logo
२०८१ बैशाख २६ बुधवार

इलाका बाघको भेटियो मुजुर

यात्रा संस्मरण

फोटो फिचर |
शनिवार |


2021-05-22-37986


मोहन बास्तोला

 

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज ‘चितवन राष्ट्रिय निकुञ्ज’ भ्रमण गर्ने उत्कण्ठा छाल बनेर आउँथ्यो । तर, समय नमिल्दा यो चाहना पटक–पटक विलय भएर गयो । यद्यपि, सौराहा पुग्ने, हात्ती, जिप सफारी गर्ने र निकुञ्जको भ्रमण गरी गैँडा, पाटेबाघ, गौरीगाई, चितुवा, रतुवा, चित्तल, जरायोजस्ता दुर्लभ वन्यजन्तु हेर्ने आकाङ्क्षा भने जीवित नै थियो ।
काठमाडौँ महानगरपालिकाले चितवनको सौराहामा आयोजना गरेको एक कार्यक्रममा सहभागी हुनेक्रममा निकुञ्ज भ्रमणको अवसर जुट्यो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, जनप्रतिनिधि र केही विभागीय प्रमुखसहितको टोली गत चैतको पहिलो हप्ता चितवन जिल्लाको सदरमुकाम भरतपुर हुँदै पूर्व–पश्चिम राजमार्गको टाँडी सौराहा चोक पुग्यौँ । महेन्द्र राजमार्ग ओहोर–दोहोर गर्दा थुप्रैपटक बाटोमै गजधम्मकोे गैँडाको आकृति देखेको थिएँ । त्यहाँ पुगेपछि सौराहानजिकै होला भन्ने अनुमान लगाउन कठिन भएन । नभन्दै मुख्य गन्तव्य सौराहा त्यहाँबाट करिब सात किलोमिटर दक्षिणको दूरीमा रहेछ । सौराहा चोकबाट करिब १५ मिनेटको यात्रामा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारसमेत रहेको सौराहाको भूगोल पहिलोपटक टेक्दा रोमाञ्चित भएँ ।
पहिलो दिनको अन्तरक्रिया कार्यक्रम सौराहाकै होटल ल्यान्डमार्कमा राखिएको रहेछ । करिब दुई÷तीन घण्टाजति कार्यक्रममा सहभागी हनुप¥यो । काठमाडौँदेखि स्थलमार्गको यात्रा र लगत्तैको कार्यक्रमले होला जति सन्ध्याकाल बढ्दै जान्थ्यो, त्यति नै शरीर पनि लखतरान बन्दै थियो । शरीरको थकानले अबेरसम्म बस्ने अवस्था थिएन । त्यसैले बेलुकीको खाना खाएर बिस्तारामा जाने तर्खरमा थिएँ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली टुप्लुक्क मेरो समीपमा देखिनुभयो । थाकेको मेरो चेहरा देखेर होला उहाँले उत्साह भर्दै भन्नुभयो, ‘मोहनजी यति छिट्टै रुमतिर जान लाग्नुभयो कि क्या हो ! सौराहा आएपछि थारू संस्कृति झल्किने नृत्य नहेरे त यहाँ आएको औचित्य नै हुन्न नि ।’ उहाँले मलाई चौरतिर लिएर जानुभयो । त्यहाँ थारू संस्कृति झल्किने विभिन्न नृत्य चलिरहेका थिए । थारू समुदायमा १३ दिनको शोकबाट निस्केपछि आफन्तहरू भेला भएर नाचिने ‘झुम्रा नृत्य’ले मलाई सबैभन्दा बढी तान्यो । थाकेको शरीर हलुङ्गो भएको अनुभूति पनि भयो ।
भोलिपल्टको व्यस्त कार्यतालिकाले भने शरीर थप लखतरान बन्यो । सौराहा पुगेको तेस्रो दिन बिहानको झुल्केघामसँगै हाम्रो टोली होटलबाट चितवन राष्ट्रिय निकुञ्जको भ्रमणका लागि निस्कियो । टोलीका केहीले हात्ती सफारी रोजे भने प्रमुख शाक्यसहित हामी जिप सफारीमा जाने भयौँ । उपप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलगायत पहिला पनि धेरैपटक सफारीको अनुभव लिएको भन्दै नजाने हुनुभयो ।
पूर्वसांसद स्वर्गीय जागृत भेटवालकी छोरी सिर्जना पनि हाम्रो यात्रामा सँगै हुनुहुन्थ्यो । उहाँले हामी जिप सफारीका लागि तयारी अवस्थामा रहेका बेला सौराहाका हरेक विकास निर्माणमा पिताको कुनै न कुनै योगदान रहेको स्मरण गराउनुभयो ।
निकुञ्जको भ्रमणमा हाम्रो टोलीको पथप्रदर्शकका रूपमा गणेशप्रसाद पौडेल खटिनुभएको थियो । हामी सौराहाबाट २ दशमलव ५ किलोमिटरको जिप सफारीपछि कुमरोज मध्यवर्ती सामुदायिक वनको ब्लकमा पुग्यौँ । राप्तीकिनारमा लहरै खुलेका होटल अनि त्यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल देख्दा कोरोना कहरपछि यहाँको पर्यटन व्यवसाय बिस्तारै तङ्ग्रिँदै गरेको अनुभूति भयो । प्रमुख शाक्यले अघिल्लो दिन बिहानै त्यही नदीकिनारमा उभिएर सूर्योदयसँगै कैद गरेको तस्बिर मोबाइलमा देखाउँदा थकथकी लाग्यो । मैले पनि नदीकिनारलाई पृष्ठभूमिमा राखेर केही माथि आएको रविको तस्बिर कैद गर्दै चित्त बुझाएँ ।
तस्बिर कैद गर्दैगर्दा पिप्ले, खैरहनी, भण्डारा, कठार, कुमरोज, बछौली, वीरेन्द्रनगरका जनताको बाढीले उठिबास हुँदा २०५९ सालतिरै लोथर राप्ती ड्याम संरक्षण समिति गठन गरी तटबन्धन निर्माणको काम भएको इतिहास ताजा बनेर आयो । यसको नेतृत्व पूर्वसांसद भेटवालले नै लिनुभएको थियो । भेटवालकै पहलमा स्वीस सरकारको सहयोगमा ठूलो ड्याम निर्माण भएको र स्थानीयले यसलाई भेटवालको ड्याम भन्ने गरेको पनि उहाँकी छोरी सिर्जनाले सुनाउनुभयो ।
त्यसैबेला करिब २५ वर्षदेखि पथप्रदर्शकका रूपमा काम गर्दै आउनुभएका पौडेलले प्रवेशद्वार आइपुगेको सङ्केत गर्नुभयो । हामी ब्लक नम्बर ५ हुँदै निकुञ्ज प्रवेश ग¥यौँ । पौडेलले निकुञ्ज प्रवेश गर्नेबित्तिकै सफारीका क्रममा अपनाउनुपर्ने होसियारी र जनवारसँग हुनुपर्ने चनाखोपनाका बारेमा जानकारी गराउनुभयो । पौडेलका कुरालाई ध्यानपूर्वक सुनिरहनुभएका प्रमुख शाक्यले राष्ट्रिय निकुञ्जका बारेमा थप जिज्ञासा राख्नुभयो । त्यतिबेलासम्म जिप घाँसेमैदान हुँदै अगाडि बढ्दै थियो । घाँसेमैदानको बीचमा धरहरा जसरी नै उभिएको अग्लो मचान भेटियो । प्रमुख शाक्यले पथप्रदर्शक पौडेललाई मचानबारे जिज्ञासा राख्नुभयो । पौडेलले पनि चोरीऔँलाले मचानतिर सङ्केत गर्दै भन्नुभयो, ‘त्यो मचानमा बसेर स्वदेशी तथा विदेशी पर्यटकले रात्रिकालीन समयमा पनि वन्यजन्तु तथा प्राकृतिक दृश्य अवलोकन गर्न सक्छन् ।’
‘यी मचानबाट मदिराको चुस्की लिँदै साँझपख राप्ती नदीलाई पृष्ठभूमिमा राखेर सूर्यास्त हेर्दा आहा ! कति आनन्द हुन्थ्यो होला,’ जिप सफारीमा सँगै रहनुभएका काठमाडौँ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले ठट्ट्यौलीपारामा भन्नुभयो, ‘मेयर साब आजको सन्ध्याकालीन यतै बिताउँदा हुँदैन ?’ उहाँको प्रस्तावपछि प्रमुख शाक्य मुस्कुराउनुभयो । हामीले पनि उहाँसँगै लोली मिलायौँ । जिप आफ्नै गतिमा अगाडि बढिरहेको थियो । म भने मोबाइलले घाँसेमैदानको दृश्य कैद गर्न मस्त रहेँ ।
पथप्रदर्शक पौडेलले चितवन राष्ट्रिय निकुञ्जको पूरा क्षेत्रफल ९५२ दशमलब ६३ वर्ग किलोमिटर रहेको भन्दै ४४४ हेक्टर क्षेत्रफलको सफारी हुने जानकारी गराउनुभयो । ‘विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको हामीले सफारी गरिरहेको क्षेत्र बाघको आधार इलाका हो,’ पौडेलले भन्नुभयो । बाघको आधार इलाका नै भएपछि बाघ कसो नभेटिएला र भन्दै म पनि तस्बिर खिच्ने तयारी अवस्थामा थिएँ । त्यसैबेला पौडेलले सानो ढुङ्गाले जीपको डन्डीमा ठ्याङठ्याङ पार्नुभयो । जिप झ्याप्प रोकियो । मैले क्यामेरा तयारी अवस्थामा राखेँ । प्रमुख शाक्य पनि सिटबाट जुरुक्क उठ्नुभयो । साँच्चै बाघसँगै जम्काभेट भएछ भन्ने लाग्यो । हामी सबै सतर्क भयौँ । तर, वास्तवमा बाघ नभएर पोथी मुजुर रहेछ । मैले नजिकैबाट घाँसेमैदानमा अलप हुन लागेको पोथी मुजुरलाई मोबाइलमा कैद गरेँ र पथप्रदर्शक पौडेललाई यहाँ बाघको सङ्ख्याचाहिँ कति छ भनी प्रश्न गरेँ । अनुमानित ९४ देखि १२४ वटासम्म बाघ रहेको जानकारी उहाँले सुनाउनुभयो ।
पथप्रदर्शक पौडेलका अनुसार चितवन राष्ट्रिय निकुञ्ज प्रदेश नं. २, बागमती र गण्डकीका चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लामा फैलिएको छ । निकुञ्जले चुरेपहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रलाई पनि समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वनक्षेत्र सालको जङ्गलले ढाकेको छ ।
घाँसेमैदानपछि जिप सफारी घना जङ्गलमा प्रवेश गर्दै थियो । त्यहाँ वन कुखुरा भेटिए । हामी सफारी गरिरहेको वनमा चितवनमा पाइने ६३२ मध्ये ३५० प्रजातिका चरा पाइने र दुर्लभ खर मुजुर प्रजाति पनि अवलोकन गर्न सकिने रहेछ ।
पछिल्ला केही वर्षदेखि निकुञ्जभित्र चोरीसिकार शून्यमा झरेको छ । पछिल्लोपटकको गणनाअनुसार गैँडाको सङ्ख्या ६९४ पुगेको छ । सफारीकै क्रममा मैले पथप्रदर्शकको आम्दानीका बारेमा पनि जिज्ञासा राखँे । जीविकोपार्जनका लागि खासै समस्या नभएको भन्दै पौडेलले पछिल्लो समय कोरोना कहरका कारण पर्यटकको चहलपहल कम हुँदा पेसा सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो ।
कुरा गर्दागर्दै हामी सिमसार क्षेत्रमा पुग्यौँ । गैँडाको बासस्थानका लागि आधार क्षेत्र रहेछ यो । मेरा लागि हरेक चीज नयाँजस्ता लागिरहेका थिए । मैले पौडेललाई केटाकेटीले जस्तो एकपछि अर्को जिज्ञासा राख्दै गएँ । उहाँले पनि कुनै झर्को नमानी श्रीस्वस्थानी व्रतकथामा शिव शर्माले गोमालाई यो ठाउँको नाम यो, यो वन्यजन्तुको नाम यो, यो फलको नाम यो भनी वृत्तान्त कहेजस्तै वृत्तान्त कहँदै जानुभयो ।
करिब डेढ घण्टाको यात्रापछि नदीकिनारमा ‘लभ वर्ड’ देखिए । यी चरा साइबेरियादेखि आएका भन्दै उहाँले चराका भालेपोथी एकछिन पनि नछुट्ने र भाले चरा म¥यो भने पोथी पनि भालेसँगै मर्ने तथ्य सुनाउनुभयो ।
सफारी अघि बढ्दै थियो । सात÷आठजना महिलाको लस्कर घना जङ्गलको छेउ र नदीको बाँधैबाँध अगाडि बढिरहेको देखियो । हतारहतार ती महिलाको तस्बिर कैद गर्न भ्याएँ । बाघ, हात्ती, गैँडालगायतका जङ्गली जनावरको समेत भय नमानी यसरी हिँडिरहेका स्थानीयबारे केही बुझ्ने हुटहुटी जाग्यो । मैले फेरि पौडेलसँग जिज्ञासा राखेँ, उनीहरूको यो घना जङ्गलमा हिँड्ने रहर कि बाध्यता ?
मेरो प्रश्नले उहाँ केही भावुक बन्नुभयो र सुस्तरी जवाफ फर्काउनुभयो, ‘सरहरू एक÷दुईपटक आउनुहुन्छ । सरहरूका लागि यो दृश्यावलोकनसँगै मनोरञ्ज लिने ठाउँ हो । हजुरहरूका लागि रहर भयो । तर, यहाँका स्थानीयका लागि बाध्यता ।’ पौडेलको कूटनीतिक जवाफले म अवाक् भएँ ।
उहाँले स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहयोग पु¥याउन प्रत्येक वर्ष कम्तीमा एक हप्ताका लागि खर, ढड्डी आदि सङ्कलन गर्न राष्ट्रिय निकुञ्ज खुला गरिने गरेको पनि जानकारी दिनुभयो ।
अरू बेला घाँस–दाउराका लागि अनुमति लिएर सामुदायिक वनमा स्थानीय आउने गरेको र थुप्रैपटक वन्यजन्तुसँग द्वन्द्व हुने गरेको तथ्य उहाँले सुनाउँदा मन भारी भयो । यसैबीच उहाँले चोरीऔँलाले देखाउँदै भन्नुभयो, ‘त्यो पर देखिएको दराई बोटे ताल हो । सामुदायिक वनमा घुम्न आउनेका लागि विश्राम स्थल पनि हो । यहाँ चिया, कफी र नास्ताको समेत प्रबन्ध छ ।’ हामी दराई बोटे ताललाई एक फन्को लगाएर विश्रामस्थल पुग्यौँ । त्यहाँ हामीभन्दा अघिको जिपमा सवार काठमाडौँ महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहन विष्ट, वडा–२९ की सदस्य सङ्गीता पुजारी, कमला घिमिरेलगायत त्यहीँ हुनुहुँदोरहेछ । केहीबेरको विश्राममा पालैपालो ताललाई पृष्ठभूमिमा राखेर तस्बिर लिइयो । कोरोना कहरमा पनि पर्यटकको घुँइचो देखेपछि बर्सेनि हजारौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आएर यसरी राष्ट्रिय निकुञ्जको भ्रमण गर्दा स्थानीय बासिन्दाको रोजगारीको अवसर सिर्जना भएको होला भनी सहज अनुमान लगाएँ ।
पथप्रदर्शक पौडेलले कुमरोज सामुदायिक वन पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोही, गौरीगाईलगायत दुर्लभ वन्यजन्तुको बासस्थान बन्दै गएको सुनाउनुभयो । केहीबेरको विश्रामपछि हाम्रो यात्रा फेरि अघि बढ्यो । केही अघि बढ्नेबित्तिकै मुजुर नाचिरहेको दृश्य देखियो । तर, जिप अघि बढिहाल्यो । पछाडि फर्किने अवस्था थिएन । मुजुर नाचेको तस्बिर कैद गर्न नपाउँदा थकथक भएँ । जिप सफारीमा सँगै रहनुभएका अन्यले पनि कैद गर्न नभ्याएको भनेपछि झन् थकथक भयौँ ।
करिब साढे दुई घण्टाको सफारीमा कतै पनि बाघ र गैँडाको अवलोकन गर्न नपाएपछि पथप्रदर्शक पौडेल पनि निराश देखिनुभयो । उहाँले केही वैकल्पिक बाटामा समेत जिप सफारी गराउँदै बाघ र गैँडा हेर्ने हाम्रो धोको पूरा गराउने प्रयास गर्नुभयो । तर, अहँ उहाँको प्रयास सफल हुन सकेन । बरु धेरै स्थानमा हात्ती सफारी गर्नेलाई भने यो अवसर प्राप्त भयो । सफारीको अन्त्यतिर निकै पर सिमसारमा गैँडा देखियो । क्यामेरामा समेत कैद गर्न हम्मेहम्मे पर्ने अवस्थामा देखिएको गैँडा हेरेर हामीले मनलाई सन्तुष्ट बनायौँ । त्यति लामो सफारीमा पनि गैँडा र बाघलाई नजिकैबाट क्यामेरामा कैद गर्ने हाम्रो योजना सफल नभएपछि प्रमुख शाक्यले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, ‘राष्ट्रिय निकुञ्जमा देखिएन । अब बाघ, गैँडा सबै नेपाली नोटमा हेर्नू ।’ निकुञ्ज घुम्ने रहर पूरा भए पनि नजिकैबाट बाघ, गैँडाको अवलोकन गर्ने रहर भने पूरा नभएको खल्लो मन लिएर हामी होटलतिर फर्कियौँ ।