logo
२०७९ असोज १६ आईतवार



निष्ठाका प्रतिमूर्ति

विचार/दृष्टिकोण |




विनोद न्यौपाने 

राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मानेर मुलुक र नागरिक जीवनमा परिवर्तन ल्याउने कसम धेरैले खाए । त्यो आदर्शलाई व्यवहारमा उतार्न धेरै व्यक्ति अघि सरे, सकेको कर्म गरे र मरेर गए । कतिले इतिहास बनाए भने कति व्यक्ति खहरेझैँ आए र त्यसरी नै विलाए । थोरै पात्र मात्र इतिहासमा दर्ज भए । नेपाली राजनीतिले दूरदृष्टियुक्त पात्रका रूपमा बीपी कोइरालालाई पनि पाएको थियो तर मुलुक र नागरिक हितमा उहाँलाई उपयोग गर्न सकेन÷जानेन । बीपीकै आदर्शलाई मार्गनिर्देशक सिद्धान्त मानेर सँगसँगै अघि बढ्नुभयो कृष्णप्रसाद भट्टराई । ‘कर्म गर, फलको आशा नगर,’ उहाँको मुख्य आदर्श थियो भने सदाचार, निष्ठा र इमानदारी परिचय । छाता, सुराही र टिनको ट्याङ्का सम्पत्ति ।

हो, अहिलेको नेपाली राजनीतिको रिहर्सलले भट्टराईजस्तो पात्रलाई दिनरात गिज्याइरहेको छ । व्यावहारिक रूपमा उहाँको चरित्र अँगाल्ने राजनीतिक उत्तराधिकारी कोही भएनन् । त्यसैले त उहाँको लिगेसीका रूपमा स्थापित सदाचार, निष्ठा र इमानदारी आज टुहुरा भएका छन् । उहाँका आदर्श पच्छ्याउन नसके पनि कम्तीमा फागुन २० गते काँग्रेसजनले स्मरण भने गर्नुपर्छ । आज भट्टराईको ११औँ स्मृति दिवस । २०६७ फागुन २० गते उहाँको निधन भएको थियो ।

राजनीति आफ्ना लागि नभई समाज र राष्ट्रहितका लागि गर्नुपर्छ भन्ने मान्यतालाई प्रधान ठान्ने व्यक्तिको उत्तराधिकारी बन्न कोही तयार हुँदो रहेनछ । भट्टराईको अवसानसँगै त्यो मान्यता पनि आर्यघाटबाटै विलुप्त भएर गयो । झन् पैसा, पद र शक्तिलाई मात्र राजनीति ठान्ने प्रवृत्ति हावी बनाइएको गणतन्त्रमा त्यस्ता व्यक्तिको अपेक्षा गर्न सकिन्न पनि । आफैँले जन्माएका राजनीतिक सन्तानले समेत किसुनजीलाई असान्दर्भिक बनाए । मन पवित्र हुँदाहुँदै पनि पटकपटक अन्तर्घातको सिकार बन्न विवश भए । त्यति मात्र होइन, जीवनको उत्तरार्धमा आफैँले जन्माएर हुर्काएको पार्टीसमेत छाडेर बस्नुप¥यो । प्रजातन्त्रको प्रवद्र्धनमा योभन्दा विडम्बना के हुनसक्ला ? काँग्रेसले स्थापनाकालीन सिद्धान्त छाडेर गणतन्त्रमा जाने निधो गरेलगत्तै भट्टराईले पार्टी परित्याग गर्नुभयो । लोकतान्त्रिक धारको पहिलो पुस्ताको नेतृत्वपङ्क्तिको अन्तिम व्यक्ति भट्टराईको विश्रामसँगै त्यो धारले पनि विश्राम लियो ।

पार्टी छाड्नुअघि काँग्रेसका नेता तथा कार्यकर्ताको नाममा पत्र लेख्दै भट्टराईले भन्नुभएको थियो, “लामो कालदेखि विभाजित स्थितिमा रहेको हाम्रो प्यारो संस्था नेपाली काँग्रेस एक भएकोमा मलाई ठूलो खुसी लागेको थियो । जुन कारणले गर्दा हिजो एकीकरणको सम्मेलनमा आफ्नो शारीरिक आयुध्र्याजन्य अक्षमतालाई एकछिनका लागि बिर्सेर पनि म त्यहाँ लामो समयसम्म उपस्थित थिएँ र आफ्नो हार्दिक समर्थन पनि जनाएका थिएँ । यति हुँदाहुँदै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रणको लामो तर पूर्णतया निरर्थकको नाम दिएर यस ऐतिहासिक संस्थालाई हाम्रा देशका दुई सार्वकालिक स्वर्गीय नेता बीपी कोइराला र गणेशमान सिंहजीलाई चटक्कै बिर्सिंदै छ । त्यसो हुनाले यस पार्टीसँग अब उपरान्त मेरो कुनै खालको पनि सम्बन्ध वा सम्पर्क रहने छैन । तपाईं सबै सहयोगी साथीसँग अब म भारी मन लिएर सदैवका लागि बिदा
लिँदै छु ।”

उहाँको यो निर्णयलाई इतिहासले कसरी व्याख्या र मूल्याङ्कन गर्ला, त्यो इतिहास लेख्नेहरूको जिम्मामा छाडिदिऊँ तर काँग्रेसको स्थापनाकालीन सिद्धान्तप्रति गरिएको अन्यायलाई भने न्याय गरेको थियो । जुन सिद्धान्तको अभाव यतिबेला राष्ट्रलाई खट्किएको छ । झन्डै दुईतिहाइ बहुमत ल्याएर शासन सत्ता हातमा लिएको नेपाल कम्युनिस्ट पार्टीले मुलुकलाई आर्थिक रूपमा खोक्रो मात्र बनाएन, राष्ट्रियता इतिहासमै कमजोर बन्यो भने प्रजातन्त्रलाई ‘क्रोनी क्यापिटालिज्म’को सिकार बनायो । त्यसैको प्रतिफल थियो– सत्ताको नेतृत्व गर्ने काँग्रेस अवसर । मिलेनियम च्यालेन्ज कर्पोरेसनको नाममा राष्ट्रलाई कमजोर पार्न खोज्ने उग्र राष्ट्रवादी धारलाई शिथिल बनाउने काम पनि काँग्रेस नेतृत्वले गरेको छ । यहाँनेर भट्टराईको आदर्शको थोरै भए पनि सम्मान भएको छ ।

किसुनजीको निधन भएका दिन अहिलेको प्रतिपक्षी दलका नेता केपी ओलीले भन्नुभएको थियो, “लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्तामध्येका एक शिखर पुरुष भट्टराईको निधनले हामीलाई टुहुरो बनाएको छ । अहिले हामी उहाँको शोकमा डुबेका छौँ । यो अवस्थामा हामीले लोकतन्त्रलाई संस्थागत गर्ने बाटोमा लाग्दा पनि उहाँको आदर्शलाई आत्मसात् गर्न आवश्यक छ ।” झन्डै साढे तीन वर्षसम्म दुईतिहाइको सत्ता चलाउँदा पनि मुलुक र नागरिक हितमा देखिनलायक केही काम गर्न सक्नुभएन । शासन शैलीमा असफल भएपछि नागरिकलाई लोकतन्त्र र स्वतन्त्रतामध्ये एउटा रोज्नसमेत उहाँले आग्रह गर्नुभयो । उग्र राष्ट्रवादले उहाँलाई कमजोर मात्र बनाएर सत्ताबाट सडकमा पु¥यायो । यतिबेला जनप्रतिनिधिमूलक थलो प्रतिनिधि सभालाई बन्धक बनाएर नागरिकका आवाज मुखरित गर्नबाट वञ्चित गराइरहनुभएको छ । ओलीले बुझेको भट्टराईको आदर्शले यही भन्थ्यो ?

राजनीतिक सिद्धान्त सबैको एउटै हुन सक्दैन । फरक सिद्धान्त अँगाले पनि सत्यको पक्षमा हिँड्ने व्यक्तिको चरित्र पच्छ्याउनु इमानदार राजनीतिज्ञको धर्म हो । भट्टराई फरक विचार राख्नेप्रति उदार र सहनशील नभएको भए २०४७ मा विश्वले अनुसरण गर्ने खालको संविधान निर्माण सम्भव थिएन । त्यसैले त पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थभन्दा सिद्धान्तनिष्ट राजनीति र सम्झौताहीन सङ्घर्ष उहाँको जीवनकै विशिष्ट पहिचान बने । जनप्रतिनिधिले चुनेको संविधान सभाबाट आठ वर्ष लगाएर बनाइएको संविधान पनि विवादमुक्त हुन नसकेको अवस्थामा भट्टराईले राजासँग कठोर बनेर पनि जनताका पक्षमा संविधान जारी गर्न लगाएको सम्झना उहाँलाई दुई÷दुई पटक निर्वाचनमा हराउन प्रयोग हुनेहरूले भुले पनि राष्ट्र र इतिहासले भुल्ने छैन ।

यहाँनेर २०५६ चैत ३ गते प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभालाई विशेष सम्बोधन भाषण गरी राजासमक्ष राजीनामा बुझाउन जानुअघि भट्टराईले भनेका प्रसङ्ग अहिले पनि उत्तिकै सान्दर्भिक छन् । अपमानजनक बहिगर्मनको बाटो रोज्न बाध्य बनाइएका भट्टराईले भन्नुभएको थियो, “मेरो जीवनमूल्य भनेकै आस्थाको राजनीति हो । आस्था र निष्ठाको राजनीति साँच्चिकै विसर्जित हुने हो भने भन्नुपर्छ– यो राष्ट्रको भविष्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न । त्यसैले म मुलुकभरका समस्त प्रजातन्त्रवादी र विशेषगरी काँग्रेसलगायत सबै राजनीतिक दलका साथीलाई सचेत गराउन चाहन्छु कि यसतर्फ ध्यान दिऊँ कि हाम्रो मिसन कतै हराउने त हैन । हाम्रो पहिचान नै विलुप्त हुने त हैन ?” नेपाली राजनीतिको चरित्र र दिशा अहिले पनि योभन्दा भिन्न छ र ? व्यक्तिगत उन्नति र पद–प्रतिष्ठाले मात्र प्राथमिकता पाइरहेको बेला कसरी हुन्छ भट्टराईको
आदर्शको सम्मान ?

नेपालका कम्युनिस्टको प्राथमिकतामा कहिल्यै परेन ‘नेसन फस्ट’ । क्षणिक स्वार्थ र सत्ता प्राप्तिकै राजनीति गरिरहे, गर्दैछन् । काँग्रेसले नेसन फस्टको मुद्दामा आफू हारेको छ । अब पनि हार्न तयार हुनुपर्छ– राष्ट्र र नागरिकको जितका लागि । राष्ट्र रहे शासन गर्ने अवसर प्राप्त भइरहन्छ । आज लोकतन्त्रको आवरणमा कुन दल कसको इशारामा राजनीति गरिरहेको छ भन्ने स्पष्ट भएको छ । गरिब र गरिबीलाई हतियार बनाएर गरिने राजनीति न दीर्घकालीन हुन्छ न त देशहितमा । व्यक्तिगत हित र उन्नति मात्र लोकतन्त्र होइन, नागरिक हित र उनीहरूप्रतिको दायित्वले प्राथमिकता पाउनु पर्छ । व्यक्तिगत व्यापार चम्काउने लोकतन्त्रको औचित्य छैन किनकि लोकतन्त्रले पनि राजनीतिमा आफू अनुकूलको संस्कारको अपेक्षा गरेको हुन्छ ।

राजनीतिक प्रणाली, विचार वा दर्शनले मुलुकको इतिहास, अस्तित्व र औचित्यका मूल मर्मलाई आत्मसात् गर्छ । त्यो विश्वास र रणनीतिमा जोडिएको हुनुपर्छ । त्यस्तो राजनीतिक विचार, दर्शन र प्रणालीले राजनीतिक र रणनीतिक गहिराइ प्राप्त गर्छ । अनि मात्र त्यसले दलको मौलिकता निर्माण गर्छ । त्यही मौलिकता मुलुकको पहिचान बन्छ । भट्टराईको ध्येय पनि यही नै थियो । कम्युनिस्ट शैलीझैँ क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? काँग्रेस नेतृत्वमा स्थापित भएका उदीयमान युवाले भट्टराईको त्यो ध्येयलाई नेतृत्वको विश्वास लिएर व्यवहारमा रूपान्तरण गर्न जरुरी छ ।
सिद्धान्तभन्दा व्यक्तिगत र पार्टीगत स्वार्थ हाबी भएकैले राष्ट्रवादप्रतिको चिन्तन शिथिल छ यतिबेला । राष्ट्रवाद र जनविश्वास सबैभन्दा ठूलो सम्पत्ति हो । राष्ट्रप्रतिको निष्ठाभाव र जनविश्वास गुमाएपछि राजनीतिको अर्थ रहन्न । राष्ट्रवाद मुलुकको प्राण हो भने जनविश्वास शासन सञ्चालनको अख्तियारी । यी दुवैलाई सँगसँगै लिएर हिँड्न सक्ने राजनीतिक दल र व्यक्ति चाहेको छ समाजले । काँग्रेसले त्यो दायित्व पूरा ग¥यो भने भट्टराईप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?