विनोद न्यौपाने
पछिल्लो समय सेवानिवृत्त भएपछि कार्यरत कार्यालय वा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै गाली गर्ने संस्कृतिको विकास भएको छ । निजामती सेवा होस् या सुरक्षा निकाय वा अन्य कुनै पनि संस्थाबाट बाहिरिएपछि त्यो संस्थाको अपमान गर्ने प्रचलन मौलाउँदो छ । निजामती सेवाको उच्च ओहोदामा बसेका व्यक्ति पनि अवकाशपछि आफ्नो मर्यादा भुलेर प्रस्तुत भइरहेका छन् । जीवनको ऊर्जाशील समय बिताएको संस्था र नेतृत्वको विरोधमा प्रस्तुत हुनुलाई नेपाली पहिचान र संस्कृतिअनुसार संस्कारयुक्त मानिन्न । सेवामा छँदा वृत्ति विकास हुन नसक्दाको पीडा आफू कार्यरत कार्यालय वा सङ्गठनमाथि पोख्नु जायज होइन । त्यसले व्यक्तिलाई क्षणिक सन्तुष्टि त देला तर स्वैच्छाले वा कसैको निर्देशनमा सामाजिक सञ्जाल वा मिडियामार्फत विषवमन गर्दा अन्ततः आफैँलाई नोक्सान पु-याउँछ ।
यतिबेला सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । आम जनजनलाई यसको प्रयोगबिनाको दैनिकी फिका साबित हुन्छ । विशेषगरी युवा पुस्ता फेसबुक र टिकटक नचलाएको दिन धेरै कुरा गुमाएको महसुस गर्छ । हो, सामाजिक सञ्जाल सूचनाको माध्यम पनि बनेको छ । हरेक सुखद दुःखद घटना÷परिघटना यही माध्यमबाट तत्कालै सार्वजनिक हुन्छ । पछिल्लो समय सत्यभन्दा पनि भ्रममा आधारित समाचार पोस्टले सामाजिक सञ्जाल, त्यसमा पनि टिकटकको प्रयोग बढी दुरुपयोग हुन थालेको छ । एकले अर्काको सत्तोसराप वा बदख्याइँ गर्नुप¥यो भने सामाजिक सञ्जाल प्रयोग गर्ने प्रचलन छ । विशेषगरी राजनीतिक पात्र र प्रवृत्ति बढी आलोचित छ, उनीहरूकै कर्मका आधारमा । झनै ट्विटरमा हुने राजनीतिक बुद्धिविलास त रोचकभन्दा घोचक बढी हुन्छ । बुद्धिविलास देश र नागरिक हितमा होस् न कि कुनै संस्था वा व्यक्तिको आलोचना, पद, पैसा र शक्ति आर्जनका लागि ।
सामाजिक सञ्जालबाट एकले अर्काको बदख्याइँ गर्ने र राजनीतिक अस्थिरतामाथि हुने व्यङ्ग्यलाई अशोभनीय भए पनि स्वाभाविक मानिँदै आएको छ । नागरिकले राजनीतिबाट कम्तीमा न्यूनतम आधारभूत आवश्यकताको अपेक्षा गरेको हुन्छ । नेतृत्वकै अग्रसरतामा बनेको संविधानले दिएका अधिकारसमेत नपाउँदा उनीहरूविरुद्ध सामाजिक सञ्जालबाट तीतो पोख्नु स्वाभाविक पनि हो तर पछिल्लो समय नेपाली सेनाको प्रतिष्ठामा आँच आउने गरी सामाजिक सञ्जालमा पोस्ट हुँदै आएका सन्देश र टिकटक अशोभनीय लाग्न थालेका छन् । सेनाकै तल्लो तहका जवान वा पूर्वसैनिकको नामबाट पोस्ट हुने त्यस्ता सन्देशले सेनाको प्रतिष्ठामा दाग लगाउने काम गरेको छ । सेनाजस्तो व्यावसायिक, संवेदनशील र राष्ट्रप्रति पूर्ण वफादार सुरक्षा सङ्गठनको छविमा दाग लगाउन खोज्नु मातृभूमिप्रतिकै बेइमानी हो । राष्ट्र र नागरिकको अस्तित्व रक्षामा मन, वचन र कर्मले क्रियाशील सैनिक सङ्गठनलाई बदनाम गर्न खोज्ने शक्तिका क्रियाकलापप्रति सचेत र गम्भीर बन्नु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य हुन आउँछ । सेनाको प्रतिष्ठामा आँच आउने काम गरेर कतै हामी आफैँ असुरक्षित त भइरहेका छैनौँ ?
नेपाली सेनालाई गैरराजनीतिक चरित्रको पूर्ण व्यावसायिक संस्था मानिन्छ । ऊ राजनीतिक प्रभाव र प्रदूषणबाट पूर्णतः मुक्त देखिन्छ । कसैलाई स्थापित वा विस्थापित गर्न सेना प्रयोग भएको जानकारीमा छैन, हुनु पनि हुँदैन । राष्ट्रियता कमजोर नहोस्, मुलुकको स्वाभिमानमा चोट नपुगोस् भन्नेबारेमा ऊ सचेत छ, रहनुपर्छ । सैनिक नेतृत्वले पनि निष्ठा, सदाचार र नैतिकतालाई केन्द्रमा राखेर सामूहिक विवेकबाट मुलुक र सङ्गठनको भविष्यका लागि स्पष्ट र सही दिशानिर्देश गर्नुपर्छ । यो संस्थालाई विवादमा तान्ने काम कहीँ कतैबाट पनि हुनु उचित होइन ।
सेना मुलुक र नागरिकको हितमा जुनसुकै बेला जोखिम मोलेर पनि खट्न तयार हुन्छ, हुनुपर्छ । सेनाले मानवीय संवेदना बुझ्नुपर्छ । हो, उसले परम्परा, धर्म, संस्कृति र मौलिक चरित्र कहिल्यै बिर्सेको पाइँदैन । ऊ सधैँ ‘नेसन्स फस्र्ट’ भन्ने मान्यताबाट निर्देशित देखिन्छ, किनकि नेपालीत्वमाथि कहीँ कतैबाट चोट नपुगोस् भन्नेमा ऊ सजग पनि छ ।
कतै सेनालाई बदनाम गराएर राष्ट्रलाई कमजोर बनाउने मिसन त चलिरहेको छैन ? संसद् र न्यायालय कमजोर हुँदा राजनीतिक प्रणालीमाथि प्रश्न उठिरहेको छ । किनकि यो प्रणालीले परिणाम दिन सकेन भन्ने गुनासो तीव्र बनाइएको छ, के प्रणाली गलत भएर हो कि नेतृत्वको कार्यशैली ? प्रणाली त साध्य मात्र हो साधन त राजनीतिक दल होइनन् र ? यो स्थितिमा अब एउटा मात्र निष्पक्ष र गैरराजनीतिक चरित्र भएको सेनालाई बदनाम गराउने हो भने मुलुकको अवस्था के होला ? राष्ट्रको सुरक्षा, इज्जत र कल्याणमा केन्द्रित सेनाबारे अनावश्यक भ्रम नछरौँ ।
विचारभन्दा देश माथि हुन्छ । सेना त्यही मान्यताबाट निर्देशित देखिन्छ । नवसामन्तवादको बढ्दो प्रभावकै कारण नेता र जनताबीचको दूरी बढ्दो छ । यस्तो बेला सामाजिक सद्भाव र एकअर्काप्रतिको विश्वास खल्बल्याउने गरी हुने गतिविधि क्षम्य हुन सक्दैनन् । आम नागरिक, नेतृत्व तह र अन्तर्राष्ट्रिय जगत्मा समेत नेपाली पहिचान स्थापित गराउन क्रियाशील सैनिक सङ्गठनको साखमा प्रश्न उठाउने गरी कोही कसैबाट अनावश्यक भ्रम सिर्जना गर्नु हुन्न । सैनिक सङ्गठनको अस्वस्थ आलोचना गरेर कतै हामी मुलुकको अस्तित्व मेट्न खोज्ने शक्तिको खेलौना त भइरहेका छैनाँै ?
प्रजातन्त्रले जे पनि गर्न छुट दिन्छ भन्ने होइन । यसका पनि निश्चित मूल्य, मान्यता, विधि र पद्धति छन् । प्रजातन्त्र स्थापनापछि यिनै मान्यतालाई मार्गनिर्देशक सिद्धान्त मानेर हिँडेको सायद सैनिक सङ्गठन मात्रै होला । संविधानले परिलक्षित गरेका मान्यताभन्दा ऊ बाहिर गएको छैन, जानु पनि हुँदैन । यस्तो जिम्मेवार सङ्गठनप्रति कसैको गुनासो हो भने कहाँनेर कोबाट गल्ती वा कमजोरी भएको छ, त्यसबारे सङ्गठनका जिम्मेवार व्यक्तिसँग बहसमा बसेर निरुपण गर्नुपर्छ । किनकि अहिलेको सैनिक सङ्गठन नागरिकमैत्री छ । राजनीति परनिर्भर भइरहेका बेला सेनाजस्तो संवेदनशील निकायको बदख्याइँ गरेर कतै हामी आफैँले मुलुककै बदनाम त गरिरहेका छैनौँ ? सैनिक सङ्गठनमा पनि कमजोरी होलान् तर त्यसको समाधान सामाजिक सञ्जालका वालबाट होइन, विवेकको माध्यमबाट टेबुलमा बसेर खोजौँ ।
सेना सधैँ नागरिकको दुःखमा अग्रपङ्क्तिमा उभिएको देखिन्छ । भूकम्प, बाढीपहिरो, आगलागी, दुर्घटनाजस्ता मानवीय संवेदनका विषयमा मात्र होइन, सीमा रक्षा र कठिन भेगका सडक निर्माणमा पनि सैनिक सङ्गठन खटिइरहेको छ । कोभिडका कारण एक स्वस्थ व्यक्तिसँग नजिक पर्दा अर्को व्यक्ति डराउनुपर्ने बेला सेनाले लास व्यवस्थापनको जिम्मा लिएर लगाएको गुन हामी नागरिकले कसरी भुल्न सक्छौँ ? अनि त्यही सङ्गठनको विरोधमा सामाजिक सञ्जालमा अनावश्यक भ्रम छर्नु कति उचित होला ? असामान्य र असहज परिस्थितिमा नागरिक हितमा अग्रपङ्क्तिमा खट्न सधैँ तयार हुने सैनिक सङ्गठनले मुलुकमा शान्ति कायम रहेका बेला आफूलाई क्षमता, सीप, ज्ञान र तालिममा केन्द्रित गर्नुपर्छ ।
सेनाले राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, जनता र वैधानिक सरकारप्रति सदैव बफादार रहने संस्कार स्थापित गरेको प्रतीत हुन्छ । राष्ट्रको अस्तित्वमाथि नै सङ्कट आइपरेको बेला राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा ऊ कहीँकतै चुकेको देखिँदैन । जहाँ अप्ठेरो पर्छ, त्यहाँ सेना पुगेको छ । सेनाले आलोचनाको पर्वाह नगरी आफू नबोलेर पनि मुलुकको हितप्रति सकारात्मक ‘म्यासेज’ दिँदै आएको छ ।
एकथरिलाई सेनाले राजा ल्याइदिएर सत्तामा आसीन गराइदिए हुन्थ्यो भन्ने लागेको छ । अर्काथरिलाई गणतन्त्र जोगाइदिनुपरेको छ । सबैको आशाको केन्द्र बनिदिनुपर्ने सेनाका बारेमा नानाथरि टिप्पणी गर्नु उचित होइन । संसद् र न्यायालयको गरिमा समाप्त पार्ने खेलमा लाग्ने शक्तिको कर्के नजर कतै नेपाली सेनामाथि गाडिएको त छैन ? सैनिक सङ्गठनलाई बदनाम गराउन सके आफ्नो अभीष्ट पूरा हुन्छ भन्ने मनोविज्ञान हामी सबैले छाड्नुपर्छ । मुलुक रक्षार्थ र नेपालीको पहिचान जोगाउन पनि सेनाको प्रतिष्ठामा दाग लगाउने काम कोही कसैबाट हुनु हुँदैन । सेनामाथि यसरी नै बदनाम गराउने खेल जारी रहे हामी नेपाली जनता एकजुट भएर उसको सुरक्षाका लागि अघि सर्नुपर्छ ।