डा. पुरुषोत्तम मरहठ्ठा
नेपाली समाजमा पहिला धर्मको डर थियो । जसले गर्दा कुलमा दाग लाग्ला भनेर कसैले पनि धर्मको विरुद्धमा गएर केही काम गर्न सक्दैनथे । अहिले समाज निकै स्वार्थी बन्दै गएको छ । नैतिकताको मार्ग देखाउने सत्कर्ममा लाग्न प्रेरणा दिने धर्मबाट केही प्राप्ति नहुने भएपछि कोही कसैको ज्ञानगुनको कुरा सुन्नसमेत चाहँदैन । अहिले धेरैमा जर्ति र फोसा खाने बानीले गर्दा भक्ष्य र अभक्ष्य सबै पाच्य भएको छ । कमाउने उद्देश्यको चस्का सबैमा बसेको छ । त्यो बैध र अबैध के हो भन्ने कसैलाई मतलव छैन । पाँच राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपालको गठबन्धन मिलेर बनेको यो सरकारलाई विश्वासको मत दिँदा १६५ सांसदको बलियो समर्थन रहेकोमा दुईमत छैन । देउवा नेतृत्वको सरकारले पद्धतीय व्यवहार र अन्तरविरोधलाई चिर्दै कठिन परिस्थितिमा लोकतन्त्र जोगाउन यो गठबन्धन बाध्यताको उपज हो । यसमा जस र अपजसको बोझ भने एक्लो काँग्रेसमाथि तेर्सिने गर्दछ । तसर्थ यसबाट एकल नेतृत्वको जस्तो कल्पना गर्न सकिन्न । चाहे भने यो पाँच दलले ‘बयम पञ्चम, बयम पञ्चम, बयम पञ्चम शतानिते’ भएर शतिशालझैँ उभिन सक्दछन् । नेतृत्वले यसमा कसरी फुकीफुकी पाइला चाल्दछ, त्यसको परीक्षण वर्तमान समयमा हुने नै छ । चारै वेदको मन्त्रले तान्त्रिक विधिअनुसार शिवजीलाई पूजा गरेझैँ यी दलको कामलाई जनताले पूजा पनि गर्दछन्, जसरी शिवको पाँच मुहार सद्योजात, वामदेव, तत्पुरुष, अघोर र इशानलाई पुज्दछन् ।
अरूसँग उच्च नैतिकताको आशा राख्ने तर समाजलाई भ्रष्ट बनाउने केही तत्त्वहरूबाट परिवर्तनको आश गर्न सकिन्न । काम, क्रोध, लोभ, मोह मानिसलाई दुःख दिने साधन भनेर गीता संवादले देखाइसक्दा पनि मानिस अझै यसमा रमाउँछ । सङ्ग्रह केही नगर्ने जोगी प्रवृत्तिका त्यागी नेताहरू वर्तमान समयमा पाउन मुस्किल भइसकेको छ । अहिले समाजका पथ प्रदर्शकहरूलाई हेर्दा लाग्छ सबै निष्ठाबाट विचलित बन्न खोजेका जस्ता देखिन्छन् । जोखिम उठाउन पछि हट्ने र जोखिम उठाइहालेमा त्यसवापत तत्काल मुनाफा लिन आतुर हुने । दोष अरूको काँधमा थुपारेर आफू पानीमाथिको ओभानो हुन खोज्ने प्रवृत्ति सबैमा झाङ्गिएको छ । झ्यालबाट हेर्दा भीड बढेको देख्नासाथ कहिले धर्मनिरपेक्षताको धुवाँधार समर्थन गर्ने त कहिले हिन्दुु धर्म अकाट्य भन्दै हिँड्ने राजनीतिक नेताहरूको कमी छैन । सङ्कटको अवस्थामा आफ्ना कार्यकर्ताको संरक्षण गर्न जोखिम उठाउन नसक्ने नेताहरू बढी त्याग गरेको प्रचार गर्न खुबै अग्रसर देखिन्छन् । तत्कालै लाभ लिन नखोज्ने त्यागी पुस्ता अहिले भेट्न सकिन्न । सन्तनेता कृष्णप्रसाद भट्टराईले ‘मेरो म’ पुस्तकमा भन्नुभएको छ– ‘‘गिरिजाबाबुसँग उहाँ बीपीकै सहोदर भाइ भए तापनि मेरो सो किसिमको सम्बन्ध रहेन र उहाँले मलाई छाडेर बेग्लै बाटो जाने निर्णय गर्नुभयो ।’’ क्रान्तिपछि बीपीलाई तमाम कार्यकर्ताको सद्भाव भए पनि पार्टी सभापति र प्रधानमन्त्री मातृकाले नै ओगटेका थिए । त्यो बेलामा राजाका लागि बीपी कम्फोर्टेवल भएनन् र मातृका भइदिए । निकै लामो समयको रस्साकस्सीपछि मातृकाले बीपीलाई कार्यवाहक सभापति मात्र दिए तर कार्यकर्तालाई यो चित्त बुझेन । अन्त्यमा सभापति पद दिन बाध्य भए र स्वयं मातृकालाई पार्टीको महासमितिबाट लोकतान्त्रिक विधिले निलम्बन गर्नुपर्ने अवस्था आयो । बीपीको विशेषता के थियो भने आफूले जस्तो निर्णय गर्न लागे पनि आफ्ना साथीहरूको सुझाव र सल्लाह लिने गज्जबको परम्परा जीवन पर्यन्तसम्म थियो भनेर गणेशमान सिंहले ‘मेरो कथाका पाना’मा उल्लेख गर्नुभएको छ । त्यसैले नेतृत्वमा दूरदर्शिता र प्रतिबद्धता भएन भने नेतृत्व लिनेले आफ्नै सहकर्मीहरूलाई पछि त्यो कुर्सीमा आउनै नसक्ने गरी विभिन्न षड्यन्त्रको तानावाना बुन्दै गर्दा त्यसको शिकारमा किशुनजी पर्नुभएको हो । राजनेतालाई समेत टिक्न खान दिइएन । परिस्थिति जता पनि मोडिन सक्छ ।
यता केही समयदेखि नेपालको संसद्लाई निर्धारित अवधिसम्म काम गर्न नसक्नेगरी कटुता र द्वन्द्वमा फसाइदिन स्वयं दलकै नेताहरू लागेका छन् । अदालतको हालत पनि त्यस्तै बनेको छ । राजनीतिक निकास अदालतबाट लिने परम्परा बस्न खोज्दैछ । त्यसैले न्याय गरेर मात्र हुँदैन परेको देखियो वा देखिएन त्यो हेर्दैछन् जनता । मौनताको संस्कार पालेका नेपाली जनताले लामो मौनतापछि धक्का दिन पनि सक्छन् । तर सडकमा घाइते लडिरहेको देख्दा अस्पताल पुु-याउनभन्दा पुलिसलाई कुरेर बस्ने संवेदना रित्तिएकाहरू भएसम्म पछाडिबाट टोक्ने प्रवृत्ति पनि रही नै रहन्छ । टोक्नेले टोकी नै रहने छन् । चेतना नभएपछि सहनुको शिवाय अरू के नै हुन्छ । यो समय आफ्नै घरमा लागेको आगो निभाउनसमेत कोही तयार छैनन् ।
भोलिको पुस्ता हेर्ने बीपी, किसुनजी, गणेशमान, मनमोहनजस्ता राजनेता के यो देशमा फेरि जन्मिएलान् ? उदारवादी राजनीतिक चिन्तक जोन लकले क्रान्ति गर्न छुुट त दिए तर पटक–पटकको क्रान्तिले पनि नेपालमा अझैसम्म स्थिरता दिन सकिरहेको छैन । क्रान्तिपछि सबै पाखालाग्ने गर्दा दलहरू यस किसिमको पद्धतिबाट बाहिर जाने काम गरेका हुन् । सानो एउटा उदाहरण– पार्टीका लागि महाधिवेशन भनेको ‘लाइफलाइन’ हो तर यस्तो महाधिवेशन के कसैको स्वार्थमा मात्र हुने वा नहुने हो ? विधानले दिएसम्मको छुट हुन्छ, अन्यथा पद्धति बिग्रिन्छ । आफूले पद्धति बसाले नै अरू पद्धतिमा बस्ने हो । नेपालमा पद्धति बसाल्न भने नसकिएकै हो । बहुदलीय पद्धतिभित्र पद्धतीय व्यवहार र अन्तरविरोधहरू देखिन थाल्यो भने लोकतन्त्र सङ्कटमा पर्न जान्छ । बहुदलीय पद्धति र विचारधारा बोकेको पार्टीलाई नेतृत्वले सङ्गठनभित्र कहिल्यै राम्रोसँग सञ्चालन गर्न सकेनन् । नेताहरूले राजनीतिलाई द्वन्द्वतर्फ धकेलेर आफ्नो स्वार्थसिद्ध गर्न खोज्दा आज हरेक पार्टीमा विग्रह देखिएको हो । राजनीतिक पार्टीहरूमा एकता र सहकार्य नभई देशलाई सही दिशामा हिँडाउन सम्भव हुँदैन ।
केही समयदेखि अत्यधिक हलचलको अवस्थाबाट नेपाल गुज्रिन थालेको छ । कतै बाढीपहिरो त कतै दुर्घटना, कहीँ अतिवृष्टि, कहीँ अनावृष्टि, यस्तो अवस्थामा सत्तामा रहेका र प्रतिपक्षमा रहेका राजनीतिक दलहरूको ध्यान उद्दार र राहतलाई सहजीकरण गर्नुपर्नेमा सबै आफ्नो पार्टीभित्र गुम्सिएको पाण्डोरा बक्स खोल्न यही समयलाई रोज्दैछन् । दलको प्राथमिकता विपत्मा रहेका जनताको सेवा पनि हो । जब जनता नै रहन्नन् भने तिनले कसका लागि राजनीति गर्ने ? अस्तव्यस्त भएको जस्तो देखाएर नेपाललाई ओइलाउँदै गएको चित्रण देखाउनुमा केही स्वार्थी तत्त्वहरू विभिन्न भेषमा आएका देखिन्छन् । यसमा कसको के स्वार्थ लुकेको छ भन्ने खुट्याउन नसकिने होइन । बत्तीस वर्ष भइसक्दा पनि नेपालको लोकतन्त्रले किन स्थिरता लिन सकेन । एक पटक मुलुक स्थायित्वमा गयो भने यसले छिटै प्रगति गर्न सक्दछ । तत्कालको लाभहानिबाट माथि उठेर के अब देश र समाजका लागि सबैले चिन्तित र क्रियाशील हुनुपर्ने यो समय होइन र ? बत्तीस वर्षअघि करिब ३० हजार मात्र सक्रिय सदस्य भएको काँग्रेसमा अहिले नौ लाख क्रियाशील सदस्य पुग्दैछन् । लोकतन्त्रलाई चुनावसँग मात्र हेरेर बसिरहने हो भने अबका दिनमा कुनै पनि पार्टीको हैसियत खासै राम्रो रहने देखिँदैन । मुलुकको यस्तो विषम परिस्थितिमा ठूला राजनीतिक दलहरूले सुविधाभोगी संस्कारमा परिवर्तन ल्याई सत्तामा बस्नेले पद्धति बसालेर
जान सक्नुपर्दछ ।