logo
२०८१ बैशाख १३ बिहीवार



स्वनिर्भरताको बाटो

विचार/दृष्टिकोण |




डा.चन्द्रमणि अधिकारी

अहिले आर्थिक तथा सामाजिक जीवनलाई प्रविधिले गाँजेको छ । यसले मानव जीवनमा सहजता र जटिलता दुवै थपेको छ । आवतजावत तथा ओसारप्रसार शीघ्र र सजिलो भएको छ । हिसाब किताब छिटोछरितो बनाएको छ, असङ्ख्य तथ्याङ्क (बिग डाटा) एकैचोटि प्रशोधन गर्न सकिन्छ । मुठीको भाँडो खोल्दा पढ्ने सामग्री पर्याप्त पाउन सकिन्छ । यसले स्वास्थ्य सेवालाई बढी भरपर्दो बनाएको छ, टेली मेडिसिनको अभ्यास सुरु भएको छ, स्वास्थ्य क्षेत्रमा भएको विद्युतीय प्रविधिले मानिसको आयु थपेको छ, आमा र शिशुको स्वास्थ्य हकलाई बढी सुनिश्चित पारेको छ । । कृषिको उत्पादकत्व बढाएको छ उद्योगको लागत घटाएको छ । सञ्चारको क्षेत्रमा क्रान्ति नै ल्याएको छ । मनोरञ्जनको अर्थ, महìव र स्वरूपलाई परिवर्तन गरिदिएको छ । मानसिको सोचाइमा आमूल परिवर्तन ल्याएको छ, हरेक व्यक्तिको चेतनाको स्तर तथा प्रकृतिलाई उद्वेलित बनाएको छ । विश्वको जन्मदरलाई आमूल रूपमा तलमाथि पारेर परिवारको आकार, स्वरूप र सङ्ख्यासमेतको संरचनालाई प्रभावित गरेको छ । सरसफाइ, भान्सादेखि सयन कक्ष तथा शौचालयको प्रयोग तथा अभ्यासको कार्यमा रूपान्तरण गरेको छ । परम्परागत ऊर्जा व्यवस्थादेखि युद्धको कार्यसमेतलाई प्रभावित गरेको छ । प्रविधिले राष्ट्र, जलवायु, मौसम, भूगोल, समाज, परिवार र व्यक्तिसमेतको जीवन र व्यवहारलाई उथलपुथल बनाइदिएको छ । प्रविधिको विकासले अर्थ, राजनीति, समाज र मानव जीवनले फड्को मारेको छ ।

तर यो फड्कोले सकारात्मक र सजिला कुरा मात्र दिएको छैन, कतिपय अवस्थामा गम्भीर जटिलता पनि थपेको छ । जलवायुमा परेको प्रभावले विश्वको बसाइ र जीवन चक्रलाई जोखिममा धकेलेको छ, कतिपय देशको अस्तित्व समाप्त हुँदैछ, कतिपय जैविक वनस्पति र प्रजाति लोप हुँंदैछन्, मित्र वनस्पति र किटपतङ्गको अस्तित्व समाप्त हुँदैछ भने शत्रु स्वभावका वनस्पति र जीव बढेर गएका छन् । यसको प्रतिकूल प्रभाव कृषि र खाद्यान्न हुंँदै मानव स्वास्थ्यमा पर्न थालेको छ, अनि पर्यावरणलाई अझ जोखिमयुक्त बनाउँदैछ । प्रविधिले दिने सजिला कुराको प्रयोग र प्रचार उच्च ढङ्गले हुनु तर यसले सिर्जना गर्ने प्रतिकूलताका पक्षलाई राख्नुपर्ने जति ध्यानमा नराखिनु, गम्भीर रूपमा नलिइनु, उत्पन्न हुने जोखिम र नोक्सानको मूल्याङ्कन गरेर त्यसअनुरूप नीति र कार्यक्रम समयमा ल्याउन नसकिनु, ढिला गरेर ल्याइएको नीति र कार्यक्रमलाई पनि प्रभावकारी ढङ्गले कार्यान्वयन नगरिनु आदि नै प्रविधिको प्रयोगले नकारात्मक प्रभाव पार्नुको मूल कारण हुन् । हुन त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विषय उठान भए, उच्च स्तरमा भेटघाट सम्मेलन आदि भए, केही महिनाअघि संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न कोप २६ मा यस्ता कुराहरू पर्याप्त रूपमा उठे र उठाइए पनि । तर ती सबै भेटघाट वनभोज पछिको दिनचर्या जस्तो भयो ।

हिजोको एक किसिमको गरिबीबाट मुक्त समाज अर्को प्रकृतिको गरिबीमा फस्दै गयो, एक प्रकारको दासताबाट मुक्त समाज प्रविधि र सम्पत्तिको अत्याधिक केन्द्रीयताले सिर्जना गरेको अर्को प्रकृतिको दासतामा फस्यो, हिजोका दिनमा अनपढ र अदक्ष व्यक्तिहरू दासतामा पर्ने गरेकोमा पढेलेखेका र श्वेत रङ्गी युवा पनि यसको पासोमा पर्न थाले । हुने र नहुने देश एवं परिवारबीचको खाडल बढ्दै जानुले यो कुरा पुष्टि हुन्छ । आज भोलिकै कुरा गर्दा पनि विश्व एकातिर कोरोना भाइरस माहामारीको चपेटामा छ, विश्वमा गरिब र भोकाहरूको सङ्ख्या बढेको छ, कम आय हुने देशका २० प्रतिशत मानिसले मात्र कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् । अर्कातिर अर्बपतिहरूको सङ्ख्या कोभिडकालमा नै ६६० ले बढेर दुई हजार ७५५ पुगेको छ । तीमध्ये माथिल्ला १० जना मात्रको खुद सम्पत्ति झण्डै १२ खर्ब डलर पुगेको छ । यसरी सम्पत्ति र स्रोत सीमित व्यक्तिको हातमा थुप्रिने क्रम बढेको छ । धनीहरूले वार्षिक चार सय अर्ब डलरभन्दा बढीको कर छल्छन् । यसको प्रभाव विश्व राजनीतिमा कति होला ? धनी देशहरूको गरिबहरूप्रतिको सहानुभूति कत्तिको यथार्थवादी छ ? विश्वका अधिकांश देशका नेताले समाजवाद र समतामूलक समाजको वकालत गरेको सन्दर्भमा विश्वको स्रोत मुठ्ठीभर व्यक्तिको हातमा रहँदा विश्वमा अमनचयन कायम हुन सक्छ भन्ने समेतका प्रश्न उब्जिन थालेका छन् ।

यसरी प्रविधिको प्रयोगबाट प्राप्त उपलब्धिसँगै समाजको संरचना, जनसङ्ख्याको संरचना, वर्षा, मौसम, बादल, जैविकतासमेतका क्षेत्रमा साइड इफेक्टहरूको चाङ बढ्दै गएको र अर्थराजनीति प्रभावित भएको प्रष्टै देख्न सकिन्छ । त्यति मात्र होइन, विश्व व्यापार, उद्यम, आवास, आप्रवासन र सुरक्षासमेतका क्षेत्रमा असन्तुलन बढेर गयो, अस्वस्थ प्रतिस्पर्धा बढेर गयो, मानवतामा क्रमशः ह्रास आउन थालेको छ । विश्वमा सुरक्षा क्षेत्रमा हुने खर्चको अनुपात ह्वात्तै बढेको छ । फलस्वरूप कतिपय साना देशले अर्थसामाजिक क्षेत्र मारेको फड्को वा प्राप्त उपलब्धि धान्नलाई धौधौ भएको छ । यस सन्दर्भमा नेपालकै कुरा गर्दा आजभन्दा ५०–६० वर्ष अगाडि हाम्रो समाजलाई आधुनिकताले त्यति छोएको थिएन । जीवनका सबै काम कुरा प्रकृतिको नजिक रहेर हुन्थे, सबै कुराको आधार स्थानीय स्रोत थियो । केही वर्षअघिसम्म गाउँमा एकाधबाहेक पसल थिएनन् । किनेर खाने भनेको नुन, सुन र मट्टितेल मात्र थियो । अम्मलीले काँचोपातको बिडी, चुरोट वा कँकड खान्थे, लुगाफाटा सामान्यतया वर्षमा एकचोटि किनिन्थ्यो । दैनिक रूपमा चाहिने कतिपय सामान र भांडाकंडा समेत स्थानीय स्रोत प्रयोग गरेर बनाइएका हुँन्थे ।

दाँत माझ्ने, खाने तेल राख्ने, दूध दुहुने, दही पार्ने, चामल कुट्ने, पीठो पिँध्ने, निफन्ने, फट्कार्ने, ओड्ने, भारी बोक्ने, हलो जोत्ने, वस्तुलाई पानी र कुंडो खुवाउने, थुक्ने, सुत्ने, बस्ने, खोला तर्ने, उपचार गर्ने, औषधि गर्ने, राखन धरन, काट्ने, ठोक्ने, खेल्ने, मनोरञ्जन गर्ने, बालबालिकालाई झुलाउने, खेलाउने र फुल्याउने, रोटी पकाउने, माछा मार्ने, शिकार गर्ने, जग्गे बनाउने र सजाउनेसमेतका कार्यसम्बन्धी सामग्री स्थानीय स्रोतबाट बनाइएका हुन्थे । रुखका हाँगा वा गोलले दाँत माझ्ने गरिन्थ्यो । आगो फुक्ने ढुङ्ग्री, ठेकी मदानी, नेती, आरी, थुकदानी, काइँयो, ढिकी, जाँतों, घट्ट, हलो, जुवा, अनौ, हरिस, जोतारो, डल्लेठो, दाम्लो, नाम्लो, बरियो, डोको, घुम, डालो, नाङ्लो, कोक्रो, गलैँचा, राडी, फलैँचा, सन्दुक, दराज, बाकस, मादल, सारङ्गी, ढुकुटी, अन्न राख्ने भकारी, माना, पाथी, करुवा, कोल, सबै स्थानीय स्रोतको प्रयोग गरेर बनाइन्थ्यो । त्यस्ता स्थानीय स्रोतमा ढुङ्गा, चुनढुङ्गा, माटो, रुख, काठ, लहरा, पात, बोक्रा, बाँस, बेत, निगालो, बाबियो र जनावरका छाला तथा रौँ आदि पर्दथे । कसैको हातगोडा भाँचियो वा मर्कियो भने आधुनिक भाषाको बेन्डेज र प्लास्टर गर्ने भनिनेजस्ता काममा पनि खयर, चिप्ले, कीरा र नेपाली हाते कागज समेतको सामग्री प्रयोग गरी बाँसको कप्टेराको काम्रो लगाई उपचार गरिन्थ्यो । त्यसैले होला जीवनस्तर बढी श्रममुखी, कडा र कठिन भए पनि ग्रामीण अर्थतन्त्र एक हदसम्म आत्मनिर्भर थियो । आयातित सामग्रीको सूची अत्यन्त सानो थियो तर अहिले यी वस्तुलाई आयातित वस्तुले विस्थापति गरेका छन् त्यसमा पनि अधिकांश प्लास्टिकबाट निर्मित छन् । फलस्वरूप वार्षिक व्यापार घाटा रु.१७ अर्ब नाघ्ने स्थिति आएको छ । यसको बहुपक्षीय असर देखिन थालेको छ, भुक्तानी सन्तुलन चुनौतीपूर्ण मोडमा पुगेको छ ।

हामी फेरि त्यहीँ डोकोनाम्लो र काम्रो युगमा फर्किनु पर्छ भनेको होइन । बरु सोच, नीति तथा कार्यक्रममा कहाँ भूलचुक भयो भन्ने कुरा केलाएको हो । बुझ्नुपर्ने विषय, यी सबै एकैचोटि र एकैदिन विस्थापित भएका होइनन् । तर केही वस्तु विस्थापित भएपछि हामीले ती वस्तुलाई नयाँ प्रविधिसँग जोडेर स्थानीय स्रोतलाई नै फरक ढङ्गले प्रयोग गरी त्यही कार्य बढी दक्षतापूर्वक गर्न सक्ने तथा समय, प्रविधि, समाज र बजार अनुरूपका आफ्नै नयाँ उत्पादनले पुराना प्रकृतिका उत्पादनको ठाउँ लिन सक्ने गरी नीति तथा कार्यक्रम ल्याउन सकेको भए अहिलेको पूर्ण परनिर्भरताको स्थिति आउने थिएन । बरु गाउंठाउँमै उद्योग बढ्थ्यो, उत्पादन र रोजगारी बढ्थ्यो तर हुने कुरा भइसक्यो । त्यसैले अब पाठ सिकेर आउँदा दिनमा अरू के के कुरा विस्थापित हुँदैछन्, के के कुरा पुनस्र्थापित गर्न सकिन्छ, के नयाँ कुराले आयातित वस्तुको सूची घटाउन सकिन्छ भन्ने विषयमा व्यापक अध्ययन विश्लेषण गरी तीनवटै तहमा त्यस अनुरूप नीति तथा कार्यक्रम बनाई कार्यान्वयनमा लैजान ढिलो गर्न हुंँदैन । त्यसो गर्न सके सङ्घीयता पनि सार्थक होला र अर्थतन्त्र पनि क्रमशः आत्म निर्भरताको बाटोमा जाला भन्ने विश्वास लिन सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?