सञ्जय पन्थी
प्रथम विश्वयुद्धको बेला सन् १९१५ मा महात्मा गान्धी आफ्नो २१ वर्षे दक्षिण अफ्रिकाको बसाइ टुङ्ग्याएर भारत फर्किनुभएको थियो । सुरुमा उहाँले ब्रिटिस शासनको विरोध नगरी नागरिकका जन्मसिद्ध अधिकारका लागि जागरण अभियान चलाउनुभयो । त्यसका लागि व्यक्तिगत जीवनशैलीको सट्टा सामूहिक (आश्रम) जीवनशैली अपनाउन आवश्यक ठान्नुभयो र अपनाउनुभयो । आश्रम जीवनका मुख्य आधारहरू– (१) संयम र ब्रह्मचर्य, (२) श्रम जीवन र (३) सर्वधर्म समानत्व (सबै धर्मप्रति समभाव) थिए ।
चरित्रको शुद्धीकरणका लागि श्रमशील जीवन आवश्यक छ भन्ने महसुस उहाँले दक्षिण अफ्रिकामा रहँदै गर्नुभएको थियो । द. अफ्रिकाबाट फर्किएपश्चात् भारतमा पनि आश्रमको सहजीवनको विकास गर्न उहाँले आवश्यक ठान्नुभयो । त्यसैले हुनुपर्छ, भारतमा पहिलो आश्रम भाडाको जग्गामा, त्यसपछि नदीको तटमा साबरमती आश्रम र अन्तिममा महाराष्ट्रको वर्धा भन्ने स्थानमा वर्धा आश्रम स्थापना गर्नुभयो । भारतका ती आश्रमबाट सत्याग्रह र भारत छोडो आन्दोलनको नेतृत्व उहाँले गरिरहनुभयो ।
सन् १८९३ मा पहिलो पटक द. अफ्रिका पुगेपछि नै गान्धीले सामूहिक जीवनशैलीको अभ्यास सुरु गर्नुभएको थियो । उहाँले त्यहाँ पहिलो फिनिक्स आश्रम र दोस्रो टायल्सटाय आश्रम स्थापना गरेर सञ्चालन गर्नुभयो । रुसी साहित्यकार टायल्सटायको जीवनको उत्तराद्र्धमा उहाँसँग पत्र व्यवहार भइरहेको थियो । टायल्सटायको जस्तै गान्धीजीको जीवन पनि रहस्यमय मात्र नभएर रोचक बन्न पुग्यो । टायल्सटायको जीवनीको प्रभाव गान्धीको जीवनमा पनि पाउन सकिन्छ । त्यसो त टायल्सटाय भगवान् बुद्धको जीवनबाट प्रभावित थिए ।
गान्धीले दासत्वविरुद्धको सङ्घर्षमा मानवीय संवेदनाको पक्षमा कहिल्यै बेवास्ता गर्नुभएन । उहाँले आफ्नो जीवनशैली परिवर्तन गर्नुभयो । धोती र च्यादर, एक जोर खराउ र एउटा लौरोलाई जीवनको साहरा बनाउनुभयो । भारतमा उहाँको पहिलो सत्याग्रह, ‘चम्पारण सत्याग्रह’ थियो । त्यस सत्याग्रहका बारेमा उहाँले भन्नुभएको छ, “मैले चम्पारणका किसानका सबै समस्याको अन्त्य गर्न र अगाडि बढ्न केही सुझाव दिएँ, त्यो हो– अहिंसात्मक जीवनशैली र व्यवहार ।” गान्धी राजादेखि रङ्कसम्म सबैका पिता (वापू) हुनुहुन्थ्यो । उहाँलाई सबैले ‘वाप’ू भन्दथे । उहाँले वर्गीयता वा जातका आधारमा कसैलाई भेदभाव गर्नु भएन । दासत्वविरुद्धको आन्दोलन गरिरहँदा उहाँले आफ्नो जीवनशैलीमा समेत परिवर्तन गर्नुभयो । गान्धीजी कर्मलाई नै धर्म मान्नुहुन्थ्यो । सत्य र अहिंसा उहाँको सम्झौताविहीन आदर्श थियो । एकादश व्रत उहाँको मूलमन्त्र थियो । चम्पारण सत्याग्रहको पृष्ठभूमि सन् १९१६ को भारतीय राष्ट्रिय कङ्ग्रेसको लखनऊ अधिवेशन थियो ।
भारत आगमनपश्चात् गान्धीजी पहिलो पटक कङ्ग्रेस महाधिवेशनमा भाग लिन त्यहाँ पुग्नुभएको थियो । राजकुमार शुक्ल नाम गरेको एक किसान पनि नेपालको पूर्वी सीमा चम्पारणबाट त्यहाँ पुगेका थिए । कारण थियो, सदीयौँदेखिको ‘तीन कठिया कर’बारे कङ्ग्रेस नेताहरूलाई जानकारी गराउनु । शुक्लसँगको भेटले गान्धीको जीवनको दृष्टि नै बदलियो । जसरी घाँसीको वचनले भानुभक्तलाई जीवनमा केही कीर्ति राख्ने अभिलाषा जागृत गरायो, त्यसैगरी गान्धीको जीवनमा शुक्लसँगको भेटले अन्यायविरुद्ध लड्न उत्साही बनायो । त्यसका लागि सबैभन्दा पहिला त्यहाँका समुदायलाई जागरुक बनाउन आवश्यक थियो । अन्याय र दासत्व यति थियो कि किसान १३५ वर्षसम्म ब्रिटिस शासकको अन्यायमा पिल्सिन बाध्य थिए । एक बिघामा खेती गर्दा तीन कट्ठा जमिनमा अनिवार्य रूपमा नीरको खेती गर्नुपर्ने बाध्यता किसानलाई थियो ।
उक्त समस्याका बारेमा गान्धीलाई पहिलो पटक अवगत गराउने किसान उनै शुक्ल थिए । शुक्लले उनलाई अत्याचारविरुद्ध लड्न उपाय सुझाउन आग्रह गरे । गान्धीले पहिलो भेटमा नै उनको समस्या ध्यान दिएर सुन्नुभयो । उनको अनुरोधलाई सम्मेलनमा अन्य नेताहरूले बेवास्ता गरेका थिए । गान्धी सम्मेलनबाट अहमदाबाद फर्केर शुक्लसँग गरेको वचनअनुसार निर्धारित मितिमा चम्पारण पुग्नुभयो । करिब चार महिनाको अवधिमा उहाँले सत्याग्रहका लागि स्थानीय जनतालाई जागृत तुल्याउनुभयो । श्रीमती कस्तुरबाले गान्धीको कामलाई समर्थन गर्नुभयो । चम्पारणको स्थानीय बस्तीमा पुगेर सत्याग्रहका बारेमा जानकारी गराउनुभयो ।
गान्धीका लागि यो नै भारतमा पहिलो सत्याग्रह थियो । परिणाम किसानको पक्षमा आयो । यसले गान्धीलाई अझ प्रसिद्ध बनायो । त्यही आन्दोलनबाट उहाँले आफ्नो जीवनशैली र पोसाकमा परिवर्तन गर्नुभएको हो । जीवनशैली, त्याग र समर्पणका कारण उहाँलाई पहिलो पटक प्रसिद्ध कवि रवीन्द्रनाथ टैङ्गोरले महात्माको उपाधिले सम्बोधन गर्नुभयो । गान्धीले भारतमा गरेका सत्याग्रहहरूमा– चम्पारण सत्याग्रह, मजदुर सत्याग्रह, खेडा सत्याग्रह, चौरीचारा सत्याग्रह (जुन सत्याग्रह हिंसात्मक बन्न पुगेपछि फिर्ता भएको थियो), भैकाम सत्याग्रह, नमक सत्याग्रह (दाण्डी मार्च) र अन्त्यमा भारत छोडो (क्विट इन्डिया) आन्दोलन थिए ।
गान्धी जीवनको लक्ष्य स्पष्ट थियो– पहिलो स्वतन्त्रता, दोस्र्रो स्वराज्य, अन्तिम राम राज्य । जन्मिँदै दासत्वमा जन्मिएका गान्धीले स्वतन्त्रतालाई पहिलो लक्ष्य बनाउनुभएको थियो । स्वतन्त्रताको माग गरिरहँदा दोस्रो विश्वयुद्ध सुरु भैरहँदा, उहाँले जर्मनीका पक्षबाट ब्रिटिस शासकलाई प्रहार गर्नुपर्छ, भन्नेहरूलाई एउटा अतिवादविरुद्ध अर्काे अतिवादको साहरा लिइरहँदा त्यसले समस्या निम्त्याउँछ, त्यसैले जसलाई रोजगारीका लागि सेनामा भर्ती हुनु छ, ब्रिटिस पक्षमा नै जाऊ । किनकि उनीहरूले हामीलाई प्रेस स्वतन्त्रताको उपभोग गर्न त दिइरहेका छन् भन्ने तर्क गर्नुभएको थियो । यसैका आधारमा भन्न सकिन्छ, गान्धी स्वतन्त्रतालाई पहिलो अधिकार ठान्नुहुन्थ्यो । दोस्र्रो थियो, स्वराज्य । उपनिवेशबाट मुक्ति, आत्मनिर्भरतासहितको मुक्ति । अन्न, वस्त्र, आरोग्य र शिक्षामा आत्मनिर्भर हुनसके मात्र दासत्वबाट मुक्ति सम्भव हुन्छ भन्ने उहाँको मान्यता थियो । त्यसैलाई उहाँले स्वावलम्बन पनि भन्नुभएको छ । भारतको स्वतन्त्रता अवश्यम्भावी छ, स्वतन्त्रतापश्चात् समाजको संरचना कुन ढाँचामा सञ्चालन गर्ने भन्ने कुरामा चिन्तनशील रहँदै उहाँले ‘ग्राम स्वराज’को ढाँचा तयार गर्नुभएको थियो । ‘ग्राम स्वराज’ आत्मनिर्भरसहितको गाउँले जीवनशैली हो । त्यसका लागि शासन व्यवस्थाको अवधारणासमेत प्रस्तुत गर्नुभयो । विकेन्द्रित शासन व्यवस्था अर्थात् ‘ग्राम पञ्चायत’को अवधारणा । नेपालको पञ्चायती व्यवस्थाको जगमा गान्धीको ग्राम पञ्चायतको अवधारणालाई पाउन सकिन्छ । वि.सं. २०१६ सालमा बीपी कोइराला प्रधानमन्त्री भएपछि भारतका समाजवादी नेता जयप्रकाश नारायणले गान्धीको ग्राम पञ्चायतको अवधारणासहितको पुस्तिका पठाउनुभएको रहेछ । २०१७ पुस १ गते प्रजातन्त्रिक व्यवस्था नै ‘कु’ भएपछि प्रधानमन्त्री कोइरालासहितका अन्य मन्त्री एवं नेताहरू गिरफ्तार हुनुभयो ।
तत्कालीन राजा महेन्द्रले भारतीय नेता जयप्रकाश नारायणसँग पत्र व्यवहार गरेको प्रसङ्ग र तथ्यबाट बुझ्न सकिन्छ, ग्राम पञ्चायतको अवधारणालाई आधार मानेर नेपालमा गाउँ वा नगर पञ्चायत सुरुवात गरिरहेको हो भन्न सकिन्छ । जयप्रकाशले पनि विकेन्द्रित शासन व्यवस्थासहितको पञ्चायती व्यवस्था लागू गर्नसके राम्रो हुने सुझाव दिएको जानकारी हुन आएको छ तर विकेन्द्रित अवधारणाको ठीक विपरीत केन्द्रीकृत पञ्चायती व्यवस्थाको जग बसालियो । ग्राम पञ्चायतको अवधारणालाई गाउँ पञ्चायतको नामबाट स्थापित गरियो । उक्त सन्दर्भको साक्षी विश्वबन्धु थापा अझै जीवित हुनुहुन्छ । “जयप्रकाश नारायणले बीपीलाई ग्राम पञ्चायतको एउटा सानो बुकलेट पठाउनुभएको जानकारी छ ।” (२५ जनवरी २०२१) । त्यसो त त्यही सेरोफेरोमा १९५९ मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले गान्धीको जन्म दिवस २ अक्टुबरको अवसर पारेर राजस्थानको नागौर जिल्लामा पञ्चायती राज व्यवस्थाको उद्घोष गर्नुभएको थियो । उक्त उद्घोषसँगै भारतको शासन व्यवस्थामा स्थानीय सत्ताको अभ्यासका लागि पञ्चायतको अवधारणा लागू गरेको पाइन्छ । भारतमा पनि गान्धीले कल्पना गरेको स्वायत्त शासन व्यवस्थाको विपरीत केन्द्रको अधीनमा रहने गरी पञ्चायती राज व्यवस्था अपनाइएको थियो । यद्यपि भारतमा उक्त व्यवस्थाको परिमार्जित स्वरूपमा स्थानीय सत्ताका अभ्यास भइरहेको छ । २४ अप्रिल १९९३ को ७३औँ संविधानको संशोधनले पञ्चायती राज्य व्यवस्था र ७४औँ संशोधनले नगर स्थानीय शासन व्यवस्थालाई संवैधानिक दर्जासहित वैधानिक मान्यता दिएर लागू गरिएको छ ।
गान्धीले कल्पना गरेको ग्राम पञ्चायतको अवधारणमा निम्न बुँदामा आधारित व्यवस्था कल्पना गरिएको थियो । विकेन्द्रित शासन व्यवस्था, ग्रामीण गणतन्त्रको अभ्यास, स्थानीय समुदायको सहभागिता एवं गाउँको पुनर्निर्माण, ग्राम स्वराज्य अर्थात् पूर्ण प्रजातन्त्रको अभ्यास, मौलिक स्थानीय शासन व्यवस्था, घरेलु उद्योगको सुनिश्चितता, आदर्श राज्यको कल्पना गरिएको स्थानीय सत्ताको अभ्यास तथा विकेन्द्रित अर्थव्यवस्थाको अभ्यास । श्रमको महìव र आवश्यकतालाई ध्यान दिँदै स्थानीय स्रोत र साधनमा आधारित लघु उद्योगलाई अनिवार्य गरिएको थियो । स्वावलम्बी ढाँचामा आधारित शोषणरहित ग्रामीण समाजको कल्पना गरिएको थियो । उक्त सत्ताको जगमा नैतिक आदर्शलाई जोड दिइएको थियो । दलविहीन स्थानीय निर्वाचनबाट नागरिकले स्थानीय जनप्रतिनिधि चुन्न पाउनुपर्छ भन्ने गान्धीको मान्यता थियो । जुन कुरालाई ढिलै भए पनि नेपालका गान्धीवादी नेता महेन्द्रनारायण निधीले आफ्नो पार्टी नेपाली काँग्रेसमा उठाउनुभएको थियो । छयालीस सालको परिवर्तनपश्चात्को दोस्रो स्थानीय निर्वाचनको सन्दर्भमा ३० वैशाख २०५४ मा प्रेस विज्ञप्ति नै जारी गरेर दलविहीन स्थानीय निर्वाचनको व्यवस्था गर्न निधिले आग्रह गर्नुभएको थियो तर अहिलेसम्म उक्त तथ्यलाई नेपालको सन्दर्भमा कसैले सुनुवाइ गर्न सकेको छैन । जसरी पञ्चायतले गाउँ वा नगर पञ्चायतको निर्वाचनलाई पञ्चायतप्रति वफादार कार्यकर्ता उत्पादन गर्ने कारखाना बनाएको थियो । वर्तमान संरचनामा ७५३ स्थानीय सरकारको व्यवस्था गरिए पनि दलीय प्रतिनिधित्वलाई जोड दिँदै राजनीतिक चरित्रबिनाका कार्यकर्ता उत्पादन गर्ने कारखानाको अभ्यास गरिएको छ ।
गान्धीको आदर्श समाज कल्पनाको अन्तिम गन्तव्य ‘रामराज्य’ थियो । गान्धीको उक्त गन्तव्यलाई ‘युटोपिया’ भन्ने गरिन्छ । गान्धीको ‘रामराज्य’को दक्षिण एसियाका देशमा अभ्यास होला कि नहोला भन्न सकिने अवस्था छैन तर उहाँले अपनाएको सत्य, प्रेम, करुण, संयम, त्याग र बलिदान हामी नेपालीका लागि अहिले पनि अनुकरणीय छ । कुनै आदर्शबिना नै सङ्घीय लोकतान्त्रिक व्यवस्थाको अभ्यासमा रहेका हामी नेपालीका लागि विचार र वादले भन्दा पनि आदर्श र जीवनशैलीका हिसाबले गान्धीको अहिंसा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।