logo
२०८१ मंसिर ८ शनिवार



मिडियाको शक्ति, प्रभाव एवं महत्त्व

विचार/दृष्टिकोण |




डा. निर्मलमणि अधिकारी

सन् १९८१ मा प्रकाशित ‘मिडिया : द सेकेण्ड गड’ पुस्तकमा लेखक टोनी श्वार्जले इलेक्ट्रोनिक मिडिया (विद्युतीय माध्यम) को विशेषतालाई पाश्चात्य जगत्मा मानिने ईश्वरको अवधारणासँग तुलना गरी रोचक निष्कर्ष निकाले । उनको विश्लेषण निम्नानुसार रहेको थियो —ईश्वर सर्वज्ञानी छन् र सर्वशक्तिमान् पनि । ईश्वर भनेको भाववाचक हो, शरीर होइन । उनी बाह्य जगत्मा पनि छन् र हामीभित्रै पनि छन् । उनी सदैव हामीसँग छन् किनभने उनी सर्वव्यापी छन् । हामीलाई ईश्वरबारे पूरा बुझ्न कहिल्यै सक्दैनौँ किनभने उनी रहस्यमय तरिकाले काम गर्छन् ।

बृहद् रूपमा उक्त विशेषताले हाम्रा पूर्वजले मान्ने ईश्वरलाई वर्णन गर्छ । साथै यसले इलेक्ट्रोनिक मिडिया, दोस्रो ईश्वरलाई पनि वर्णन गर्छ जुन मानवले रचना गरेको हो । टोनी श्वार्जले इलेक्ट्रोनिक मिडियाका विशेषतालाई उनका पूर्वजको ईश्वरसम्बन्धी मान्यतासँग तुलना गरी आफ्नो पुस्तकको शीर्षकमै मिडियालाई दोस्रो ईश्वर भनेर इङ्गित गर्नुको गहिरो निहितार्थ छ । मिडियाको शक्ति, प्रभाव एवं महत्त्वलाई विशेष प्राथमिकता दिने विचारधारा पश्चिमा बौद्धिक जगत्मा उनीभन्दा पहिल्यैदेखि बलियोसँग उपस्थित थियो ।

प्रसिद्ध मिडिया सिद्धान्तकार मार्शल म्याक्लुहानले सन् १९६४ मा प्रकाशित उनको पुस्तक ‘अण्डरस्ट्याण्डिङ मिडिया ः द एक्स्टेन्सन अफ् म्यान’ को एक अध्यायको शीर्षक ‘मिडियम इज् द मेसेज’ राखेका थिए । सन् १९६७ मा सोही शीर्षकमा उनको अर्को पुस्तक नै प्रकाशित भयो । यसरी सञ्चार प्रक्रियामा मिडिया नै निर्णायक तत्त्व हो भन्ने तर्कलाई म्याक्लुहानले अगाडि सारे । सञ्चार प्रक्रियामा मिडियाको भूमिका वा महत्त्वको सवालमा उनका तर्कले तत्कालीन बौद्धिक वृत्तमा हलचल मचायो ।

सञ्चार विधामा सिद्धान्तको बहुलता र धेरै वैविध्य पनि छ । कोही सञ्चार प्रक्रियाको समष्टि संरचनालाई प्रधान मानेर त्यसैको अनुसन्धानमा केन्द्रित छन् । कोही सञ्चारको सांस्कृतिक भूमिकालाई प्रधान मानेर विश्लेषण गर्छन् । सञ्चारमा प्रयुक्त सूचना वा सन्देश वा भाषालगायतका सङ्केत प्रणालीलाई प्रधान मान्ने अध्ययन धारा पनि प्रबल छ । म्याक्लुहानले चाहिँ मिडियाको दृष्टिबिन्दुबाट सञ्चार प्रक्रियाको विश्लेषण गरी बौद्धिक जगत्मा अर्को प्रभावकारी बौद्धिक हस्तक्षेप गरे । सञ्चार प्रक्रियामा मिडियाको भूमिका जस्तै बृहद् परिप्रेक्ष्यमा प्रविधिलाई नै समाज विकासको निर्णायक तत्त्व मान्ने विचारधारा पनि छ ।

सञ्चार प्रक्रियामा मानव सहभागिता वा संस्कृति वा सङ्केत प्रणाली वा सञ्चार संरचनालाई न्यूनाङ्कन गर्ने र मिडियालाई निर्णायक तत्त्व मान्ने दृष्टिकोणलाई विभिन्न चिन्तन परम्पराका सापेक्षतामा थप विश्लेषण गर्नु समीचीन हुन्छ । पश्चिमा सभ्यताको सम्पूर्ण दार्शनिक पद्धतिलाई आदर्शवादी वा प्रत्ययवादी र भौतिकवादी भनेर दुई–फक्लेटे (द्विधा) विभाजनात्मक विश्लेषण गरी कुनै एक कित्तामा उभिने प्रवृत्ति थियो । मिडिया नै निर्णायक वा मिडिया दोस्रो ईश्वर भन्ने विश्लेषणले पनि एउटा विशेष तत्त्व वा अर्को भन्ने दुई–फक्लेटे विभाजनमूलक चिन्तन पद्धतिलाई नै सारमा अवलम्बन गरेको हुन्छ ।

पाश्चात्य बौद्धिक जगत्मा संरचनावाद (स्ट्रक्चरालिज्म), आधुनिकतावाद (मोडर्निज्म) आदिले प्रवर्धन गरेका विश्लेषण पद्धतिले कुनै पनि तथ्य, प्रक्रिया वा परिघटनालाई सातत्यको दृष्टिकोणबाट नहेरी त्यसमा कुनै परम सत्य (एब्सल्युट् ट्रुथ) को ठोकुवा गर्ने विश्वदृष्टिकोणको गहन प्रभाव ज्ञानका अन्य विधामा झैँ सञ्चार विधामा पनि देखिन्छ । सञ्चार प्रक्रियाको समष्टि संरचना वा सङ्केत प्रणाली वा बोध प्रक्रिया वा मिडियामध्ये कुनै एकको मात्र महŒवमा अति केन्द्रित भई सञ्चारको निर्णायक तत्त्व कुन हो भनी बहस गर्ने प्रवृत्ति वास्तवमा पाश्चात्य बौद्धिक जगत्मा रहेको विश्वदृष्टिकोणकै द्योतक हो तर नेपाल, भारत, चीन वा अन्य देशमा मौलिक दार्शनिक दृष्टिकोणबाट हेर्ने हो भने मिडिया नै एकल निर्णायक तत्त्व ठह-याउनु तथा मिडियालाई दोस्रो ईश्वर जस्तै देख्नु समीचीन ठहर्दैन । जस्तै : सञ्चारको साधारणीकरण ढाँचा तथा मीमांसा दार्शनिक सञ्चार सिद्धान्तीकरणको उदाहरणले मिडियालाई कसरी हेर्ने भन्ने विषयमा म्याक्लुहान वा श्वार्जका निष्कर्षभन्दा अलग्गै सिद्धान्त देखाउँछन् ।

मिडियालाई दोस्रो ईश्वर भनिएको कथन चर्चित भएता पनि पश्चिमा बौद्धिक जगत्मा त्यो मात्रै एकल दृष्टिकोण छैन र मिडियालाई सैतानको विस्तार मान्नेहरू पनि छन् भन्ने तथ्य पनि बिर्सनुहुँदैन । टेलिभिजनको लोकप्रियता बढ्दो रहेको अवस्थामा त्यसलाई एकआँखे राक्षस (वन्–आईड् मन्स्टर्) भनेर दुत्कार्दै लेखिएका सामग्रीहरू थुप्रै थिए । रेडियो सुन्दा, चलचित्र हेर्दा, टेलिभिजन हेर्दा चरित्र बिग्रन्छ भन्ने सोच नेपालमा पनि कुनै बेला व्याप्त थियो ।

उहिल्यै ग्रीसमा साहित्यले चरित्रको भ्रष्टीकरण हुन्छ कि भावको विरेचन हुन्छ भन्ने बारे गुरु प्लेटो र शिष्य एरिष्टोटलको मतवैभिन्न्य भएको थियो । आधुनिक युगमा मिडिया प्रभाव बारे अनुसन्धान र सिद्धान्तीकरणका क्रममा मिडियाको नकारात्मक प्रभाव दृष्टिकोण र मिडियाको सकारात्मक प्रभाव दृष्टिकोण भनिने दुई अलग अलग कित्तामा छुट्टिएर विभिन्न अध्येताले गरेको बौद्धिक द्वन्द्व पनि यहाँ स्मरणीय छ । पाश्चात्य सन्दर्भमा दुई–फक्लेटे वैचारिक द्वन्द्व लगभग सबै विधाहरूमा भेटिन्छ ।

डिजिटल मिडियाको विकाससँगै समकालीन मानव समाजमा मिडिया र अन्य प्रविधिको प्रयोग र असर अभूतपूर्व मात्रामा बढ्दो छ । पहिले अभिव्यञ्जन, बोध, मनोरञ्जन, दूरसञ्चार तथा तथ्याङ्कको सम्प्रेषण, प्राप्ति, भण्डारण र पुनः प्राप्तिका लागि अनेक साधनहरू चाहिने तथा त्यस्ता साधनहरूमा अत्यन्त कम सङ्ख्याका मानिसहरूको पहुँच हुने अवस्था थियो । अहिले एउटै साधन वा ‘ग्याजेट’ मा पहुँच हुनासाथ क्लिक् वा स्वाइप्को भरमा उपर्युक्त सबै कुरामा पहुँच हुने जस्तो अवस्था आइसकेको छ । मानिसको मिडियामाथिको पहुँच साथै निर्भरता पनि बढ्दो छ ।

प्रविधिमाथिको निर्भरताले मानव समाजमा पार्न सक्ने असर बारे विभिन्न कोणबाट बौद्धिक विमर्शहरू हुन थालेका छन् । मिचियो काकुका कुरा सुन्दा मानव समाज प्रविधिका कारणले प्रगतितर्फ उन्मुख छ भन्ने आशा पलाउँछ भने युवाल नोह हरारीका कुरा सुन्दा प्रविधिले मानव समाजमा अभूतपूर्व चुनौती निम्त्याउँदैछ भन्ने आशङ्का उब्जन्छ । प्रविधि नै निर्णायक तत्त्व मान्ने हो वा मिडिया दोस्रो ईश्वर भन्न मिल्ने गरी शक्तिशाली भइसकेको ठान्ने हो भने त मानिसलाई आफ्नै आविष्कार वा उत्पादनले परास्त गर्ने निराशावादी सोचले स्थान पाउने देखिन्छ ।

अर्कोतिर, सञ्चारको साधारणीकरण ढाँचा तथा मीमांसा दार्शनिक सञ्चार सिद्धान्तीकरण (सञ्चारको भाट्ट मीमांसा ढाँचा) ले चाहिँ सञ्चारमा मिडियालाई एकल निर्णायक तत्त्व मान्दैनन् र निराशावादी दृष्टिकोण लिँदैनन् । सञ्चारको साधारणीकरण ढाँचाको अभिनिर्माणमा भरतमुनिकृत नाट्यशास्त्र र भर्तृहरिकृत वाक्यपदीय मूल आधारग्रन्थ रहेका छन् र भट्टनायकको साधारणीकरण सिद्धान्त अनुसार सञ्चार ढाँचा बनाइएको छ । सो सञ्चार ढाँचामा मिडियालाई जनाउने संज्ञा ‘सरणि’ हो ।

सञ्चारको भाट्ट मीमांसा ढाँचामा वैदिक परम्पराका मुख्य छवटा दर्शनमध्येको जैमिनिकृत मीमांसा दर्शनको मूल आधार लिइएको छ । जैमिनिका मीमांसासूत्रमाथि शबरस्वामीका भाष्य र आचार्य कुमारिल भट्ट, प्रभाकर मिश्र र मुरारि मिश्रका अलग अलग मत मानिन्छन् । तीमध्ये आचार्य कुमारिल भट्टका दार्शनिक परम्पराका आलोकमा सञ्चार सिद्धान्तीकरणको फलस्वरूप उक्त सञ्चार ढाँचा अभिनिर्मित भएको हो । सञ्चारको भाट्ट मीमांसा ढाँचामा मिडियालाई जनाउने संज्ञा ‘करण’ हो । सञ्चार प्रक्रियामा प्रयुक्त माध्यम (मिडिया) लाई ‘सरणि’ भन्नु वा ‘करण’ भन्नुमा शब्दको भेद मात्रै छैन, यहाँ त अलग अलग दार्शनिक पृष्ठभूमि छन् ।
सञ्चारको साधारणीकरण ढाँचा अनुसार सञ्चार प्रक्रियाको लक्ष्य वा प्राप्तव्य सहृदयता हो । यस प्रक्रियामा सञ्चारकर्ता (सहृदय) का भाव र रस प्रधान हुन् र ‘सरणि’ (मिडिया) त केवल बाह्य सहायक तत्त्व मात्रै हो । साधारणीकरण ढाँचा अनुसारको सञ्चार प्रक्रियामा मिडियाको भूमिका त अवश्यै छ तर त्यो निर्णायक होइन ।

यसलाई मानव शरीरको महत्त्वसँग तुलना गर्न सकिन्छ । वेदान्त दर्शन अनुसार, शरीरको विभु मन र मनको विभु आत्मा भएको हुनाले शरीर जीवको अस्तित्व र आत्माको मोक्ष प्राप्तिका लागि शरीर आवश्यक त छ तर त्यसलाई लक्ष्य वा प्राप्तव्य वा निर्णायक तत्त्व मानिँदैन । मानव शरीर त आत्माको मोक्षयात्राको माध्यम मात्र हो । सञ्चारको भाट्ट मीमांसा ढाँचामा ‘करण’ (मिडिया) को भूमिका सञ्चार प्रक्रियाका अन्य तत्त्वको तुलनामा कम छैन । यो पनि महत्त्वपूर्ण हो । यसरी साधारणीकरण ढाँचामा जस्तो मिडियालाई सहायक तत्त्व मात्रै मानिएको छैन सञ्चारको भाट्ट मीमांसा ढाँचामा । मिडिया पनि अन्य तत्त्वझैँ नै प्रमुख तत्त्व नै हो तर एकल निर्णायक होइन । सातत्यको दृष्टिकोण अनुसार सञ्चारको कुनै एउटा अवस्था वा भाग वा घटनामा कुनै तत्त्व र अन्यमा अर्को तत्त्व प्रधान त हुन सक्छ, तर समष्टिमा (कुमारिल भट्टप्रणीत अभिहितान्वयवादमा झैँ) सबै तत्त्वको समन्वयमा जोड दिइन्छ ।

यसरी वैदिक परम्पराका दर्शन अनुसार मिडियालाई एकल निर्णायक तत्त्व मानिँदैन । त्यसैले यहाँ मार्शल म्याक्लुहानको जस्तो माध्यमलाई नै सन्देश मान्ने सिद्धान्त वा टोनी श्वार्जको विश्लेषण जस्तो मिडियालाई ईश्वरसँग नै तुलना गर्ने अतिमूल्याङ्कनवादी कथनलाई पनि मानिँदैन भन्नै पर्ने हुन्छ । यसको तात्पर्य के हो भने मिडियाको वा बृहद् परिवेशमा प्रविधिको विकास जतिसुकै हुँदा पनि मानवको नियन्त्रण वा नियमनभित्रै तिनीहरूलाई राख्न सकिन्छ र मिडिया साक्षरतामा पर्याप्त ध्यान दिने हो भने मिडियालाई सकारात्मक प्रयोजनका लागि सदुपयोग गरिरहन सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?