दधिराम खतिवडा
झण्डै दुई महिनाअघि म अचानक टेक्ससस्थित टेक्सामा मेडिकल सेन्टरमा उपचार्थ जाँदा मनोरोग (एन्जाइटी) भएको ‘रिपोर्ट’ पाएँ । एकातिर चिकित्सा पद्धतिअनुसार मनोरोगको ढिलोछिटो निदान भइरहेको थियो । अर्कातिर समग्र समाजको नकारात्मक मनोविचार टिकाटिप्पणी र दृष्टिकोणले पीडित मस्तिष्कलाई झन् मनोविकृत दुर्दशातर्फ धकेलिरहेको थियो । मनोरोगप्रति आमसमाजको धारणा कसरी विकसित हुन्छ र बदलिन्छ ? मानसिक पीडितहरूप्रति कस्तो र कसरी व्यवहार गरिन्छ ? यी उत्सुकतापूर्ण चासोका विषय छन् ।
नेपाली समाजमा नकारात्मक दृष्टिकोणले हेरिने मध्येको एक विकराल रोग मनोरोग पनि एक हो । विकसित मुलुकहरूमा यो रोगको बारे खुलेर बहस र परीक्षण हुने भएकोले कतिको सङ्ख्यामा मानिस यो रोगबाट शिकार भएका छन् यकिन तथ्याङ्क बाहिर आएको हुन्छ । तर नेपाली समाजको सन्दर्भमा यो रोग लागेको व्यक्ति सामाजिक रूपमा दमित भई खुलेर हिँड्न नसक्ने र सकेसम्म रोग लुकाउन बाध्य छन् ।
समाज अझै पनि परम्परागत रुढिवादी चिन्तनले ग्रसित छ । कुनै व्यक्तिले मनोरोगको औषधि खाइरहेको छ भने उसलाई दिमागी समस्याको औषधि खाएको व्यक्तिको तुच्छ संज्ञा दिँदै पागल भन्ने गरिन्छ । अनि जो व्यक्ति समाजबाट आत्मबल अभिप्रेरणा खोजिरहेको हुन्छ उसले आफू मनोरोगको कारण तिरस्कृत भएको अनुभव गर्नुपर्छ । यो समस्या दोहोरिँदै जाँदा समयको कुनै कालखण्डमा आत्महत्या गरेका धेरै घटना हाम्रो समाज अगाडि छर्लङग छन् ।
समाजमा अहिले मानसिक रोगीको स्थिति र उपलब्ध सेवाको तुलना गर्दा स्थिति चिन्ताजनक छ । यसप्रति जनचासो र सरकारी प्राथमिकता निकै कम छ । यो अवस्था त्यसबेला मात्र फेरिएला, जब जनमानसमा मानसिक रोगप्रतिको अज्ञान र भ्रम निवारण हुन्छ, तब मानसिक रोग लाग्नु पनि अरू रोगजस्तै हो भन्ने पर्छ । त्यो बेला यिनको पनि उपचार हुन्छ भन्ने विश्वास सिर्जना हुन्छ । मुलुकभरि करिब ३७ लाख मानसिक रोगीमध्ये कतै तपाईं वा तपाईंको परिवारका सदस्य पनि त हुनुहुन्न ? सोचनीय विषय बन्नु आवश्यक छ ।
विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)ले हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गरेको छ । डब्लूएचओको साधारण सभाले सन् २०१२ को मे महिनामा विश्व मानसिक स्वास्थ्य एक्सन कार्यक्रम २०१३–२० तर्जुमा गरी विश्वभरि नै मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म हेरविचार गर्ने लक्ष्य लिएको छ । यद्यपि, यस्ता धेरै मनोरोगीको व्यथा र दुर्दशा गुपचुपमै छन् ।
एक मानसिक रोगी भारतीय सेलिब्रेटी साहिन भट्टको आत्मवृतान्त “आई ह्याभ नेभर बिन अन ह्याप्पीयर”मा मानसिक रोगबाट जेलिने क्रममा शाहिनमा बारम्बार आत्महत्याको सोच मात्र आएन, आत्महत्याको प्रयास समेत भयो । एक्लोपन, रित्तोपन, निराशा, चिन्ता र द्विविधाजस्ता मानसिक सकसबाट कसरी गुज्रिनुप¥यो, उहाँले पुस्तकका धेरै पानामा खुलेर लेख्नुभएको छ । उक्त पुस्तकले मनोरोगसँग लडिरहेका पीडितहरूलाई प्रेरणा मिल्छ ।
समाजमा मानसिक रोग वर्जित वा लोकलाजको विषय बनाइएको छ । अधिकांश मानिस यसबारे कुरा गर्न र सुन्नै चाहँदैनन् । जसका कारण पीडितले खुलेर आफ्नो समस्या घरपरिवारमा समेत राख्न सक्ने अवस्था हुँदैन । पहिचान नभएको मानसिक रोग, एक्लोपना, असफल भएको महसुसदेखि सामाजिक भेदभाव वा दुव्र्यवहार, लामो शारीरिक पीडा आदि जस्ता कुनै पनि समस्या आत्महत्याको कारक बन्न सक्छन् । शारीरिक स्वास्थतासंँगै मानसिक स्वास्थ्यलाई हेरिने र बुझिने दृष्टिकोणमा भेदभाव हुनुहुँदैन । अझै पनि हाम्रो परिवार, जनमानस र मुलुकमै मानसिक स्वास्थ्यप्रतिको मिथ्या र गलत धारणाहरू विद्यमान छन् । मानसिक रोग भन्ने बित्तिकै पागलपन भनेर कडा मानसिक रोगलाई मात्र ठान्ने प्रवृत्ति व्याप्त छ । यो ठिक होइन । कुल जनसङ्ख्याको करिब एक चौथाइ मानिसहरू तिनीहरूका परिवारहरूले भोगेको कठिनाइलाई आत्मसात् गर्दै आउने दिनहरूमा मानसिक स्वास्थ्यका बिरामी र आफन्तहरूमा अन्य शारीरिक बिरामीसरह उच्च सम्मान प्रकट गरिनुपर्छ । यी बिरामीहरूलाई आत्मनिर्भर भई चल्नसक्ने बनाउन तिनीहरूलाई आवश्यक शिक्षा, पेसागत तालिम दिएर समाजमा पुनस्र्थापना भई बांँच्न मद्दत पु¥याउनुपर्छ । मनोरोगबारे गलत धारणाहरूलाई न्यूनीकरण गर्नु आजको प्राथमिकता हो ।
मनोरोगबारे अरू छिमेकीहरूले थाहा पाउँला भनी लुकाउने त गरिन्छ नै । साथै, कतिपयलाई घरमा नै बन्धकजस्तो बनाएर एउटै कोठामा वर्षौंसम्म बांँधेर राख्ने गरेको पनि पाइन्छ । राज्यका नीति निर्माताहरूमा पनि मानसिक स्वास्थ्यप्रतिको दृष्टिकोण र प्रतिबद्धतामा ठूलो परिवर्तनको अभाव देखिन्छ । मानसिक स्वास्थ्यलाई सम्मान गर्नु भनेको विद्यमान मानसिक स्वास्थ्यप्रति रहेको नकारात्मक धारणामा परिवर्तन ल्याई मानसिक स्थिति मूल्याङ्कन गरी पीडित बिरामीलाई विना भेदभाव, सर्वसुलभ रूपमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीसम्ममा सेवा पु¥याउनु नै तिनको सम्मान हो ।
समाजमा रहेका मानसिक स्वास्थ्यका रोगीहरू र उनीहरूको परिवारहरूलाई सेवा प्रदान गर्ने राज्यका विभिन्न निकायदेखि समाजमा रहेका हामी जोसुकैले पनि सम्मान प्रदान गर्नु न्यूनतम मानवीय कर्तव्य हो । यी बिरामीहरूलाई आवश्यक आर्थिक तथा अन्य हेरचाहको पक्षमा राज्य र समाजद्वारा बेवास्ता गर्नुहुन्न । एक्काइसौँ शताब्दीमा मानसिक रोगका बिरामी कुनै खोरमा होइन, अस्पतालहरूमा सहज र नयाँ उपचार पद्धतिको थप विकास अनिवार्य छ र यो परिवारका साथै राज्यको दायित्व हो ।
मानसिक रोगी बाच्न सङ्घर्ष गरिरहेका छन् । सामाजिक लाञ्छना र भेदभावका कारण मानसिक रोगीले आवश्यक सहयोग पनि पाउन सकेका छैनन् । मानसिक रोग भनेको एक अस्वस्थता हो र यो कुनै लज्जास्पद कुरा होइन । मानसिक स्वास्थ्य समस्या भएकालाई परिवार समाज र राष्ट्रले बुझ्न जरुरी छ । कानुनी व्यवस्था हेर्दा संविधानमा लिखित मौलिक हकलाई कार्यान्वयन गर्न बनेको जनस्वास्थ्य ऐन कार्यान्वयन स्वरूप कार्यविधि तयार भएको लामो समय बितिसकेको छ । संविधानको धारा ३६ मा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने उल्लेख छ । सोही धाराअन्तर्गत बनेको जनस्वास्थ्य ऐन २०७५ को दफा ३ उपदफा ४(ङ)मा मानसिक रोगसम्बन्धी सेवालाई पनि निःशुल्क सेवाको रूपमा राखेकोले मौलिक हकअन्तर्गत बनेको कानुन कार्यान्वयनका लागि यो कार्याविधि तयार गरिएको थियो ।
मानसिक रोगीका लागि पुनस्र्थापना कार्यक्रम लागि कार्यविधि, २०७५’ ले मानसिक समस्या भएर उपचार नपाएका नागरिकहरूले उपचार तथा उनीहरूको पुनस्र्थापनाको गर्ने सुनिश्चितता गरेको पक्का हो । कार्यविधिमा कुनै पनि अस्पतालले मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामी उपचार गरेवापत प्रति बिरामी दैनिक छ सय रुपियाँ र पुनस्र्थापना केन्द्रले पाँच सय रुपियाँ पाउनेगरी कार्यविधि तय गरेको हो । हालसम्म यसको प्रक्रिया के कति अगाडि बढेको छ ? पीडित वर्गले पाउने राहत सुविधाबारे अझै मौन छ । मानसिक रोग भएकाहरूको उपचारका लागि यो कार्यविधिले कोही पनि मानसिक रोगी उपचारबिहीन र संरक्षणबिहीन नहुन भनेर बोलेको छ । तर यसको लाभ कसले कति पाए, अझै अन्योलमै छ ।
नेपालका प्रमुख सहरमा जैविक चिकित्सा सेवा उपलब्ध भए पनि मनोचिकित्सा सेवा भने शून्यप्रायः छ । समाजको कुरा सुन्दिनँ, म अरूको कुरा सुन्दिनँ मलाई समस्या छ । म चिकित्सकसँग सल्लाह लिन जान्छु भनेर बिरामीले पनि हिम्मत गर्नुपर्छ । जीवन अनमोल छ र यहाँ महìवपूर्ण कुराहरू जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो, कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त बिर्सिरहेका छैनाँै ? खुसी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौँ । मानसिक समस्यालाई लुकाउने दबाउने होइन, बाहिर खुलेर छलफल गरौँ । मानसिक समस्या भएकाहरूको विशेष रेखदेख, स्वस्थ्य र सामान्य जीवनका लागि पहल गर्नु हाम्रो दायित्व हो । उनीहरूलाई घृणा र अपहेलनाको सट्टा दया, माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गर्नु आवश्यक छ । मनोरोगको उपचारलाई प्राथमिकता दिँदा स्वस्थ नागरिक निर्माणमा बल मिल्छ ।