको हिस्सा बनाएको थियो । देवदासी/देउकी/ देवचेली प्रथाअन्तर्गत कथित माथिल्लो (अछूत जातका होइनन्) जातकी कन्याकुमारी मन्दिरमा समर्पित गर्थे । मन्दिरमा चढाएकी महिलासँग पुजारी एवं अन्य धार्मिक मानिसले शारीरिक सम्बन्ध राखेमा भगवान्सँग सम्पर्क स्थापित भएको अर्थमा लिइन्थ्यो । समयक्रमसँगै देउकीको जीवनमाथि समाजका सामन्त, जमिनदार, भद्रभलादमी, ठूलाठालुको अधिकार स्थापित हुँदै गयो । देउकीसँगको सहवास वा यौनसम्पर्कले सामाजिक स्वीकार्यता पाइसकेको थियो । त्यसैले यो प्रथा हटाउन उति सजिलो थिएन । भीमदत्त पन्तले महाकाली र सेतीका झण्डै चार सय देउकीहरूलाई सङ्गठित गरी
‘महिला मुक्ति मोर्चा’ गठन गरेका थिए । उनीहरूलाई आवासीय सुविधा दिएर डडेल्धुरामा तालिम गराएर तिनीहरूमध्ये आधालाई सेनामा भर्ना गरेका थिए । उनले समाजमा अवहेलित भएका महिलालाई सामाजिक क्रान्तिमा सहभागी गराएका थिए । महिलालाई शारीरिक तथा प्राकृतिक रूपमा दुर्वल हुन्छन् भन्ने समाजमा देउकी लक्षित महिला मुक्ति मोर्चाको गठन र परिचालन चानचुने विद्रोह थिएन । महिलाहरू प्रजनन, बालबालिकाको पालनपोषण, घर गृहस्थीजन्य काममा सीमित थिए । घाँसपात, मेलापात, भान्सा आदिमा सीमित थिए । आमजनताले राजनीतिमा सहभागिता जनाउनु भनेको सामाजिक अपराध मानिन्थ्यो । भीमदत्त पन्तले सामाजिक बहिष्करणमा परेका देउकीहरूलाई सङ्गठित गरी महिला मुक्ति मोर्चाको स्थापना गरी धार्मिक, राजनीतिक र सामाजिक क्षेत्रमा सुधारको प्रयास गरेका थिए ।
यस्तो विद्रोह सञ्चालन गर्ने वित्तिकै तत्कालीन सरकारले पन्तलाई भारतबाट अवैध हातहतियार भिœयाएर युद्ध गर्दैछ भन्ने त्रास फैलाएको थियो । स्थानीय ठालु, सामन्त, जमिनदार, धार्मिक नेताहरू भाग्न थालेका थिए । विद्रोहमा सामाजिक रूपले उपेक्षित देउकीलाई महिला मुक्ति मोर्चामा आबद्ध गरेर सैनिक तालिम दिन थालेपछि झन् त्रास फैलिएको थियो । सरकारले विद्रोह दबाउन नसक्ने आकलन गरी भारत सरकारसँग सैनिक सहयोग मागेर विद्रोह दबाउन खोजेको थियो ।
भीमदत्त पन्त साध्यसँगै साधनको क्रान्तिमा विश्वास राख्दथे । उनले राजनीतिक र सामाजिक आन्दोलनमार्फत पुरुषसरह महिलालाई अधिकार दिलाउन खोजेका थिए । बन्धनमा रहेका महिलालाई सैन्य दस्ताको रूपमा परेड खेलाउनु चानचुने कुरा थिएन । ‘अधिकार मागेर होइन, खोसेर लिनुपर्छ’ भन्दै राजनीतिक सत्ता, सम्पत्ति, समाज, संस्कृति र धर्मको नामले नारकीय जीवन जीउन बाध्य महिलालाई बन्धनमुक्त गरेका थिए । उनी पश्चिम नेपालमा किसानप्रेमी नेताको रूपमा पनि चिनिन्थे । साउन १७ गते डडेल्धुराको लुलानमा नेपाली सेना र भारतीय सेनाको घेरामा परेर उनको शिर काटिएको थियो । यसरी भीमदत्त पन्तको हत्या भएबाट स्वाभीमानी महिला आन्दोलन निष्कर्षमा नपुग्दै धरासाही भएको थियो ।
भीमदत्त पन्तले महिला मुक्ति मोर्चाको माध्यमले देउकीले भोगिरहेका यौन उत्पीडनबाट मुक्ति, विवाहको अधिकार, देउकी प्रथाको अन्त्य, अन्य महिलासरह गृहस्थाश्रमको अधिकार, महिला बेचबिखनको अन्त्य, महिलालाई सामाजिक, आर्थिक र धार्मिक प्रतिनिधित्वको समान अधिकार, सङ्गठित हुने अधिकार, महिला सुरक्षाको ग्यारेन्टी आदि विद्रोहमार्फत स्थापित गर्न खोजेका थिए । मानव अधिकारको उल्लङ्घन गर्ने प्रथालाई हटाउनुपर्छ भनेर उनले सञ्चालन गरेको सामाजिक सुधारको आन्दोलनले परिणाम दिन नपाउँदै उनैको टाउको काटिनुले विद्रोह असफल भएको थियो । देउकीका सामाजिक हकअधिकार र सुरक्षाका विषय अलपत्र परेका थिए । युद्धमा होमिएका देउकीलाई सामाजिक रूपमा स्थापित हुन धेरै समयसम्म असहज भएको थियो । केही टाठाबाठा भने भारत पलायन भएका थिए । महिला मुक्ति आन्दोलनले एकता नै शक्ति हो भन्ने पाठ सिकाएको थियो ।