logo
२०८१ बैशाख १५ शनिवार



निर्वाचनमा मिडियाको उपयोग

विचार/दृष्टिकोण |


निर्वाचनमा मिडियाको उपयोग


डा. निर्मलमणि अधिकारी

निर्वाचनमा मिडियाको राजनीतिक उपयोगको अवस्था र प्रवृत्ति देशको राजनीतिक प्रणाली, प्रविधिमा पहुँचको अवस्था र अर्थतन्त्रको ढाँचासँग प्रत्यक्ष जोडिएको हुन्छ । लोकतान्त्रिक व्यवस्था, जनताको पहुँचमा प्रविधि एवं सबल मिडिया उद्योग र खुला बजार अर्थतन्त्रलाई निर्वाचन प्रक्रियामा मिडियाको सक्रिय सहभागिताका लागि अनुकूल मानिन्छ । संसारका कतिपय देशमा त निर्वाचनका लागि प्रचार प्रसार अभियान मुख्यतः मिडियाबाटै सम्पन्न गर्ने अभ्यास छ । त्यस्ता देशमा निर्वाचनमा मिडियाको भूमिका स्वतः प्राथमिक एवं व्यापक हुन्छ किनभने त्यहाँ धेरैजसो प्रमुख राजनीतिक घटना मिडियामार्फत सम्प्रेषित हुन्छन् । कतिपय देशमा प्रत्यक्ष आमसभा, जुलुस, घरदैलो कार्यक्रमजस्ता क्रियाकलापलाई प्राथमिक मानिन्छ र मिडियाको भूमिका द्वितीयक मानिन्छ ।

त्यस्ता देशमा मिडियाले आमसभा, जुलुस, पत्रकार सम्मेलन आदिका रिपोर्टिङ, विचार प्रधान सामग्री, अन्तर्वार्ता आदि मार्फत आफ्नो उपयोगिता देखाउँछन् । प्रमुख राजनीतिक घटना मिडियामार्फत सम्प्रेषित नहुने र मिडिया विभिन्न घटना, विचार तथा परिस्थितिको रिपोर्टिङ मार्फत मात्रै राजनीतिक प्रक्रियामा सहभागी हुने भएकाले यसमा मिडियाको भूमिका द्वितीयक मानिएको हो । यसको तात्पर्य निर्वाचन प्रक्रियामा मिडियाको कम प्रभावकारी भूमिका हुन्छ भन्ने होइन । राजनीतिक पार्टी एवं उम्मेदवारको सकारात्मक वा नकारात्मक छवि निर्माण तथा प्रचार प्रसारमा मिडियाले निर्णायक प्रभाव पार्न सक्ने सम्भावना यहाँ पनि रहन्छ । मानव समाजमा प्रविधिको बढ्दो पहुँचले निर्वाचन सम्बद्ध प्रचार प्रसारमा मिडियाको उपयोगिता उत्तरोत्तर वृद्धि भइरहेको देखिन्छ ।

निर्वाचनमा मिडियाको प्रभाव कस्तो र कसरी हुन्छ भन्ने सबालमा दशकौँ पहिलेदेखि व्यावसायिक/प्रायोगिक र प्राज्ञिक दुवै क्षेत्रको चासो देखिन्छ । प्रायोगिक क्षेत्रमा राजनीतिक पार्टीका प्रचार प्रसार विभाग, प्रत्यासी (उम्मेदवार) का मिडिया परामर्शदाता, पेसेवर राजनीतिक सञ्चार रणनीतिकार, व्यावसायिक जनसम्पर्क कम्पनी र व्यावसायिक मिडिया अनुसन्धान संस्था सक्रिय देखिन्छन् । पहिले अमेरिका तथा युरोपका केही देशमा मात्रै निर्वाचनका क्रममा व्यावसायिक संस्थाहरूको सेवा राजनीतिक पार्टी एवं उम्मेदवारले लिने गरेको देखिन्थ्यो भने हालसालै नेपालका छरछिमेकमा पनि उपर्युक्त अभ्यास निकै बढेको छ । नेपालमै पनि गत आमनिर्वाचनमा केही व्यावसायिक संस्थाहरूले राजनीतिक पार्टीका निर्वाचन अभियानमा सानो परिमाणमा पेसेवर सेवा दिएका थिए । प्राज्ञिक क्षेत्रमा विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता, राजनीतिशास्त्र, समाजशास्त्र, मनोविज्ञानलगायतका विभाग तथा स्वतन्त्र अनुसन्धान संस्था पनि मिडियाले निर्वाचनमा पार्ने प्रभावबारे अनुसन्धान गर्न सक्रिय देखिन्छन् ।

व्यावसायिक क्षेत्रको उद्देश्य मिडियालाई प्रयोग गरी निर्वाचन अवधिमा मिडियामा निश्चित राजनीतिक पार्टी एवं उम्मेदवारको सकारात्मक छवि प्रवद्र्धन गर्नु हो । मिडियामार्फत प्रवद्र्धित सकारात्मक छविले मतदाताका बीचमा उम्मेदवारका पक्षमा राजनीतिक जनमत सिर्जना गर्ने अपेक्षा राखिएको हुन्छ । यस क्रममा सम्बन्धित राजनीतिक पार्टी एवं उम्मेदवारका विचारधारासँग निकट रहेका मिडियाको पहिचान गरी थप पहुँच बढाउने, स्वतन्त्र वा मध्यमार्गी मिडियामा आफ्ना पक्षको सकारात्मक छवि प्रवद्र्धन हुने सामग्री प्रकाशन÷प्रसारण गराउने र अलग वा विपरीत विचारधाराका मिडियाको पहिचान गरी तिनीहरूका कारणले प्रचार प्रसारमा पर्न सक्ने नकारात्मक असर कम गर्न सञ्चार रणनीति बनाइन्छ । मिडिया सम्बन्ध एवं परिचालनलाई निर्वाचन अभियानको अभिन्न, अपरिहार्य एवं प्रमुख गतिविधि मानिन्छ ।

निर्वाचनमा खडा भएका उम्मेदवार तथा सम्बन्धित राजनीतिक पार्टीका मुख्य प्रचारक नेताहरूले आफ्ना मिडिया पहुँच बढाउन र मिडियामा प्रस्तुति प्रभावकारी बनाउन पेसेवर मिडिया परामर्शदाताका सेवा लिन सक्छन् । उनीहरूले भाषण र प्रेस विज्ञप्ति लेखन, पत्रकार सम्मेलन आयोजना र अन्तर्वार्ता प्रकाशन/प्रसारणका लागि सहजीकरणका साथसाथै उपयुक्त पोसाक चयन, मुहारभाव र हाउभाउको प्रभावकारी प्रयोग, योजनाबद्ध जनसम्पर्क घटना (पब्लिक रिलेसन्स इभेन्ट्) को रणनीतिक उपयोग आदि कार्यमा पनि आफ्नो विज्ञताबाट उम्मेदवारलाई लाभान्वित पार्छन् ।

प्राज्ञिक क्षेत्रको सरोकार मिडिया प्रभावबारे थप अनुसन्धान गर्नु र सम्भव भए नयाँ सिद्धान्त अभिनिर्माण गर्नु रहेको देखिन्छ । मिडियाले विभिन्न राजनीतिक दललाई दिएको समय वा स्थान (कभरेज) र प्रकाशित वा प्रसारित सामग्रीका अन्तर्वस्तुको गणनात्मक तथा गुणात्मक विश्लेषण (कन्टेन्ट् एनलाइसिस) यस क्रममा गरिने अनुसन्धानको एउटा उदाहरण हो । मतदातासँगको सर्वेक्षणमार्फत राजनीतिक दृष्टिकोण निर्माण एवं मतदान निर्णयमा मिडिया सामग्रीको प्रभाव विश्लेषण गर्नु, मतदाताको राजनीतिक पक्षधरता वा पक्ष परिवर्तनको प्रवृत्ति विश्लेषण गर्नु र मतदान व्यवहारमा प्रभाव पार्ने तìव तथा तिनका अन्तरसम्बन्ध पहिचान गर्नु पनि निर्वाचनका क्रममा गरिने अनुसन्धानको दायरामा पर्छन् ।

सञ्चार विधामा चर्चित रहेको सञ्चारको द्विचरणीय प्रवाहको सिद्धान्त (टु स्टेप फ्लो थ्योरी अफ् कम्युनिकेसन) वा वैचारिक नेतृत्वको सिद्धान्त (थ्योरी अफ् ओपिनियन लिडरसिप) को अभिनिर्माण निर्वाचनमा मतदाताले आफ्नो मत निर्माण गर्ने क्रममा मिडियाबाट कसरी र कति प्रभावित भए भन्ने अनुसन्धानका निष्कर्षकै आधारमा गरिएको थियो । सन् १९४० मा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा गरिएको अनुसन्धानको फलस्वरूप उक्त सिद्धान्तको अभिनिर्माण भएको थियो । आमसञ्चार माध्यमले मिडिया प्रयोगकर्ता सर्वसाधारण जनतामा प्रत्यक्ष र तत्काल प्रभाव पार्छन् भन्ने पुराना सिद्धान्तका आधारभूत मान्यतालाई सञ्चारको द्विचरणीय प्रवाहको सिद्धान्तले खण्डन गरी मिडिया प्रभाव अनुसन्धानको क्षेत्रमा प्रतिमान नै परिवर्तन गराएको थियो । अमेरिकामा बाराक ओबामा र डोनाल्ड ट्रम्पका निर्वाचन अभियानमा मिडिया प्रयोगका विभिन्न प्रवृत्तिबारे विशद् अनुसन्धान भएको छ । डिजिटल मिडिया र सामाजिक सञ्जालले निर्वाचनमा जनमत मुखरित गर्न धेरै प्रभाव पार्ने तथ्य त्यसबाट उजागर भएको छ ।

नेपालको छिमेकी देश भारतमा पनि निर्वाचनमा मिडियाको भूमिकाबारे केही अध्ययन भएको देखिन्छ, जुन अमेरिकी अनुसन्धान जत्तिको सुव्यवस्थित नभए पनि प्रवृत्ति विश्लेषण (ट्रेन्ड एनलाइसिस) मा सान्दर्भिक चाहिँ अवश्यै देखिन्छ । तीन दशक पहिले मण्डल कमिसनको सुझाव कार्यान्वयन (जात–जातिआधारित आरक्षण) पछि सन् २०१४ को आमनिर्वाचनसम्म निर्वाचन परिदृश्यको विश्लेषण गर्ने क्रममा सम्बन्धित निर्वाचन क्षेत्रमा जात–जातिको अनुपातसँग मतदान व्यवहारको अन्तरसम्बन्ध केलाउने गरी अत्यधिक सन्दर्भ ल्याइने गरेको देखिन्थ्यो । सन् २०१४ को आमनिर्वाचनको परिणाम, प्रधानमन्त्री नरेन्द्र मोदीको उदय र त्यसपछिका निर्वाचनमा व्यावसायिक राजनीतिक परामर्शदाताको परिचालनसँगसँगै मिडियाको भूमिका पनि अभूतपूर्व तवरले महìवपूर्ण मानिएको देखिन्छ । विकास र सुशासनको दाबी, सांस्कृतिक राष्ट्रवादसँग जोडिएका भावनात्मक मुद्दा र मिडियाको सघन परिचालनले निर्वाचन प्रक्रियामा मतदाताको मन र मत परिवर्तन गर्न सकिने रहेछ भन्ने निष्कर्ष भारतीय सन्दर्भमा भएका नयाँ अध्ययनहरूले देखाएका छन् ।

नेपालको परिप्रेक्ष्यमा निर्वाचनमा मिडियाको राजनीतिक उपयोगबारे गहन र सुव्यवस्थित अनुसन्धान हुन बाँकी छ । यद्यपि निर्वाचनका क्रममा मिडियाले विभिन्न राजनीतिक पार्टीहरूलाई दिने समय वा स्थान (कभरेज) को अन्तर्वस्तु विश्लेषणका केही उदाहरण चाहिँ नेपालमा पनि छन् । आमसञ्चार माध्यमको विस्तार, डिजिटल मिडिया एवं सामाजिक सञ्जालको बढ्दो पहुँच, कोरोना भाइरस महाव्याधिका क्रममा विभिन्न गतिविधिलाई प्रविधिमार्फत सम्पन्न गर्ने आदत बढेको जस्ता विषयलाई दृष्टिगत गर्दा आसन्न स्थानीय निर्वाचन र आगामी संसदीय निर्वाचनमा मिडियाको राजनीतिक उपयोग निकै बढ्ने आकलन गरिएको छ ।

तथापि प्रस्तुत लेखेको प्रारम्भमा चर्चा गरिएजस्तो निर्वाचनका लागि प्रचार प्रसार अभियान मुख्यतः मिडियाबाटै सम्पन्न गर्ने अभ्यासमा नेपाल पुगिसकेको छैन र केही वर्षभित्रै पुग्ने अवस्था पनि देखिँदैन । अर्थात् नेपालमा प्रमुख राजनीतिक घटना मिडियामार्फत नै सम्प्रेषित हुने नभई अझै पनि प्रत्यक्ष आमसभा, जुलुस, घरदैलो कार्यक्रमजस्ता क्रियाकलापलाई प्राथमिक मानिन्छ र मिडियाको भूमिका द्वितीयक रहेको छ । यस्तो पृष्ठभूमिमा नेपालमा मतदाताको मतदान व्यवहारमा निर्णायक प्रभाव पार्ने एकल तìव मिडिया होइन । मिडिया क्षेत्रका लागि उत्साहको कुराचाहिँ के हो भने नेपालमा मतदाताको मतदान व्यवहारमा निर्णायक प्रभाव पार्ने मुख्य तìवमध्ये मिडिया पनि एउटा तìव अवश्यै बनिसकेको छ ।

निर्वाचनमा मिडियाको राजनीतिक उपयोगको मात्रात्मक बढोत्तरीसँगै मिडियाको भूमिकाबारे सघन सोधखोज, पर्यवेक्षण, अनुसन्धान गर्नु पर्ने आवश्यकता पनि बढ्छ । मिडियामा कसको र कस्तो स्वामित्व छ र समाचारकक्ष (न्युजरुम) को स्वतन्त्रता छ वा छैन भन्ने जस्ता सबाल अनिवार्य हुन्छन् । समाचारकर्मीमा आत्म–नियमन (सेल्फ–रेगुलेसन) लाई आत्म–नियन्त्रण (सेल्फ–सेन्सरसिप) ले पो परास्त पारिसकेको अवस्था छ कि भन्ने सबाल पनि उत्तिकै महìवपूर्ण हुन्छ । प्रकाशित वा प्रसारित समाचार सामग्री मात्रै बिक्छन् वा सञ्चार संस्था पहिल्यै बिकेर समाचार प्रकाशित वा प्रसारित हुने हुन् भन्ने जस्तो सबाल पनि जल्दोबल्दो हुन आउँछ ।

सत्तावृत्तमा पहिल्यैदेखि पकड भएका एवं मिडियाको समय वा पृष्ठ किन्न सक्ने राजनीतिक पार्टीलाई मात्रै अनुकूल हुने गरी मिडिया परिचालन भइरहेको अवस्था छ कि नयाँ वा साना भनिएका राजनीतिक पार्टीलाई पनि मिडियाले प्रशस्त अवसर कभरेज दिएको छ भन्ने सबाल पनि यहाँ सान्दर्भिक हुन्छ । मिडियाका साहुजी तथा पत्रकारलाई आर्थिक सहायता, पुरस्कार, राजनीतिक नियुक्ति आदि दिन सक्ने राजनीतिक पार्टी वा उम्मेदवारले मात्र धेरै मात्रामा र पक्षपातपूर्ण सकारात्मक कभरेज पाउने अवस्था छ भने त्यसले लोकतन्त्रलाई नै विकृत र कमजोर पार्छ ।

मिडियाले व्यावसायिक नैतिकतालाई पालना गर्दै निर्वाचनमा बहुलता, विविधता र नयाँ विकल्पलाई पनि यथेष्ट कभरेज दिन सकेमा लोकतन्त्रलाई समावेशी र सहभागितामूलक बनाउन सकारात्मक योगदान पुग्छ । सञ्चार विधाका अध्येता, समीक्षक तथा सर्वसाधारण जनताले पनि मिडियाका अन्तर्वस्तुलाई पर्यवेक्षण तथा निगरानीमा राख्ने र आवश्यकताअनुसार मुखर सार्वजनिक टिप्पणी गरिदिने गरेमा मिडिया क्षेत्रमा निर्वाचनमा पत्रकारिताको पेसागत मर्यादा एवं व्यावसायिक धर्मअनुसारका कार्य गर्न सजगता बढ्छ । निर्वाचन प्रक्रियामा उपयोगी बन्ने तर कुनै राजनीतिक पार्टी, गुट वा उम्मेदवारले आफूलाई दुरुपयोग गर्न नसक्ने अवस्था सुनिश्चित गर्नु मिडिया क्षेत्रको कर्तव्य हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?