logo
२०८१ बैशाख २३ आईतवार



चेतनाका लागि नारी शिक्षा

विचार/दृष्टिकोण |




निशा चौधरी
महिलालाई शिक्षाको किन आवश्यकता छ भन्ने प्रश्न हाम्रो समाजको एउटा महìवपूर्ण मुद्दा नै बनेको छ । शिक्षा एउटा यस्तो आभूषण हो जसले मानिसलाई संस्कारवान र सुशिक्षित बनाउँछ । जसरी हाम्रो जीवनका लागि अक्सिजन आवश्यक हुन्छ त्यसैगरी मानव जीवनकालमा शिक्षाको महìव रहेको हुन्छ । जहाँ शिक्षा हुन्छ त्यहाँ जीवन हुन्छ । शिक्षा जीवनका लागि अमूल्य निधि ठहर्छ । मानिसले टेक्ने पहिलो पाइलो धर्ती हो भने दोस्रो पाइलो शिक्षालय नै हो ।

एउटा पुरुष शिक्षित भयो भने एउटा व्यक्ति मात्र शिक्षित हुन्छ तर एउटा महिला शिक्षित भइन् भने पूरा परिवार नै शिक्षित हुन्छ । किनकी महिला एउटा यस्तो कुहिनुर हीरा हुन् जुन एउटा होइन दुई दुईवटा घरलाई शिक्षित बनाउन सक्छिन् । एउटी नारी शिक्षित भइन् भने आफ्नो शिक्षाको उपयोग समाज र परिवारको हितका लागि गर्छिन् । एउटा शिक्षित नारीको कारण देशको आर्थिक स्थिति र घरेलु उत्पादनमा बढोत्तरी हुन्छ । घरेलु हिंसा र अन्याय अत्याचारविरुद्ध लड्न सक्छिन् । आफ्नो हक अधिकारको निमित्त आवाज उठाउन सक्छिन् । देश विदेश भ्रमण गर्न र विदेशीसँग विश्वमञ्चमा सँगसँगै अन्तक्र्रिया गर्न सक्छिन् । नारी शिक्षाको प्रभाव एउटी नारीमा मात्र निहित नभएर पूरा परिवार, समाज र देशको हरेक क्षेत्रमा अहं योगदान रहेको हुन्छ । देशको हरेक उच्च ओहोदामा आज महिलाहरूले महìवपूर्ण योगदान दिएका छन् ।

आजको युगमा हरेक अभिभावक नारी शिक्षाको समान दर्जाप्रति जागरुक हुन आवश्यक छ । हाम्रो देशको कुना काप्चामा अझै पनि कहीँ न कहीँ घरमा छोरा र छोरीबीच भेदभाव भएको पाइन्छ । नारीप्रतिको सामाजिक पारिवारिक दृष्टिकोण सङ्कुचित एवं सङ्कीर्ण बनेको पाइन्छ । परिणामतः नारीले पराइघर जाने भनेर जन्मघर र अर्काको घरबाट आएकी भन्दै कर्मघरमा समेत अपेक्षित र अपहेलित हुनु परेको छ । त्यसैले त उनलाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन परेको छ । चुलो चौको अँध्यारो चौघेराभित्र खुम्चिनुपरेको छ । डोको, नाम्लो र मेलापातमै सीमित हुनु परेको छ । महिला हिंसाको शिकार बन्नुपरेको छ । जुन परिवारका राष्ट्र र युगमा नारीहरू अशिक्षित हुन्छन् त्यो परिवार असभ्य, अविकसित एवं कालो युगमा रूपमा चिनिन्छ भने जुन परिवार राष्ट्र र युगका नारी शिक्षित हुन्छिन् त्यो परिवार सभ्य समुन्नतका साथै त्यो युग स्वर्णयुगका नामले पुकारिन्छ । त्यसैले नारीलाई उचित शिक्षा दीक्षाको व्यवस्था गर्नु अति आवश्यक छ ।

आजको युगमा नारी शिक्षाको निकै नै आवश्यकता रहेको छ । नारी शिक्षाले बौद्धिक विकास प्राप्त हुन्छ जसले समाजको व्यवहारमा सरसता ल्याउँछ । मानसिक र नैतिक शक्तिको विकासमा नारीले पुरुषलाई सम्पूर्ण रूपमा योगदान दिँदै आइरहेकी हुन्छिन् । एउटी शिक्षित नारी आफ्नो गृहस्थ जीवनमा शान्ति र खुसीको स्रोत बनेकी हुन्छिन् । नारी शिक्षा हाम्रो संस्कृतिको ऊर्जा र विकासका सञ्चार हुन् । जब कुनै नयाँ समाज स्थापना हुन्छ तब एउटी शिक्षित नारीले राम्रो व्यवस्था प्रदान गर्छिन् । नारी शिक्षाले परिवारमा विनम्रता र सहनशीलता प्रदान गर्दछ ।

नारी सिङ्गो राष्ट्रकी मुहान हुन् । नारीले जीवनमा छोरी, दिदी, बहिनी, पत्नी, बुहारी र आमा बनेर आएकी सिङ्गो मुहान हुन् । एउटी नारी शिक्षित हुुँदा उनको छत्रछायाँमा भएका परिवार, छरछिमेक, समाज र देश समेत शिक्षित बन्न सक्छ । नारीमा असीम शक्ति रहेको हुन्छ । नारी विना समाजको रक्तसञ्चार नै अधुरो र अपुरो हुन्छ । एउटी नारीले दस महिनासम्म शिशुलाई गर्भमा राखेर कोखमा जन्म दिन्छिन् अनि सहस्रधारा दूध खुवाएर बालक हुर्काउनुलाई नै आफ्नो सर्वस्व ठान्छिन् । नवजात शिशुले आमाको न्यानो, प्यारो र सुकोमल काखलाई नै आफ्नो पहिलो पाठशाला बनाउँछ ।

आमा अशिक्षित छिन् भने त्यसको प्रत्यक्ष असर ती कलिला बालबालिका माथि पर्न जान्छ । एउटी शिक्षित आमाले सन्तानलाई शिक्षाको समुचित परिवेश तयार पार्नका साथै उसलाई युगीन सभ्यता र संस्कारसँग पनि परिचित गराउँछिन् । प्रत्येक शिक्षित आमाको काखबाट सुशिक्षित नागरिक जन्मन्छन् । सुयोग्य व्यक्ति पैदा हुन्छन् । त्यसबाट सिङ्गो राष्ट्र समुन्नतिको बाटो तर्फ अग्रसर हुन्छ । तसर्थ असल आमा भईन् भने असल राष्ट्र बन्छ । त्यसो हो भने नारीलाई शिक्षा किन नदिने ?

शिक्षालाई विश्वमा नारीलाई सशक्त बनाउन र उनको मानव अधिकारको उल्लङ्घनबाट बचाउने सबैभन्दा शक्तिशाली साधन मानिन्छ । नारीलाई शिक्षा दिए हाम्रो समाज र देशको भविष्य अवश्य बदलिने छ । शिक्षाले नारीलाई अधिक ज्ञान, कौशल, आत्मविश्वास र क्षमता प्राप्त हुन्छ जसले आफ्नो जीवनमा आइपरेका विभिन्न समस्यासँग जुध्न, आर्थिक रूपमा स्वतन्त्र बन्न, पारिवारिक वा सामुदायिक मुद्दालाई सन्तोषजनक ढङ्गबाट समाधान गर्न, आफ्नो अधिकारको लागि लड्न र सन्ततिको मार्गदर्शन गर्न आत्मविश्वास दिने गर्छ । त्यसैले नारीलाई उचित शिक्षा दीक्षा दिन आवश्यक छ । साथै नारी शिक्षालाई अझ वृहत, फराकिलो अनि अनिवार्य बनाउनका लागि राज्यले पनि उचित ध्यान दिनुपर्छ । यसले समुन्नत राष्ट्र निर्माणमा सकारात्मक सघाउ पु-याउँछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?