logo
२०८१ मंसिर ११ मंगलवार



कोभिड–१९ महामारीबीच प्रतिजैविक सहनशीलता

विचार/दृष्टिकोण |




डा. केदार कार्की


सामाजिक एवं स्वास्थ्य सेवा क्षेत्रमा एन्टिबायोटिकले अद्वितीय भूमिका निर्वाह गरेको छ । एन्टिबायोटिकले लाखौँ मानिसको ज्यान बचाएको छ । बर्षौंदेखि एन्टिबायोटिकको प्रयोग रोगको उपचार एवं रोकथामका लागि प्रयोग हुँदै आएको छ । सन् १९५० देखि १९७० सम्मलाई नवीन एन्टिबायोटिक पत्ता लगाउने स्वर्णिमकाल मानिन्छ । आधुनिक एन्टिबायोटिकको सुरुवातसँगै अलेक्जेन्डर फ्लेमिङ एवं पाउल रहरलिज जोडिएका छन्, जसले पेन्सिलिन नामक एन्टिबायोटिकको आविष्कार गरेका थिए । फ्लेमिङ पहिलो व्यक्ति थिए, जसले पेन्सिलिनको प्रयोग सिफारिस गरिएको मात्राभन्दा कम भएमा पेन्सिलिनविरुद्ध जीवाणुहरूको सहनशीलता विकास हुने हुँदा सतर्क गराएका थिए । एन्टिबायोटिकको गैरजिम्मेवारपूर्ण प्रयोगले प्रशस्त मात्रामा प्रतिजैविक सहनशीलता जीवाणु विकसित हुन उल्लेखनीय योगदान गरेको छ । यद्यपि रोगविरुद्ध लड्ने तौरतरिकामा वर्तमान उपलब्ध प्रतिजैविकमा केही परिवर्तन गरी उत्पत्ति एवं पूर्णउत्पत्ति रोग सूक्ष्म जीवाणुको सहनशीलताविरुद्धमा केन्द्रित भएको छ । प्रतिजैविकको औचित्यहीन प्रयोग सहनशील जीवाणु उत्पन्न हुनुलाई जिम्मेवार मानिएको छ । प्रतिजैविक सहनशील जीवाणुको उपभेद सङ्क्रमणको उपचार गर्न प्रतिजैविकहरूको उपादेयता सीमान्तकृत भएको छ ।

कोभिड–१९ को महामारी सुरु भएसँगै अस्पतालहरूमा एन्टिबायोटिकको ‘प्रेस्क्रिप्सन’ बढेर गएको छ । साथै चिकित्सकीय सल्लाहबिना नै आफूखुसी जनसमुदायले स्वास्थ्य प्रतिकूलतामा एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति बढेर गएको देखिन्छ । यसको ज्वलन्त उदाहरणका रूपमा सामाजिक सञ्जालमा स्वनामधन्य विशेषज्ञले दिएको सल्लाहले पुष्टि गर्दछ । अध्ययनअनुसार अस्पतालमा भर्ना भएका आठ प्रतिशत बिरामीलाई मात्र एन्टिबायोटिकको आवश्यकता देखिएको भए पनि ७० प्रतिशतभन्दा बढीले एन्टिबायोटिक लिइरहेको अनुमान गरिएको छ । धेरै मानिसले कोभिड–१९ को बढ्दो लहरसँगै चिकित्सकलाई नसोधी आफूखुसी एन्टिबायोटिक सेवन गर्दछन् । यसले एन्टिबायोटिक प्रतिरोधको विश्वव्यापी सङ्कटलाई थप तीव्र बनाउने जोखिम बढेर गएको देखिन्छ । हामीले अन्तर्राष्ट्रिय नीति, राष्ट्रिय कानुन एवं स्थानीय कदमको सहयोगमा यो चुनौतीको सामना गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले एन्टिबायोटिक प्रतिरोधलाई भविष्यमा मानवमाथि आइपर्ने दस प्रमुख स्वास्थ्य सङ्कटमध्ये एक मानेको छ । एन्टिबायोटिकले ब्याक्टेरियाले गराउने सङ्क्रमणलाई निको पार्छ तर कोभिड–१९ गराउने भाइरसलाई यसले खासै छुदैन । यसको अनावश्यक अति प्रयोग वा न्यून प्रयोगले ब्याक्टेरियामा एन्टिबायोटिकविरुद्ध प्रतिरोध शक्तिको विकास हुन्छ । त्यसपछि सामान्य रोगको उपचार पनि कठिन हुन्छ ।

निमोनिया तथा पिसाब नलीको सङ्क्रमणजस्ता सामान्य सङ्क्रमण पनि प्राणघातक हुनसक्छन्, जुन आजको दिनमा यी रोगमा सामान्य एन्टिबायोटिकको प्रयोगले छिटो निको हुने गरेको छ । कमजोर स्वास्थ्य सेवा प्रवाह प्रणाली भएका एवं एन्टिबायोटिक बिक्रीमा कुनै नियन्त्रण नभएको अफ्रिकी, दक्षिण अमेरिकी एवं एसियाली मुलुकमा यसको विकराल रूप हुने सम्भावना देखिएको छ । हाम्रो आफ्नो परिवेशमा एन्टिबायोटिकको बिक्री मानवीय प्रयोजनका लागि होस् वा पशुपन्छीको उपचार प्रयोजनका लागि होस्, एन्टिबायोटिकको प्रयोग पछिल्ला केही वर्षयता अत्यधिक दरले बढेर गएको देखिन्छ । चिकित्सक, पशुचिकित्सकको आधिकारिक सिफारिसबिना नै औषधि पसलबाट एन्टिबायोटिकको बिक्री झनै बढ्दो छ । अफ्रिकी, उत्तर अमेरिकी एवं एसियाका विकासशील देशहरूमा सबै प्रकारका एन्टिबायोटिक औषधि चिकित्सक, पशुचिकित्सकको सिफारिसबिना नै किन्न पाइन्छ ।

एन्टिबायोटिकविरुद्ध प्रतिरोध क्षमता विकास गरेका ब्याक्टेरियाबाट हुने रोगको उपचार निकै गाह्रो हुने गर्दछ । तिनले गैरप्रतिरोधी ब्याक्टेरियाले गराउने सङ्क्रमणभन्दा तीन गुणा बढी मानिएकोले ज्यान पनि लिन सक्छ । चीन र इजिप्टलगायत कैयौँ देशका अस्पतालका सीसीयूमा हुने ५० प्रतिशत ब्याक्टेरियासम्बन्धी सङ्क्रमणविरुद्ध धेरै खाले एन्टिबायोटिक निष्प्रभावी भएको अभिलेख पाइन्छ । अमेरिकामा प्रत्येक वर्ष करिब ३० लाख मानिसलाई एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको तथ्य बाहिर आएको स्थिति छ । एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्न सक्छ । त्यसैले यसले समय–समयमा अस्पताल, नर्सिङहोममा प्रकोपको रूप लिने गर्दछ । कोभिड–१९ को उपचारका लागि प्रयोग हुने धेरै उपचार कक्ष अहिले यही समस्यासँग जुधिरहेका छन् । आजको परिस्थितिमा चिकित्सकले विषम खालको ब्याक्टेरियाबाट सङ्क्रमित बिरामीको उपचारमा निकै अप्ठ्यारो भोगिरहेको स्थिति छ । ब्याक्टेरियामा प्रतिरोधको उपचारमा प्रयोग गर्न सकिने पछिल्लो समयमा विकसित औषधि अत्यन्तै महँगा छन् । कारण ती थोरै देशमा उपलब्ध छन् । यस्ता महँगा औषधि अधिकांश बिरामीको पहुँचबाहिर हुने गर्दछन् । कोभिड–१९ को उपचारका लागि ल्याइएको औषधि धेरै बिरामीले रोगको लक्षणअनुसार घरमै एक वा बढी एन्टिबायोटिक प्रयोग गरिसकेको अवस्था छ । यस्ता औषधिको प्रयोगले उनीहरूमा ठीक हुँदै छु भन्ने आत्मबल विकास गराउने हुँदा उनीहरू अस्पतालसम्म पनि ढिलो जाने गर्दछन् तर यसबाट उत्पन्न हुने एन्टिबायोटिक प्रतिरोध उपचार गर्न निकै महँगो पर्छ र ज्यानै पनि जाने सम्भावना बढेर जान्छ ।

सुरुमा विश्व स्वास्थ्य सङ्गठन तथा अन्य विश्वव्यापी निकायहरूले कोभिड–१९ को सन्दर्भमा एन्टिबायोटिक प्रयोग गर्नु नपर्ने कुरा स्पष्ट रूपले बताउनुपर्ने थियो । राष्ट्रिय एवं स्थानीय सरकारले चिकित्सकको आधिकारिक सिफारिसबिना कुनै पनि प्रकारको एन्टिबायोटिक खरिद–बिक्री गर्न नमिल्ने व्यवस्था गर्नुका साथै नियमन पनि गर्नुपर्ने हुन्छ । यस्तो बिक्री–वितरण गर्ने ऐन कानुनमा प्रभावकारी हुनुपर्छ । चिकित्सकको आधिकारिक सिफारिसपत्रबिना एन्टिबायोटिकको बेचबिखन गैरकानुनी हो भन्ने सूचना औषधि पसलमा टाँस गरेर पनि एन्टिबायोटिकको बेचबिखन निर्वाध हुने परम्परा घटाउन सकिन्छ । साथै अस्पतालमा कार्यरत अधिकार प्राप्त चिकित्सकले पनि जुनसुकै कारणले बिरामी परेकालाई एन्टिबायोटिक प्रयोग नगरी निको हुँदैन भन्ने मानसिकता त्यागी अनावश्यक एन्टिबायोटिकको सिफारिस घटाउने रणनीतिअपनाउनुपर्ने हुन्छ ।

प्रभावकारी रणनीतिअन्तर्गत सामान्य सङ्क्रमणको उपचारमा के गर्न सकिन्छ भन्ने स्वास्थ्य उपचार निर्देशिका एवं मपदण्डको विकास गर्ने, भाइरसको सङ्क्रमणमा एन्टिबायोटिकको प्रयोगमा रोक लगाउने, न्यूनीकरण गर्ने, आर्थिक रूपमा कमजोर मुलुकहरूमा प्रयोगशाला सेवा विस्तार क्षमता अभिवृद्धि गराउनेजस्ता कुरामा राज्यको ध्यान जानुपर्ने देखिन्छ । जसका लागि आवश्यक भौतिक पूर्वाधार एवं दक्ष जनशक्तिको व्यवस्थापन तथा आर्थिक स्रोतको सुनिश्चितता गर्नुपर्ने कुरा राज्यको प्राथमिकतामा पर्नुपर्ने हुन्छ, प्रभावकारी जनस्वास्थ्य सार्वजनिक सेवा सर्वसाधारणलाई प्रवाह गर्नका लागि । सुविधासम्पन्न प्रयोगशालाले कुन ब्याक्टेरियाका लागि कुन एन्टिबायोटिकले प्रभावकारी उपचार हुन्छ भन्ने निक्र्योल गर्ने हुँदा उचित एवं सटिक एन्टिबायोटिक सिफारिस गर्न सम्भव बनाउँछ । चिकित्सकलाई पनि एन्टिबायोटिक प्रयोग सम्बन्धमा नियमित पुनर्ताजगी तालिम प्रशिक्षण दिनुपर्ने हुन्छ ।

अहिले कोभिड–१९ को त्रास व्याप्त छ तर यो डरत्रासका कारण अनावश्यक एन्टिबायोटिकको प्रयोग गरेर जनसमुदायको स्वास्थ्यलाई थप जोखिममा पार्न हुँदैन । यदि हामीले एन्टिबायोटिकको प्रयोग न्यूनीकरण गर्न अहिलेबाटै सुरु गरेनौँ भने नयाँ महामारीलाई निम्तो दिएजस्तो हुनेछ । कोभिड–१९ जस्ता महामारीबाट कुनै खोपले पनि हामीलाई बचाउन सक्ने छैन । त्यसैले भनिएको छ कि हिजो बाँचेका थियौँ र पो अहिले छौँ, आज नबाँचे भोलि कसरी बाँचिरहौँला ?

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?