तीर्थ भट्टराई
प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैत १८ देखि २० गतेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । उहाँको भ्रमण कतिसम्म सफल या असफल भनेर विभिन्न चर्चा हुने गर्छ । कतिपयले भ्रमण सफल भएको भनेका छन् भने कसैले स्थानीय चुनाव अगाडि हतारमा भ्रमण गरेर खासै उपलब्धि प्राप्त गर्न नसकेको पनि भनेका छन् । के उहाँको भ्रमणबाट नेपालले केही पनि उपलब्धि प्राप्त गरेन त ? यस सम्बन्धमा निश्चय रूपमा भन्न सकिन्छ, उहाँको भ्रमणबाट केही उपलब्धि प्राप्त भएका छन्, भलै ती क्षेत्रमा नेपालले सोचेजति वा चाहेजति भने नभएको पनि हुन सक्छ ।
उहाँको भ्रमणबाट सबैभन्दा बढी उपलब्धि जलविद्युत् र ऊर्जा क्षेत्रमा भएको छ । उहाँको यस भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले नेपालले उत्पादन गरेको सबै ऊर्जा खरिद गरिदिने वचन दिनुभयो भने नेपालको ऊर्जा बङ्गलादेश वा भुटानसंँग पनि व्यापार गर्न बाटो खोलिदिनुभयो । साथै नेपालले धेरै आशा गरेको तर विभिन्न कारणले थाती रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कुरा उठाउन पनि प्रधानमन्त्री देउवा नै उपयुक्त व्यक्ति हुनुहुन्थ्यो किनकि यस आयोजनाबारेको महाकाली सन्धि २६ वर्ष अगाडि हस्ताक्षर गर्ने व्यक्ति पनि उहाँ नै हुनुहुन्थ्यो र यस योजनाबाट बढीभन्दा बढी लाभ लिन सक्ने पनि उहाँकै क्षेत्र अर्थात् सुदूरपश्चिम क्षेत्र र त्यहाँका जनता रहेका छन् ।
यो योजना सम्पन्न भएमा नेपालको पश्चिमबाट सूर्य उदाउनेछ भनेर केही नेताले त्यसै भनेको होइन तर यसमा भारतको बेवास्ता र नेपालका नेताहरूको पनि दृढ अठोट नहुनुका साथै बिनाकारण पनि विरोध गर्ने प्रवृत्तिले यो आयोजना अघि बढ्न सकेन । यसमा नेपालको अस्थिरता र खोक्रो राष्ट्रवादका कारण पनि यसलाई कसैले अगाडि बढाउने चासो दिएनन् । यसबीचमा भारतलाई आयोजना अघि बढाउन दबाब दिन नसक्नु नेपालको पनि कमजोरी नै मान्नुपर्छ । यो आयोजनालाई यति विवादमा ल्याइयो कि यही सन्धिकै विषयलाई लिएर नेकपा (एमाले) पार्टी विभाजन भई वामदेव गौतमको नेतृत्वमा नेकपा (माले) गठनसमेत भएको थियो ।
पञ्चेश्वर आयोजनाले नेपालको कायापलट गर्न सक्छ भन्ने जानकारहरूलाई थाहा छ तर यसलाई कसरी चाँडै अघि बढाउन सकिन्छ भन्ने कुरामा भारतको ढिलासुस्ती त एक कारण हो नै, नेपाली नेता र सम्बन्धित अधिकारीमा इच्छाशक्तिको कमी पनि अर्को कारण हुन सक्छ । यस आयोजनाले दिने लाभको राम्रो आकलन गर्न सक्ने व्यक्ति पनि सन्धिमा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्रीका रूपमा देउवा नै हुनुहुन्छ । त्यसैले उहाँको जोड यसमा हुनुपथ्र्यो र गर्नु पनि भएको छ । अब यसलाई कसरी चाँडै अघि बढाइन्छ, हेर्न बाँकी छ । भारतीय प्रधानमन्त्री मोदीले त यस आयोजनालाई यस क्षेत्रकै गेमचेन्जर परियोजना हो भनेर यसको महìव दर्शाइसक्नुभएको छ । नेपाल र भारतबीचको जस्तो घनिष्ठ सम्बन्ध विश्वका कुनै पनि दुई मुलुकबीच नभएको बताएर प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई उच्च महìव पनि दिनुभएको छ ।
प्रधानमन्त्रीको भ्रमणको अर्को उपलब्धि हो– भारतबाट नेपालको विद्युत् खरिद गर्ने र बङ्गलादेश र भुटानसंँग पनि विद्युत् व्यापार गर्ने बाटो खोल्ने प्रतिबद्धता । यसबाट नेपालको वर्षायाममा बचत हुने विद्युत् भारतलाई बिक्री गर्न सकिने भई नेपाललाई खेर जाने विद्युत्बाट अर्बौं रुपियाँ आम्दानी हुने भएको हो । विद्युत् व्यापारको प्रतिबद्धताबाट निजी क्षेत्रसमेत उत्साहित हुनु भ्रमणको ठूलो उपलब्धि हो । भ्रमणको अर्को महत्त्वपूर्ण उपलब्धि हो– नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा प्रकाशित गरेपछि चिसिएको नेपाल–भारत सम्बन्धको परिप्रेक्ष्यमा प्रधानमन्त्री देउवाले सीमा समस्या समाधानको प्रस्ताव राख्नु र भारतले सो समस्या समाधान गर्न यसलाई राजनीतीकरण गर्न नहुने र भइरहेकै संयन्त्रमार्फत नै समाधान गर्न सकिने जनाउनु । यसबाट यो मुद्दालाई राजनीतिक रूपमा नउछाली बङ्गलादेशसंँग जस्तै गरी समाधान गर्न सकिने सङ्केत पाउन सकिन्छ र यो निकै सकारात्मक कुरा हो । जे होस्, सम्बन्ध चिसिएपछिको यो भ्रमणबाट नेपाल र भारत वार्ताबाटै समाधान खोज्न सहमत छन् भन्ने देखिन्छ ।
यस्तै नेपाल–भारतबीच सीमापार रेलवे कनेक्टिभिटी बढाउने कुरामा सहमति हुनाका साथै निर्माण भएर पनि लामो समयदेखि अलपत्र जयनगर–जनकपुर–कुर्था रेलसेवा सञ्चालन गर्न दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्नु अर्को उल्लेखनीय उपलब्धि हो । यसबाट जनकपुर मात्र होइन, समग्र मधेस प्रदेश र आसपासका क्षेत्रका जनताले पनि रेलसेवाबाट प्रत्यक्ष फाइदा लिन सक्ने अवस्था सिर्जना भएको छ । उद्घाटनको भोलिपल्टदेखि नै त्यस क्षेत्रका जनताले आठ वर्षदेखि स्थगित भएको रेलसेवा उपभोग गर्न पाएका मात्र नभई पहिलेकोभन्दा आधुनिक सुविधासहितको ब्रोडगेजको रेलसेवा आधुनिक रेलमार्फत पाएपछि त्यस क्षेत्रका जनताको खुसीको सीमा छैन । यसबाट दुई देशका जनताले फाइदा पाउने तथा जनकपुरमा धार्मिक पर्यटन तथा व्यापार व्यवसायमा वृद्वि हुने अपेक्षा गरिएको छ ।
समग्रमा प्रधानमन्त्री देउवाको यो भ्रमणबाट आसन्न स्थानीय चुनावको दबाब, चटारोबीच र गठबन्धन सरकारकै घटकबीच पनि स्थानीय तहमा गठबन्धनको झमेलाबीच चुनावभन्दा अघिको समयको सदुपयोग गर्दै छोटो समयमा ठूलो उपलब्धि हासिल भएको छ । स्थानीय चुनावअघि नै पनि गठबन्धनको भविष्य के हुने भन्ने आशङ्का र चुनावको परिणामले ल्याउने परिस्थितिमा गठबन्धनको यात्रा सहज हुने नहुने भन्ने आशङ्काबीच भारतसंँगको सम्बन्ध सुधारबाट यति उपलब्धि हासिल हुनु निश्चय नै सुखद कुरा हो । नेपाल र भारतबीच बाँकी रहेका विभिन्न समस्या समाधान गर्न सर्वदलीय छलफलबाट व्यवस्थित तरिकाले हुने भ्रमणमा जति उपलब्धि हासिल नभए पनि सम्बन्ध सुधारका लागि प्रधानमन्त्रीले छोटो समयको सदुपयोग राम्ररी गर्न सक्नुभएको रूपमा नै लिनुपर्दछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले पदीय मर्यादा भुलेर भारतीय जनता पार्टीको मुख्यालयको भ्रमण गर्नुभएको भनी आरोप लाग्ने गरेको सम्बन्धमा उहाँले आफूले नेपाली काँग्रेसको सभापतिको हैसियतले भ्रमण गरेको स्पष्टीकरण दिइसक्नुभएकाले सो भेटघाटले पनि समग्र नेपाल–भारत सम्बन्धलाई समेत सहज बनाउन भूमिका निर्वाह गर्ने आशा गर्न सकिन्छ ।