logo
२०८१ बैशाख २३ आईतवार



छाउपडीप्रतिको अन्धविश्वास

विचार/दृष्टिकोण |




निशा चौधरी

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लामा महिला नछुने भएमा आँगन टेक्न नदिने, दूध, दही, घिउजस्ता तागतिला खाना खान नदिने, छुन नदिने, घरमा नबसी गोठमा नै गाईबस्तुसँग बस्नुपर्ने बाध्यताको प्रथा नै छाउपडी प्रथा हो । काठमाडौँ लगायतका ठाउँमा महिला कतिबेला बाहिर सर्छन्, कसैले थाहा पाउँदैनन् । थाहा पाए पनि आफ्नो चलनअनुसार बार्छन् तर नछुने व्यवहार गरिँदैन ।
छाउपडी प्रथा सामाजिक–धार्मिक आस्थासँग जोडिएको कुरा हो । वर्षौंदेखि समाजमा जरा गाडेको यस्तो प्रथालाई अन्त्य गर्न कानुन पनि बनाइयो । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६८ (३) ले महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरेको छ । यस्तो कसुर गरेमा तीन महिनासम्म कैद वा तीन हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ तर छाउ प्रथालाई कानुनले हल्लाउन सकेन । नयाँ पुस्तामा यो प्रथा हट्नुपर्छ भन्ने त छ तर पुरानो पुस्तामा धर्मको डरले गर्दा अझै कायम नै रहेको छ ।

छाउपडी महिलाले दूध, दही खाएमा गाईभैँसी बिरामी पर्छन्, घरभित्रै सुते घरमा अनर्थ हुन्छ भन्ने गलत धारणा र मानसिकताले जकडिएको समाजमा साँच्चै छाउपडी प्रथा हटाउन गाह्रो छ । सुत्केरी र रजस्वला भएकी नारीलाई झन् सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनुपर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरमा समेत छोरीबुहारीलाई साँघुरो र डरलाग्दो छाउगोठमा कोच्न बाध्य छ– पुरानो पुस्ता । कस्तो विडम्बना, बच्चा गर्भमा होउञ्जेल छूत हुने बच्चा जन्मेपछि अछूत हुने !
गर्भवती महिला आठ महिना पुगेपछि उनको हातको पानी चल्दैन रे तर तिनै गर्भवती महिलाले पकाएको दूध चाहिँ चल्छ रे । रजस्वला भएकी महिलाले दूध, दही खान हुँदैन तर तिनै रजस्वला भएकी महिलाले काटेको घाँस चाहिँ गाईभैँसीले खान हुन्छ रे ! कस्तो अचम्मको चलन । यिनै दबाबका कारण घरका छोरीबुहारी बाहिर सर्नेबित्तिकै पोका पुन्तुरा बोकेर अँध्यारो छाउगोठमा रात कटाउन बाध्य छन् । मान्छेको ज्यानको माया छैन, आफ्नो धर्म र देवताको माया छ । सङ्कुचित धारणा र गलत मानसिकताले कैयौँ छोरीबुहारीले ज्यान गुमाउन परेको छ । बलात्कारको सिकार हुनु परेको छ, सर्पको टोकाइबाट र सानो छाउगोठमा निस्सासिएर ज्यान गुमाउनुपरेको छ । कष्टकर रात काट्नु परेको छ । बाहिर सर्दैमा त्यति ठूलो अन्याय र अत्याचार किन ? सफासुग्घर रहे त भित्रै बसे पनि केही नहुने वा केही फरक नपर्ने हो । हाम्रो समाजमा रहेको धार्मिक अन्धविश्वासका कारण महिलालाई नै रोगी, कमजोर बनाउने प्रक्रिया भएकाले यो प्रथाको अन्त्य हुनु जरुरी देखिन्छ ।

रजस्वला हुनु भनेको एउटी महिला आमा बन्न योग्य हुनु हो । ऊ पूर्ण महिला हुनु हो । खासमा रजस्वला हुँदा उत्सव मनाउनुपर्ने हो । वैज्ञानिक आधारबाट हेर्ने हो भने महिलाको पाठेघरमा रहेको डिम्ब फुटेर रगतको रूपमा बाहिर निस्कन्छ । यही रगतलाई फोहोर रगत मानिन्छ । यसरी चार÷पाँच दिनसम्म रगत निस्कँदा एकातिर फोहोर हुन्छ भने अर्कोतिर यस्तो रगतमा जीवकोषहरू मरेर त्यहीँ कुहिएर गन्हाउने हुन्छ । यसबाहेक रज विभिन्न कीटाणुले गर्दा सङ्क्रमित हुने गर्छ र त्यसबाट रोग सर्ने सम्भावना हुन्छ । त्यसैले दूध छोएमा दूध बिग्रने, अरू स्वच्छ खाने वस्तु पनि सङ्क्रमित हुने भएकोले रजस्वला भएकी नारीलाई पाँच दिनका लागि घरमा पस्न दिइँदैन, कुरा यत्ति हो । अर्को विचारणीय कुरा के छ भने केही वर्ष पहिलेसम्म महिलाले कट्टुसमेत लगाउने चलन थिएन । कतिपय गाउँमा अझै पनि यो चलन जस्ताको तस्तै छ । प्रायः पेटिकोट र धोती लगाउने चलन भएकोले जहाँ हिँड्यो, त्यहीँ रगत चुहिने र घर फोहोर हुने भएकोले गर्दा पनि निषेध गरिएको हुनसक्छ । जेसुकै भए पनि फोहोरकै कारण अछूत भएको कुरा स्पष्ट हुन्छ ।
२१आँै शताब्दीमा आएर पनि नेपाली समाज अन्धविश्वासको भूमरीमा रुमल्लिरहेको छ । नकारात्मक सोच र चिन्तन हावी छ । फोहोरले भन्दा पनि देवता रिसाउँछन् भन्ने डरले यो प्रथा अझसम्म पनि समाजमा उस्तै रहेको छ । डर यस्तो कुरा हो, जसले मान्छेलाई काबुमा पार्छ, बाध्यतामा पार्छ । यही डरकै कारणले छाउपडी, बोक्सीको धारणा समाजबाट हट्न सकेको छैन । यसै आधारमा पनि डरकै कारणले अन्धविश्वासको जन्म भएको हो । यदि डर हुँदैनथ्यो भने बाहिर सरेकी महिलाले छुँदा न केही अनर्थ हुन्थ्यो, न कोही काम्थ्यो । यसरी अन्धविश्वास जानीजानी पालियो ।

त्यस्तै पहिलेका मान्छेले मृत्युलाई स्वीकार गर्न सकेनन्, जसले उनीहरूको मनमा डर दियो, अन्धविश्वास दियो । यस्तो अन्धविश्वासले मान्छेलाई यथार्थबाट आफैँलाई छुट्याएर झुटो कुरा हो भन्ने थाहा हुँदाहुँदै पनि नस्वीकार्ने, हठी, स्वार्थी, मानसिक दास र रूढीवादी धारणाको सिकार बनाउने काम ग¥यो । रूढताले व्यक्तित्व, अहंपन, विवेक, सोचाइ, क्षमता आदि सबै भ्रष्ट गरेर अन्धो बनाउँछ । हामीले के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने कुरा नै थाहा हुँदैन । यसरी हाम्रो समाज पनि रूढिवादी धारणा र अन्धविश्वासको खाडलमा पुरिएको छ । त्यसैले त प्राकृतिक प्रक्रिया महिनावारीप्रतिको अछूत धारणा अझसम्म ज्यूँका त्यूँ छ ।
पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लामा मात्र छाउपडी प्रथा छ भन्ने आममानिसको बुझाइ छ तर पहाडबाट झरेका यी प्रदेशका तराई जिल्लामा पनि छाउपडी प्रथा कम छैन । त्यहाँ छाउगोठ देखिँदैनन् तर घरभित्र प्रवेश गर्न पाइँदैन । धारा छुन पाइँदैन, छाउ नबार्ने घरमा बास बस्न जानुपर्ने बाध्यता छ । जति पढेलेखेका, जति जान्नेबुझ्ने मान्छे भए पनि उनीहरू पुरानो पुस्ताका बाउआमाको सोचाइ र धारणाअनुसार चल्न बाध्य छन् । मेरै कारणले घरमा अनर्थ हुन्छ भने किन छाउ नबार्ने भनेर नयाँ पुस्ता चुपचाप लागेर छाउ बार्न बाध्य छन् । भान्सा, पूजाकोठामा प्रवेश निषेध भए पनि सुत्ने कोठामा त सुत्न पाउनुपर्ने हो । कल्पना, अनुमान र सोचाइले कतै छोइहाल्छ कि, छोयो कि भनेर काम्न थाल्छन् । धामीले फाइफुइँ गरेपछि जुरुक्क उठ्छन् । त्यही धामीले गर्ने कल्पना, अनुमान र सोचाइले कहिलेकाहीँ त्यहीँ काम्ने रोग निको भयो भन्दैमा अन्धविश्वासमा रुमलिन्छन् । उनीहरूलाई थाहा हुँदैन कि यी त दिमागमा गराउने अवलोकन, अध्ययन, निरीक्षण र निर्णयमा हुने त्रुटि र मस्तिष्कको छक्याउने जाल वा चाल मात्र हो । काम्ने मान्छेले होस गुमाउँछ र धामीले फाइदा उठाउँछ ।

अन्त्यमा छाउपडी प्रथा आफैँमा कुप्रथा हो । सामाजिक कुसंस्कारका रूपमा रहेको छाउपडी प्रथालाई न्यूनीकरण गर्न विभिन्न कानुन बने, मानव अधिकारका रक्षकहरू, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक सङ्घसंस्था तथा सामाजिक अभियन्ताहरूले यसको उन्मूलन गर्नुपर्ने धारणा राखे । कतिपय ठाउँमा यो प्रथा अन्त्य भएको पनि देखिन्छ तर अधिकांश भागमा यो प्रथा न्यूनीकरण हुन सकेको छैन । समस्या ज्यूँका त्यूँ छ । समाजमा यो प्रथा यति जकडिएको छ कि मानिस यो कुुरीति हो भन्ने थाहा पाउँदा पाउँदै पनि यसको विरुद्धमा बोल्न सक्दैनन् । छाउपडी प्रथालाई संस्कृतिसँग जोडेर हेर्नाले मस्तिष्कमा परेको गहिरो प्रभावलाई मेट्न सकिरहेका छैनन् । संस्कृति, परम्परा हो भनेर सहजै स्वीकारी दिन्छन् । जसले गर्दा घरका छोरीबुहारी अँध्यारो, साँघुरो गोठमा बस्न बाध्य छन् । मान्छेको ज्यान गए मतलब छैन तर धर्म संस्कृति गएकोमा मतलब छ । आखिर कहिलेसम्म नेपाली चेलीबेटीले छाउपडीको नाउँमा आफ्नो ज्यान जोखिममा पारेर मृत्युको सिकार भइराख्ने ? बलात्कारको सिकार भइराख्ने ? जबसम्म पुरानो पुस्तामा छाउपडी प्रथा एउटा कुप्रथा हो भन्ने सोच र धारणामा परिवर्तन आउँदैन, तबसम्म यो प्रथा चली नै रहने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?