रावलपिन्डी, मङ्सिर २५ गते । श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा साङ्घातिक हमला भएयता श्रीलंकाली टोली पहिलो पटक टेस्ट खेल्न पाकिस्तान गएको हो ।
श्रीलंकाली टोलीले यस पटक रावलपिन्डी र कराँचीमा दुई टेस्ट खेल्दैछ । श्रीलंकाली टोलीको यस भ्रमणबाट अन्य मुलुकलाई पनि पाकिस्तान भ्रमणमा निम्त्याउन सहज हुने पाकिस्तानले विश्वास गरेको छ ।
सन् २००९ को मार्चमा लाहोरको गद्दाफी रंगशाला जाँदै गर्दा श्रीलंकाली टोलीमाथि भएको आक्रमणका क्रममा आठ जना सर्वसाधारण मारिनुका साथै धेरै खेलाडी र खेल अधिकारीहरू घाइते भएका थिए ।
श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पछिल्लो ताजा विवरण अनुसार ४३ ओभरमा श्रीलंकाले ३ विकेटको क्षतिमा १२४ रन बनाएको छ । रावलपिन्डी शहर पाकिस्तानी सेनाको मुख्यालय समेत रहेको निकै सुरक्षित शहरका रुपमा परिचित छ ।
“अवश्य पनि आज पाकिस्तान क्रिकेटको ऐतिहासिक दिन हो र हामी सबै उत्साहित छौं,” पाकिस्तानी टिमका कप्तान अजहर अलीले भन्नुभयो । “हामी यस अवसरलाई जितका रुपमा सम्झनायोग्य बनाउन चाहन्छौं ।”
श्रीलंकाले गत सेप्टेम्बर र अक्टुबरमा पाकिस्तानको भ्रमण गरी सीमित ओभर खेल खेलेको थियो । उक्त खेलमा सहभागी नभएका तर टेस्ट टिमको कप्तानका रुपमा पहिलो पटक पाकिस्तानको भ्रमणमा आउनुभएका दिमुथ करुणरत्नेले यस खेललाई अगाडि बढाउन उत्सुक रहेको बताउनुभयो ।
“हामी सबै उत्साहित छौं र खेल सुरु भएपछि क्रिकेटमा नै ध्यान केन्द्रित हुनेछ,” करुणरत्नेले बताउनुभयो ।
रंगशालाको वरिपरि र भित्र समेत बाक्लो सुरक्षा व्यवस्था गरिएको छ भने रंगशाला प्रवेश गर्ने राजमार्गमा समेत कडा जाँच गरिएको छ । सुरक्षा जाँचका कारण शहरको ट्राफिक अस्तव्यस्त भएको छ ।
भारी सुरक्षाका बाबजूद मैदानमा प्रशंसकहरूको ठूलो भिड जम्मा भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डका अनुसार अन्तर्राष्ट्रिय क्रिकेटको अनुपस्थितिले पाकिस्तानी खेल समर्थकहरुलाई खल्लो अनुभूति भएको अवस्थामा श्रीलंकाली टोलीले भ्रमण गर्नु निकै महत्वपूर्ण हो । पाकिस्तानमा खेल नहुँदा पाकिस्तानी खेलको प्रतिष्ठाका साथै “पर्याप्त” आर्थिक क्षति भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।