डा. अर्जुनकुमार खड्का
महिला तथा पुरुषले पति पत्नीको सम्बन्ध जोड्ने धार्मिक, सांस्कृतिक, सामाजिक वा कानुनी कार्यलाई विवाह भनिन्छ । विवाहको धार्मिक सिद्धान्तअनुसार वैवाहिक सम्बन्धबाट स्त्री तथा पुरुषको हाड हाड मासु मासुको मात्र सम्बन्ध नभई दुई आत्मालाई एक बनाउनु पनि हो । यसैले सामाजिक जीवनमा विवाहले ठूलो महìव राख्दछ ।
नेपालमा बिहाबारीका सन्दर्भमा वि.सं. १९१० को मुलुकी ऐनदेखि नै कानुनी व्यवस्था रही आएको छ । २०७४ सालभन्दा अगाडिको मुलुकी ऐन, २०२० ले पुरुषको उमेर १८ वर्ष र महिलाको उमेर १६ वर्ष नपुगी विवाह गरे अपराध हुने व्यवस्था गरेको थियो । हुन त वि.सं. २०२० भन्दा अगाडि माथिल्ला जातमा अन्तरजातीय विवाह र महिलाको पुनः विवाह अर्थात् विधुवा विवाहलाई निषेध गरिएको थियो । माथिल्लो तथा तल्लो जातमा वैवाहिक सम्बन्ध निषेधको व्यवस्थाले त्यस्ता घटना समाजमा धेरै हुन्थे, जुन कार्यलाई अपराधजन्य कसुर मानिथ्यो तर अनमेल विवाह, बहुविवाह र नाबालक केटाकेटीको विवाह गरेमा दण्ड सजायको व्यवस्था भने थिएन ।
शहीद शुक्रराज शास्त्रीले स्वर्गको दरबार पुस्तकमा अनमेल विवाह र बाल विवाहको विरोध गरेपछि त्यस सन्दर्भमा परिवर्तन भई वि.सं. २०२० को मुलुकी ऐनबाट त्यस्ता प्रकृतिका विवाहलाई पनि निषेध गरियो । तथापि, अन्तरजातीय र स्त्रीको पुनः विवाह तथा विवाह सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्थाचाहिँ गरियो । सोही समयमा पुरुषको उमेर १८ वर्ष र महिलाको उमेर १६ वर्ष नपुगी विवाह गरे अपराध हुने व्यवस्था गरिएको थियो । यसैगरी, महिला तथा पुरुषको बीचमा २० वर्षभन्दा बढी उमेरको फरकमा विवाह गरे अपराध हुने व्यवस्था पनि गरियो ।
विधवा वा विवाह सम्बन्ध विच्छेद गरेकी महिलाले पुनः विवाह गरेमा अपराध नहुने व्यवस्था एकातर्फ गरियो भने दाम्पत्य जीवनको अधिकारको उल्लङ्घन भएमा कानुनी उपचारको व्यवस्थाचाहिँ उल्लेख गरिएन । साथै, यस्ता प्रकृतिका विवाह भएको सन्दर्भमा भने अंश वा माना चामल भराउने व्यवस्थाचाहिँ उक्त मुलुकी ऐन २०२० ले ग-यो ।
अन्तर्राष्ट्रियस्तरमा विवाहको सन्दर्भमा कानुनी व्यवस्था रहेको पाइन्छ । यसमा मुख्य गरेर सन् १९६२ को विवाह दर्ता, विवाह गर्ने न्यूनतम उमेर तथा विवाहको सहमतिसम्बन्धी अभिसन्धि रहेको र यसमा ५५ देश पक्ष रहेका छन् । यो अभिसन्धि, ९ डिसेम्बर १९६४ देखि लागू रहँदै आएको छ । यस अभिसन्धिले विवाहका पक्षहरूको स्वतन्त्र र पूर्ण सहमतिमा मात्र विवाह गर्न सक्ने कुरामा जोड दिएको छ तर विवाहको लागि के कति उमेर हुनुपर्ने भन्ने सन्दर्भमा कुनै व्यवस्था गरेको छैन । यस अभिसन्धिले मुख्य गरेर प्रथा, धार्मिक, जनजाति कानुन र परम्परालाई हटाउनका लागि जोड दिएको अवस्था छ ।
विवाह गर्ने उमेरको सन्दर्भमा विभिन्न देशको प्रचलन तथा कानुनी व्यवस्थाअनुरूप तीन प्रकारको व्यवस्था रहेको पाइन्छ । ती व्यवस्था हुन संरक्षकको सहमति बिना विवाह गर्ने उमेर, संरक्षकको सहमतिले विवाह गर्ने उमेर र अदालतको सहमति लिई विवाह गर्ने उमेर । यी तीन प्रकारका विवाहको सन्दर्भमा विवाह गर्ने उमेरको हद फरक फरक रहेको पाइन्छ ।
जस्तै भियतनाममा संरक्षकको सहमति बिना तथा संरक्षकको सहमति लिएर विवाह गर्ने उमेर पुरुषको हकमा २० वर्ष तथा महिलाको हकमा १८ वर्ष रहेको छ तर अदालतले अनुमति दिएमा १६ वर्ष पुगेका महिला तथा पुरुषले विवाह गर्न सक्ने कानुनी प्रावधान पनि रहेको पाइन्छ । यसै सम्बन्धमा अन्य देशको कानुनी व्यवस्थाको अध्ययन गर्दा विविधता रहेको पाइन्छ । उदाहरणका लागि युरोपका प्रायः सबैजसो देशमा विवाहका लागि महिला तथा पुरुष दुवैको न्यूनतम उमेर १८ वर्ष नै रहेको छ । यी देशमा मुख्य गरेर बेलायत जर्मनी, फ्रान्स, स्पेन, स्वीडेन, स्विजरल्यान्ड, स्पेन, ग्रीस, निदरल्यान्ड हङ्गेरी, इटाली, डेनमार्क, बेल्जियम छन् ।
साथै, सन् १९६१ को अस्ट्रेलियाको विवाह ऐनले महिला तथा पुरुष दुवैको न्यूनतम उमेर १८ वर्ष भएमा विवाहका लागि ग्राह्य हुने व्यवस्था गरेको छ । यसैगरी, न्यूजिल्यान्डमा विवाह ऐन, १९५५ लागू भएदेखि नै विवाहको उमेर १८ वर्ष नै कायम गरेको पाइन्छ तर स्कटल्यान्डमा विवाहका लागि १६ वर्ष उमेर पुगेका महिला तथा पुरुषले विवाह गर्न योग्य हुने कानुनी व्यवस्था रहेको छ । तथापि, यमनमा १५ वर्ष उमेर पुगेका महिला तथा पुरुषले विवाह गर्न सक्ने कानुनी व्यवस्था रहेको छ भने साउदी अरेबियामा महिला तथा पुरुष दुवैको न्यूनत उमेर १८ वर्ष भएमा विवाहका लागि ग्राह्य मानिन्छ ।
यसमा पनि अदालतले अनुमति दिएमा १५ वर्ष उमेर पुगेका पुरुष तथा महिलाले विवाह गर्न सक्ने प्रावधान छ । सिङ्गापुरमा विवाहका लागि पुरुषको उमेर २१ वर्ष छ भने महिलाको उमेर १८ वर्ष निर्धारण गरिएको छ तर दक्षिण कोरियामा पुरुषको उमेर १९ वर्ष र महिलाको उमेर १८ वर्ष तोकिएको छ तर विवाहको उमेरको सम्बन्धमा भारत र चीनको कानुनी व्यवस्था अन्य देशको भन्दा फरक छ । जस्तै सन् १९५४ देखि नै भारतमा विशेष विवाह ऐनको व्यवस्था गरिएको छ भने सन् १९५५ देखि हिन्दु विवाह ऐनले व्यवस्था गरेअनुरूप अभिभावकको सहमति भए वा नभए पनि पुरुषको उमेर २१ वर्ष र महिलाको उमेर १८ उल्लेख गरिएको छ भने चीनमा पुरुष र महिलाको उमेर क्रमश : २२ र २० वर्ष हुनुपर्ने प्रावधान छ । यता भुटान, श्रीलङ्का, अफगानिस्तान, पाकिस्तान तथा माल्दिभ्स, कम्बोडियाजस्ता मुलुकमा विवाहका लागि पुरुष तथा महिला दुवैको उमेर १८ वर्ष कायम रहेको देखिन्छ ।
स्वतन्त्र हुनुपूर्व अमेरिकामा कमल ल अनुसार विवाहको निम्ति पुरुषको उमेर न्यूनतम १४ वर्ष र महिलाका लागि न्यूनतम उमेर १२ वर्ष तोकिएको थियो । यी व्यवस्थाहरू अमेरिका बेलायतको अधीनमा रहेसम्म कायम भयो तर बेलायतको अधीनबाट अमेरिकाले स्वतन्त्रता पाएपश्चात् अमेरिकाले त्यस्तो बिहाबारीको कानुनलाई प्रतिस्थापन ग-यो । यसैले सोही समयमा अमेरिकामा विवाहको उमेर परिवर्तन गरियो र विवाहको उमेरलाई बढाइएको छ ।
नेपालको सन्दर्भमा विवाह गर्दा महिला तथा पुरुषको उमेर संरक्षकको मञ्जुरी भए १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष नपुगी विवाह गर्न नहुने व्यवस्था साविकको मुलुकी ऐन, २०२० को बिहाबारीको महलले गरेको थियो । तर उक्त ऐनलाई खारेज गरी लागू भएको विद्यमान मुलुकी देवानी संहिता, २०७४ को दफा ७० ले महिला तथा पुरुष दुवै २० वर्ष पूरा भएपछि मात्र विवाह हुन सक्ने कानुनी व्यवस्था छ ।
यस्तो कानुनी व्यवस्था प्राय सबै विकसित तथा विकासोन्मुख देशमा रहेको कानुनी व्यवस्थाभन्दा फरक देखिन्छ । साथै, साविकमा रहेको संरक्षकको मञ्जुरीले विवाह गर्न सक्ने प्रावधानलाई पनि हाल कायम गरिएको देखिँदैन । नेपालमा विवाहको उमेरको सन्दर्भमा चर्चा गर्दा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागि १६ वर्ष उमेर कानुनले निर्धारण गरेको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षको उमेरलाई वयस्क मानी बालबालिकाको हैसियतबाट अलग गरेको अवस्था छ । जसले गर्दा १८ वर्ष पूरा भई २१ वर्ष पूरा नभएका महिला तथा पुरुषले कुनै अपराधजन्य कार्य गरेमा वयस्कसरह नै कारबाही हुने कानुनी प्रावधान छ । अर्कातर्फ, नेपालको संविधानले नै १८ वर्ष पूरा भएका नेपाली नागरिकलाई निर्वाचनमा मत दिन सक्ने अधिकार दिएको अवस्था छ ।
यस्तो अवस्थामा विवाहको निम्ति २० वर्ष कायम गर्नु एक अर्का कानुनप्रति सामञ्जस्यता नभएको स्पष्ट देखिन्छ । यसको अलावा सामाजिक परम्पराअनुरूप २० वर्षको उमेर पूरा हुनुपूर्व नै कतिपय विवाह हुने क्रम बढ्दो रूपमा रहेको विभिन्न तथ्याङ्कबाट देखिन आएको पाइन्छ । साथै, २० वर्ष उमेर पूरा नभएका महिला तथा पुरुषले विवाह गर्ने कार्यलाई बढवा दिएको विवाहसम्बन्धी तथ्याङ्कले देखाएको छ । त्यस्तो कार्यलाई नेपाल कानुनले फौजदारी कसुरको रूपमा कारबाही गर्ने गरेको छ । यसैले नेपाली समाजमा विवाहको उमेरको सन्दर्भमा चुनौती रहेको देखिन्छ । अतः विवाह योग्य उमेर वा विवाहको उमेर सामान्य उमेर हो, कानुनी उमेरको रूपमा वा आमा बाबुको, धार्मिक वा अन्य सामाजिक अनुमोदनको अधीनमा न्यूनतम उमेरको रूपमा, जसमा एक व्यक्तिलाई विवाहका लागि वैध रूपमा अनुमति दिइएको छ । यसको अतिरिक्त विकासित देश तथा कतिपय नेपालजस्तै आर्थिक अवस्था रहेका देशमा पनि विवाहका लागि २० वर्षभन्दा कम उमेरको कानुनी व्यवस्था रहेको सन्दर्भमा हालको कानुनी व्यवस्थालाई सुधार गर्नुपर्ने देखिन देखिएको छ ।