गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २९ गते । नेपाल पुलिस क्लब काठमाडौंमा सम्पन्न मेयर्स कप क्रिकेटको विजेता बनेको छ । फाइनलमा एपीएफलाई आठ विकेटले हराउँदै नेपाल पुलिस मेयर्स कपको च्याम्पियन बनेको हो । विजेता नेपाल पुलिसले पाँच लाख रुपियाँसहित ट्रफी पाएको छ। उपविजेता एपीएफले भने तीन लाख रुपियाँबाट पुरस्कृत भएको छ। एपीएफ पछिल्लो एक महिनामा लगातार दोस्रो पटक महत्वपूर्ण उपाधि जित्नबाट वञ्चित भयो । प्रधानमन्त्री कपको फाइनलमा एपीएफ त्रिभुवन आर्मीबाट पराजित हुन पुगेको थियो ।
एपीएफले प्रस्तुत गरेको १०६ रनको लक्ष्य नेपाल पुलिसले मात्र २४ ओभर एक बल खेलेर दुई विकेटको क्षतिमा ११० रन बनाएर पूरा गर्यो । प्रदीप सिंह ऐरीले अविनाश बोहराको ओभरको पहिलो बललाई छक्काको दिशा देखाउँदै पुलिसको सहज जित सुनिश्चित गर्नुभयो । नेपाल पुलिसको जितमा ओनपर सुनिल धमलाले अविजित रहँदै ५९ रनको योगदान दिनुभयो । उहाँले ८२ बलको सामना गरेर संयमित पारी खेल्दै सात चौका र दुई छक्का लगाउनुभयो । कुशल भुर्तेल र अनिल साहले सामान १५/१५ रनको योगदान दिनुभयो । दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएर अविजित रहनुभयो ।
एपीएफका लागि भुवन कार्की र अविनाश बोहराले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको एपीएफले २९ ओभर चार बलमा १०५ रनको सामान्य योगफलमा समेटिन पुग्दा पुलिसले १०६ रनको लक्ष्य पायो । एपीएफका प्रारम्भिक तीन ब्याट्सम्यान १० रनमै पेभेलियन फर्किए । नेपाल पुलिसका तीब्र गतिका बलर गुलशन झाले सुरुवाती ब्याटिङ क्रमलाई ध्वस्त बनाएपछि एपीएफ ब्याटिङमा फर्किन सकेनन ।
तीब्र गतिका बलर झाले शंकर राना, कप्तान शरद् भेषवाकर र भुवन कार्कीलाई पेभेलियन फर्काउनुभयो । अर्का ओपनर आसिफ शेष सागर ढकालको शिकार हुनुभयो । आसिफ र शरद् डक आउट हुनुभयो । मध्यक्रममा वसन्त रेग्मीले एपीएफको पारी उकास्ने प्रयत्न गरेपनि २२ रनको ब्यक्तिगत् योगफलमा सागर ढकालको एलबीडब्ल्युको धरापमा परेर उहाँ पेभेलियन फर्किनुभयो ।
सन्दीप जोरा १८ रन बनाएर ललित राजवंशीबाट एलबीडब्ल्यु आउट हुनुभयो । अमरसिंह रौटेलाले १८ रनको योगदान दिनुभयो । सुमित महर्जनलाई चार रनको ब्यक्तिगत् योगफलमा पवन सर्राफले राजवंशीको हातमा क्याच थमाएर विकेट लिनुभयो ।
तीब्र गतिका बलर गुलशन झाले सात ओभरमा ३६ रन खर्चेर चार विकेट लिनुभयो । सागर ढकालले सात ओभर ४ बलमा २८ रन खर्चेर चार विकेट लिनुभयो । पवन सर्राफ र ललित राजवंशीले एक एक विकेट बाँड्नुभयो ।