logo
२०८१ जेष्ठ ४ शुक्रवार

शीतकालीन ओलम्पिकमा कूटनीतिक शीत

खेलकुद |
फोटो फिचर |


2022-02-05-56990
तस्बिर सिन्ह्वा


काठमाडौँ, माघ २२ गते। ठूला देशको कूटनीतिक बहिस्कारबीच शुक्रबारदेखि चीनमा २४औँ शीतकालीन (विन्टर) ओलम्पिक सुरु भएको छ। यसपटकको शीतकालीन ओलम्पिकलाई नामले जस्तै कूटनीतिक शीत (चिसो) बनाएको छ।
कोभिड–१९ महामारीको तेस्रो लहर ओमिक्रोनको बढ्दो त्रासबीच चीनले पहिलो पटक शीतकालीन ओलम्पिक आयोजना गरेको हो। चीनको बेइजिङमा शुक्रबार साँझ भव्य समारोहबीच चीनका राष्ट्रपति सी जिन फिङले औपचारिक उद्घाटन गर्नुभएको छ।

उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वचर्चित नेताहरुको उपस्थिति थियो। ओलम्पिकमा समावेश केही खेल भने बुधबारदेखि नै सुरु भएका छन्।
फेब्रुअरी २० तारिखसम्म सञ्चालन हुने शीतकालीन ओलम्पिकमा ९१ देशका दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ओलम्पिकमा विभिन्न सात खेलमा एक सय नौ स्वर्णका लागि प्रतिस्पधर्मा हुँदैछ। बेइजिङ समर तथा विन्टर दुवै ओलम्पिक आयोजना गर्ने पहिलो सहर पनि बनेको छ। यसअघि सन् २००८ मा चीनले ग्रीष्मकालीन (समर) ओलम्पिक आयोजना गरेको थियो।

कूटनीतिक बहिस्कार र कडा सुरक्षा
चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको भन्दै केही देशले ओलम्पिकलाई कूटनीतिक बहिस्कार गरेका छन्। अमेरिकाले चीनले आफ्नो मुलुकमा रहेका विगुर स्लाम समुदायमाथि दमन गरिरहेको कारण देखाउँदैै विन्टर ओलम्पिक बहिष्कार घोषणा गरेको हो।

अमेरिकाले जस्तै बहिस्कार गर्नेमा बेलायत, क्यानडा, अष्ट्रेलिया भारतलगायत ठूला देश छन्। यी देशले ओलम्पिकमा खेलाडी पठाए पनि देशको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई उद्घाटन र समापन समारोहमा औपचारिक रुपमा सहभागी नगराउने घोषणा गरेका हुन्।

चीनले शीतकालीन ओलम्पिकलाई विचार गरेर सुरक्षा व्यवस्था कडा बनाएको छ। खेलाडी, प्रशिक्षक, पदाधिकारी, डेलिगेट, स्वयम्सेवक तथा सञ्चारकर्मीसहित करिब ६० हजार मानिस यस ओलम्पिकमा सहभागी छन्। तर, उनीहरुले स्वतन्त्ररुपमा घुम्न पाउने छैनन। उनीहरुलाई आधिकारिक सवारी साधनमा खेलस्थल तथा बसोबास स्थलमा पुर्याइनेछ। कोरोनाका कारण ओलम्पिकमा विदेशी समर्थकहरुलाई अनुमति पनि दिइएको छैन। तर, स्थानीय दर्शकका लागि सीमित टिकट प्रदान गरिनेछ। आयोजकले स्टेडियममा कुल दर्शक क्षमताको ३० प्रतिशत दर्शकको मात्र अपेक्षा गरेको छ।

खेलाडी छनोट नहुँदा नेपाल सहभागी छैन
शीतकालीन ओलम्पिकमा नेपालले सहभागिता जनाएको छैन। नेपालले कूटनीतिक बहिस्कार नभई खेलाडी छनोट नभएका कारण ओलम्पिकमा सहभागिता नजनाएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। विन्टर ओलम्पिकमा सहभागी हुन प्रत्येक देशबाट खेलाडी प्रतिस्पर्धामार्फत छनोट हुनुपर्छ। एजेन्सी