logo
२०८१ मंसिर ११ मंगलवार



चिसोप्रतिको उदासीनता

विचार/दृष्टिकोण |




डा. साधना प्रतीक्षा

राजधानीमा दिन प्रतिदिन चिसो बढिरहेको छ । यसले सर्वसाधारणको दैनिकीलाई नै असहज बनाइरहेको छ । मानिस चिसोबाट जोगिन यथाशक्य प्रयास गरिरहेका छन् तर यहाँका निजी विद्यालयलाई भने बढिरहेको चिसोले छोएकै छैन । उनीहरूको ध्यान केवल कसरी आफ्नो विद्यालयको परीक्षाफल उत्कृष्ट स्थानमा ल्याउने र सोही आधारमा विद्यार्थी भर्ना बढाउने भन्नेमा केन्द्रित देखिएको छ । त्यसैले ती विद्यालयले झिसमिसे बिहानीदेखि नै अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन् । यसबाट विद्यालयलाई फाइदा पुगे पनि विद्यार्थीको स्वास्थ्यमा भने नकारात्मक प्रभाव परिरहेको छ । हेर्दा सामान्य लागे पनि बढिरहेको चिसो मौसममा यसरी बिहानी कक्षा सञ्चालन गरिनुले बालबालिकामा गम्भीर समस्या ननिम्त्याउला भन्न सकिँदैन ।

चिसोका कारण बिरामी भएको छोरालाई अस्पताल लैजाँदै गरेकी एक परिचित दिदीले आफ्नो दुःखेसो यसरी पोखेकी थिइन्, “बिहान अँध्यारैमा स्कुल गएको छोरो साँझ पर्न लाग्दा बल्ल घर फर्कन्छ । खानको ठेगान छैन । बिहानैदेखि खाना लिएर जान्छ, कहिले खाएको हुन्छ, कहिले त्यसै । स्कुलमा राम्रो क्यान्टिन पनि छैन । हेर्नुस् न यसका हातका औँलाहरू पनि चिसोले सुन्निएका छन् । अहिले त खोकीले सताएको छ । त्यसैले जँचाउन जान लागेकी ।” उनको साथमा भएको कक्षा ८ मा पढ्ने छोरो साँच्चै नै बिरामी देखिएको थियो । बच्चाका हातका औँलाहरू पनि सुन्निएका थिए । यस्तो भए पनि उसलाई आफ्नो पढाइ छुटेकोमा परीक्षा बिग्रने डरले सताइरहेको थियो । त्यो डर उसको बालमानसिकतामा शिक्षक तथा विद्यालय प्रशासनले भरिदिएका थिए ।

राजधानीका निजी विद्यालयले बिहान सञ्चालन गरेका अतिरिक्त कक्षाबाट जाडोका कारण विद्यार्थी मात्र होइन, अभिभावकमा समेत असहजता सिर्जना भएको छ । यसको उदाहरण बनेकी साथीको गुनासो यस्तो छ, “हेर न म त छोराछोरीको पढाइका कारण बिरामी पो पर्न थालेकी छु । जाडो बढ्दो छ, बिहान पाँच पनि नबज्दै उठेर छोराछोरीका लागि खाना तयार गरिदिनुपर्छ । छोराछोरीको त बेहालै भएको छ, यो कहीँ नभाको पढाइले । बिहान अँध्यारैमा जान्छन् र बेलुकी अँध्यारो हुने बेलामा फर्कन्छन् । चिसो मात्र कहाँ हो र, दिन पनि त छोटा छन् । होमवर्क छ भनेर आधा रातसम्म बस्छन् । कुन बेला बिरामी पर्ने हुन्, चिन्ताले खान आँट्यो ।” हामीले पनि त पढेकै हो । हाम्रा पालामा यसरी लादिएर पढ्न पर्दैनथ्यो र पनि राम्रो अङ्क ल्याएरै पास हुन्थ्यौँ । खै अचेलको पढाइ के हो के हो यस्तो ? उनी हैरान थिइन् ९ र १० कक्षामा पढ्ने छोराछोरीको पढाइको चाप देखेर ।

उनी मात्र होइन, अहिले राजधानीका अधिकांश निजी विद्यालयमा छोराछोरी पढाइरहेका अभिभावक यसरी नै चिन्तित बनिरहेका छन् । निजी विद्यालयले जिल्लास्तरीय परीक्षा एवं माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)लाई ध्यानमा राखेर कक्षा ८ देखि बिहान अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेका छन् । यस्तो कक्षा स्वैच्छिक नभएर बाध्यकारी हुने गर्दछ । अन्य समयमा यस्तो कक्षा बालबालिकाका लागि थप बोझ मात्र हुने भए पनि पुस–माघको जाडोमा यसले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ । उनीहरूमा रुघाखोकी, निमोनिया, श्वासप्रश्वासको समस्या, बाथजस्ता समस्या देखिने गर्छन् । बढ्दो जाडोमा वयष्क त एकाबिहानै मर्निङ वाक आदिमा बाहिर निस्कन छाडेर घरभित्रै न्यानो गरी बस्दै गरेको अवस्थामा बालबालिका उज्यालो नहुँदै विद्यालयको पोसाक लगाएर विद्यालयका चिसा कोठामा बसेर तीन–चार घण्टा पढ्नु भनेको सामान्य कुरा होइन ।

राजधानीका केही गनिएका महँगा निजी विद्यालयबाहेक अन्यमा वातानुकूलित सुविधा छैन । कतिपयमा त झ्याल–ढोकासम्म राम्ररी बन्द हुँदैनन् । त्यस्तोमा विद्यार्थीले कठ्याङ्ग्रिँदै पढ्नुपर्ने हुन्छ । यस्ता कक्षाकोठामा पढ्ने विद्यार्थीका हातखुट्टाका औँला सुन्निन थालेको देखिन्छ । यस्ता विद्यालयमा व्यवस्थित चमेनागृह पनि नहुने हुँदा विद्यार्थी उज्यालो नहुँदै पकाएको खाना बोकेर जान्छन् । कतिपयले त्यसलाई राम्ररी व्यवस्थित गर्न नसक्दा त्यो चिसिने गर्दछ । यस्तै कतिपय बालबालिका अभिभावकले कर नगर्दासम्म खाना नखाने हुन्छन् भने कतिपय साथीसँग खेल्ने वा गफ गर्ने धुनमा खानालाई बेवास्ता गर्छन् । यसले उनीहरूको स्वास्थ्यमा थप समस्या आउने गर्छ । यसबाहेक उनीहरूका लागि थप समस्या पढाइको अत्यधिक चाप हुने गर्छ ।

शिक्षण–सिकाइ भनेको बालबालिकाको रुचि र क्षमताअनुसार स्वतस्फुर्त हुनुपर्नेमा हामीकहाँ त्यो अभिभावक तथा विद्यालयको चाहनाअनुरूप बाध्यकारी हुने गर्छ । त्यसो त हाम्रो शिक्षा पद्धति नै गलत देखिन्छ । हामीकहाँ व्यावहारिक शिक्षा होइन, सैद्धान्तिक शिक्षा दिइन्छ । त्यसैले त हाम्रा बालबालिका १२ कक्षा पास गर्नासाथै विदेश पलायन हुने गर्छन् । निर्धारित पाठ्यपुस्तक रटाउने अनि परीक्षाका नाममा दुई–तीन घण्टा लेखेको भरमा एउटा विद्यार्थीको समग्र मूल्याङ्कन गरिनु आफैँमा हास्यास्पद देखिन्छ किनभने यसले हरेक बालबालिकाभित्र लुकेको भिन्न रुचि र क्षमताको प्रतिविम्बन गर्न सक्दैन । त्यसैले हाम्रो शिक्षा पद्धति नै अव्यावहारिक देखिएको छ । यसले केवल शिक्षित बेरोजगार उत्पादन गर्ने गर्छ । यस्तो यथार्थबीच निजी विद्यालयको आपसी प्रतिस्पर्धामा विद्यार्थी पढाइको अत्यधिक बोझले थिचिनु न्यायसङ्गत देखिँदैन ।

हाल निजी विद्यालय अत्यन्त व्यापारिक बन्दै गएका देखिन्छन् । त्यसैले तिनीहरूले एकातिर अतिरिक्त कक्षा सञ्चालन गरेर बालबालिकालाई रटाएर आफ्नो विद्यालयको उत्कृष्टता प्रदर्शन गर्न चाहन्छन् र यसैका आधारमा बढीभन्दा बढी विद्यार्थी भर्ना गर्न चाहन्छन् । अर्कातिर अतिरिक्त कक्षाका नाममा थप शुल्क लिएर आयआर्जन पनि गर्छन् । त्यसै पनि अनावश्यक शीर्षकमा शुल्क लिइरहेका यस्ता विद्यालय अतिरिक्त कक्षाबाट समेत लाभान्वित हुने गरेका देखिन्छन् ।

पढाइको चर्को दबाब अहिले निजी विद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थीले खेपिरहेका देखिन्छन् । एकातिर अभिभावक उनीहरूलाई राम्रो नतिजा ल्याउन दबाब दिइरहेका हुन्छन् भने अर्कातिर विद्यालय प्रशासन र शिक्षकबाट पनि उनीहरूले त्योभन्दा बढी दबाब महसुस गरेका हुन्छन् । अधिकांश विद्यालयमा आवश्यकताभन्दा बढी गृहकार्य दिइने गरिन्छ । शिक्षकलाई यसको हेक्का हुँदैन कि बिहान अँध्यारैमा विद्यालय आएर साँझपख घर पुग्ने विद्यार्थीले कति बेला त्यो गृहकार्य पूरा गर्न सक्छ । गृहकार्य नगर्ने विद्यार्थी कक्षामा सजायको भागिदार हुने भएकाले उसले रातको समय त्यसका लागि खर्चिने गर्छ । यसरी उसले आराम गर्ने समय पनि पाउँदैन, मनोरञ्जनको त कुरै छोडौँ । यसबाट उसको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ ।

बालबालिकालाई यन्त्रवत ठानेर दिइने पढाइको बोझ तथा परीक्षामा उसले उत्कृष्ट नतिजा ल्याउनुपर्ने दबाबका कारण कतिपय बालबालिकाको मानसिकतामा नराम्रो असर परिरहेको हुन्छ । बालबालिका आत्तिने, डराउने, हडबडाउने र चिढिनेसमेत गरेको देखिन्छ । परीक्षामुखी पढाइमा एकोहोरो भएर लागिरहँदा उसको सिर्जनशीलता हराउने गर्छ । कतिपय विद्यालयका शिक्षकले विद्यार्थीलाई राम्रो अङ्क ल्याउन गाइड तथा गेसपेपर पढ्नसमेत प्रेरित गरेको पाइन्छ । उनीहरूको यस्तो प्रवृत्तिले विद्यार्थीको प्रतिभा, मौलिकता र सिर्जनशीलतामा अतिक्रमण गरेको हुन्छ । उसले आफ्नो क्षमता र मौलिकतालाई भन्दा अरूको तयारी उत्तरलाई महìव दिन थाल्दछ । पढाइ भनेको बालबालिकामा निहित क्षमता उजागर गर्ने माध्यम हो भन्ने कुरा हरेक शिक्षक तथा अभिभावकले बुझ्नु आवश्यक हुन्छ ।

कतिपय निजी विद्यालयले कक्षा १० का विद्यार्थीका लागि छात्रावास अनिवार्य गरेको पाइन्छ । छात्रावासमा राखेर परीक्षामुखी भएर उनीहरूलाई पढाइमा रटाएर एस.ई.ई.मा राम्रो नतिजा ल्याउनु यसको उद्देश्य हुन्छ । यसो भए पनि अधिकांश विद्यालयमा छात्रावास व्यवस्थित भएको पाइँदैन । राम्रो भौतिक पूर्वाधार नहुनु, उपयुक्त खानपान एवं स्वस्थकर वातावरणको अभावका कारण विद्यार्थीको स्वास्थ्य बिग्रने गरेको देखिन्छ । बढ्दो चिसोमा अधिकांश छात्रावासमा रहने विद्यार्थीले जाडोको समस्या भोगिरहेका देखिन्छन् । विद्यालय प्रशासनले विद्यार्थीको सुविधा तथा सहजतालाई भन्दा आफ्नो फाइदालाई मात्र ध्यान दिएको पाइन्छ । यसबाट उनीहरूलाई दुई प्रकारको फाइदा पुग्ने गर्दछ । पहिलो छात्रावासको शुल्कबाट आर्थिक लाभ तथा दोस्रो विद्यार्थीलाई रटाएर परीक्षामा उत्कृष्टता हासिल गर्नु । यसको विपरीत विद्यार्थीले भने अनेक कठिनाइ झेलिरहेका हुन्छन् ।

हाल उपत्यकाका निजी विद्यालयले जाडो बिदाको समय छोट्याउँदै गएकाले पनि बालबालिका चिसोले प्रभावित भएको देखिन्छ । कतिपय विद्यालयमा त बिदा नै दिइँदैन । चाहे एकाबिहानै अतिरिक्त कक्षा सञ्चालन गरिनु होस् या जाडो बिदा छोट्याउनु होस्, दुवै बालस्वास्थ्यविपरीत छ । कोभिडको खतरा रहिरहेकै अवस्थामा त यसले थप जटिलता निम्त्याउन सक्छ । निजी विद्यालयले गर्ने यस्तो मनोमानीप्रति सरकार र सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ । शिक्षा मन्त्रालयले यस सम्बन्धमा एउटा निश्चित मापदण्ड निर्धारण गरेर कार्यान्वयन नगर्ने हो भने राजधानीका अधिकांश बालबालिका चिसोका कारण स्वास्थ्यसम्बन्धी अनेक समस्या झेल्न बाध्य हुनेछन् । बढ्दो चिसोलाई ध्यानमा राखेर विद्यालयले बिहानी कक्षा केही समयका लागि बन्द गर्न ढिलाइ गर्नुहँुदैन किनभने बालबालिकाको स्वास्थ्यभन्दा शिक्षा ठूलो होइन ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?