दधिराम खतिवडा
आधुनिक नेपाल निर्माणको प्रारम्भमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत सबै क्षेत्रका परिवर्तनमा टिम्बुरबोटे काण्ड जोडिएको छ । ओखलढुङ्गाका योद्धा र पृष्ठभूमिसँग पनि यसको साइनो गाँसिएको छ । जननायक बीपी कोइरालाको नेतृत्वमा वि.सं. २०२८–३१ मा नेपाली काँग्रेसले पञ्चायती व्यवस्थाविरुद्धमा सशस्त्र क्रान्ति गरेको थियो । सोही पार्टीले आह्वान गरेको सशस्त्र आन्दोलनको महत्त्वपूर्ण र सबैभन्दा धेरै क्षति बेहोरेको घटना हो– टिम्बुरबोटे काण्ड । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा टिम्बुरबोटे विद्रोहका शहीदको स्मरण हुनुपर्ने हो ।
टिम्बुरबोटे काण्ड वि.सं. २०३१ पुस १ गते सोलुखुम्बुको तिङ्गला गाउँको टिम्बुरबोटे जङ्गलमा भएको घटना हो । सो घटनामा सरकारी दमनमा काँग्रेसका नेत्रबहादुर कार्की, श्याम गुरुङ, मानबहादुर बोखिम, शिवकुमार राई, मानबहादुर मगर, चन्द्रबहादुर तामाङ, प्रजालाल राई, राम उपाध्याय, लक्ष्मण उपाध्याय, लालबहादुर मगर, महेश कोइराला, पूर्णबहादुर माइला राई र पदमप्रकाश पुरी गरी १३ जना स्वतन्त्र सेनानीको हत्या भएको थियो । उक्त घटनासँग सम्बन्धित अन्य कैयौँलाई पक्राउ गरी मारिएको थियो ।
कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा भूतपूर्व सैनिकलगायत ठूलो सङ्ख्यामा भारतको फारबिसगञ्ज, बथान वीरपुर र बनारसमा तालिम दिई लडाकु तयार गरिएको थियो । तालिमप्राप्त लडाकुको समूह पूर्वी पहाडी जिल्ला कब्जा गरी स्थानीय सरकार गठन गरी अघि बढ्दै ओखलढुङ्गा पुगेको थियो । सीमावर्ती सोलुखुम्बुको तिङ्गला जङ्गल बासस्थान बनाई क्रान्ति गरेका यी समूहलाई सरकारी पक्षले धरपकड गरी ओडारभित्रै रातिको समयमा ग्रिनेट बर्साई ज्यान लिएको थियो । क्रान्तिका कमान्डर क्याप्टेन थापा, महेश कोर्माचा, प्रभुराम बस्नेत, एलबी गुरुङलगायतका केही योद्धा गोली र विस्फोटबाट जोगिएका थिए ।
विद्रोहको कार्यदिशा
तत्कालीन समयमा संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुसार कुनै पनि भू–भाग स्वतन्त्र बनाउन ६० स्क्वायर किलोमिटर क्षेत्र आवश्यक पथ्र्यो । सोहीअनुसार पूर्वमा धरान, विराटनगर र पश्चिममा पोखरा, दाङसमेतको क्षेत्रमा उहाँहरूले रेकी गर्नुभएको थियो । भू–भाग स्वतन्त्र बनाउन ब्यारेक कब्जा गर्नै पथ्र्यो । ठूलो ठाउँमा शक्तिकेन्द्रित हुने र कब्जा गर्न ठूलो सामथ्र्य चाहिने हुनाले सोलुखुम्बु र ओखलढुङ्गा नै उहाँहरूको रोजाइमा प-यो । हातहतियार चलाउन पोख्त, सैनिक र सिभिल दुवै ज्ञान भएकाले विद्रोहको नायकत्व यज्ञबहादुरले गर्नुभएको थियो ।
ओखलढुङ्गाको ब्यारेक कब्जा गर्ने उनीहरूको प्रारम्भिक योजना थियो तर परिस्थिति सोचेअनुरूप भएन । जो–जो मार्गदर्शक खटाइएका थिए, उहाँहरूले ठीक समयमा वस्तुगत जानकारी नै ल्याउन सक्नुभएन । ब्यारेक आक्रमणको खाका नै बुझाउन सक्नुभएन । ब्यारेकको सम्पूर्ण सूचना र आक्रमणको योजना नै तिनै मार्गदर्शकसँग भएकाले उहाँहरूले ओखलढुङ्गा ब्यारेक आक्रमण गर्न सक्ने अवस्था भएन । त्यसपछि उहाँहरूले त्यो मनसाय परित्याग गर्नुभयो । आक्रमण गरी भू–भाग कब्जा गर्ने योजना बनाइसकेकाले उद्देश्यबाट फर्कने अवस्था थिएन । ओखलढुङ्गा ब्यारेक हान्न नसकिने निष्कर्षमा पुगिसकेपछि अर्को कुन क्षेत्रमा आक्रमण गर्ने त ? हठात् निर्णय आयो– सोलुखुम्बको ब्यारेक हान्ने ।
तत्पश्चात् एउटा सुवेदारको नेतृत्वमा १३–१४ जनाको टुकडी थियो त्यहाँ । उनीहरूले सोचे– त्यति सानो समूहलाई निमेषभरमै कब्जामा लिन सकिन्छ । त्यो घटनाले राज्यसत्तालाई ठूलो सवक सिकाउने छ भन्ने पनि थियो । तराईका भूभागबाट ओखलढुङ्गा पुग्न तीन दिन लाग्थ्यो भने सोलु पुग्न थप एक दिन खर्चनुपथ्र्यो । मङ्सिर ३० गते टिम्बुरबोटे जङ्गल पुग्दा झमक्क रात परिहाल्यो । जङ्गल छिचोल्न सक्ने अवस्था थिएन । खाद्यान्न बोकेकाहरू आइपुगेका थिएनन् । वरिपरि नभएकाले त्यही जङ्गलको सानो ओडारमा उनीहरू बास बसे । आक्रमण गर्न गएकै समूहमध्येकै केही साथी बाटोमै अलमलिए । ओडारभन्दा बाहिर रहेकाहरू सेनाको फन्दामा परिसकेका थिए । उनीहरूलाई आफ्ना सहयोद्धाको बारेमा सूचना दिन बाध्य बनायो सेनाले । सरकारी सेनाले विद्रोही बसेको ठाउँ खोज्दै आयो र ओडारमा लुकेर बसेको चाल पाएपछि ग्रिनेट र हतियारसहितले आक्रमण गर्न थाल्यो । कतिलाई त्यही स्थानमा त कतिलाई नियन्त्रणपछि निर्ममतापूर्वक हत्या ग-यो ।
बीपीले वि.सं. २०२५ मा सशस्त्र क्रान्तिको हुँकार गरेपछि यज्ञबहादुर थापाले काँग्रेसको सशस्त्र विद्रोहको नेतृत्व गर्नुभयो । हतियारबन्द आन्दोलनको अगुवाइ गर्ने ठाउँमा पुग्नुभयो । सोलुखुम्बु आक्रमणमा जाँदा उनीहरूसँग त्यतिबेलाका अत्याधुनिक हतियार थिए । आक्रमण गर्न गएका लडाकु र मिलिसियासमेत गरी ३५ जनामा प्रत्येकसँग दुइटाका दरले हतियार थिए । स्ट्यान्ड गन, ब्रेन गन, पेस्तोल मात्र होइन, एके–४७ समेत थियो तर एके–४७ बोक्ने अमरबहादुर खड्काचाहिँ बाटैमा छुट्नुभयो । सेनाले सर्च तीव्र पारेपछि उहाँ हतियार खोलामा फ्याँकेर भाग्नुभएछ । उक्त हतियार पछि गाउँलेले फेला पारेर राखेका थिए ।
अज्ञात शहीद
विद्रोहमा सामेल ३५ जनामध्ये १८ जना एकैचिहान भए । केही पक्राउ परेपछि मारिएका हुन् भने केही तत्क्षण नै निर्जीव तुल्याइए । महेश कोर्मोचा, क्याप्टेन यज्ञबहादुर र केही योद्धा भने आक्रमणबाट बाँच्न सफल हुनुभयो । भाग्दै उहाँहरूले गाउँमा शरण लिन पुग्नुभयो । एलबी गुरुङ भाग्दै भारत पुगेर बाँच्नुभयो । यज्ञबहादुरले आफ्नो पुरोहितको घरमा आश्रय लिएकाले पनि सरकारी सेनाको फन्दामा पर्नुभयो । जीवित शहीदका अनुसार यज्ञबहादुर भाग्दै यहाँ त बाँचिएला भन्ने सोचेर पुरोहितको घरमा जानुभएछ र बिहानको खाना खानुभएछ । खाना खाएपछि पुरोहित लाखापाखा लाग्नुभयो । थापालाई शङ्का लागेछ– कतै यिनी सेना बोलाउन त गएनन् ! त्यसपछि उहाँ नजिकैको परालको माचमुनि लुकेर बस्नुभएछ । लुकेर बसेको बेला अचानक खोकी चल्दा सेनाले थाहा पायो र उहाँ तत्कालै पक्राउ पर्नुभयो । पक्राउ परेपछि उहाँलाई काठमाडौँ जेल चलान गरिएको थियो । पछि जेलबाट लगेर हत्या गरियो । उहाँको हत्या कहाँ गरियो, कसरी गरियो भन्नेमा पनि मतैक्य छैन । कसैले कमला खोँचमा भन्छन्, कसैले कोसी टप्पुमा ।
यज्ञबहादुर थापा २०१८ सालताका नेपाली सेनाका क्याप्टेन हुनुहन्थ्यो । जानकारहरू उहाँ काँग्रेस दबाउन सक्रिय हुनुहुन्थ्यो भन्छन् तर बढुवाको बेला काँग्रेसलाई सघाउन लागिपरेको आरोपमा कोपभाजनमा पर्नुभयो । सन् २०१६ मार्च २ मा उक्त घटनाको ४१ वर्षपश्चात् यस काण्डमा मारिएका केही व्यक्तिलाई राज्यको तर्फबाट शहीद घोषणा गरियो । पार्टीका होनहार युवाको रातको समयमा छलकपटपूर्ण तरिकाले हेलिकप्टरबाट बमगोला वर्षाएर गरिएको हत्यालाई सिङ्गो प्रजातान्त्रिक आन्दोलनले त भुल्नु हुँदैन भने काँग्रेसले कसरी बेवास्ता गर्न मिल्छ ? आन्दोलनका सहयोद्धाहरूकै धोका र असावधानीको परिणति थियो– टिम्बुरबोटे काण्ड । नेपाली इतिहासमा असफल विद्रोहको युगीन अध्याय हो । टिम्बुरबोटेसँग ५७ जना प्रजातान्त्रिक योद्धाको नाम जोडिएको छ ।
टिम्बुरबोटे ओझेलमा
यो ऐतिहासिक स्थललाई चिरस्मरणीय बनाउन लोकतान्त्रिक आन्दोलनका वीर योद्धालाई सम्मानित गर्न सरकारले वि.सं. २०५३ मा काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको अध्यक्षतामा टिम्बुरबोटे पार्क प्रतिष्ठान गठन गरी २० लाख रुपियाँ विनियोजन गरेको थियो । संस्कृति, पर्यटन तथा वातावरण मन्त्रालयले पटकपटक रकम विनियोजन गरी पार्क प्रतिष्ठानका नाममा करिब सवा करोड खर्च भइसकेको छ । अहिले सो समिति गैरसरकारी संस्था ‘शहीद स्मृति सरोकार समाज नेपाल’मा परिणत भएको छ । कामका नाममा भने केही भएको देखिएको छैन । खातामा रकम छैन र टिम्बुरबोटे ३१ सालकै स्थितिमा छ ।
‘नेपाली काँग्रेस, अन्तिम सशस्त्र क्रान्ति टिम्बुरबोटे’ नामको ४२ मिनेट लामो वृत्तचित्र बनाएर ऐतिहासिकता दर्शाउन भने खोजिएको थियो । वि.सं. २०७२ मा मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गाको टिम्बुरबोटे काण्डको सत्यतथ्य अध्ययन गर्न तत्कालीन उपप्रधान तथा रक्षामन्त्री भीम रावलको संयोजकत्वमा एउटा समिति गठन गरेको छ । यो समितिले पनि केही काम गर्न सकेन । थुप्रैको बलिदान भयो, तिनका परिवार कहाँ, कुन अवस्थामा छन् ? यसबारे किन खोजीनीति हुँदैन ? शहीद परिवारबारे काँग्रेस सरकारले पनि चासो नदिएको भन्दै गुनासो पोखिरहेका छन् । इतिहासमा महìवपूर्ण मानिएको टिम्बुरबोटेको संरक्षणमा सरकार र काँग्रेस पार्टीले विशेष ध्यान दिन आवश्यक छ । टिम्बुरबोटेलाई सङ्ग्रहालयका रूपमा विकसित गर्नुपर्छ । गुरुयोजना बनाएर काम गर्नसके आउँदो पुस्ताले पनि टिम्बुरबोटेको ऐतिहासिक महìवबारे जान्न र बुझ्न पाउने छन् ।