logo
२०८१ मंसिर ८ शनिवार



निर्वाचनमा मतदाता शिक्षा

मतदाता शिक्षाको जानकारी पाउनु प्रत्येक मतदाताको संवैधानिक हक हो

विचार/दृष्टिकोण |


निर्वाचनमा मतदाता शिक्षा


डा. अर्जुनकुमार खड्का
मतदाता शिक्षा भन्नाले कुनै निर्वाचनका लागि मतदान प्रक्रियाको विशिष्टता र मतदान गर्ने साधनहरूको बारे मतदातालाई जानकारी गराउनको निम्ति अवलम्बन गरिने सूचना, सामग्री तथा कार्यक्रमसम्बन्धी कार्यलाई जनाउँछ । यसैको माध्यमबाट मतदाताहरूले कुन प्रकारको निर्वाचन भइरहेको छ, कहाँ, कहिले र कसरी मतदान गर्ने, उम्मेदवारहरू कुन कुन राजनीतिक दलसँग सम्बन्धित छन् वा स्वतन्त्र रहेका छन् भन्ने विषयमा जानकारी लिन सक्ने अवस्था सिर्जना हुन्छ । यसैगरी, मतदाता सूचीमा आफ्नो नाम रहे, नरहेको र मतदाता सूचीमा नाम समावेश नभएको अवस्थामा मतदान गर्न सकिने वा नसकिने जस्ता कुरामा पनि जानकारी पाउन सकिन्छ । साथै, यस्तो शिक्षाको माध्यमबाट कहाँ र कसरी उम्मेदवार दर्ता हुन सक्छन् भन्ने बारे समेत सूचना प्राप्त गर्न सक्ने अवस्था रहन्छ । अर्कातर्फ, प्रत्येक निर्वाचनमा पुरुष र महिलाले समान हैसियतमा आफ्नो राजनीतिक अधिकार प्रयोग गर्न सक्ने वातावरणको सिर्जना हुनुको साथै मतदानको निम्ति सोधिने प्रश्नजस्तै कसलाई, कसरी र कहाँ मतदान गर्ने भन्ने कुराको सन्दर्भमा पनि ज्ञान हुन सक्ने
अवस्था रहन्छ ।

मतदाता शिक्षाको जानकारी पाउनु प्रत्येक मतदाताको संवैधानिक हक हो । अर्काेतर्फ, मानव अधिकारको अभिन्न पाटो पनि हो । मतदाता शिक्षाको माध्यमबाटै निर्वाचन सफल र लोकतान्त्रिक हुनका लागि मतदाताहरूले आफ्नो अधिकार र जिम्मेवारीहरू बुझ्न सक्ने अवस्था रहन्छ ।व्यवहारमा मतदाता शिक्षाले निर्वाचन प्रक्रियासँग सम्बन्धित आधारभूत ज्ञान तथा निर्वाचनको बारेमा जानकारीमूलक सन्देश प्रवाह गर्ने कार्य गर्ने नै हो । यसले सामान्यतया मतदाताको उमेर, जनसङ्ख्याको उद्देश्य, निर्वाचन प्रक्रियालगायत निर्वाचनसँग सम्बन्धित अन्य विविध पक्षको सन्दर्भमा जनचेतना अभिवृद्धि गर्ने कार्य गर्न सहयोग पु-याएको हुन्छ । मतदाता शिक्षाले महिला, युवा र विशेष आवश्यकता समूहजस्ता विशिष्ट समूहहरूलाई निर्वाचनमा सहभागी गराउन प्रोत्साहित गर्ने उद्देश्यले गर्दा निर्वाचन प्रक्रियाको स्पष्ट र सही बुझाइमा मद्दत पु-याउन सक्ने अवस्था रहन्छ ।

यसबाहेक व्यवहारमा मतदाता शिक्षाका लागि नागरिक समाज, महिला समूह, युवा समूह, शारीरिक अपाङ्गता भएका व्यक्ति, सञ्चार माध्यम, राजनीतिज्ञ, पर्यवेक्षक, सुरक्षा निकाय, धार्मिक नेताजस्ता धेरै समूहलाई लक्षित गर्नुपर्ने अवस्था रहन्छ । किनभने सचेत सहभागी मतदाताको कारणले नै निर्वाचनको शान्तिपूर्ण आचरण र जनताबाट यसको नतिजालाई स्वीकार गर्न योगदान पु¥याउँछ । यसबाहेक मतदाता शिक्षाले मतदाताहरूको उत्प्रेरणा र चुनावमा पूर्ण रूपमा भाग लिनका लागि तयारी गर्ने कार्य गर्छ ।
तथापि मतदाता शिक्षा नेपालमा अझै पनि कमजोर अवस्थामा रहेको छ । यसको मुख्य कारणमा निर्वाचनमा मत बदर हुने सङ्ख्या बढी रहेको अवस्था एकातर्फ छ भनी अर्काेतर्फ स्वयं जनप्रतिनिधिहरूको मतपत्र बदर भएको अवस्था छ । उदाहरणका लागि केही समय अगाडि राष्ट्रिय सभाको निर्वाचनमा भएको मतदानमा जनप्रतिनिधिले दिएको मत नै बदर भएको अवस्था देखियो । यस्तो कार्य निर्वाचन प्रयोजनका लागि सबल पक्ष होइन । यसले निर्वाचन प्रक्रियालाई सक्षम, सबल तथा सहयोग गर्न सक्दैन ।

अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गर्दा सरकार र विशेष गरी निर्वाचन आयोग मतदाता शिक्षाका लागि मुख्य रूपमा जिम्मेवार रहने गरेको पाइन्छ । तथापि सार्वजनिक र निजी सञ्चारका साधन राजनीतिक दलहरू र गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि मतदाता समक्ष सन्देश पु-याउनका लागि भूमिका खेल्न सक्ने अवस्था रहन्छ । सरकार र निर्वाचन आयोगबाहेक अन्य निकायको सहयोग भएमा मतदाता शिक्षामा रचनात्मक दृष्टिकोणले सूचनालाई अझ फैलाउन र राम्रोसँग बुझ्न मद्दत पुगेको पाइन्छ । यसमा पनि द्वन्द्वग्रस्त मुलुकमा मतदाता शिक्षा अनिवार्य हुने गर्छ । किनकी लामो द्वन्द्वपछि हुने निर्वाचनमा मतदाताहरू अभ्यस्त हुन नसक्ने भएको हुँदा मतदाता शिक्षाले सकारात्मक भूमिका खेल्न सक्ने हुन्छ । उदाहरणको लामो द्वन्द्वपछि लाइवेरिया, सेरालियोन, सुडान, रुवाण्डा तथा अफगानिस्तानमा सन् २००० को दशकमा संयुक्त राष्ट्रसङ्घको तर्फबाट ती मुलुकमा निर्वाचन गर्दा मतदाता शिक्षाका लागि बढी जोड दिइएको थियो । हुन त राष्ट्रसङ्घको मापदण्ड र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार प्रत्येक मतपत्र गोप्य र स्वतन्त्र हुनुपर्ने मान्यताअनुरूप मतदानको समयमा अरू कसैको सहयोग लिन नमिल्ने अवस्था रहन्छ । धेरै मुलुकका राष्ट्रिय कानुनहरूमा पनि त्यस्ता प्रकृतिका प्रावधानहरू रहने गरेको पाइन्छ सोहीअनुरूप नेपालमा समेत यस्तो प्रकृतिको कानुनी व्यवस्था रहेको देखिन्छ ।

वास्तवमा मतदाता शिक्षाको उद्देश्य नागरिकहरूलाई लोकतन्त्रका आधारभूत मूल्य, सिद्धान्तहरूमा प्रतिबद्ध समुदाय र देशको राजनीतिक जीवनमा पूर्ण रूपमा सहभागी हुन प्रोत्साहित गर्नु हो । यो कार्य उद्देश्यको रूपमा मतदाता शिक्षा कार्यक्रमको योजना र सञ्चालन गर्नेहरूले धेरै मुलुकको पाठ्यक्रममा विकास र समावेश गरेका छन् । उदाहरणका लागि स्कुल स्तरमा, अस्टे«लिया, संयुक्त राज्य अमेरिकामा शैक्षिक कार्यक्रममा मतदानमा के कुरा गर्नुपर्छ भनेर निश्चित रूपमा सेटिङ मापदण्ड वा बेञ्च मार्कहरू स्थापना गरेको पाइन्छ । नेपालमा मतदाता शिक्षालाई निर्वाचन आयोगबाट विगतमा सञ्चालन हुँदै आएको अवस्था रहे पनि निर्वाचनसम्बन्धी कानुन मुख्यतया निर्वाचन आयोग ऐन, २०७३, मतदाता नामावली ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा यससम्बन्धी स्पष्ट व्यवस्था गरिएको अवस्था छैन । यसले गर्दा मतदाता शिक्षाका लागि निर्वाचन आयोगले छुट्टै निर्णय लिनुपर्ने देखिन्छ । यसैले अब हुने स्थानीय तहको निर्वाचनमा पनि सोहीअनुरूप कार्य हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।

मतदाता शिक्षाका लागि महìवपूर्ण सामग्रीमध्ये पोस्टर, ब्यानर, पम्पलेटलगायत अन्य सामग्री वा गतिविधि रहन सक्ने अवस्था देखिएको छ । जस्तै सडक नाटकमार्फत भूमिका खेल्ने, रेडियो कार्यक्रम, जिङ्गलहरू गीत कमिक नाटक वा स्ट्रिपहरू वा इन्टरनेट एवं मिडिया अभियानहरू व्यवस्थित गर्न सकेमा यसले सबै मतदाता विशेषत महिलाहरूमा बढी सकारात्मक प्रभाव पर्न सक्ने अवस्था रहन्छ । मतदाता शिक्षा निर्वाचन प्रक्रियाको बारेमा अपेक्षाकृत जटिल प्रकारको जानकारीसँग सम्बन्धित छ । जुन आधारभूत मानव अधिकार तथा मतदान अधिकार, मतदाताको भूमिका एवं निर्वाचन र लोकतन्त्रबीचको सम्बन्धजस्ता अवधारणासँग पनि सम्बन्धित छ । लोकतान्त्रिक निर्वाचनका लागि आवश्यक सर्तहरू, मतपत्रको गोपनीयता, प्रत्येक भोट महìवपूर्ण छ र सार्वजनिक जवाफदेहितामा यसको प्रभाव एवं मतदाताले दिएको भोट कसरी सिटमा परिणत हुन्छ भन्ने कुराहरूलाई पनि यसैको माध्यमबाट जानकारी गराउन सकिन्छ । साथै, मतदाता शिक्षाको माध्यमबाटै विद्युतीय मतदान प्रक्रियामा पूर्ण रूपमा सहभागी हुन मतदातालाई प्रोत्साहित गर्न र मतदानको लागि तयार गर्न सक्ने अवस्था पनि रहन्छ ।

मतदाता शिक्षामा मुख्य गरेर चारवटा सिद्धान्त रहेका छन् । प्रथमतः लोकतान्त्रिक प्रक्रियाप्रति सच्चा रहन सुनिश्चित गर्ने । दोस्रो, योग्य मतदाताको सार्वभौमिक अधिकारको सदुपयोग गर्न जसले गर्दा योग्य मतदाता, धनी वा गरिब, युवा वा वृद्ध, पुरुष वा महिला र सहरी तथा ग्रामीण सबैले मतदाता शिक्षाबाट लाभान्वित हुन पाउनुपर्ने अवस्था सिर्जना हुन सक्नेछ । यसैगरी, निर्वाचनमा कुनै वर्ग विशेष वा जातजातिलाई भेदभाव गर्न नहुने । यस्ता प्रकृतिका कार्यबाट मतदान व्यापक र निष्पक्ष रहन सक्ने अवस्था सिर्जना हुन्छ । तेस्रो, मतदाता शिक्षाले सधैँ निष्पक्ष रहन ध्यान दिनुपर्ने अवस्था रहन्छ ।

चौथो, सिद्धान्तमा स्पष्टता हो यसले कुनै पनि मतदाता शिक्षा अभियानको सन्देश आममानिसलाई स्पष्ट र बुझ्ने खालको हुनुपर्छ । सम्भव भएसम्म जानकारी विशेष गरी स्थानीय भाषामा र एक माध्यममार्फत प्रदान गरिनुपर्छ जसले बुझ्ने सुविधा दिन्छ । शिक्षकहरूले कठिन आवधारणालाई सरल शब्दहरूमा व्याख्या गर्नुपर्छ । यसबाहेक मतदाता शिक्षामा निश्चित लक्षित दर्शकहरू छन् किनभने लक्षित दर्शकहरू स्थापना गर्न महìवपूर्ण छ ताकि यसले दर्शकहरूको बारेमा जान्न र तिनीहरूलाई राम्रोसँग सम्बोधन गर्न शिक्षा विधिहरू तयार गर्न सक्ने अवस्था रहोस् ।

मतदाता शिक्षामार्फत निर्वाचन व्यवस्था र मतदाता सूचनाको पर्यवेक्षण, अनुगमन, निर्देशन र नियन्त्रणजस्ता विभिन्न कानुनी कार्यहरूले गर्दा स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमा सहयोग पुग्नेछ ।मतदाता शिक्षाको महìवलाई मध्यनजर गर्दै नेपालमा निर्वाचन आयोग वा सरोकारवाला निकायले निर्वाचनमा बलियो निर्वाचन प्रक्रिया, सुशासन एवं विधिको शासनका लागि कानुनी ढाँचामार्फत मतदाता शिक्षालाई अनिवार्य औजारको रूपमा अवलम्बन गर्न आवश्यक छ । जसले गर्दा मतदाता शिक्षामार्फत शान्ति स्थापना र शान्ति निर्माण प्रक्रियालाई अभिवृद्धि गर्न सकिनेछ । साथै, मतदाता शिक्षा एक अपरिहार्य र निरन्तर चलिरहने प्रक्रिया भए पनि निर्वाचनको समयमा बढी महìव रहने गरेको हुँदा केही महिनापछि हुन गइरहेको स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले अग्रसरता लिनुपर्ने देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?